बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को घोषणा
काठमाडौँ । विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ घोषणा भएको छ ।
नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले आगामी केही महिनाभित्र कार्यक्रम प्रसारण गर्ने जनाएको छ ।
राजधानीमा आयोजित घोषणा कार्यक्रममा पहिलो सिजनका लागि पाँच जना शार्कहरु सार्वजनिक गरिएको छ, जसले लगानीका लागि प्रस्ताव लिएर आएका स्टार्टअपहरूमा लगानी गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पु¥याउनेछन् ।
पहिलो सिजनका लागि आईएमई ग्रुपका सह संस्थापक हेमराज ढकाल, अग्नि ग्रुपका संस्थापक क्याबिनेट श्रेष्ठ, वैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह वैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्म ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रूपमा अनुबन्ध भएका छन् ।
कठिन संर्घषमार्फत ब्यबसायिक जीवनमा सफलता प्राप्त गरेका यी अगुवा व्यवसायीहरूले उत्कृष्ट सोंच र सम्भावना भएका तर लगानी जुटाउन खोजिरहेका व्यवसायहरूमा लगानीसँगै व्यवसायीलाई सफलताका लागि मार्गदर्शनसमेत गर्नेछन् ।
यस सिजनका लागि अन्य दुई जना शार्क पछि सार्वजनिक गरिने हिमालय टेलिभिजनले जनाएको छ ।
सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठुलो व्यावसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ ।
यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा शार्क ट्याङ्कको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ ।
‘भारत, बंगलादेश र पाकिस्तानमा शार्क ट्याङकको अभूतपूर्व सफलतापछि हामी नेपालमा यो शो ल्याउन पाउँदा उत्साहित छौँ। शार्क ट्यांकले अनगिन्ती उद्यमीहरूलाई सशक्त बनाएको छ र लाखौँलाई उनीहरूको नवप्रवर्तन र दृढ सङ्कल्पका कथाहरूद्वारा प्रेरित गरेको छ,’ सोनी पिक्चर्स टेलिभिजनकी दक्षिण एसिया क्षेत्रीय अन्तर्राष्ट्रिय वितरण उपाध्यक्ष सोनिका भासिन भन्छिन्, ‘हामी नेपालमा यो परम्परा फैलाउने र नेपाली नवप्रर्वतनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसरको प्रतीक्षामा छौँ। यसले दक्षिण एसियाभित्र शार्क ट्याङ्क ब्रान्डलाई अझ बलियो बनाउने छ र हामी नेपालबाट उदाउने नवीन उद्यमहरूको प्रतीक्षा गरिरहेका छौँ ।’
हिमालय टेलिभिजन एचडीका कार्यकारी निर्देशक श्याम कडेलले शार्क ट्याङ्क नेपालको पहिलो सिजनको शार्कका रूपमा नेपालका सफल उद्यमी/ब्यबसायीहरुलाई प्रस्तुत गर्न पाउँदा गर्व लागेको बताए ।
‘वास्तवमा दक्षिण एसिया क्षेत्रमा यो कार्यक्रमको सम्झौता हिमालय टेलिभिजनले गरेको थियो तर कोभिड र आर्थिक सिथिलताका कारण सुरुवात गर्न केही ढिला हुन गयो’ उनले भने, ‘यो केवल रियालिटी शो मात्र नभएर नेपालको स्टार्टअप इकोसिस्टममा एउटा नवीन क्रान्ति ल्याउने छ भन्ने हामीले विश्वास लिएका छौँ ।’
हिमालय टेलिभिजन एचडीले शार्क ट्यांक नेपाल सिजन १ का लागि २० एपिसोडको श्रृङ्खला प्रसारण गर्ने तयारी गरिरहेको छ भने नेपालका सबै प्रकारका व्यवसायहरूलाई आवेदन दिनका लागि आह्वान गरेको छ ।
व्यवसायीहरूले आफ्नो व्यवसायसँग सम्बन्धित डाटा प्रस्तुत गर्दै, एक निश्चित प्रतिशत व्यवसायको शेयर वा ऋणको बदलामा लगानी प्राप्त गर्नका लागि आवेदन गर्न सक्नेछन् । व्यवसाय सञ्चालनमा आएका र विस्तारका लागि लगानी खोजिरहेका नेपाली उद्यमहरुले हिमालय टेलिभिजनको एप र वेबसाइटमा गई आवेदन दिन सक्नेछन् । शार्क ट्याङ नेपालको पहिलो सिजनको आवेदन जनवरी १५ तारिखभित्र दिइसक्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह
-
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
-
हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
-
न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
-
कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो : गंगानारायण श्रेष्ठ