बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसलः फिल्मका हिरो

‘त्यसैले म हिरो हुँ’

बिहीबार, ११ पुस २०८१, १० : ००
बिहीबार, ११ पुस २०८१

पहिले ‘हिरो’ भन्दा मेरो मानसपटलमा दुई किसिमको दृश्य आउँथ्यो । एउटा, सामाजिक काम गर्ने । जसले समाजको मन जितेको हुन्छ । इज्जत पाएको हुन्छ । ऊ वास्तविक हिरो हो । त्यस्तै अर्को फिल्मको पात्र, जसले फिल्ममा नायकको चरित्र निभाउँछ ।

मैले जब सिनेमा क्षेत्रमा काम गर्न थालेँ तब हिरोको परिभाषा अलिक फेरियो । जसले राम्रो काम गर्छ त्यो मेरा लागि हिरो हो । समाजमा धेरै थरीका हिरो छन् । खेल खेल्दा जसले साँच्चै राम्रोसँग खेल्न सक्यो त्यो खेलको हिरो हो । जुनसुकै क्षेत्रमा जसले गजबको काम गर्छ त्यो नै त्यस क्षेत्रको हिरो हो । किनकि, त्यो समयको नायक नै उही हो । त्यो समयमा ऊ नै हिरो हुन्छ ।

हिरोका रूपमा रहिरहन उसले आफ्नो व्यवहार र आचरण पनि त्यहीअनुसार विकास गर्नुपर्छ । आफ्नो त्यो उत्कृष्टता देखाएर लामो समय टिकिरहन सके ऊ सधैँका लागि हिरो हुन्छ । नत्र ऊ पनि कुनै समय अस्ताउँछ । समाजमा फेरि नयाँ हिरो आउँछन् । यसलाई छोटो समयको हिरो भन्छन् । जस्तो: नेपालमा कोरोना सुरु भयो । एउटी बहिनीले बेवारिसे लास लगेर पोल्ने काम गरिन् । उनी तत्कालीन समयका लागि हिरो भइन् । कोभिडको समयमा यस्ता धेरै हिरो भए । तर, ती अहिले त छैनन् । त्यसका लागि त्यही समयलाई हिरो हो । 

म अभिनयमा आउनुअघि भने हिरोका विषयमा मेरो फरक धारणा थियो ।  परिपक्व थिइनँ । मेरो सोचाइ त्यहीअनुसार हुने गर्थ्यो । तत्कालीन समयमा मलाई लाग्थ्यो कि हिरो भनेको त्यो व्यक्ति हो जसले नराम्रो गर्नेलाई पिट्छ । समाजलाई राम्रो काममा अग्रसर गराउँछ । यस्तो गर्नुहुँदैन भनेर सिकाउँछ । मानिसलाई नराम्रो गर्दा बचाउ गर्ने नभई गलतलाई गलत भनेर सत्यको पक्ष लिने व्यक्ति हिरो भन्ने लाग्थ्यो । हाम्रो जमानामा भुवन केसी, शिव श्रेष्ठ, राजेश हमालजस्ता हिरो हुनुहुन्थ्यो । उहाँहरूको फिल्म हेर्दै हुर्केको भएकाले हामीले त्यहीअनुरूप पात्रलाई हिरोका रूपमा हेर्ने गरेका थियौँ । 

मैले मेरो धरातल भुल्नुहुँदैन । म कहाँबाट आएको र मेरो पृष्ठभूमि के हो भन्ने सधैँ ख्याल गर्नुपर्छ । त्यो सधैँ हेक्का होस् भनेर फिल्म सफल भएलगत्तै मैले नाटकमा आफूलाई फर्काएको हुँ ।

म बिस्तारै किशोरावस्था हुँदै परिपक्व हुन थालेँ । मेरो हिरोको परिभाषा फेरियो । मेरा बाका लागि म हिरो, मेरा लागि मेरा बा हिरो । समाजका लागि म हिरो । मैले समाजमा अनेक हिरो देख्न थालेँ । मेरा बाआमाका लागि जतिसुकै नराम्रो अनुहारको भए पनि मै हिरो हो । मेरी श्रीमतीका लागि म नै हिरो हो । मेरो परिवारका लागि म नै हिरो हो । अब हिरोको हेराइ फरक भयो । यसमा अनुहार र रूपको कुरा भएन । आफूलाई कसले सकारात्मक रूपमा हेर्छ त्यो नै हिरो हुने समय सुरु भयो । यसरी हिरोको परिभाषा फेरिँदै गयो । यो स्वाभाविक पनि हो । 

मेरो गाउँबाट म मात्रै अभिनयमा आएको हुँ । त्यसैले गाउँका लागि म हिरो हो । म सानैदेखि अरूको क्यारिकेचर गर्थें । त्यसरी पनि मलाई अग्रभागमा सबैले मनोरञ्जनका लागि राख्ने तत्कालीन समयमा म नै त्यहाँको हिरो हुन्थेँ । यसरी हिरोको परिभाषा, ठाउँ, समय, परिस्थिति र अवस्थिति हेरेर पनि फरक हुने रहेछ ।

  • एकै पटक तीन चरित्र 

म पछिल्लो समय हिरो होइन, अभिनय भन्न रुचाउँछु । म आफूलाई हिरो होइन कलाकार भन्न चाहन्छु । म अभिनय अब्बल गर्न सक्छु भन्ने लाग्छ । मैले कुनै कथामा अभिनय गरिरहँदा म त्यसको हिरो हो । मैले चरित्रभित्र न्याय गरेर अभिनय गर्नुपर्छ । त्यो अभिनय नै हिरो हो । 

म ‘पूर्णबहादुरको सारङ्गी’मा बाउको भूमिकामा छु । तापनि म हिरो हुँ । मैले बाका रूपमा गर्नुपर्ने भूमिकालाई न्यायसंगत रूपमा निभाउन सकेका कारण यसलाई रुचाइयो । यसमा मेरो अभिनयले न्याय गर्‍यो । त्यसैले म हिरो भएँ । यो फिल्ममा बाको भूमिकामा म हिरो हो । तर, अरू भूमिकामा अरू नै पात्र (कलाकार) हिरो हो । यो फिल्ममा मैले छोराका लागि त्यागदेखि संघर्ष गर्ने भूमिका निर्वाह गरेँ । त्यो उसको छोराका लागि हिरो हो र समाजका लागि उदाहरण हो । यसरी समाजको उदाहरण नै हिरो हो । मैले यो पात्र पाएर न्याय गर्न सकेका कारण मलाई अहिले चिनाएको हो । 

हिरो हुन तयारी लाग्छ भने हिरो भएपछि झन् धेरै तयारी गर्नुपर्छ ।

मैले ‘पूर्णबहादुरको सारङ्गी’मा एकै पटक तीनवटा चरित्र गर्ने सौभाग्य पाएँ । उमेरको हिरो, लोग्नेको भूमिकामा हिरो अनि बाबुको भूमिकामा हिरो हुने अवसर मिल्यो । सायद ती सबै भूमिकालाई न्याय गर्न सकेकाले मलाई दर्शकले रुचाउनुभएको होला । यो फिल्म पनि यही कारण सफल भयो भन्ने लाग्दछ । यसले फिल्म क्षेत्रमा केही कुरा परिवर्तन गर्न सहयोग गरेको मेरो बुझाइ छ । फिल्ममा ‘गुड लुकिङ’ हिरो मात्र हुँदैन है पात्रको हिसाबमा पनि हिरो हुन्छ भन्ने कुरा यसले देखाएको छ । 

‘पूर्णबहादुरको सारङ्गी’ सफल हुनुअघिको विजय बराल र सफल भएपछिको विजय बरालमा कुनै अन्तर छैन । म त्यही विजय बराल हुँ । म ठुलो हुँ भन्ने भ्रम नहोस् । ममा घमण्ड नहोस् भनेर नाटकमा पनि सक्रिय भएको छु । यो किनकि मैले मेरो धरातल भुल्नुहुँदैन । म कहाँबाट आएको र मेरो पृष्ठभूमि के हो भन्ने सधैँ ख्याल गर्नुपर्छ । त्यो सधैँ हेक्का होस् भनेर फिल्म सफल भएलगत्तै मैले नाटकमा आफूलाई फर्काएको हुँ । समाजमा एकपटक सफल भएपछि समाजले त्यो चरित्रको इमेज बनाएको हुन्छ । त्यो म होइन पात्रको इमेज हो । त्यो मेरो दैनिकीमा कतै नमिल्ला कि भन्ने चिन्ता छ ।

bijay baral (1)

  • हिरोको छवि बचाउन चुनौती

‘पूर्णबहादुरको सारङ्गी’ सफल भएपछि समाजले मलाई एउटा हिरो सम्झन थाल्यो । त्यो पात्रसँग मलाई तुलना गरेर हेर्न थाले । म हिरो भएँ । मलाई के लाग्न थालेको छ भने चरित्रका आधारमा पनि हिरो हुने रहेछ । घरका लागि म हिरो होला । तर, समाजका लागि पनि हिरो भइने रहेछ । त्यो हिरोको छवि बचाएर राख्नुपर्ने चुनौती हुने रहेछ भन्ने महसुस भइरहेको छ । 

‘पूर्णबहादुरको सारङ्गी’ सफल हुनुअघि म एउटा कलाकार मात्र थिएँ । अभिनय गरिरहेको थिएँ । सफल हुने कोसिसमा लागेको कलाकार थिएँ । तर, एकाएक मेरो यो परिचय फेरियो । ‘पूर्णबहादुरको सारङ्गी’जस्तो सफल फिल्म दिएँ । अब यसको समाजमा रहेको चरित्रलाई मैले सधैँ न्याय गर्नुपर्ने चुनौती छ । मलाई दर्शक र जनताले हेर्ने दृष्टिकोण फरक भएको छ । कसैको मनमा पसेर महसुस गराउन सक्नु पनि एक प्रकारको हिरो रहेछ । विगतमा र अहिले मलाई हेर्ने नजर नै परिवर्तन भएको छ ।

म हलवालाका लागि पनि कमाइदिने हिरो भएँ । दर्शकका लागि पनि हिरो भएँ । राम्रो कथामा पनि फिल्म बनाउन सकिन्छ भन्नेहरूका लागि हिरो भएँ । सपना राम्रो तयारीसाथ देख्ने हो भने पूरा हुने रहेछ है भन्नेचाहिँ यो फिल्मले देखाएको छ । सपना पूरा गर्न मेहनत भएको हुन्छ । तर, त्यसको तयारी भने पूरा हुनुपर्ने रहेछ । 

‘पूर्णबहादुरको सारङ्गी’ सफल भएपछि समाजले मलाई एउटा हिरो सम्झन थाल्यो । त्यो पात्रसँग मलाई तुलना गरेर हेर्न थाले । म हिरो भएँ । मलाई के लाग्न थालेको छ भने चरित्रका आधारमा पनि हिरो हुने रहेछ ।

‘पूर्णबहादुरको सारङ्गी’ फिल्म हिट हुनुअघि विजय बराल एउटा कलाकार मात्र थियो । केही सिनेमामा अभिनय गर्दै आएको थियो । तर, अहिले त्यो छवि फेरियो । म सफल फिल्मको हिरो भएँ । यो अब आगामी दिनमा कायम राख्नुपर्ने ठुलो चुनौती छ ।  सफल हुन धेरै मेहनत लाग्छ । मेहनतपछि सगरमाथा पुगियो । अब दर्शकले बनाएको त्यो सगरमाथाको इमेज नझरोस् र त्यसमै अरू थपोस् भन्ने चाहनुहुन्छ । मेरो पनि चाहना त त्यही नै हुन्छ । यसलाई माथि–माथि मात्रै देख्न पाइयोस् भनेर मेरा दर्शक र शुभचिन्तक ठान्दछन् । 

म त एउटा मेहनत गर्ने पात्र मात्र हो । सफल हुने वा नहुने त मेरो हातमा छैन । म अब्बल काम गर्ने र आफूले पाएको पात्रलाई न्याय गर्ने मात्र हो । मैले न्याय गरेर अभिनय गर्दैगर्दा मन पराउने कि नपराउने त दर्शककै हातमा हुन्छ । मैले मेरो कर्म मात्र पूरा गर्ने हो । यो छविलाई कायम राख्नु मेरो चुनौती हो । 

यो सहरमा अभिनय गर्ने त म मात्र छैन । अहिले मेरो भागमा परेको होला । विगतमा राजेश हमाल हिरो हुनुहुन्थ्यो अहिले विजय बराल भयो भनेर पहिला त म आफूलाई स्वीकार गर्छु । मसँग स्कुटर छ भने त्यही चढ्छु । एकै पटक गाडी चढ्नुपर्छ भनेर हिँड्दिनँ । मेरो छविसँगै म भावुकचाहिँ हुनुहुँदैन । मेरो गर्ने कर्म अझै माझिएको र मेहनत थप गर्ने काम गर्छु । मैले ठुलो घरमा बस्नुपर्ने, करोडको गाडी चढ्नुपर्ने भावुकताचाहिँ देखाउन सक्दिनँ । 

  • हिरोले समाजमा के दिने ? 

मेरो विगतको छविभन्दा अहिले फरक भयो । यो कुरा म महसुस गर्छु । म यही कारण थिएटरमा फर्केको हुँ । मैले यहाँ कमजोरी सच्याउन र सिक्न पाउँछु । समाजलाई ठेस नपुर्‍याईकन काम गर्नुपर्ने हुन्छ । समाजमा हिरोको छवि छ भने मेरो पनि केही समाजलाई दिनुपर्ने दायित्व हुन्छ । मैले त्यो मर्यादाको सीमा वा पर्खालभित्र आफूलाई बाँध्ने काम गर्नुपर्छ । कसैको मनलाई चोट नपुग्ने र समाजलाई हानि नपुर्‍याउने काम गर्नुपर्छ । समाजले दिएको माया बचाउने काम मैले पनि गर्नुपर्छ । हिरोको सामाजिक दायित्व पक्कै पनि हुन्छ । हिरो भन्दैमा सरकारले गरेको कुरामा यस्तो वा उस्तो भनेर भाषण गर्ने वा सामाजिक सञ्जालमा राख्ने मात्र होइन होला । 

मैले समाजका लागि आर्थिकदेखि सामाजिक अवस्थासम्मको मूल्यांकन गरेर केही गर्नुपर्छ । मसँग नै छैन भने म हिरो हो भनेर भावुक भएर काम गर्न सकिँदैन । मैले आफ्नो क्षेत्र र कर्मबाट दिने हो । सबैले आफ्नो क्षेत्रबाट इमानदार भएर कर्म गर्ने हो । अरूलाई हानि नपुर्‍याउने र समाजलाई चोट नपुर्‍याउने काम गर्नु नै अहिले हिरोको चुनौती हो ।

  • सामाजिक चेत कति ?

दर्शकहरू सिनेमा हेरेर भावुक हुन्छन् । अनि, एउटा धारणा बनाउँछन् । सफल भएपछि एउटा छवि बन्छ । त्यो भनेको बनाइएको चिज हो । समाजले त्यस्तो छवि बनाइदिन्छ । त्यो छविमा ऊ हिरो हुन्छ । समाजले एक समय सबैलाई हिरो बनाइदिन्छ । त्यो समय तपाईं आफ्नो इमेज एक ठाउँमा राखेर इमानदार भई काम गर्नुपर्छ । म हिरो हुँ । मलाई सबैले चिन्छ । मलाई सबैले सम्मान गर्नुपर्छ भनेर हिँड्ने हो भने त्यो भ्रममा बाँच्न थाल्छ । यो भ्रमले इगोको रूप लिन्छ । त्यसले समाप्ति र बदनामीतिर लैजान्छ । हिरो हुन तयारी लाग्छ भने हिरो भएपछि झन् धेरै तयारी गर्नुपर्छ । जस्तो: मैले सार्वजनिक रूपमा सडकमा बसेर चुरोट खाने, रक्सी खाएर हल्ला गर्ने अनि समाजमा अरूलाई डिस्टर्ब गर्ने गर्न मिल्दैन । म समाजको हिरो भएपछि त्यसअनुसारको इमेज बचाउन सक्नुपर्छ । विगतमा सिनेमामा रहेका हिरोले यसलाई कायम राख्न नसक्दा छवि बिग्रेको हुन सक्छ । हिरोहरूमा झन् बढी समाजको चेत हुनुपर्छ ।

(कलाकार बरालसँग रातोपाटीकर्मी कुवेर गिरीले गरेको कुराकानीमा आधारित) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय बराल
विजय बराल
लेखकबाट थप