बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसलः फिल्मका हिरो

‘हिरोले पब्लिकमा नराम्रो छाप छोड्नु हुँदैन’

बिहीबार, ११ पुस २०८१, ०९ : ५५
बिहीबार, ११ पुस २०८१

एक सफल कलाकार हुन्, हरिहर शर्मा । उनी नाटक, सिरियल होस् या चलचित्र, सबैतिर राम्रो छाप छाड्न सफल छन् । २०३० सालदेखि कलाकारितामा लागेका उनको यो कर्म अहिले पनि जारी छ । धेरैले शर्मालाई ‘वासुदेव’को अभिनयका कारणले चिन्ने गर्छन् । उनले उक्त फिल्ममा मुख्य भूमिका निर्वाह गरेका थिए । त्यही भूमिकालाई लिएर त्यति बेला हिरो कि होइन भन्ने बहस चलेको थियो । आफूले चरित्र हिरोको भूमिका निर्वाह गरेको उनी बताउँछन् । पछिल्लो समय चरित्र हिरोको चर्चा व्यापक छ । त्यही चरित्र हिरोका रूपमा पहिलो पटक अभिनय गर्ने काम शर्माले गरेको देखिन्छ । रातोपाटीकर्मी कुवेर गिरीले हिरोकेन्द्रित केही प्रश्न कलाकार शर्मालाई गरेका छन् ।

तपाईँको बुझाइमा हिरो को हो ?

त्यो एउटा कथाको मुख्य चरित्र हो । जसले कथालाई मुख्य रूपमा अगाडि बढाइरहेको हुन्छ । समग्रमा एउटा कथामा देखिने जति पात्र हुन्छन् त्यो चरित्र नै हो । तीमध्ये एक मुख्य चरित्र हुन्छ । जसलाई हिरो भन्ने गरिएको छ ।

  • बालापनमा हिरोप्रतिको बुझाइ के थियो ?

म सानोमा हिन्दी फिल्मबाट प्रभावित थिएँ । स्कुल र कलेज पढ्दा हिन्दी फिल्म हेर्थेँ । त्यो समय हिन्दी फिल्मले सबैलाई प्रभाव पारेकै हुन्थ्यो । हिरो भनेको सुन्दर अनुहार, स्वाभाविक उचाइ, बलियो, रोमान्स गर्दा र झगडा गर्दा पनि सुहाउने, रिस र खुसी दुवैमा राम्रो देखिने कल्पना गरिन्थ्यो । शारीरिक बनावटमा उच्च ललाट भएको, छाती चौडा भएको, कुम उठेको, बलिष्ठ बाहु, मृदुभाषी, आवाजमा गम्भीर र अभिव्यक्तिमा निपुण भन्ने किसिमको एउटा परिभाषा थियो ।

भरत नाट्यशास्त्रमा वर्णन गरिएजस्तो नायक खोजिन्थ्यो । हिन्दी फिल्मका नायक पनि त्यहीबाट निर्देशित हुँदै आएको देखिन्थ्यो । उचाइ नभएका, बलियो शरीर भए पनि अनुहार नमिलेकाहरू चरित्र अभिनयतिर जान्थे । हामी पनि त्यहीबाट प्रभावित भएकै हो । म फिल्म अभिनयमा होमिँदा पनि माथिका कुराबाट प्रभावित भएर नै हिरो छान्ने गरिन्थ्यो ।

  • तपाईंले मुख्य भूमिका निर्वाह गर्नुभएको ‘वासुदेव’ हेर्दा त्यस्तो लाग्दैन त ?

मैले जति पनि फिल्म अभिनय गरेँ, सबैमा महत्त्वपूर्ण मानिने भूमिका निर्वाह गरेको थिएँ । तर, समाजले हिरो भन्ने भूमिकामा ‘वासुदेव’मा पाए । मैले ‘वासुदेव’मा निर्वाह गरेको भूमिकालाई लिएर त्यति बेला अवार्ड समारोहहरूका जुरीहरूबिच छलफल नै चल्यो– ‘वासुदेव’ हिरो हो र ? त्यति बेला जो कथा अध्ययन गर्थे उनीहरूले ‘वासुदेव’ हिरो नै हो भने । कतिले ‘वासुदेव’को छोरोलाई हिरो भने । त्यति बेला पनि मेरो बुझाइ ‘वासुदेव’ हिरो नै भन्ने थियो । पहिले होस् वा अहिले, जसले कथा अघि बढाउँछ त्यो हिरो भन्ने मेरो मान्यता छ ।

पहिले होस् वा अहिले, जसले कथा अघि बढाउँछ त्यो हिरो भन्ने मेरो मान्यता छ ।

हिरोको खोजी केही समय अघिसम्म परम्परागत नै थियो । त्यसमा बिस्तारै फाइट गर्ने, नाच्न जान्ने, रोमान्स गर्ने सोच थपियो । तर, अहिले त्यो अवस्था छैन । अहिले चरित्रप्रधान र चरित्रलाई निर्वाह गर्न सक्ने व्यक्तिहरूले फिल्मलाई अगाडि बढाइरहेका छन् । त्यो फिल्म सफल बनिरहेका छन् । 

  • के त्यसो भए अहिले हिरोको परिभाषा फेरिएको हो ?

फिल्म उद्योगमा ५–७ वर्षयता हिरो भनेर पहिलाजस्तो क्लासिकल मान्यता छैन । अहिले रङ्गमञ्चझैँ चरित्रप्रधान नायकहरूले फिल्म उद्योग डोर्‍याइरहेका छन् । त्यसले फिल्मलाई राम्रो सफलता प्राप्त भइरहेको छ । पुराना मान्यताले हिरो खोज्ने व्यक्तिमा बिस्तारै सोच परिवर्तन हुँदै गएको छ । अहिले अभिनय क्षमता हेरेर हिरो लिन थालिएको छ । तापनि, फाट्टफुट्ट अनुहार र जीउडाल हेर्ने क्रम रोकिएको छैन ।

  • यसो हेर्दा कहिले क्लासिकल, कहिले एक्सन, कहिले रोमान्टिक तथा कहिले के ! हिरोको परिचय यही हो भन्ने देखिन्न । किन यस्तो भइरहेको छ ?

कथाका आधारमा हिरोलाई वर्गीकरण गरिन्छ । कथा एक्सन भए एक्सन हिरो । कथा प्रेमकथा र रोमान्टिक भए रोमान्टिक हिरो । अन्य भए अन्य हिरो । अहिले यथार्थवादी चरित्रले प्राथमिकता पाउँदै गएको छ । बन्न त सबै प्रकारका फिल्म बनिरहेका छन् । केही अगाडि फिल्म ‘१२ गाउँ’ एक्सनमा आयो ।

अहिले तहल्का पिटिरहेको ‘पूर्णबहादुरको सारङ्गी’ सामाजिक कथामा सलल बगेर आयो । बिचमा रोमान्टिक र पारिवारिक कथामा पनि फिल्म आए । म रङ्गमञ्चबाट आएको कलाकार भएकाले चरित्र निर्माण प्राथमिकतामा पर्छ । मैले फिल्म ‘वासुदेव’मा चरित्र निर्माणमा जोड दिएको थिएँ । जसमा पहिलेदेखि चल्दै आएको क्लासिकल हिरोको मान्यतालाई चुनौती दिँदै चरित्रको हिरो प्रस्तुत गरिएको थियो । त्यो समय फिल्मको चर्चा व्यापक रूपमा पोजिटिभ भयो । तर, लगानीकर्ताले यसलाई त्यही रूपमा अगाडि बढाउन आँट गर्न सकेनन् । जसले गर्दा चरित्र हिरोको स्थापित हुन वर्तमान समय कुर्नुपर्‍यो ।

फिल्म उद्योगमा ५–७ वर्षयता हिरो भनेर पहिलाजस्तो क्लासिकल मान्यता छैन । अहिले रङ्गमञ्चझैँ चरित्रप्रधान नायकहरूले फिल्म उद्योग डोर्‍याइरहेका छन् ।
  • तपाईँको विचारमा फिल्मका हिरोले सामाजिक छवि कस्तो बनाउनुपर्छ ?

हिरो भनेको पब्लिक फिगर हो । पब्लिकका सामुन्ने आफूलाई उभ्याइसकेपछि त्यो व्यक्तिले आफूलाई व्यावहारिक रूपमा फिल्मको जस्तै आदर्श व्यक्तिका रूपमा स्थापित गर्न सक्नुपर्छ । धेरै व्यक्ति यसमा सहमत नहुन र हुन पनि सक्छन् । तर्क– वितर्क राख्न सकिन्छ । तर, हिरो सार्वजनिक व्यक्तित्व भएको हुनाले आफ्ना क्रियाकलापले दर्शकमा अप्ठ्यारो र नराम्रो छाप छोड्नु हुँदैन । कलाकारले नकारात्मक भूमिकामा अभिनय गरे पनि व्यवहारले त्यो फिल्मको चरित्र मात्र रहेछ, रियलमा त असाध्यै राम्रो रहेछ भन्ने छाप बनाउनुपर्छ ।

हिरोका हरेक क्रियाकलाप सर्वसाधारणले फलो गर्छन् । त्यसैले लगाउनेदेखि आफ्नो गेटअपसम्म स्वाभाविक र सहज प्रयोग गर्नुपर्छ । अचेल मिडियामा हरेक समाचार बन्ने भएकाले पहिरन सुहाउँदो, बोलीचाली पनि तदनुरूप हुनुपर्छ । आफ्नो वास्तविक स्वभाव त्यो होइन भने पनि सार्वजनिक स्थानमा, कार्यक्रममा आफूलाई तदनुरूप पस्किन सक्नुपर्छ । पर्दामा देखिने हिरो रियलमा हिरो नै रहेछ । बोली, पहिरन सबै कति राम्रो मिलेको भन्दा सफल हिरो ठहरिन्छ । बलिउडका अमिताभ बच्चन ८२ वर्ष हुनुभयो क्यार ! उहाँले जे लगाए पनि मिलाएर लगाउनुहुन्छ । बोली पनि त्यस्तै छ । यसले उहाँप्रति पब्लिकको आकर्षण बनिरहेको छ ।

  • हिरोले गर्न नहुने कुरा पनि छन् कि ? 

हिरोले सामान्य मानिसभन्दा धेरै कुरामा ध्यान दिनुपर्छ । समाजमा वर्जित कुरो मोटो रकम मिल्यो भने पनि प्रमोसन गर्नुहुँदैन । सामाजिक उत्तरदायित्व बढी बोध गर्नुपर्छ । व्यक्तिगत फाइदाभन्दा सामाजिक जिम्मेवारीमा महत्त्व राख्नुपर्छ । यस्ता कुरामा ध्यान पुर्‍याउन नसक्दा नेपाली हिरोहरूको पब्लिकमा छवि राम्रो बन्न सकिरहेको छैन ।

आफूले के गर्न हुने, के गर्न नहुने भनेर आफैँले निर्धारण गर्नुपर्छ । मातिने गरेर रक्सी खान मन छ, खान सकिन्छ । तर, सार्वजनिक स्थानभन्दा घरमा गोप्य रूपमा खानुपर्छ । राम्री केटीप्रति आकर्षण हुन सकिन्छ । तर, त्यसलाई गोप्य राख्नुपर्‍यो । बाहिर प्रेम गर्दै हिँड्नु भएन । हिरोले आफ्नो छवि राम्रो बनाउन ठुलै त्याग गर्नुपर्छ ।

मैले एकपटक साथीहरूसँग रत्नपार्कमा मम खाएको थिएँ । भोलिपल्ट त्यो रत्नपार्कको मममा हरिहरको लाइन भनेर आयो । म त्यस बेला झसङ्ग भएँ । हामीले जे पायो त्यही गर्न हुँदैन रहेछ । हिरोले सेल्फ सेन्सरसिप गर्नुपर्‍यो । कतिलाई त्यसले प्रेरणा पनि दियो होला सिम्पल र सहज भनेर । सबै दर्शकको सोच एउटै हुँदैन । 

  • बलिउड र हलिउडका जसरी नेपाली हिरो सामाजिक काममा देखिन्नन्, किन ?

नेपाली कलाकारमा पनि त्यस्तो चाहना नभएको होइन । राम्रा काम के–के छन् त्यो गरौँ भन्ने हुन्छ । मैले हिरोमा मात्र होइन, सबै कलाकारमा यो चाहना देखेको छु । तर, केही सीमा छन् । आर्थिक, भौतिक तथा समयको पाबन्दी होला । सबै कुराले गर्दा चाहना हुँदा पनि गर्न नसकेको अवस्था मैले महसुस गरेको छु । कतिले गरेर बाहिर ल्याएका छैनन् । समाजमा बेला–बेला अप्ठ्यारो परेको समय कलाकारले विभिन्न रूपमा सहयोग गरेको हामीले देख्दै पनि आएका छौँ । चेतना बाँड्ने काम पनि गरेका छौँ । बलिउड र हलिउडका हिरोजस्तो नेपाली हिरो आर्थिक रूपमा त्यति सबल छैनन् । त्यसैले उनीहरूसँग तुलना गर्न मिल्दैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप