बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : फिल्मका हिरो

को हो हिरो ?

बिहीबार, ११ पुस २०८१, ०९ : ३५
बिहीबार, ११ पुस २०८१
  • अहिले अभिनय क्षमता हेरेर हिरो लिन थालिएको छ । तापनि, फाट्टफुट्ट अनुहार र जीउडाल हेर्ने क्रम रोकिएको छैन ।हरिहर शर्मा, कलाकार 
  • कथाका पात्रलाई हिरो बनाउनुपर्छ । हामी कलाकारलाई हिरो भनिरहेका छौँ । त्यो परिचय नै गलत छ ।मनोज पण्डित, समीक्षक 
  • अहिले राम्रो अभिनय गर्नेलाई कति राम्रो हिरो भनिन्छ । चरित्रमा डुब्नेलाई हिरो मान्ने कि चरित्र अभिनेता ?प्रकाश सायमी, निर्देशक 
  • म फिल्म क्षेत्रमा दुई किसिमको हिरो देख्छु । एक पर्दामा देखिने, अर्काे पर्दामा नदेखिने ।कृष्ण मल्ल, अभिनेता 
  • पर्दामा अन्याय–अत्याचारविरुद्ध लड्ने हिरो हो भन्ने आफ्नो सोच ‘प्रकाश’ फिल्मपछि परिवर्तन भयो ।प्रदीप खड्का, नायक
  • कसैको मनमा पसेर महसुस गराउन सक्नु पनि एक प्रकारको हिरो रहेछ । विगतमा र अहिले मलाई हेर्ने नजर नै परिवर्तन भएको छ । - विजय बराल, अभिनेता

काठमाडौँ  । हिरो अर्थात् नायक को ? कस्तो ? अनि, कसलाई मान्ने ? चलचित्र क्षेत्रमा बहसकै विषय हो यो । 

पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’देखि पछिल्लो ‘पूर्णबहादुरको सारङ्गी’सम्म आइपुग्दा दर्शकले अनेक प्रकारका हिरो पर्दामा देखिसकेका छन् । कोही क्लासिकल त कोही एक्सनबाट चिनिए । कसैले डान्सिङ त कसैले रोमान्टिकको परिचय बनाए । पैसा लगानी गरेर आउनेहरू पनि देखिए । कतिपयका सन्दर्भमा नेपोटिजम (नातावाद) पनि चल्यो । 

पछिल्लो समय भने चरित्र प्रधान बनेर आएको देखिन्छ । ‘पूर्णबहादुरको सारङ्गी’को सफलताले पनि यही तथ्य बोल्छ । यही फिल्मबाट आफू हिरो भएको महसुस गरिरहेका छन्, विजय बराल । भन्छन्, ‘मलाई के लाग्न थालेको छ भने चरित्रका आधारमा पनि हिरो हुने रहेछ ।’ 

उनी पहिला आफूलाई कलाकार मात्र ठान्थे । अभिनयमा मेहनत गर्थे । सफल हुने कोसिसमा थिए । ‘तर, एकाएक मेरो यो परिचय फेरियो । पूर्णबहादुरको सारङ्गीजस्तो सफल फिल्म दिएँ । अब यसको समाजमा रहेको चरित्रलाई मैले सधैँ न्याय गर्नुपर्ने चुनौती छ’, उनी भन्छन् । 

अहिले रंगमञ्चझैँ चरित्रप्रधान नायकहरूले फिल्म उद्योग डोर्याइरहेका बताउँछन् कलाकार हरिहर शर्मा । ‘त्यसले फिल्मलाई राम्रो सफलता प्राप्त भइरहेको छ । पुराना मान्यताले हिरो खोज्ने व्यक्तिमा बिस्तारै सोच परिवर्तन हँुदै गएको छ’, उनी भन्छन्, ‘अहिले अभिनय क्षमता हेरेर हिरो लिन थालिएको छ । तापनि, फाट्टफुट्ट अनुहार र जीउडाल हेर्ने क्रम रोकिएको छैन ।’ 

  • पहिले र अहिले : १८० डिग्री कोणमा परिवर्तन

हिरोको छनोट सुरुमा भरत नाट्यशास्त्रबाट प्रेरित देखिन्थ्यो । जसमा हिरोका गुण धीरोदात्त, धिरोद्धत, धीरललित र धीरप्रशान्त उल्लेख छ । धीरप्रशान्त भनेको वीर एवं शान्त स्वभाव भएको हो । धीरललित भन्नाले धीरता, वीरता तथा ललितपना भएको भन्ने बुझाउँछ । क्षमाशील, बलवान्, धीर, दृढ प्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने धीरोदात्त हो । धीरोद्धत भनेर प्रचण्ड, चञ्चल, अहंकारी, आत्मश्लाघी तथा अरूको गर्व सहन नसक्ने बुझिन्छ । 

प्रारम्भिक कालका फिल्मी हिरो पर्दामा यस्तै विशेषता भएका बलशाली देखिन्थे । बाहिर भने सुन्दर र सुकोमल । ‘माइतीघर’का हिरो सीपी लोहनी यही परिकल्पनाले छानेको पाइन्छ । यस्ता हिरोलाई क्लासिकल भन्ने गरिन्छ । ‘युगदेखि युगसम्म’मार्फत राजेश हमालको प्रवेशपछि परिभाषा केही फेरियो । त्यस्ता कलाकारलाई एक्सन हिरो भन्न थालियो । यस्तै नाच्न अब्बल श्रीकृष्ण श्रेष्ठ, दिलीप रायमाझी, रमेश उप्रेतीलगायत पर्दामा देखिए । जसलाई डान्सिङ हिरोको संज्ञा दिइयो । प्रेमकथामा बनेका फिल्ममा अभिनय गर्ने २० देखि ३० बर्षसम्मका युवक देखिए । त्यस्ता हिरोलाई दर्शकले ‘लभरब्वाई’को ट्याग भिराए । 

dilip-rayamajhi

सामाजिक परिवर्तनसँगै हिरोको परिभाषा ठ्याक्कै १८० डिग्री कोणमै परिवर्तन भएको देखिन्छ । सुन्दर अनुहार भएका, जीउडाल परेका, बलशालीलगायत विशेषताभन्दा अभिनयमार्फत दर्शकलाई आफूसँगै डोर्‍याउने खुबीका कलाकारलाई हिरोका रूपमा प्रस्तुत गर्न थालिएको छ । कुनै समय पोस्टरमा राम्रा अनुहार चाहिने भन्दै आदिवासी जनजातिलाई हिरोमा अस्वीकृत गरिन्थ्यो । अहिले राम्रो अभिनय गर्ने कलाकार जोसुकै पनि अटाउन थालेका छन् । अभिनेता दायाहाङ राईले एक अन्तर्वार्तामा भनेका छन्, ‘नाटकमा लाग्दै गर्दा हिरो हुन्छु भन्ने कहिल्यै सोचेको थिइनँ ।’

उनले नै चरित्र हिरोलाई स्थापित गरिदिएका छन् । निश्चल बस्नेत निर्देशित ‘लुट’बाट उनले परम्परागत मान्यता भत्काइदिए । जो पछिल्लो समय सर्वाधिक व्यस्त अभिनेतामा पर्छन् । थिएटर पृष्ठभूमिका दयाहाङले आर्यन सिग्देल मुख्य पात्र रहेको ‘मेरो एउटा साथी छ’मा सानो भूमिका गरेका थिए । अहिले दयाहाङ हिरो रहेको फिल्ममा आर्यन सानो भूमिकामा देखिन थालेका छन् ।

अब हिरोका विषयमा ठूलो बहस र व्याख्या गर्नुपर्ने बताउँछन्, निर्देशक प्रकाश सायमी । पहिलेदेखि अहिले पनि धेरैले ४–५ वटा गीतमा नाच्न सक्ने, ६–७ तलाबाट हाम फाल्न सक्ने र हेर्दा राम्रोलाई हिरो मान्दै आएको उनको धारणा छ । ‘हिरोमा अनौठोपन, सादगीपन, सहजता र आकर्षक पक्षलगायत ४ गुण अनिवार्य छ’, लेखक तथा निर्मातासमेत रहेका सायमी भन्छन्, ‘अहिले राम्रा अभिनय गर्नेलाई कति राम्रो हिरो भनिन्छ । चरित्रमा डुब्नेलाई हिरो मान्ने कि चरित्र अभिनेता ?’ 

हिरोको परिचय फरक–फरक देखिएको उनी सुनाउँछन् । भन्छन्, ‘क्लासिकल, रोमान्टिक, एक्सनलगायत हिरोका प्रकार पनि छन् । भारतमा रोमान्टिक हिरोको सुरुवात देवानन्दले गरे ।’ उनका अनुसार रोमान्टिक हिरोका लगाउनेदेखि हिँड्ने–बोल्नेसम्मको स्टाइल आफ्नै हुन्छ । त्यस्तो हिरोलाई निर्देशकको हस्तक्षेपसमेत हुने उनी खुलाउँछन् । हिरो भनेको मुख्य भूमिकाभन्दा पनि छवि भएको सायमी बताउँछन् । ‘पहिले–पहिले हिरो भनेको रामजस्तो आदर्श पुरुषको कल्पना पनि गरिन्थ्यो’, उनी भन्छन् ।

सायमीको विचारमा समर्थन गर्छन् पुराना अभिनेता कृष्ण मल्ल । कलाकार र दर्शकले बुझ्ने हिरो फरक–फरक भएको उनको धारणा छ । ‘दर्शकले हिरो भन्नेबित्तिकै फिल्ममा दुश्मनमाथि जाइलाग्ने प्रमुख पात्रलाई बुझ्छन् । जो सत्यका लागि लड्छ’, मल्ल भन्छन्, ‘बौद्धिक व्यक्तित्वले ती फिल्ममा पनि विभिन्न किसिमको हिरो खोज्छन् ।’ 

कतिपयले चरित्रमा सफल देखिएको, विशेष भूमिकाको कलाकारलाई पनि हिरो भन्ने गरेको उनको बुझाइ छ । ‘म फिल्म क्षेत्रमा दुई किसिमको हिरो देख्छु । एक, पर्दामा देखिने, अर्काे पर्दामा नदेखिने’, मल्ल भन्छन्, ‘पर्दामा देखिनेले आफू हिरो भएको फिल्म सफल बनाउन लागिपर्छ । नदेखिनेले सबैको फिल्म सफल बनाउन लाग्छ ।’ आफूले भने दोस्रो किसिमकालाई हिरो ठान्ने गरेको मल्ल सुनाउँछन् ।

सायमी र मल्लभन्दा भिन्न मत राख्छन् नायक प्रदीप खड्का । फिल्म उद्योगको सुरुवातको क्रमदेखि अहिलेसम्म आउँदा हिरोको बुझाइ फरक–फरक रहेको उनी बताउँछन् । तसर्थ यसलाई नै हिरो भन्ने अवस्था नरहेको उनको धारणा छ । ‘फिल्मको पर्दामा मुख्य भूमिका निर्वाह गर्ने हो । तर, त्यो चरित्रको पनि हिरो हुन सक्नुपर्छ’, खड्का भन्छन्, ‘हिरोले फिल्ममा होस् वा बाहिर समाजको प्रतिनिधित्व गर्नुपर्छ ।’ 

समाजको प्रतिनिधित्व हुने भएर आफ्नो छवि लभर ब्वाई हुँदा पनि ‘प्रकाश’मा अभिनय गरेको उनको भनाइ छ । ‘पर्दामा अन्याय, अत्याचारविरुद्ध लड्ने हिरो हो भन्ने आफ्नो सोच प्रकाश फिल्मपछि परिवर्तन भयो’, उनी भन्छन्, ‘‘प्रेम गीत’मा अभिनय गर्ने बेलासम्म माया–प्रेम र रोमान्सले हिरो चरित्र लाग्थ्यो । अहिले पनि समाजमा अन्यायमा लड्ने पात्रलाई हिरो मानिन्छ । नेपालमा ‘पुष्पा २’ चल्नुको कारण पनि त्यही हो ।’ 

कसले कसलाई हिरो मान्ने भन्ने व्यक्तिमा निर्धारण हुने उनी बताउँछन् । ‘हरिवंश आचार्य सरले पनि हिरोका रूपमा अवार्ड थाप्नुभयो । त्यो अवार्ड उहाँलाई चरित्रमा सफल देखिएकाले दिइएको हो’, उनी भन्छन्, ‘अहिले ‘पुष्पा’को अल्लु अर्जुनको क्यारेक्टरलाई नायक मान्ने जमात पनि छ । ‘पूर्णबहादुरको सारङ्गी’को विजय बराललाई हिरो मान्ने जमात पनि छ । प्रेमगीतजस्तो क्यारेक्टरलाई हिरो मान्ने जमात पनि छ । एउटा चरित्रको प्रतिनिधित्व गर्ने नै हिरो रहेछ ।’

  • हिरोका ७ छवि 

क्लासिकल हिरोः प्रारम्भिक कालमा देखिएका हिरोलाई क्लासिकलको संज्ञा दिइन्छ । भरत नाट्यशास्त्रले भनेझैँ मुख्य पात्रलाई त्यो समय बलियो, बुद्धिमानी, साहसीलगायत अनेक दृष्टिकोणबाट अब्बल देखाइन्थ्यो । त्यो समयका हिरो सुन्दर, चञ्चल, बलशालीसमेत देखिन्थे । सीपी लोहनी, विश्व बस्नेत, सरोज खनाल, रवीन्द्र खड्का, कृष्ण मल्ल, पुरन जोशी, सल्यान केसी, प्रकाश अधिकारी, अर्जुनजंग शाही, श्रवण घिमिरे, विजय लामा, अर्जुन श्रेष्ठ, गणेश उप्रेतीलगायत यो कोटिमा देखिन्छन् ।

एक्सन हिरोः चलचित्रमा सुरुदेखि नै सामाजिक द्वन्द्वका दृश्य राखिन्थ्यो । तर, कथामा भयंकर भिलेनको कथा रचेर ठूलो द्वन्द्व राख्ने काम शिव श्रेष्ठ र राजेश हमालको प्रवेशपछि हो । शिव ‘बदलिँदो आकाश’ र राजेश ‘युगदेखि युगसम्म’बाट प्रवेश गरे । त्यसपछि धीरेन शाक्य, निखिल उप्रेती र विराज भट्टको छवि पनि एक्सनमै बन्यो । पछिल्लो समय समीर भट्ट यो लाइनमा देखिएका छन् । त्यसो त नायिका रेखा थापाले पनि आफूलाई हिरोका रूपमा उभ्याउने गरेकी छन् ।

डान्सिङ हिरोः फिल्ममा राम्रो नृत्य गर्ने हिरोको कमी सुरुदेखि नै थियो । श्रीकृष्ण श्रेष्ठ, दिलीप रायमाझी, रमेश उप्रेतीलगायत ‘राम्रो नाच्न सक्छ’ भन्ने उदाहरण बने । उनीहरूका नृत्यले दर्शकलाई हलसम्म डोर्यायो । जसलाई फिल्म उद्योगमा डान्सिङ हिरो भन्न थालियो ।

रोमान्टिक हिरोः धेरै नेपाली फिल्म पछिल्लो समय प्रेमकथालाई प्रधान बनाएर बनेका छन् । त्यस्ता फिल्मका प्रमुख पात्रलाई रोमान्टिक हिरोका रूपमा चिन्न थालियो । जसको लामो सूची छ । लोकेन्द्र कार्की, सीमान्त उदास, रमित ढुंगाना, उत्तम प्रधान, आर्यन सिग्देल, राजवल्लभ कोइराला, जीवन लुइँटेलले यही छवि बनाए । यस्तै, सुमन सिंह, दिल श्रेष्ठ, मुकेश ढकाल, सुशील क्षेत्री, सुशील श्रेष्ठ, सविन श्रेष्ठ, संयम पुरी, अनमोल केसी, प्रदीप खड्का, गजित विष्ट, पल शाह, सलिनमान बानियाँ, कर्मा, गौरव पहारी, सारुक ताम्राकार, पुष्प खड्का, आकाश श्रेष्ठ, अनुपविक्रम शाही, प्रशान्त तामाङ, धीरज मगरलगायत पनि यही लाइनका हुन् । 

चरित्र हिरो : अभिनेता दयाहाङ राईले ‘लुट’मार्फत चरित्र हिरोलाई स्थापित गरिदिए । सोही फिल्ममा सौगात मल्ल पनि थिए । ‘लुट’ले त संकटग्रस्त उद्योगलाई पुनर्जीवन दिने काम नै गर्‍यो । त्यसअघि ‘वासुदेव’मा आफूले पहिलो पटक चरित्र हिरोका रूपमा अभिनय गरेको बताउँछन् कलाकार हरिहर शर्मा । ‘मैले ‘वासुदेव’मा निर्वाह गरेको भूमिकालाई लिएर त्यति बेला अवार्ड समारोहरूका जुरीहरूबीच छलफल नै चल्यो– ‘वासुदेव’ हिरो हो र ?’, उनी भन्छन्, ‘त्यति बेला जो कथा अध्ययन गर्थे उनीहरूले ‘वासुदेव’ हिरो नै हो भने । कतिले ‘वासुदेव’को छोरोलाई हिरो भने । त्यति बेला पनि मेरो बुझाइ ‘वासुदेव’ हिरो नै भन्ने थियो ।’

यही लाइनमा हरिवंश आचार्य देखिए । यस्तै, विपिन कार्की, खगेन्द्र लामिछाने, नाजिर हुसेन, मुकुन भुसाल, महेश त्रिपाठी, विजय बराललगायत कलाकारले चरित्र हिरो छवि बनाएका छन् ।

निर्माता हिरोः पैसा लगानी गरेर हिरो बन्नेहरू थुप्रै छन् । जसलाई फिल्म उद्योगमा निर्माता हिरो भन्ने गरिन्छ । जसमा श्रवण घिमिरे, भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, आकाश अधिकारी, नवल खड्का, रोज राणा, शिव गिरी, दिल श्रेष्ठ, सविन श्रेष्ठ, दीपकराज गिरी, सीताराम कट्टेल, निश्चल बस्नेत, खगेद्र लामिछाने, यशकुमारलगायत छन् । 

नेपोटिजम हिरोः पैसा लगानी गरेर सन्तानलाई मुख्य पात्र बनाउने गरेको पनि देखिन्छ । जसलाई चलचित्र उद्योगमा नेपोटिजम हिरो भन्ने गरिएको छ । जसमा अनमोल केसी, सलोन बस्नेत, सुरज पाण्डे, सोहित मानन्धर, समीर भट्टलगायत पर्छन् । अनमोलका बुवा भुवन, समीरका बुवा विराज, सलोनका बुवा शोभित, सोहितका बुवा रामवीर र सुरजकी आमा शर्मिला पाण्डे निर्माता पनि हुन् ।

हामीले विषयलाई चलचित्र उद्योगको चर्चाअनुसार यहाँ लिएका हौँ । नामहरूलाई  प्रतिनिधिगत रूपमा ल्याइएको छ । 

  • रिलका हिरो रियलमा कस्तो ?

धेरै हिरो पर्दामा आदर्श पात्रका रूपमा देखिन्छन् । सार्वजनिक रूपमा भने त्यस्तो छवि बनाउन सकेको देखिँदैन । बरु अनेक विवादमा मुछिएका छन् । उदाहरणका रूपमा भुवन केसी, जयकिसन बस्नेत र पल शाहलाई लिन सकिन्छ । पछिल्लो समयका स्टार अनमोल केसीसमेत विवादमा तानिए । 

पर्दामा जे देखिन्छ हिरोको त्योभन्दा पनि बाहिरी छवि झन् राम्रो हुनुपर्ने बताउँछन्, निर्देशक सायमी । ‘रिलको पात्र रियलमा पनि यथार्थ हुनुपर्छ । उसले गरिबगुरुवालाई सहयोग गरेको हुनुपर्यो’, उनी भन्छन्, ‘हालै भारतका अभिनेता अल्लु अर्जुनले दुर्घटनामा परेकालाई सहयोग गरे । भारतीय अभिनेता रजनीकान्तले आफ्नो पुरानो पेसा खलासी भएका कारण भारतका खलासीलाई क्वाटर बनाइदिए ।’ बाहिर देखिने छविले दर्शकको मनमा हिरोको विषयमा वर्षौँ सम्म छाप बस्ने सायमीको भनाइ छ ।

केहीअघि बलिउडमा सानो भूमिकामा अभिनय गर्ने एक व्यक्तिले भनेका थिए– ‘फिल्ममा सानो भूमिकामा अभिनय गर्ने मलाई साहरुख खानले विवाहमा भेटे । मलाई साहरुखले चिन्दैन होला भन्ठानेको थिएँ । उनी त देख्नेबित्तिक्कै उठेर म भएको ठाउँमा आए ।’ 

हिरो त्यस्तो पनि हुनुपर्नेमा जोड दिन्छन् सायमी । यसमा निर्माता ज्योति राई सहमत देखिन्छन् । उनी पनि फिल्मी हिरोको बाहिरी व्यवहार राम्रो हुनुपर्नेमा जोड दिन्छन् । ‘बाहिरी क्रियाकलाप राम्रो भयो, उदाहरणीय बन्न सक्यो भने मात्र दर्शकलाई हेर्न हलसम्म डोर्याउन सक्छ’, उनी भन्छन्, ‘हिरोको बाहिर छवि राम्रो छ । सबैलाई आदर गर्छ । मीठो बोल्छ भने फिल्म ठीकै भए पनि दर्शक हेर्न जान्छन् वा हेर्न जानुपर्छ भन्छन् ।’

सायमी र राईको बिचारसँग असहमति जनाउँछन्, निर्देशक तथा समीक्षक मनोज पण्डित । पर्दाका हिरोको सामाजिक रूपमा पनि त्यस्तो चरित्र हुनु जरुरी नरहेको धारणा उनको छ । ‘यो पेसा एकदमै रमाइलो र अचम्मको छ । पहिलो कुरा पेसाको परिधि बुझ्नुपर्यो । हिरोको परिधि भनेको अभिनय गर्नु हो । हिरोले लेखक तथा निर्देशकले निर्माण गरेको पात्र निर्वाह गर्ने हो’, पण्डित भन्छन्, ‘अभिनयमा जस्तो देखियो त्यस्तै जीवन बाँच्नुपर्छ भनेर कसैलाई पनि बोझ बोकाउन मिल्दैन ।’ 

त्यस्ता पात्रप्रति लेखक तथा निर्देशक बढी जिम्मेवार हुनुपर्ने पण्डितको धारणा छ । ‘अभिनय भनेको जे होइन, त्यो गरिनु हो’, उनी भन्छन्, ‘व्यक्तिगत रूपमा हरेक मानिस समाजको अंग हो । उसले समाजमा पनि राम्रो छवि बनाउनुपर्छ भन्ने व्यक्तिको नैतिकताको कुरो हो ।’ 

फिल्ममा जुन भूमिका निर्वाह गरेको छ व्यक्तिगत जीवनमा पनि त्यो हुनुपर्छ भन्नु अभिनयको अर्थ नबुझ्नेले भन्ने कुरो भएको तर्क गर्छन्, पण्डित । ‘फिल्मको हिरो रियलमा पनि हिरो हुनुपर्ने बाध्यता होइन’, उनी भन्छन्, ‘अत्यन्त राम्रा अभिनय गर्ने मानिस सामाजिक रूपमा उच्च कोटिको गनिनुपर्छ भन्ने छैन ।’ फिल्मको हिरोलाई रियल हिरोको कल्पना गर्नु समाजको भ्रम भएको पण्डित बताउँछन् । भन्छन्, ‘अभिनय गर्नेलाई होइन समाजसेवा गर्नेलाई हिरोका रूपमा हेर्नुपर्छ ।’

  • सामाजिक दायित्व के ?

बलिउड फिल्म ‘आशिकी’का हिरो राहुल राय बेलीबटन (माथि फिटिङ र तल खोलिएको) पाइन्टमा देखिए । संसारभर उक्त पहिरनको फलो भयो । नेपाली हिरो राजेश हमालले कपाल पालेर धेरै फिल्म खेले । उनको त्यो नक्कल गर्दै कैयौँले कपाल पाले । अर्का हिरो निखिल उप्रेतीले ७ तलाबाट फाल हानेर अभिनय गरे । एक विद्यार्थीले त्यो फलो गर्दा उनको खुट्टा भाँचियो ।

यस हिसाबले हिरो पब्लिक फिगर हो । जसको क्रियाकलाप सर्वसाधारणले फलो गर्छन् । त्यसैले हिरोले समाजमा सधैँ सकारात्मक सन्देश दिने क्रियाकलाप गर्नुपर्ने धेरैको धारणा छ । उनीहरू भन्छन्, ‘नकारात्मक प्रभाव पार्ने क्रियाकलापबाट पछि हट्नुपर्छ ।’

नायक खड्का समाजलाई प्रेरित गर्ने क्रियाकलाप गर्नुपर्ने दायित्व रहेको बताउँछन् । ‘हिरोले केही क्रियाकलाप गर्यो भने त्यो मासमा पुग्छ’, उनी भन्छन्, ‘के गलत, के सही छुट्याउन नसक्दा हामीले आइडल मानेको व्यक्तिले यो गर्नुपर्ने चिज हो भन्दा पब्लिकलाई डिसिजन लिन सजिलो हुन्छ ।’ हिरोले समाजमा नराम्रो प्रभाव पार्ने रक्सी, चुरोट लगायतको बिज्ञाप प्रति पनि सजक हुनपर्ने खड्काको धारणा छ ।

फिल्मका हिरो सामाजसेवामा पनि अग्रणी हुने निर्माता, निर्देशक तथा कलाकार अशोक शर्मा बताउँछन् । कतिको समाजसेवा बाहिर आउने र कतिको नआउने गरेको उनको धारणा छ । ‘फिल्ममा देखाइने ‘लार्जर देन लाइफ’ त फिल्मका लागि मात्र हो’, शर्मा भन्छन्, ‘स्वाभाविक रूपमा पनि कलाकार सेन्टिमेन्ट हुन्छन् । उनीहरू समाजमा नकारात्मक प्रभाव पार्ने कुरोबाट पछि रहन्छन् ।’ रक्सी, चुरोटलगायत समाजलाई नराम्रो सन्देश दिने कुरोबाट आर्थिक लाभ भए पनि कलाकार टाढै रहने गरेको शर्माको भनाइ छ । 

  • अबको खोज कस्तो ?

भरत नाट्यशास्त्रको सिद्धान्तबाट प्रेरित हिरो यात्रा समयअनुसार परिस्कृत हुँदै चरित्र हिरोसम्म आइपुगेको छ । तर, धेरै लेखक र निर्देशक पर्दामा अझै ‘हिरोइजम’ नदेखिएको गुनासो गर्छन् । उनीहरू व्यक्तिभन्दा पनि चरित्र र कथा हिरो हुनुपर्नेमा जोड दिन्छन् । अबका दिनमा अझ सशक्त रूपमा फिल्मको कथा र पात्र आउँदा पर्दामा ‘हिरोइजम’ देखिने उनीहरूको धारणा छ ।

अबको खोज पात्र हिरोको रहेको निर्देशक तथा समीक्षक पण्डित बताउँछन् । ‘हिरो भनेको जहिले पनि पात्र हो । कथाका पात्रलाई हिरो बनाउनुपर्छ । पात्र हिरो भयो भने पर्दामा हिरोइजम देखिन्छ’, उनी भन्छन्, ‘हामी कलाकारलाई हिरो भनिरहेका छौँ । त्यो परिचय नै गलत छ ।’ 

उनका अनुसार हिरो भनेको गुण हो । गुण कथाको पात्रमा हुन्छ । अभिनय गर्नेलाई हिरो ठान्नु दर्शकको भ्रम ठान्छन् पण्डित । ‘यो भ्रमबाट जबसम्म बाहिर निस्कन सकिँदैन तबसम्म फिल्म मेकिङ कमजोर भइरहन्छ’, उनी भन्छन्, ‘दर्शक व्यक्तिमा हिरो खोज्छ । हुनुपर्ने पात्रमा हो ।’ पात्रमा हिरो खोज्नु अबको खोज भएको उनी बताउँछन् ।

निर्देशक सायमी पनि फिल्मको कथा र पात्र हिरो हुनपर्नेमा जोड दिन्छन् । कथाको बलियो पात्र लेखक भएकाले लेखक हिरो हुनपर्ने विचार उनको छ । ‘हलिउडमा गड फादर फिल्म बन्यो । त्यो फिल्म एकदमै हिट भयो । अहिलेसम्म पनि त्यो फिल्मको निर्देशक, कलाकार चिन्दैनन् । अहिले पनि हिरो को भन्दा त्यसका लेखक पारियो पूजोलाई मानिन्छ’, सायमी भन्छन्, ‘भारतमा पनि देवदास भन्ने फिल्म तीनपटक बन्यो । तीनै पटक फरक–फरक कलाकारले अभिनय गरे । अहिलेसम्म तीनै निर्माण चल्नुको कारण कथा बलियो भएर हो ।’ अबको खोज व्यक्तिभन्दा पनि कथा हिरोको रहेको सायमीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप