कृषि बीमा : किसानलाई भुक्तानी पाउनै धौधौ
काठमाडौँ । सिरहा जिल्लाको भगवानपुर गाउँपालिका–२ की शारदा चौधरीले तीन वर्ष अगाडि तीन वटा बाख्राको बीमा गरिन् । बीमा गरेको करिब ७ महिनापछि झाडापखालाका कारणले उनको तीन वटै बाख्रा मरे । उनले आवश्यक प्रमाणसहित बीमा कम्पनीमा रकम दाबी गर्न जाँदा भुक्तानी पाउन सकिनन् ।
बीमा रकम भुक्तानी पाउन नसक्दा शारदाले पशु वस्तु र बालीको बीमा गर्नै छोडिन् । ‘हामीले सुरुमा तीन वटा बाख्राको बीमा गरेको रकम पाएनौँ । पैसा नपाउने भएपछि किन बीमा गर्ने भन्ने लाग्यो,’ उनले भनिन्, ‘यो वर्ष मैले १० कट्ठा जग्गामा धान रोपेको थिएँ, तर दुई कट्ठाको धानमा कालोपोके रोग लाग्यो । बीमा पनि गरिएको थिएन । यसले धेरै क्षति भयो ।’
ओखलढुंगाका किसान विकास घिमिरेले कस्ता क्षतिमा बीमा भुक्तानी हुन्छ भन्नेबारे आफूलाई पर्याप्त जानकारी नरहेको सुनाए ।
पाँचथरका किसान मनोज पौडेलले बीमाबाट रकम भुक्तानी पाउनु भनेको ऋण उठाउनजस्तै समस्या रहेको गुनासो गरे । ‘मेरो साथी प्रेम सिग्देलले बीमा रकम १८ हजार भुक्तानी पाउनुपर्ने छ, तर उसले १८ महिना भइसक्दा पनि पाउन सकेको छैन,’ पौडेलले भने, ‘गत वर्ष संघीय सरकारले बीमाको रकम दिएन भन्दै बीमा कम्पनीले बीमा नै गर्न मानेनन् ।’
बीमा दाबी गर्न पनि झन्झटिलो प्रक्रिया रहेको उनले सुनाए । क्षतिको दाबी गर्न फोटो लगायतका प्रमाण आवश्यक पर्ने भन्दै उनले प्रश्न गरे, ‘बाढी पहिरोमा बाख्रा नै बगाएर लगिसकेपछि कहाँबाट फोटो पाउनु ?’ कृषि बीमालाई व्यावहारिक बनाउनु पर्ने उनले सुझाए ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिकाकी किसान राधा निरौलाले ४६४ वटा बाख्रापालन गरेकी छन् । ती बाख्राको बीमा गरिएको तर नवीकरणका लागि कम्पनीले वास्ता नगरेको उनको गुनासो छ । ‘मैले ४६४ वटा बाख्रा पालन गरेको छु, बीमा नवीकरणका लागि कम्पनीले वास्ता गरेको छैन,’ उनले भनिन्, ‘बाख्रा मरेर मैले २५ हजार रुपैयाँ बीमा रकमको भुक्तानी दाबी गर्दै आएको वर्षौं भयो । अझै भुक्तानी पाउन सकेको छैन ।’
किसानलाई कृषि बीमाबारे जानकारी नभएको होइन तर यसबारे बाली तथा पशुपन्छीको बीमा प्रक्रिया, भुक्तानी दाबी प्रक्रिया, अवधि लगायत विषयमा जानकारी हुन सकेको छैन । यसले किसानले बीमा गरे पनि बीमा रकम दाबी गर्न समस्या, दाबी गरे पनि रकम पाउन सकेको अवस्था देखिँदैन ।
यी केही प्रतिनिधिमूलक घटना हुन् । सातौँ राष्ट्रिय कृषि गणना अनुसार देशभर एक लाख ८२ हजार ४ सय किसान बीमाको पहुँचमा छन् । तथ्याङ्क अनुसार खाद्यान्न बालीका लागि १४ हजार, तरकारी बालीका लागि ५ हजार ८ सय, फलफूल बालीका लागि ५ हजार २ सय र पन्छी पालनका लागि ९ हजार ६ सय किसानले बीमा गरेका छन् । पशुपालनका लागि एक लाख ५४ हजार किसानले बीमा गराएका छन् भने माछा पालन गर्ने ४ हजार ३ सय किसान बीमाको पहुँचमा छन् ।
किसानलाई कृषि बीमाबारे जानकारी नभएको होइन तर यसबारे बाली तथा पशुपन्छीको बीमा प्रक्रिया, भुक्तानी दाबी प्रक्रिया, अवधि लगायत विषयमा जानकारी हुन सकेको छैन । यसले किसानले बीमा गरे पनि बीमा रकम दाबी गर्न समस्या, दाबी गरे पनि रकम पाउन सकेको अवस्था देखिँदैन ।
सरकारले कृषि बीमाको आवधारणा ल्याएको एक दशकभन्दा बढी भएको छ । कृषकका लागि बाली उत्पादन, पशुपन्छी तथा मत्स्य पालन व्यवसायमा हुने सम्भावित जोखिम र अनिश्चितता न्यूनीकरणका लागि सरकारले २०६९ माघ १ गतेदेखि बाली तथा पशुपन्छी बीमा थालनी गरेको थियो । राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले पशु बीमा केही मात्रमा भए पनि बाली बीमा अझै हुन नसकेको सुनाए ।
उनले पशु तथा बाली बीमा भुक्तानीमा समस्या भइरहेको गुनासो गरे । ‘४० लाख प्रिमियम पाउनका लागि १ लाख रुपैयाँ तिरेको छु,’ उनले भने, ‘बीमा कम्पनीलाई पटक पटक बोलाउँदा आउँदैनन्, मजस्ता अभियन्ता त ठगिएका छन् भने अन्य किसान कति ठगिएका होलान् !’
कृषि तथा पशुपन्छी व्यवसायमा हुन सक्ने जोखिम र अनिश्चितता कम गर्न वा आर्थिक क्षति निराकरण गर्न बीमा आवश्यक पर्छ । कृषकहरूलाई कृषि बीमातर्फ आकर्षित गर्न, उत्पादनमा वृद्धि गर्न, आत्मनिर्भर बढाउन, बेरोजगारी घटाउन, व्यापार घाटा कम गर्न, खाद्य सुरक्षा हासिल गर्न कृषि बीमाको महत्त्वपूर्ण भूमिका हुन्छ । बाली तथा पशुपन्छी बीमा अन्तर्गत बीमा गरिने बालीहरू खाद्यान्न, दलहन, तरकारी, मसला, तेलहन, च्याउ आदि छन् । पशुपन्छीतर्फ भने पशु, पन्छी, मौरी र माछा पर्दछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले यो वर्ष बीमा रकम भुक्तानीमा समस्या नहुने बताइन् । दाबी भुक्तानी र बीमाको इग्रिमेन्ट पोलेसी किसानलाई पूर्णरुपमा जानकारी नहुँदा पनि किसान ठगिएको शिवाकोटीले उल्लेख गरिन् ।
सरकारले यही कार्तिक १ गतेदेखि कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने शुल्कको ५० प्रतिशतदेखि ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । ५० लाखको बीमा गर्दा ८० प्रतिशत अनुदान दिने, ५० लाखदेखि १ करोड रुपैयाँसम्म बीमा गराउँदा ६५ प्रतिशत र एक करोडभन्दा बढी रकमको बीमा गर्दा ५० प्रतिशत अनुदान दिने बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, २०८१ मा उल्लेख छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव सवनम शिवाकोटीले यो वर्ष बीमा रकम भुक्तानीमा समस्या नहुने बताइन् । ‘यो वर्ष बजेटबाट आएको रकम केही अपूग भए पनि हामीले मन्त्रालयको आन्तरिक स्रोतबाट रकमान्तर गरी स्रोत व्यवस्थापन गर्ने छौँ,’ उनले भनिन्, ‘हामीले बीमालेख बनाउँदा परफेक्ट बनाउन सकेकै छैनौँ । यहाँ बनाइएको बीमालेख फिल्डमा लैजाँदा फरक पर्छ ।’
शिवाकोटीले दाबी भुक्तानी र बीमाको इग्रिमेन्ट पोलेसी किसानलाई पूर्णरुपमा जानकारी नहुँदा पनि किसान ठगिएको उल्लेख गरिन् ।
सरकारले कृषि बीमालाई पारदर्शी बनाउन अनलाइन प्रणाली लागु गरेको छ । बीमाको रियल टाइम सफ्टवेयरमार्फत किसानले आफै बीमा गर्न सक्ने छन् । कृषि क्षेत्रमा सबैभन्दा बढी पशुधन बीमा हुने भएकाले सुरुवाती चरणमा अनलाइनबाट पशु र तरकारी बालीको बीमा गर्न सकिने छ । तत्काललाई दुई बालीको बीमा अनलाइनबाट किसानले गर्न सकिने छन् । कृषि बीमामा आबद्ध रहेका १४ वटा कम्पनी छन् । किसानले कृषि बीमा गर्न नेपाल बीमा प्राधिकरणको वेबसाइटमा जानुपर्छ । त्यहाँबाट युजर आइडी बनाइ कृषि बीमा गर्न सकिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न मेडिकल व्यवसायी संघको माग
-
किन राजनीतिक किनारामा पुर्याइए भीम रावल ?
-
राखेपमा ८ जना सदस्य नियुक्त
-
सुनिल पौडलको भ्रष्टाचार मुद्दामा विशेषले मगायो सिंगापुरको बैंकको विवरण
-
बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
-
संघका ३ र प्रदेशको एक सचिवको पदस्थापन गर्ने बागमती सरकारको निर्णय