बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति

बुधबार, १० पुस २०८१, २३ : ५७
बुधबार, १० पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. नेतालाई डण्डा, पूर्व राष्ट्रपतिलाई तिम्ता  
नेकपा एमालेले नेता भीम रावलको संगठित अर्थात् साधारण सदस्यता धरी खोसेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए । तर, यता सक्रिय नेताहरुलाई कारबाही गर्दै गर्दा एमालेले दुदुई पल्ट राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीलाई भने सक्रिय राजनीतिको निम्तो दिएको बताइँदै छ । 

. रविरहित रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौतीको घडीमा उभिएको छ । सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग कास्की जिल्ला अदालतमा दर्ता भएसँगै रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको छ ।

३. मासिक तलब
सरकारले मासिक रूपमा तलब भत्ताको प्रत्याभूति गरे पनि कतिपय शिक्षकले मासिक रूपमा तलब भत्ता पाउन सकेका छैनन् । संघीय सरकार ले बजेट वक्तव्यमार्फतनै शिक्षकहरूको तलबभत्ता स्थानीय तहमा पठाउने गरेको छ ।तर पनि शिक्षकहरू मासिक तलब पाउनबाट वञ्चित भएका हुन् ।

४. बाबुछोरा हत्या प्रकरण
 भाइ र बुवाको हत्या गर्ने मिलन आचार्य पुस ९ गते मध्यान्ह प्रहरी वृत्त महाराजगन्जको गेटमा गएर भने, ‘मैले बुवा र भाइको हत्या गरेको हुँ, पक्राउ गर्नुस् ।’ प्रहरी वृत्तको गेटमा खटिएका प्रहरीले तत्काल कमान्डरलाई खबर गरे । त्यसपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका मिलन पक्राउ परेका हुन् ।

५. महत्त्वाकाङ्क्षी योजना
 कर्णालीमा शिक्षाको अवस्था कमजोर रहेको भन्दै प्रदेश सरकारले आर्थिक वर्ष ०७८र०७९ को बजेटमा ‘एक पालिका, एक नमुना विद्यालय कार्यक्रम’ अघि सार्‍यो । तर उक्त कार्यक्रम अझै कार्यान्वयनमा जान सकेको छैन ।

६. सहुलियत कर्जा
सरकारले तीन वटा कार्यविधिलाई एकीकृत गरेर  औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गरेको छ । मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि स्वीकृत गरेको हो ।

७. बहुगुणी बाँस
बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति नेपालमा पाइन्छ । त्यसबाट १ हजार ५ सय प्रकारका सामान उत्पादन हुँदै आएको छ । ती सामानको खपत स्वदेशमा त भइरहेको छ नै, विदेशसमेत निर्यात हुने गरेको छ । 

८. वैदेशिक लगानी 
हरेक वर्ष ठुलो मात्रामा वैदेशिक लगानीको प्रतिबद्धता आउने गरेको छ । तर प्रतिबद्धताको अनुपातमा वास्तविक लगानी भने असाध्यै न्यून रहेको सरकारी तथ्याङ्क छ ।

९. लिपुलेक 
लिपुलेकबारे भारत र चीनबिच सहमति
नेपालको भूमिबारे भारत र चीनले आपसमा सहमति गरेका छन् । लिपुलेकसँग सम्बन्धित विषयमा भारत र चीनबिच सहमति हुँदा दुवै देशले नेपाललाई भने बेवास्ता गरेका हुन् ।

१०. डीआईजीहरू म्याद थप्ने दौडमा
सशस्त्र प्रहरीमा चार जना डीआईजीहरू पदावधि पुरा गरेर यसै महिना अवकाशमा जाँदैछन् । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् । 

११. युक्रेनमा आक्रमण 
रुसले बुधबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै व्यापक मिसाइल र ड्रोन आक्रमण गरेको छ । यसले एक थर्मल पावर प्लान्टमा प्रहार गरी क्रिसमसको बिहान युक्रेनीहरूलाई मेट्रो स्टेशनहरूमा आश्रय लिन बाध्य बनायो ।

१२. मौसम 
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप