१० बजे १० समाचार : एमालेमा नेताहरूमाथि कारबाहीको डण्डादेखि हत्याको समाचार पढेपछि आत्मसमर्पणसम्म
काठमाडौँ । आज मिति २०८१ साल पुस महिनाको १० गते बुधबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
- रविरहित रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौतीको घडीमा उभिएको छ । सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग कास्की जिल्ला अदालतमा दर्ता भएसँगै रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको छ ।
- मासिक तलब
सरकारले मासिक रूपमा तलब भत्ताको प्रत्याभूति गरे पनि कतिपय शिक्षकले मासिक रूपमा तलब भत्ता पाउन सकेका छैनन् । संघीय सरकार ले बजेट वक्तव्यमार्फतनै शिक्षकहरूको तलबभत्ता स्थानीय तहमा पठाउने गरेको छ ।तर पनि शिक्षकहरू मासिक तलब पाउनबाट वञ्चित भएका हुन् ।
- बाबुछोरा हत्या प्रकरण
भाइ र बुवाको हत्या गर्ने मिलन आचार्य पुस ९ गते मध्यान्ह प्रहरी वृत्त महाराजगन्जको गेटमा गएर भने, ‘मैले बुवा र भाइको हत्या गरेको हुँ, पक्राउ गर्नुस् ।’ प्रहरी वृत्तको गेटमा खटिएका प्रहरीले तत्काल कमान्डरलाई खबर गरे । त्यसपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका मिलन पक्राउ परेका हुन् ।
- महत्त्वाकाङ्क्षी योजना
कर्णालीमा शिक्षाको अवस्था कमजोर रहेको भन्दै प्रदेश सरकारले आर्थिक वर्ष ०७८/०७९ को बजेटमा ‘एक पालिका, एक नमुना विद्यालय कार्यक्रम’ अघि सार्यो । तर उक्त कार्यक्रम अझै कार्यान्वयनमा जान सकेको छैन ।
- सहुलियत कर्जा
सरकारले तीन वटा कार्यविधिलाई एकीकृत गरेर औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ स्वीकृत गरेको छ । मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले सो कार्यविधि स्वीकृत गरेको हो ।
- बहुगुणी बाँस
बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति नेपालमा पाइन्छ । त्यसबाट १ हजार ५ सय प्रकारका सामान उत्पादन हुँदै आएको छ । ती सामानको खपत स्वदेशमा त भइरहेको छ नै, विदेशसमेत निर्यात हुने गरेको छ ।
- वैदेशिक लगानी
हरेक वर्ष ठुलो मात्रामा वैदेशिक लगानीको प्रतिबद्धता आउने गरेको छ । तर प्रतिबद्धताको अनुपातमा वास्तविक लगानी भने असाध्यै न्यून रहेको सरकारी तथ्याङ्क छ ।
- लिपुलेकबारे भारत र चीनबिच सहमति
नेपालको भूमिबारे भारत र चीनले आपसमा सहमति गरेका छन् । लिपुलेकसँग सम्बन्धित विषयमा भारत र चीनबिच सहमति हुँदा दुवै देशले नेपाललाई भने बेवास्ता गरेका हुन् ।
- डीआईजीहरू म्याद थप्ने दौडमा
सशस्त्र प्रहरीमा चार जना डीआईजीहरू पदावधि पुरा गरेर यसै महिना अवकाशमा जाँदैछन् । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् ।
- सचिवालय बैठक
नेकपा एमालेले नेता भीम रावलको संगठित सदस्यता खोसेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।