बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
चलखेल

सशस्त्रमा अवकाश हुन लागेका डीआईजीहरू म्याद थप्ने दौडमा

सिसम–१ का अधिकृतहरूलाई रोक्न चलखेल
बुधबार, १० पुस २०८१, १९ : १९
बुधबार, १० पुस २०८१

काठमाडौँ । सशस्त्र प्रहरीमा चार जना डीआईजीहरू पदावधि पुरा गरेर यसै महिना अवकाशमा जाँदैछन् । डीआईजी कमल गिरी, गणेश ठाडामगर, कुल बहादुर नेम्बाङ र शम्भु सुवेदी अवकाशमा जान लागेका हुन् । 

सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख छन् गिरी । ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशको प्रमुख, नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशको प्रमुख र सुवेदी नम्बर–१ बाहिनी कोशी प्रदेशको प्रमुख छन् । 

२०८१ पुस २३ मा पदावधि पुरा गरेर अवकाश हुन लागेका उनीहरू म्याद थप गराउने दौडमा निस्किएका छन् । कार्यक्षेत्र छाडेर राजनीतिक लबिङ र बिचौलियामार्फत चलखेल सुरु गरेको भन्दै सशस्त्रभित्र असन्तुष्टि चुलिएको छ । नयाँ विधेयक संसद्मा तत्काल दर्ता भएमा आईजीपी र एआईजी हुने अभिलाषाले उनीहरूले ‘अस्वस्थ चलखेल’ सुरु गरेको आरोप छ । 

म्याद थप्न दबाब दिने डीआईजीहरूको पृष्ठभूमि सफा नभएको सशस्त्रका अधिकृतहरू बताउँछन् । डीआईजीहरू गिरी, नेम्वाङ र सुवेदी रेकर्डमा जनिने गरी विभागीय कारबाही भोगेका अधिकृत हुन् ।

सशस्त्र प्रहरी नियमावली अनुसार डीआईजी पदावधि चार वर्षको हुन्छ । सरकारले चाहँदा १ वर्ष थप्न सकिने व्यवस्था छ । सशस्त्र प्रहरी नियमावली–२०७२ अनुसार डीआईजीको चार वर्ष अवधि पुरा गरेर अवकाशमा हुन लागेमा ‘सरकारले आवश्यक ठाने १ वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान छ । त्यही व्यवस्थालाई टेकेर भावी नेतृत्व नै हत्याउने गरी उनीहरू दौडमा निस्किएका हुन् । म्याद थप गर्न सशस्त्र प्रहरी प्रमुखले सिफारिस गर्नुपर्छ । 

म्याद थप्न दबाब दिने डीआईजीहरूको पृष्ठभूमि सफा नभएको सशस्त्रका अधिकृतहरू बताउँछन् । डीआईजीहरू गिरी, नेम्वाङ र सुवेदी रेकर्डमा जनिने गरी विभागीय कारबाही भोगेका अधिकृत हुन् । गणेश ठाडामगर पटक–पटक स्पष्टीकरण भोगेका अधिकृत हुन् । अवकाशमा मुखमा रहेका उनीहरू अहिले कार्यक्षेत्र छाडेर काठमाडौँमा ओहोरदोहोर गरिरहेका छन् । 

सशस्त्रको राजनीतिक व्यक्ति र कूटनीतिक व्यक्ति भेटघाट सम्बन्धी कार्यविधिलाई लत्त्याएर उनीहरू नेपाली कांग्रेसका नेताको ढोका ढकढक्याइरहेका छन् । अहिले १ वर्ष म्याद थप गर्ने र नयाँ विधेयक संसद्बाट पारित भएपछि उनीहरू एआईजी र आईजी हुने दौडमा लागेका हुन् । सशस्त्रको नयाँ ऐन पारित भएपछि वर्तमान आईजी र एआईजी अवकाशमा जान्छन् । 

म्याद थप्ने विषय मन्त्रिपरिषद्को तजबिजमा भर पर्छ । अहिले उपत्यका स्थित नम्बर–९ पशुपति बाहिनीमा कार्यरत डीआईजी किशोर प्रधानको म्याद थप गरिएको थियो । उनी थप गरिएको १ वर्ष पनि बिताउँदै माघ १० मा अनिवार्य अवकाशमा जान लागेका छन् । तर, सरकारले म्याद थप नगरेपछि प्रवीण श्रेष्ठ २०७८ असार ८ मा अवकाश भएका थिए । 

  • सिसम–१ का अधिकृतहरूलाई रोक्न चलखेल 

म्याद थप्ने दौडमा लागेका अधिकृतहरू नेपाल प्रहरीबाट सशस्त्रमा गएका हुन् । चार जनाको म्याद थप्दा सशस्त्र प्रहरी सेवा आयोगबाट भर्ना भएका अधिकृतहरू रोकिने अवस्था आउने सशस्त्र प्रहरी बलका एक जना उच्च अधिकृतले बताए । 

ती अधिकृत भन्छन्, ‘भावी नेतृत्वको रूपमा हेरिएको सिसम–१ का अधिकृतहरू डीआईजी दर्जाबाटै अवकाश हुने अवस्था आउन सक्छ ।’ ४ वर्ष अवधि पुरा भएका डीआईजीहरूको १ वर्ष म्याद थप नभएको खण्डमा ३० वर्ष सेवा अवधि हटे पनि सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएका पहिलो ब्याचका अधिकृतहरू नेतृत्व तहमा पुग्छन् । 

अवकाशको मुखमा पुगेका डीआईजीहरू भन्दा सिसम–१ का अधिकृतहरू काबिल मानिन्छन् । सिसम–१ मा भर्ना भएका डीआईजी सुरेश कुमार श्रेष्ठ साउथ सुडान स्थित युएन मिसनमा पी–४ लेबलमा कार्यरत छन् । अन्जनी कुमार पोखरेलले संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयमा पी–३ लेबलमा काम गरेका थिए । 

सिसम–२ का कुँवर आफूभन्दा सिनियर ब्याचका र स्टाफ कलेज उत्तीर्ण अधिकृतलाई पछि पार्न दबाब दिइरहेका छन् ।

डीआईजी दीपेन्द्र शाह दुईवटा मिसनमा काम गरेका र सशस्त्र प्रहरी बल कमान्ड तथा स्टाफ कलेजबाट पहिलो ब्याचमा ग्य्राजुएट गरेका अधिकृत हुन् । अर्का डीआईजी पुरुषोत्तम थापा दुईवटा युएन मिसनमा काम गरेका र सैनिक कमान्ड तथा स्टाफ कलेजबाट ग्य्राजुएट गरेका अधिकृत हुन् । 

  • डीआईजी बढुवा रोक्न कुँवरको दबाब

सशस्त्रमा २०८१ भदौ १६ देखि दुई डीआईजीको दरबन्दी रिक्त छ । सो पदमा हालसम्म बढुवा गरिएको छैन । ३० वर्षे सेवा अवधि पुरा गरेर अभि कुमार खत्री र दुर्गाप्रसाद भट्टराई अवकाशमा गएपछि दुईवटा दरबन्दी रिक्त भएको थियो । बढुवाका लागी सशस्त्रको पहिलो ब्याच (सिसम–१)का टोली प्रतिस्पर्धामा छन् । बढुवा हुँदा मनिष थापा र कृष्ण ढकाल पर्ने सम्भावना छ । 

सशस्त्रमा डीआईजी हुन अनिवार्य रूपमा स्टाफ कलेज पास गर्नुपर्छ । थापा र ढकालले स्टाफ कलेज पास गरेका छन् । तर, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले बढुवा रोक्न दबाब दिइरहेका छन् । 

सिसम–२ का कुँवर आफूभन्दा सिनियर ब्याचका र स्टाफ कलेज उत्तीर्ण अधिकृतलाई पछि पार्न दबाब दिइरहेका छन् । मेरिट लिस्टमा ११ नम्बरबाट १ नम्बरमा उक्लिएका कुँवर मनिष थापा र कृष्ण ढकाललाई रोक्न चाहन्छन् । 

उनी कांग्रेस सभापति शेरबहादुर देउवाका भतिज भानुको बहिनी ज्वाइँ हुन् । कुँवर अघिल्लो ब्याचलाई उछिनेर बढुवाको लबिङमा उत्रिएपछि डीआईजी बढुवा अलपत्र परेको सशस्त्रका अधिकृतहरू बताउँछन् ।

 यसअघि कुँवरलाई बढुवा गर्न सशस्त्र प्रहरी नियमावली नै संशोधन गरिएको थियो । सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीमा ४ वर्ष सेवा गरेपछि मात्र एसएसपीमा बढुवा हुनसक्ने प्रावधान थियो । कुँवरलाई बढुवा गर्न सो प्रावधानले बाधा पुर्‍याएपछि नियमावली नै संशोधन गर्दै ४ वर्षे पदावधिलाई तीन वर्षमा झारिएको थियो । उनी २०७९ साउनमा एसएसपीमा बढुवा भएका हुन् । अहिले आफू बढुवा हुन दरबन्दी थप गराएर सहज परिस्थिति बनाउन दबाब दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप