आरोपी मिलनको बयान– ‘भाइ र बुवाको हत्याको समाचार चाबहिल चोकमा पत्रिकामा हेरेँ’
काठमाडौँ । भाइ र बुवाको हत्या गर्ने मिलन आचार्य पुस ९ गते मध्यान्ह प्रहरी वृत्त महाराजगन्जको गेटमा गएर भने, ‘मैले बुवा र भाइको हत्या गरेको हुँ, पक्राउ गर्नुस् ।’ प्रहरी वृत्तको गेटमा खटिएका प्रहरीले तत्काल कमान्डरलाई खबर गरे । त्यसपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ घर भएका मिलन पक्राउ परेका हुन् ।
भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ स्थित बालकोटमा पुस ८ मा कुलप्रसाद आचार्य र छोरा प्रवीण आचार्य मृत भेटिएका थिए । उनीहरूको हत्या मिलनले गरेको पुष्टि भएको छ । उनी कुलप्रसाद आचार्यको जेठा छोरा हुन् ।
कुलप्रसाद आचार्य खोटाङस्थित जिल्ला हुलाक कार्यालयको निमित्त कार्यालय प्रमुख थिए । ६ दिनअघि उनी काठमाडौँ आएका हुन् । उनका दुई भाइ छोरा मिलन र प्रवीण भक्तपुरमा बसेर पढ्थे । जेठा छोरा मिलन बिए पास गरेर लोकसेवाको तयारी गरिरहेका थिए । कान्छो प्रवीण आचार्य भिएस निकेतनमा बिएससी पढ्दै थिए । पुस ६ मा शनिवार प्रवीणले कुखुराको मासु ल्याएर पकाए । खाना खाएपछि बुवा र मिलन एउटा कोठामा सुते । प्रवीण भान्सा कोठामा सुते ।
लोकसेवाको परीक्षा दिँदा ६–७ पटक फेल भएका मिलन र कुलप्रसादले परिवार कसरी अघि बढाउने भन्नेबारे कुरा गरे । २०७४ देखी काठमाडौँ बसेका मिलनलाई बुवाले भने– ‘तिमीहरूले जागिर खाएनौ, लोकसेवा पास भएनौ घर धान्न गाह्रो हुँदै गएको छ ।’
भुँइमा ओछ्यान लगाएर सुतेका मिलन त्यसैदिन दिउँसो कीर्तिपुरमा गएर नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता हेरेर फर्केका थिए । प्रहरीसँग मिलनले भनेका छन्, ‘म निदाउनै सकिनँ, बिहान ५ बजेतिर उठेर बुवालाई डमबेलले हिर्काएँ ।’
५ केजीको डमबेल डेरामै थियो । कुलप्रसाद खाटमा सुतेका थिए । डमबेलले हिर्काउँदा कुनै प्रतिक्रिया नआएपछि उनी भाइ सुतेको कोठामा पुग्छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपाने भन्छन्, ‘किचनमा गएर पानी खाए पनि भाइको हत्या गरेको उनले नै स्वीकार गरेका छन् ।’
पानी खाएर उनले भाइलाई सिलौटोले हिर्काए । त्यसपछि गलबन्दी बोकेर उनी भक्तपुरको बिरुवामा गए । त्यहाँ जङ्गलमा मिलनले आत्महत्या प्रयास गरे । आफूसँग भएको गलबन्दी रुखमा बाँधेर उनले आत्महत्याको प्रयास गरेका हुन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘गलबन्दी चुँड्यो, भगवानले मलाई बाँच भनेको हुनाले मर्न सकिनँ ।’
डिप्रेसनमा रहेका मिलनले यसअघि दसैँमा खोटाङमा जाँदा उनले बुवा र आमालाई नै मार्ने प्रयास गरेको तर, असफल भएको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । इन्टरनेटमा उनले हत्यापछि कसरी मुक्ति पाइन्छ भन्नेबारे सामग्री हेर्ने गरेको भेटिएको छ ।
पत्रिकामा हेरे बुवा र भाइको समाचार
आफूबाट परिवारले आशा गरे पनि केही गर्न सकिनँ भन्ने भएपछि मिलनले बुवा र भाइको हत्या गरे । आत्महत्याको प्रयास पनि विफल भएपछि उनी पुस ७ मा दिनभर आइतबार काठमाडौँमा डुलिरहे । साँझ चाबहिलस्थित गेस्ट हाउसमा पुगेर सुते ।
सोमबार पत्रिका हेरे घटनाबारे समाचार आएको थिएन । मङ्गलवार बिहान चाबहिल चोकमा पुगेर आधा दर्जन पत्रिका किने । पत्रिकाको फ्रन्ट पेजमा बुवा र भाइबारे उनले प्रहरीसँग भनेका छन्, ‘न्युज पेपरमा पढेपछि थाहा भयो घटनाबारे प्रहरीले थाहा पाएछ ।’
त्यसपछि उनी हिँड्दै महाराजगन्जमा पुगे । त्यहीँ ड्युटीमा रहेका प्रहरीलाई भने– ‘भक्तपुरमा बुवा र भाइको हत्या गर्ने मै हुँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य सेवा सुधार्न सम्मेलन आयोजना
-
मोजाम्बिकमा जेल तोडेर १५ सय कैदी भागे, दंगा हुँदा ३३ जना मारिए, १५ घाइते
-
विदेशी मुद्रा : आज कसको मूल्य कति ?
-
कजाकिस्तान विमान दुर्घटना : ३८ जनाको मृत्यु, दुई बच्चासहित २९ जना जीवितै
-
गल्फ कप : बहराइनको उत्कृष्ट प्रदर्शन, साउदीको पहिलो जित
-
ललितपुरमा ‘एआई’ सम्बन्धी पाचौं चरणको शैक्षिक कार्यक्रम