बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौँमा एआई शिक्षासम्बन्धी कार्यक्रम आयोजना हुँदै

बुधबार, १० पुस २०८१, १७ : ३७
बुधबार, १० पुस २०८१

काठमाडौँ । नेपाल एप्लाइड म्याथेमेटिक्स एन्ड इन्फरमेटिक्स इन्स्टिच्युट (नामी) ले एनुअल नेपाल एआई स्कुलको आयोजना गर्ने घोषणा गरेको छ । 

विभिन्न देशका वैज्ञानिक, प्राध्यापक, कम्प्युटर विज्ञानका स्नातक, स्नातकोत्तर तहका विद्यार्थी, विद्यावारिधिका शोधार्थी, एआई क्षेत्रमा काम गरिरहेका प्रोफेसनल्स लगायत २०० जनजाति सहभागी हुनेछन् ।

११ दिनसम्म चल्ने शैक्षिक कार्यक्रम पुस १२ देखि २२ गतेसम्म आयोजना हुनेछ । कार्यक्रम ललितपुरको खुमलटारस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा आयोजना हुनेछ । यो कार्यक्रम पाँचौँ संस्करण हो । यसअघिका चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए । 

‘सानो ठाउँबाट ठुलो परिवर्तन आउन सक्छ,’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कुलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ ।

यो संस्करणमा २५ जना वैज्ञानिक र प्राध्यापकले तीन मुख्य क्षेत्र जियोमेट्रिक डिप लर्निङ, फाउण्डेसनल मोडल्स एण्ड एप्लिकेसन र मोर्डन प्राक्टिसका भौतिक कक्षाहरू सञ्चालन गर्नेछन् ।

नामीका निर्देशक तथा अनुसन्धान वैज्ञानिक विशेष खनालका अनुसार यो कार्यक्रमले अन्तर्राष्ट्रिय विज्ञहरूबाट सिक्ने र अन्तरक्रिया गर्ने सुनौलो अवसर दिनेछ । उनले भने, ‘नेपालमा एआईको उपयोग गर्ने सरकारको योजना र एआई नीतिको तयारी भइरहेको अवस्थामा यसले आवश्यक छलफल सिर्जना गर्न र नेपालमा एआई विशेषज्ञता निर्माण गर्न मद्दत पुर्‍याउने छ ।’

नामीका एजुकेसन आउटरिच प्रमुख अलोक खत्री यस कार्यक्रमले विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर प्राप्त गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप