बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

तामाकोशीबाट आंशिक विद्युत् उत्पादन सुरु भएसँगै उद्योगमा आपूर्ति बढ्यो

बुधबार, १० पुस २०८१, १४ : १०
बुधबार, १० पुस २०८१

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेको जलविद्युत् गृहमध्ये सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युतबाट मंगलबार साँझदेखि आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । तामाकोशीबाट हाल १२० मेगावाट विद्युत् मात्रै उत्पादन गरिएको छ । 

४५६ मेगावाटको जलविद्युत् आयोजना पूर्णरुपमा बन्द रहेको र भारतले पिक आवर (बढी माग हुने समय) मा बिजुली नदिएपछि नेपाल विद्युत् प्राधिकरणले उद्योग तथा कलकारखानामा केही समय लोडसेडिङ गरिरहेको छ । प्राधिकरणका अनुसार अहिले साँझको २–३ घण्टा उद्योगको विद्युत् आपूर्तिमा समस्या छ ।  

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशकै ठुलो विद्युत् गृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न हुनु स्वाभाविक भएको बताए । उनले भने, ‘तामाकोशीबाट आंशिक रूपमा विद्युत् उत्पादन सुरु भएको छ । अब भारतबाट गरिने विद्युत् आयातमा सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा थोरै सहजता हुनेछ । उद्योगलाई विद्युत् बढी समय दिइने छ ।’ पुसभित्र तामाकोशी पूर्ण सञ्चालनमा आउने र त्यसपछि बिजुली आपूर्तिमा कुनै समस्या नहुने उनले बताए । 

असोज ११ र १२ गतेको वर्षाले क्षति पुर्‍याएपछि तामाकोशीबाट विद्युत् उत्पादन बन्द भएको थियो । पहिरोले कन्ट्रोल रुम, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्‍याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्‍याएको थियो । त्यस्तै तामाकोशीको विद्युत् प्रवाह गर्ने गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा पनि क्षति पुगेको थियो ।

पहिरोले क्षति पुर्‍याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रूपमा सञ्चालनमा ल्याइएको छ । काम पूर्ण सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । तामाकोशीले १ अर्ब ७८ करोड रुपैयाँ क्षतिको प्रारम्भिक बीमा दाबी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप