बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

रविरहित रास्वपाले देखाउला रवाफ ?

बुधबार, १० पुस २०८१, १६ : ३०
बुधबार, १० पुस २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनौतीको घडीमा उभिएको छ । सभापति रवि लामिछानेविरुद्ध सहकारीको रकम हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग कास्की जिल्ला अदालतमा दर्ता भएसँगै रास्वपाले उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको छ ।

त्यसो त, रास्वपाका सभापति रवि लामिछानेलाई प्रहरीले गत कार्तिक २ मै पक्राउ गरेको थियो । झण्डै तीन महिनासम्म रास्वपाले कार्यवाहक सभापतिको आवश्यकता महसुस गरेको थिएन । तर, जब लामिछानेविरुद्ध मुद्दा दर्ता भयो, त्यस लगत्तै पार्टीको सचिवालय बैठक बसेर कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई सुम्पिएको हो ।

पार्टीको यो निर्णयसँगै कतिपयले रवि लामिछाने नामको ‘ब्राण्ड’लाई थन्क्याएर अब रास्वपा नयाँ ढंगले अघि बढ्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । हुन पनि, स्थापनाको झण्डै अढाई वर्षसम्म रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपाजस्तो भाष्य बनेको थियो ।

रविकै पहल र नेतृत्वमा पार्टी गठनदेखि स्थापनाको निकै छोटो समयमा यो पार्टीले संसद्को चौथो शक्ति बन्ने सफलता हासिल गरेको हो । छोटो अवधि नै सही, यो पार्टी दुई पटकसम्म सरकारमा सामेल पनि भयो ।

यो बिचमा पार्टी वा सभापति लामिछानेसामु अड्चन नआएको होइन । सभापति लामिछानेकै नागरिकता प्रकरणदेखि राहदानी काण्डसम्म बाहिरियो । विदेशी नागरिकता परित्याग गरेर नेपाली नागरिकता पुनर्प्राप्तिको प्रक्रिया विधिसम्मत नहुँदा यसबिचमा लामिछानेले सांसद पदसमेत गुमाएका थिए । यद्यपि, उपनिर्वाचनमार्फत फेरि उनी सांसदमा निर्वाचित मात्र भएनन्, तनहुँमा थप एक सिट जिताउनसमेत उनी सफल भएका थिए ।

अहिले परिस्थिति फेरिएको छ । सभापति लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा दायर भएको मुद्दामा थुनछेक बहस बाँकी नै छ । अन्य चार जिल्लामा पनि उनीविरुद्ध मुद्दा चलाउने प्रक्रियाबारे अनुसन्धान भइरहेको अवस्था छ । त्यसैले रवि लामिछाने सक्रिय राजनीतिमा कहिले फर्किन्छन् भन्ने टुङ्गो छैन । अहिले रविरहित रास्वपा कसरी अघि बढ्छ भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिएको छ ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार सभापति लामिछानेको सक्रिय नेतृत्वको अभाव खट्किरहने बताउँछन् । यद्यपि, पार्टीको संगठन निर्माण, दैनिक कार्यक्रममा आफूहरू जुटिसकेको भन्दै सभापतिको अभावलाई शक्तिमा बदल्ने उनी दाबी गर्दछन् ।

‘पार्टीको जिल्ला भेलाहरू चलिरहेको छ । पार्टीको सांगठनिक तथा दैनिक गर्नुपर्ने काम भइरहेकै छ,’ परियारले रातोपाटीसँग भने, ‘पार्टीमा प्रशिक्षणका विषयवस्तु तयार पार्ने लगायतका काम भइरहेको छ ।’

रास्वपा नेता परियारका अनुसार केन्द्रीय कमिटी र संसदीय दलको बैठक चाँडै बस्नेछ । ती बैठकमा उपनिर्वाचनदेखि लिएर यो बिचमा भएका सबै घटनाको समीक्षा हुने उनले बताए । ‘त्यसपछि पार्टी संगठन निर्माणमा केही कार्यक्रमसहित हामी अघि बढ्ने छौँ,’ उनले भने ।

पार्टीको संगठन, नीति, विचार निर्माणमा आफूहरू निरन्तर अघि बढ्ने परियारले जानकारी दिए । ‘सभापति रवि लामिछानेको कमी महसुस त स्वाभाविक रूपमा हुन्छ नै । उहाँले नेतृत्व गरेर यहाँसम्म ल्याएको पार्टी, उहाँको सक्रियताको अभाव स्वाभाविक रूपमा पर्छ,’ उनले भने, ‘तर पनि नेपाली जनताले छोटो समयमा हामीलाई जुन माया, भरोसा गर्नुभयो, हामी सँगसँगै जनताले देखेको सपना पूरा गर्न हामी फेरि एकजुट हुनुको विकल्प छैन ।’

सभापति लामिछानेको सक्रिय नेतृत्वको अभावलाई पनि शक्तिमा रूपान्तरण गरेर अघि बढ्नुपर्नेमा परियारले जोड दिए । उनले भने, ‘उहाँ (सभापति लामिछाने) बाट हामीले पार्टी, संगठन बनाउने क्रममा सिकेका कुरालाई व्यवहारमा उतार्ने हो ।’

सभापति रवि लामिछाने पक्राउ पर्नासाथ रास्वपा सडकमा उत्रिएको थियो । सभापति लामिछानेमाथि राजनीतिक पूर्वाग्रहका आधारमा आरोप लगाइएको रास्वपाको ठहर थियो । बयानका क्रममा लामिछानेलाई जहाँजहाँ लगियो, त्यहाँत्यहाँ रास्वपाका नेता–कार्यकर्ताहरूले विरोध प्रदर्शन पनि गरे ।

तर, अब रास्वपाले विरोध प्रदर्शन तथा सडक संघर्षको ‘च्याप्टर क्लोज’ गरेको छ । यसको कारण खुलाउँदै परियारले भने, ‘राजनीतिक प्रतिशोधको कुरा थियो पहिला, अब त्यो विषय अदालतमा प्रवेश भइसकेको छ । हामीले न्यायालयप्रति सम्मान र विश्वास गर्नुपर्छ । न्यायालयलाई न्याय सम्पादनमा साथ सहयोग पनि गर्नुपर्छ ।’

त्यही महसुस गरेर पार्टीले अब संगठन निर्माण र पार्टीलाई क्रियाशील बनाउन कार्यवाहक सभापतिको व्यवस्थादेखि लिएर आवश्यक निर्णय गरिरहेको परियारको भनाइ छ ।

त्यसो त, पार्टीमा नेतृत्व विकासबारे पनि समस्या छ । अन्य पार्टीकोजस्तो भ्रातृ संगठन नहुँदा नेतृत्व विकास कसरी होला भन्ने प्रश्न रास्वपातर्फ सोझिएको छ । तर, यसबारे पनि पार्टीले ध्यान दिइरहेको परियार बताउँछन् ।

‘विगतमा अन्य पार्टीको अभ्यासबाट हामीले यसमा थप बहस र छलफल चाहिन्छ भनेर भ्रातृ संगठन बनाएनौँ । भोलि नेतृत्व विकासका लागि काहीँ न काहीँ नर्सरी चाहिन्छ,’ उनले भने, ‘नेतृत्व भनेको आफैँ आउने कुरा होइन । त्यसका लागि के गर्न सकिन्छ भनेर पनि हामी विचार गरिरहेका छौँ ।’

उचित समयमा यसको एउटा निकास निस्किने परियारको भनाइ छ । राष्ट्रिय स्वतन्त्र पार्टीको संरचना तलसम्म रहेकाले अहिले त्यही संरचनालाई बढीभन्दा बढी क्रियाशील बनाएर राजनीतिक गतिविधि अघि बढाउने उनले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य

आचार्य रातोपाटीका वरिष्ठ उपसम्पादक हुन् ।

लेखकबाट थप