अटोमोबाइल्सको व्यापारले देखायो अर्थतन्त्र सुधारको सङ्केत, उत्पादन र निर्माण क्षेत्र समस्यामै
काठमाडौँ । अटोमोबाइल्स क्षेत्रको व्यापारमा यो वर्ष उत्साह देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिना अवधिमा भएका सवारी साधनको आयातमा ४० प्रतिशत सुधार देखिएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार मंसिर महिनासम्म ४१ अर्ब १ करोड रुपैयाँको सवारी साधन आयात भएको थियो । गत आर्थिक वर्षको समीक्षा अवधिमा यस्तो आयात २९ अर्ब २० रुपैयाँ बराबर रहेको विभागको तथ्याङ्क छ । यो तथ्याङ्क सबै प्रकारका सवारी साधन र तिनका पार्टपुर्जा समेतको हो ।
यो अवधिमा व्यापारको सबैभन्दा धेरै हिस्सा ओगट्ने इलेक्ट्रिक सवारी साधनको आयात करिब २७ प्रतिशतले बढेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् करका दरमा हेरफेर गरेसँगै यसको आयातमा समेत सुधार देखिएको हो ।
पाँच महिनाको अवधिमा ५० किलोवाटसम्मका एक हजार ४९० सवारी साधन नेपाल भित्रिएको विभागको तथ्याङ्क छ । अघिल्लो वर्षको यही अवधिमा एक हजार ५९५ वटा सवारी साधन नेपाल भित्रिएका थिए । धेरै क्षमताको भेहीकलको करको दरमा सहुलियतसँगै ५० किलोवाटभन्दा कम क्षमताका सवारी साधन आयात ह्वात्तै घटेको देखिन्छ ।
त्यस्तै, ५१ देखि १०० किलोवाट क्षमताका सवारी साधन २ हजार ७५७ वटा भित्रिएका छन् । अघिल्लो वर्ष यही समयमा २ हजार २८ वटा सवारी साधन नेपाल भित्रिएका थिए । १०० देखि २०० किलोवाट क्षमतासम्मका सवारी साधन यो अवधिमा ४४३ वटा आएका छन्, जबकि अघिल्लो वर्ष समीक्षा अवधिमा यस्तो आयात ५२ वटामात्रै थियो । २०० किलोवाटभन्दा धेरै क्षमताका सवारी साधन आयातको संख्या भने घटेको छ । अघिल्लो वर्ष ११ वटा आयात भएको यस्तो साधन अहिले ५ वटामा सीमित भएको हो ।
- अरु सवारी साधनको के छ अवस्था ?
विभागका अनुसार यो अवधिमा पेट्रोल तथा डिजेलबाट चल्ने २ हजार ६९ वटा यात्रुवाहक सवारी साधन आयात भएका छन् । यसका लागि २ अर्ब ९० करोड रुपैयाँ बराबरको आयात गरिएको छ । अघिल्लो वर्ष यो अवधिमा २ हजार ५६ वटा गाडी २ अर्ब ६० करोड रुपैयाँमा आयात भएको थियो ।
यसमध्ये पेट्रोल तथा डिजेल इञ्जिन भएका सवारी साधनमध्ये यो वर्ष १ हजार सीसीभन्दा कम क्षमताको २१३ वटा, पेट्रोल इञ्जिन भएको १००० देखि १५०० सीसीयुक्त क्षमताका एक हजार ४३७ वटा तथा सोही क्षमताको एसेम्बल नगरिएको सवारी साधन १२३ वटा आयात भएको छ । अघिल्लो वर्ष यो संख्या क्रमशः २६२, १३४६ र ३ वटामा थियो ।
त्यस्तै, १५०० देखि २००० सीसी क्षमतासम्मका पेट्रोल गाडी २२ वटा र २००० देखि २५०० सीसीसम्मका गाडी ४ वटा आयात भएका छन्, जुन अघिल्लो वर्ष समीक्षा अवधिमा ३४ र ५ वटा थियो । गत वर्ष एउटामात्रै आएको एम्बुलेन्स र शववाहन यसपटक २० वटा भित्रिएको छ ।
डिजेलयुक्त सवारी साधनमध्ये १५०० सीसीसम्मको ३२ वटा, १५०० देखि २५०० सम्मको १३ वटा र त्योभन्दा माथिका ५५ वटा सवारी साधन भित्रिएका छन् । अघिल्लो वर्ष यो संख्या क्रमशः ४२, २२९ र ८७ वटा थियो । डिजेल इञ्जिनयुक्त सवारी साधनको आयात यो वर्ष ह्वात्तै घटेको देखिन्छ । बरु डिजेलबाहेक ग्यास र अन्य इन्धनबाट चल्ने सवारी १४९ वटा भित्रिएका छन् । अघिल्लो वर्ष यो संख्या ४६ मात्रै थियो ।
यसपटक एसेम्बल नगरिएका तीनपाङ्ग्रे सवारी साधनको आयात ह्वात्तै बढेको छ । मंसिरसम्म तयारी (एसेम्बल) तीनपाङ्ग्रे ४ हजार ९३६ वटा आयात हुँदा एसेम्बल नगरिएका ३ हजार २५० वटा सवारी साधन आएका छन् । अघिल्लो वर्ष तयारी सवारी साधन ४ हजार ५२४ वटा आउँदा एसेम्बल नगरिएका सवारीको संख्या एक हजार ९३ थियो । एसेम्बल नगरिएका सवारी साधनमा पार्टपुर्जा आयात गरेर नेपालमै एसेम्बल गर्ने काम गरिन्छ ।
यो वर्ष भएका आयातमध्ये २६ सिटभन्दा माथिका डिजेल इञ्जिनयुक्त बस २६९ वटा आएका छन् । गत वर्ष यस्ता सवारी २६२ वटा समीक्षा अवधिमा आएका थिए । त्यस्तै, १५ देखि २५ सिटसम्मको मिनीबस ११० वटा आएको देखिन्छ, जबकि गत वर्ष यस्तो आयात समीक्षा अवधिमा ७२ वटा थियो । ११ देखि १४ सिट क्षमताका माइक्रोबस ५९ वटा भित्रिएका छन् । गत आर्थिक वर्षको मंसिरसम्म यो संख्या २६ थियो ।
त्यस्तै, यो अवधिमा १५ देखि २५ सिट क्षमतासम्मका इलेक्ट्रिक बस ३९७ वटा, १० देखि १५ सिटसम्मका इलेक्ट्रिक माइक्रोबस ४३९ वटा भित्रिएका छन् । अघिल्लो वर्ष यो संख्या क्रमशः ५६ र १३४ वटा थियो । त्यस्तै, एक हजारभन्दा कम सीसी क्षमताका अटोरिक्सा १६३९ वटा भित्रिएका छन् । अघिल्लो वर्ष यो संख्या ३७४ मात्रै थियो ।
- दुईपाङ्ग्रेको व्यापारमा समेत उत्साह
यो अवधिको तथ्याङ्क हेर्दा दुईपाङ्ग्रे सवारी साधनमा अघिल्लो वर्षभन्दा उल्लेख्य सुधार भएको देखिन्छ । पाँच महिनामा ५० देखि १२५ सीसी क्षमतासम्मका ३० हजार ५२३ वटा, १२५ देखि २०० सीसी क्षमताका १७ हजार ५२६ वटा २०० देखि २५० सीसीसम्मका ३ हजार ३४८ वटा, २५१ देखि ४०० सीसीसम्मका ६ हजार ६९१ वटा, ४०० देखि ५०० सीसीसम्मका २७१ वटा, ५०१ देखि ८०० सीसीसम्मका १७ वटा पिस्टन इञ्जिनयुक्त एसेम्बल नगरिएका मोटरसाइकल आयात भएका छन् । अघिल्लो वर्षको पाँच महिनामा यस्तो संख्या क्रमशः ११ हजार ८२६ वटा, ११ हजार ३०१ वटा, ६८३ वटा, ५ हजार ७९८ वटा र ११२ वटा छन् ।
त्यस्तै, एसेम्बल गरेर तयारी अवस्थामा आएका मोटरसाइकलमध्ये ५० देखि १२५ सीसी क्षमतासम्मका ३० हजार ८३६ वटा, १२५ देखि २०० सीसी क्षमताका ४ हजार ६२१ वटा २०० देखि २५० सीसीसम्मका ८४ वटा र २५० सीसीदेखि ४०० सीसीसम्मका ३४ वटा, ५०० देखि ८०० सीसीसम्मका १७ वटा मोटरसाइकल आयात भएको देखिएको छ । गत वर्ष मंसिरसम्म यी वर्गका क्रमशः २३ हजार ७४८ वटा, २ हजार ५५८ वटा, ७० वटा र ४ वटा आयात भएका थिए ।
यो अवधिमा इलेक्ट्रिक मोटर जडान गरिएको साइकल एक हजार ५४० वटा, इलेक्ट्रिक स्कुटर ३ हजार ८१० वटा, अपाङ्गता भएका व्यक्तिले चढ्ने ट्रिसाइकल ८० वटा, साइकल एक लाख ८१ हजार ३८५ वटा आयात भएको छ । यो संख्या अघिल्लो वर्ष क्रमशः ८९१ वटा, २ हजार ६९० वटा, ९८ वटा र एक लाख ४४ हजार ११२ वटा थियो ।
- ठुला मालवाहकमा अझै पनि मन्दी
यो अवधिमा २००० सीसीसम्मका मालवाहक भ्यान ४९७ वटा, त्योभन्दा बढी क्षमताका २३९ वटा सवारी साधन आयात भएका छन् । पाँचदेखि २० टनसम्म क्षमता भएका ट्रक १६८ वटा र त्योभन्दा धेरै क्षमताका ६७ वटा सवारी साधन आएका छन् । यो अवधिमा सडक निर्माण वा मर्मतमा प्रयोग हुने ड्रम्पर १० वटा, २० टनभन्दा माथि क्षमता भएका सिमेन्ट ब्लकर तीनवटा आयात भएको विभागको तथ्याङ्क छ । २००० सीसीभन्दा कम क्षमताका सवारी साधनको आयात अघिल्लो वर्ष २७८ वटा थियो । त्योभन्दा धेरै क्षमताको ४३५ वटा आयात भएकोमा यो वर्ष घटेको छ । २० टनसम्म क्षमता भएका ट्रकको आयात समेत यो वर्ष घटेको छ ।
यो अवधिमा पहाडी क्षेत्रमा खेत जोत्न प्रयोग हुने हाते ट्याक्टरको आयात घटेको छ । अघिल्लो वर्ष यही अवधिमा ८ हजार २६२ वटा ट्याक्टर आएकोमा यो वर्ष ६ हजार ८५० वटामा झरेको हो । यो अवधिमा कुल ९०३ वटा वभिन्न क्षमतामा ट्याक्टर आयात भएका छन् । अघिल्लो वर्ष यो संख्या ५८० थियो ।
अटोमोबाइल्स क्षेत्रको सम्बन्ध सबै क्षेत्रसँग हुने भएकाले यसले समग्र क्षेत्रको अवस्थाको सूचकको रूपमा समेत काम गर्छ । यो अवधिमा प्यासेञ्जर भेहिकल तथा मोटरसाइकलको आयातमा देखिएको सुधारले अर्थतन्त्रमा उपभोगको मात्रा बढ्न थालेको देखिन्छ । यद्यपि व्यावसायिक प्रयोजनका मालवाहक सवारी साधनदेखि कृषि क्षेत्रमा प्रयोग हुने साधन समेतमा भने यो वर्ष निराशा देखिएको छ । यसले निर्माण एवं उत्पादनमूलक उद्योग अझै पनि मन्दीबाट माथि उठ्न नसकेको अवस्था देखाउँछ । विशेषगरी पहाडी क्षेत्रको कृषिजन्य गतिविधि समेत घट्दै गएको अवस्था यसले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारीको कर र जरिवानामा १००% छुट
-
सुमो दुर्घटनाका घाइते राईको मृत्यु
-
१२ बजे, १२ समाचार : एमालेले खोस्यो भीम रावलको साधारण सदस्यतादेखि नेपाललाई थाहै नदिई लिपुलेकबारे भारत-चीन सहमति
-
एमालेका तीन नेतामाथि कारबाही : विद्या भण्डारीलाई सक्रिय राजनीतिको निम्तो !
-
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
-
‘पूर्वाधारसँगै स्वास्थ्य, शिक्षा र खेलकुदको विकासलाई प्राथमिकतामा राखेका छौँ’