बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

माओ दिवसको अवसरमा सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले अन्तर्क्रिया गर्दै

बुधबार, १० पुस २०८१, १० : ४४
बुधबार, १० पुस २०८१

काठमाडौँ । सार्वजनिक नीति तथा रणनीति अध्ययन केन्द्रले नेपालमा भव्य रूपमा माओको १३१औँ जन्म जयन्ती मनाउने भएको छ । 

माओको जन्म जयन्तीको अवसर पारेर बिहीबार दिउँसो १ः ३० बजे राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा अन्तर्क्रिया कार्यक्रम राखिएको केन्द्रका प्रमुख ओम शर्माले जानकारी दिए । 

समाजवादी चीनको स्थापनामा माओले खेलेको भूमिका नेपालको सन्दर्भमा पनि उत्तिकै महत्त्व भएकाले उनको जन्म जयन्तीको अवसरमा कार्यक्रम राखिएको शर्माले बताए । 

उनका अनुसार कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले ‘माओ दिवस र वर्तमान राजनीति’ विषयमा धारणा राख्नेछन् । 

‘नेपालमा समाजवाद स्थापना, वामध्रुवीकरण, पछिल्लो राजनीतिक अवस्थाको सन्दर्भमा यो कार्यक्रम रणनीतिक महत्वको छ । माओको नेतृत्वमा भएको चिनियाँ समाजवादी क्रान्ति नेपालको समाजवादी आन्दोलनमा पनि उत्तिकै सान्दर्भिक छ । यस अन्तर्क्रियाले पार्टी एकता र वाम ध्रुवीकरणबारे विशेष अर्थ राख्छ’, शर्माले भने । 

पछिल्लो समय पार्टी एकतालाई लिएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र विप्लवबिच तिक्तता बढेको चर्चा भइरहेको अवस्थामा यस कार्यक्रम हुनु अर्थपूर्ण रहेको छ । माओ दिवसको अवसरमा खासगरी माओवादी घटकहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।

सो अवसरमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका महत्त्वपूर्ण डायरीसमेत समेत सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप