बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
बहस

माओवादी पार्टी कसरी बन्छ ? यस्ता छन् आधार

बुधबार, १० पुस २०८१, ११ : ३०
बुधबार, १० पुस २०८१

नेपाल कम्युनिस्ट पार्टीको स्थापना २००६ सालमा भयो । २०१२ सालमा आउँदा–आउँदै त्यो विघटनको दिशातिर गयो । २०१९ सालमा गएर विघटन नै भयो । पुष्पलालले पहिलोमा विघटित भएको अवस्थालाई पुष्पलालले २०२५ सालमा गोरखपुर सम्मेलन गरेर नयाँ ढंगले कम्युनिस्ट पार्टीलाई पुनर्गठन गर्नुभयो । दोस्रोमा जनवादी क्रान्तिको कार्यदिशा स्पष्ट गर्नुभयो । तेस्रोमा संयुक्त जनमोर्चाको नीति अगाडि बढाउनुभयो । कांग्रेससँग मिलेर मात्रै पञ्चायत फाल्न सकिन्छ भन्ने नीति पुष्पलालले ल्याउनुभएको हो । उहाँको सोही नीतिले २०४६ सालसम्म आइपुग्दा परिणाम ल्यायो । संयुक्त राष्ट्रिय जनआन्दोलन, संयुक्त वाममोर्चा र प्रजातान्त्रिक धारको नेतृत्व गरेको कांग्रेससँग मिलेर आन्दोलन गर्दा पञ्चायत ढल्यो । 

अर्को नीति जनवादी क्रान्ति हुन अझै बाँकी नै छ । यो अवधि कम्युनिस्ट पार्टी पुनर्गठनको अवधि थियो । हामी २०४६ को आन्दोलन धोका हो भनेर त्यसविरुद्ध गयौँ । क्रान्तिकारी धारको नेतृत्व गर्ने दिशातिर गयौँ । अध्यक्ष प्रचण्डको नेतृत्वमा फेरि कम्युनिस्ट घटकहरूको एकता हुँदै अगाडि बढ्यौँ । जसले जनयुद्धको बाटो हुँदै संविधानसभासम्म ल्यायोे । पञ्चायत ढलिसकेपछि त्यति बेला जनता सार्वभौम थिएनन् । सार्वभौम अधिकार राजामै निहित भएकाले हामीले विद्रोह गर्यौँ । प्रचण्डको नेतृत्वमा वाम घटकबीच एकता गर्दै संघर्ष गर्ने निर्णय गर्यौँ । २०५२ सालदेखि जनयुद्ध गर्यौँ । माओवादी १० वर्षे युद्ध गर्दै शान्ति प्रक्रियामा आइपुग्यो । राजतन्त्र अन्त्य गरेर जनतालाई सार्वभौम बनाउन सक्यौँ । समावेशी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न सफल भयौँ । पुष्पलालको जनवादी क्रान्तिको नीतिलाई रणनीति र कार्यनीतिमा विकास गरेर प्रचण्ड अगाडि बढ्नुभएको हो । 

वाम आन्दोलनको अर्को धार २०४७ सालको संविधानलाई आलोचनात्मक समर्थन गर्दै संसदीय प्रणालीमार्फत जनताका पनि सुधारका काममा एमाले लाग्यो । एमालेमा मदन भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) विचारको विकास गर्नुभयो । 

२०६२/६३ मा आइपुग्दा एमाले, कांग्रेससहित तत्कालीन सात दलबीच भएको १२ बुँदे सम्झैताको जगमा १९ दिने जनआन्दोलनले निरंकुश राजतन्त्रको अन्त्य भयो । तर, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउन झन्डै १० वर्ष लाग्यो । यो कम्युनिस्ट आन्दोलन पुनर्गठनको दोस्रो अवधि थियो । 

२०७२ को संविधान निर्माणपछि २०७४ सम्म आइपुग्दा फेरि पुनर्गठन गर्ने प्रयास गरियो । त्यो प्रयास एमालेसँगको चुनावी तालमेलको सन्दर्भमा सुरु भयो । २०७५ जेठ ३ गतेसम्म आइपुग्दा पार्टी एकतासम्म पुग्यो । तर, २०७८ मा आइपुग्दा फेरि विभाजित हुन पुग्यो । आज कम्युनिस्ट आन्दोलन फेरि विभाजित अवस्थामा छ । त्यसको पछाडिका कारण नीति गलत थियो त ? बिल्कुल थिएन । त्यो नीति सही थियो । यो पुनर्गठनको तेस्रो प्रयास थियो । यी प्रयासलाई नेताहरूको इगो र सत्ता स्वार्थका कारणले रक्षा हुन सकेन । गलत नेतृत्वको कारणले संरक्षण हुन सकेन । नीति असफल नभएर प्रक्रिया असफल भयो । अब पनि त्यसको आवश्यकता छ । अब त्यही रूपमा एकता हुँदैन । दुई पार्टीबीच एकता गरेर ध्रुवीकरण हुँदैन । सम्भव पनि छैन । 

Maoist Khabardari Sabha-420

माओवादी पार्टी निर्माणका तीन आधार

पहिलो आधार– माओवादी पार्टीसँग त्याग, तपस्या, बलिदानको एउटा  इतिहास छ । यी कुरा आजका मानिसलाई सामान्य लाग्न सक्छ । तर, धेरै ऐतिहासिक महत्त्वको विषय हो । यो गर्विलो इतिहास पार्टीको पृष्ठभूमि हो । 

दोस्रो आधार– त्यही त्याग तपस्याकै कारण आज सार्वभौम अधिकार जनतामा अन्तर्निहित छ । समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतान्त्रिक गणतन्त्रको व्यवस्था छ । यो माओवादीकै त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको हो । 

तेस्रो आधार– हाम्रो पार्टीमा निरंकुश पञ्चायतविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन र जनयुद्धको अनुभव छ । पछिल्लो समय हामीसँग संविधान निर्माण र संसदीय आन्दोलनबाट प्रशिक्षित भएको एउटा ठूलो नेतृत्वको टिम छ । प्रतिस्पर्धा आजको महत्त्वपूर्ण कुरा हो । माओवादीले अगाडि सारेका लोकप्रिय एजेन्डा छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ने एजेन्डा माओवादीको हो । यो एजेन्डा आज पनि कायम छ । त्यसबारे बहस गर्ने, नेतृत्व लिने काम आज पार्टीको हो । यद्यपि, यसले प्राथमिकता पाएको छैन । समावेशी समानुपातिक कुरा संयन्त्रको मात्र कुरा होइन । समावेशी विकास पनि हो । सामाजिक न्यायका जे मुद्दा छन् ती मुद्दा पनि आज हाम्रा एजेन्डाका रूपमा छन् । दलित, उत्पीडित महिला, आदिवासी जनजाति यी सबै पहिचानका मुद्दा माओवादीका मुद्दाका रूपमा छन् । 

माओवादीलाई हिजोको धङधङीबाट मुक्त गर्दै आजको प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न आन्तरिक प्रतिस्पर्धा आवश्यक छ । आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्छ भन्ने बहस उठेको छ । यो पार्टी निर्माणका लागि एउटा महत्त्वपूर्ण बहस हो । पार्टीभित्र प्रत्यक्ष निर्वाचनको कुरा नगरी बाहिर प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस गर्नुको अर्थ छैन । त्यसकारण हामीले आन्तरिक निर्वाचन र लोकतन्त्रलाई पनि सँगसँगै लैजानुपर्छ । सरकारमा हुँदा उठाएका सामाजिक न्याय, सुशासन र समृद्धिका मुद्दा पनि छन् ।

समाजवादको बाटोमा अगाडि बढ्न वाम ध्रुवीकरण आवश्यक छ । वाम ध्रुवीकरण हिजो एमाले र माओवादीको एकताजस्तो होइन । त्यो रूपमा सम्भव छैन । देश निर्माणमा सहमत हुनेहरू, राष्ट्रिय एजेन्डा निर्माणमा सहमत हुनेहरूबीच फरक ढंगले सुदृढ एकता, मोर्चा बनाएर जान सकिन्छ । 

माओवादी र अन्य पार्टीले पनि नसकेका मुद्दा छन् । हामीले यसलाई फेरि स्थापित गरेर जानुपर्छ । जनजीविकाको सवालमा काम हुन सकिराखेको छैन । ती काम पूरा गर्ने प्रतिबद्धता आज माओवादीले पूरा गर्नुपर्छ । पहिलो, विशेषगरी शिक्षा क्षेत्रको सुधार हुनुपर्छ । सार्वजनिक शिक्षामा सुधार भएको छैन । यसतर्फ कुनै पार्टीको पनि ध्यान गएन । माओवादीले आत्मालोचना गर्दै अब हामी गर्छौं भनेर प्रतिबद्धता जनाउनुपर्छ । 

दोस्रो, स्वास्थ्य क्षेत्रमा सुधार हुनुपर्छ । उपचार नपाएर मर्दैन भन्ने ग्यारेन्टी जनतालाई गर्नुपर्छ । पहिलो त रोग लाग्न नदिने नै हो । यदि रोग लागिसकेपछि उपचार नपाएर म मर्दिनँ भन्ने ग्यारेन्टी गर्ने कुरा हो । यसमा कमजोरी भएको छ । 

तेस्रो, महत्त्वपूर्ण कुरा रोजगारी हो । हामीसँग रोजगारी सिर्जना गर्ने कुरामा पर्याप्त स्रोत छन् । स्रोत परिचालन गर्न सम्भव छ । कुनै दलले गर्न नसकेका यी मुद्दालाई आत्मालोचनासहित पूरा गर्ने प्रतिबद्धता जनाउनुपर्छ । माओवादी पार्टी निर्माणका मूल आधार यिनै हुन् । 

पार्टीलाई लोकतन्त्रीकरण गर्ने, आन्तरिक बहस र छलफलबाट कार्यकर्ताले चाहेजस्तो पार्टी बनाउन सकिन्छ भन्ने सकारात्मक सन्देश गएको छ । यसले पार्टीमा उत्साह जगाएको छ । अर्कोतिर सरकारमा बसेर गरेका राम्रा काम छन् । लोडसेडिङ अन्त्य, सुशासन, सामाजिक न्याय, समृद्धि, मध्यपहाडी राजमार्गको खाका, किसानहरूको ऋण मिनाहाजस्ता विभिन्न चरणमा माओवादी सरकारले गरेका राम्रा काम हुन् । यी कुराले पार्टी निर्माणमा अधार खडा गरेका छन् । संकेतका रूपमा भर्खरै सम्पन्न उपनिर्वाचनले देखाएको छ । यद्यपि, सहरी क्षेत्रमा अझै माओवादीप्रति जनमत आकर्षित भएको देखिँदैन । तर, अन्य क्षेत्रमा माओवादीप्रति सकारात्मक समर्थन देखियो । पत्रकार महासंघको निर्वाचनसम्म आइपुग्दा एक्लै चुनाव लड्न सकिँदैन भन्ने हिजोको मनोगत भएको कुरालाई पनि यसले खण्डित गरेको छ । हामीले यसलाई आत्मविश्वासका रूपमा लैजान केही समस्या छन् । 

पार्टी पुनर्गठनका समस्या 

पहिलो, पार्टीको आन्तरिक जीवन सुदृढ गर्न आवश्यक छ । नीति र विधिभन्दा नेता प्रधान हुने मान्यता छ । त्यसलाई उल्ट्याउनुपर्छ । नीति र विधि प्रधान हुने, समिति र संस्था प्रधान हुने कुरामा बदल्नुपर्छ । नेता प्रधान हुँदा नोकरशाही संयन्त्रमा बदलिन्छ । यसमा विचार फल्न–फुल्न पाउँदैन । विचार फल्न–फुल्न पाएन भने पार्टीको आन्तरिक जीवन संकुचनमा पर्छ । पार्टी बिस्तारै ओरालो लाग्छ । पार्टीलाई नोकरशाही संयन्त्रमा बदल्न नदिन नीति र विधि प्रधान बनाउनुपर्छ । संरचना मुख्य बनाउनुपर्छ । आन्तरिक सुधार गर्ने पहिलो उपाय यो हो । 

दोस्रो, माओवादीमा जनयुद्ध लडेको घमण्ड छ । हामी सबैले त्यो घमण्डको भारी बिसाउनुपर्छ । हामीले युद्ध लडेका हाँै भन्ने घमण्डले आजको परिस्थिति बदल्न सकेका छैनौँ । आजको आवश्यकतालाई आत्मसात् गर्न सकेको छैन । युद्धको धङधङीले आजको आवश्यकता, परिस्थिति र युवाहरूको आकांक्षालाई बुझ्न कठिन भइरहेको छ । हिजो धरातलमा टेकेरै जनयुद्ध गरेको हो । आज पनि धरातलमा टेक्नुपर्छ । त्यसकारण घमण्डको भारी बिसाएर मात्रै पार्टी अगाडि बढ्न सक्छ । जनयुद्ध लडेका मान्छे मात्र होइन कि आम सामाजिक क्षेत्रका नेतृत्व गर्नेहरू, विज्ञहरू, विशेषज्ञहरूले पार्टीमा आफ्नो जीवन वा भविष्य देख्नुपर्छ । योगदान गर्नेहरूलाई ठाउँ हुनुपर्छ । युवा पुस्ताले पार्टीभित्र भविष्य देख्न सक्नुपर्छ । अन्य सबै उत्पीडित वर्गले पनि आफ्नो भविष्य देख्न सक्नुपर्छ । 

तेस्रो, समाजवादमा जाने स्पष्ट विचार चाहिएको छ । सोहीअनुसार संरचना र नेतृत्व प्रणाली चाहिएको छ । नेतृत्व प्रणाली विधिमा चल्ने गरी सुनिश्चित हुन आवश्यक छ । आवश्यकता भन्दै टीका लगाउँदै जाने होइन । टिके प्रणालीमा जाँदा त्यसले पार्टीलाई विघटनतिर लगिराखेको छ । यसलाई बिल्कुल बदल्नुपर्छ । माओवादीमा वैचारिक सत्ता, सामुदायिक/सामाजिक सत्ता र राज्यसत्ता यी तीनवटा बीचको अन्तर्सम्बन्ध र महत्त्वलाई बुझ्ने कला अनि क्षमता भएन । यसमा वृद्धि गर्नुपर्छ । यी तीन सत्तालाई जोडिएन, यसले वास्तवमा अलगथलगजस्तो भयो । यसलाई जोड्न नसक्दा नै जनमत गुमेको छ । जनतामा आकर्षण हुँदाहुँदै पनि पार्टीभित्र नेतृत्व निर्माणको सिस्टम भएन । अब नेतृत्वको एउटा अवधि तोकेर कसले कति समय काम गर्न सक्छ, कति योगदान गर्न सक्छ भन्ने सुनिश्चित गर्नुपर्ने आवश्यकता छ । धेरै देशमा यी बहस चलिराखेका छन् । अवधि तोकेर जान सके मात्रै नेतृत्व निरन्तर गतिशील भइराख्छ । नदी बगेजस्तै चलायमान हुन्छ । त्यो नहुँदा अवरुद्ध हुने खतरा हुन्छ । त्यसलाई पनि सच्याउनुपर्नेछ । 

चौथो, हामीले शान्ति प्रक्रियामा आउँदै गर्दा गल्ती गर्यौँ । त्यति बेला शान्ति प्रक्रियालाई सहज रूपमा स्वीकार गरेर संविधान निर्माणको विषयलाई मुख्य एजेन्डा बनाएर जानुपथ्र्यो । हामीले विद्रोहका कुरा ल्यायौँ । चुनाव र विद्रोहलाई सँगसँगै लग्यौँ । त्यो ठूलो वैचारिक त्रुटि थियो । हामीले जनजीवनको मुद्दालाई बदल्ने कुरामा गल्ती गर्यौँ । 

२०७२ पछि २०७४ मा आएर वाम ध्रुवीकरणतिर लाग्यौं । पार्टी एकताको कुरा गर्यौँ । त्यो एकतालाई बचाउन नसक्ने नेतृत्वको ‘इगो हर्ट’को टकराव पार्टी निर्माणप्रति होइन, नेतृत्वको गलत सोचका कारण टिकेन । एकताको विषय सही थियो तर टिकेन । त्यसको असर हामीले भोगिराखेका छौँ । अब यी कुरालाई हामीले हटाउनुपर्नेछ । 

अब के गर्ने ? 

संविधानले भनेबमोजिम देशमा विचार संश्लेषण हुन जरुरी छ । सामाजिक न्यायको स्थापना गर्दै समाजवादको दिशातर्फ जाने भनेर संविधानमा उल्लेख छ । त्यो सामाजिक न्याय स्थापना गर्न लिनुपर्ने रणनीति र कार्यनीति छन् । त्यो भनेको आर्थिक रूपमा आत्मनिर्भर अर्थतन्त्रको कुरा पनि आएको छ । रोजगारीका कुरा छन् । उत्पादन र श्रमको कुरा छ । गरिबी अन्त्यको कुरा आउँछ । सामाजिक विभेद अन्त्य गर्ने कुरा आउँछ । संविधान लेखियो तर जनताको जीवनमा परिवर्तन आउने हिसाबले कार्यान्वयन भएन । जनजीविकाको सवाल मुख्यतः शिक्षा, स्वास्थ्य र रोजगारका प्रश्न सम्बोधन गर्ने कुरा आउँछ । 

यीलगायत वर्तमान विश्व परिस्थितिको कुरा छ । पछिल्लो समय विकसित भएका प्रविधि एआई र त्यसले पार्ने सामाजिक प्रभावहरूको कुरा छ । वातावरणीय संकट र समस्याका कुरा छन् । यी सबैका आधारमा हाम्रो नेपाली समाजको बनावट, विकासक्रम, अहिलेका वर्गहरूको अवस्था र देशको आर्थिक अवस्था यी सबैलाई हेरेर हामीले सही विचार संश्लेषण गर्न आवश्यक छ । प्रगतिशील, वामपन्थी, राष्ट्रवादी शक्ति पनि एकसाथ जान सक्ने र सामाजिक न्याय, सुशासन, समृद्धि स्थापना गर्ने सक्ने एउटा नयाँ आन्दोलन, अभियानलाई नेतृत्व गर्ने विचार चाहिएको छ । त्यसका लागि आमबहस, छलफल र संश्लेषण आवश्यक छ । 

राष्ट्रप्रतिको दृष्टिकोण बदल्न आवश्यक छ । १२ कक्षा पढ्दा खेरि विद्यार्थीहरू किन विदेश गइराखेका छन् ? हामीले उनीहरूलाई स्वदेशमै अडिन सक्ने शिक्षा नीति किन बनाउन सकेनौँ ? पाठ्यक्रम किन परिवर्तन गरेनौँ ? किनकि, हाम्रो शिक्षा नीति बाहिरै अध्ययन गर्न जाने गरी बन्यो ।  यो देशको माटो, आवश्यकता, हावापानी, सम्भावनाबारे हामीले विद्यार्थीलाई बुझाउन सकेनौँ । त्यसकारण यस्ता दृष्टिकोण निर्माण गर्ने वातावरणसहित हामी अगाडि बढ्नुपर्छ । 

अर्को कुरा, माओवादीले वर्गीय प्रतिबद्धता, दलीय प्रतिस्पर्धा कायम राख्नुपर्छ । दलीय प्रतिस्पर्धामा श्रेष्ठता र वर्गीय प्रतिबद्धतामा दृढताको नीति कसरी लागू गर्ने भन्नेमा एउटा प्रमुख चुनौती छ । कम्युनिस्ट पार्टीमा कि त वर्गीय प्रतिबद्धता छाडेर दलाल पुँजीवादसँग गएर मिल्दिन्छन् । र, धरासायी हुन्छ कि त प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सक्दैन र खिइँदै–खिइँदै जान्छ । माओवादी २०६४ सालमा पहिलो पार्टी भएकामा अहिले तेस्रोमा खुम्चिएको छ । वर्गीय प्रतिबद्धता र प्रतिस्पर्धामा श्रेष्ठताबीच सन्तुलन कायम गर्न सक्ने कार्यनीति आवश्यक छ । 

अहिलेको संविधानले दिएको अधिकार नै लागू गर्न सकिएको छैन । संविधान नै कार्यान्वयन भएको छैन । संविधान कार्यान्वयन भएको भए स्वाभाविक रूपमा जनताका केही समस्या समाधान हुन्थे । संविधानले दिएको अधिकार अहिलेसम्म स्थानीय तह, प्रदेशले पाएका छैनन् । सबै अधिकार संघमा मात्रै केन्द्रित छ । कर्मचारीतन्त्र अहिले पनि पुरानै छ । समयमै परिणाममुखी काम गर्न सकेका छैनन् । नेतृत्व त्यसको पछि–पछि लागिराखेको छ । कोर्स करेक्सनलाई विकास गर्दै जाने कुरा त हुन्छ । पछाडि हट्ने कुरा हुँदैन । संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता हो । 

श्रमजीवी मजदुर, किसानको मुद्दा कसरी सम्बोधन गर्ने हो ? पार्टीले विशेष चासो दिनुपर्छ । आदिवासी जनजाति, महिला अहिले पनि उत्पीडनमा छन् । त्यो विभेदलाई अन्त्य गर्ने कार्यनीति, योजना भनेको वर्गीय प्रतिबद्धता भयो । त्यसलाई कार्यान्वयन गर्न दलीय प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नुपर्यो । जनताको लोकप्रिय मतलाई लिन सक्नुपर्यो । यी कुराको तालमेल कम्युनिस्ट पार्टीले मिलाउन सकेका छैन । यसैले कम्युनिस्ट पार्टी अलमलमा परेको छ । यो कुरा फुकाउन सक्नुपर्छ । यसका लागि पहिला पार्टीभित्र आन्तरिक लोकतन्त्रको सुदृढ गर्नुपर्छ । नेतृत्व प्रत्यक्ष निर्वाचन प्रक्रियाबाट जानुपर्छ । 

हामीले बाहिर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनेका छौँ । समावेशीको कुरा गरेका छौँ । भित्र पनि समावेशी हुनुपर्छ । पार्टीभित्र समावेशी अनुहार देखिनुपर्छ । नेतृत्वको टिममा समावेशी अनुहार नै देखिएको छैन । 

समाजको सांस्कृतिक, भौगोलिक विविधतालाई पनि ध्यान दिँदै नेतृत्व निर्माण गर्नु आजको आवश्यकता हो । यसलाई आधार बनाएर हामीले पार्टी पुनर्गठन गर्नुपर्छ । अलि–अलि हाम्रो पार्टीको नाम र चुनाव चिन्हले पनि असर पारेको छ । यो सहरी जनतालाई सहज हुने खालको छैन । उनीहरूले मन पराइराखेका छैनन् । सहरी जनतालाई पनि आकर्षित गर्ने नाम र चुनाव चिन्ह राख्नुपर्छ । 

मुख्यतः जनजीविकाका मुद्दालाई आधार बनाएर पार्टी अगाडि बढ्नुपर्छ । स्वास्थ्य, शिक्षाको सुधार र रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । ठोस र स्पष्ट योजना, प्रतिबद्धता समय–तालिकासमेत राखेर हामीले कार्यान्वयन गर्नुपर्छ । आन्दोलनका रूपमा सामाजिक–सांस्कृतिक रूपान्तरण आवश्यक छ । नत्र सामाजिक न्याय बन्दैन । विभेद अन्त्य गर्न यी रूपान्तरण आवश्यक छ । यसका लागि अभियान नै चलाउनुपर्छ । 

आर्थिक उत्पादन र रोजगारीको अभियान चलाउनुपर्छ । हामीले बाँझो जमिनको उपयोग गर्दै उत्पादनको नयाँ अभियान चलाउन सक्छौँ । समाजलाई विश्वस्त बनाएर समाजले नै विभेद हटाउन सामाजिक नेतृत्व र व्यक्तित्वहरू आज आवश्यक छन् । अर्थतन्त्रको कुरा गर्दा नेपाली विशेषताको आर्थिक विकास चाहिएको छ । स्विजटरल्यान्ण्ड बनाउँछु भनेर भएन । हामीले नेपाल नै बनाउनुपर्यो । नेपाल बनाउन यहाँको बनावट हेर्नुपर्छ । जग्गा, जमिन, जंगल, पानी, हिमाल, पहाड, तराई, ताल, तलैया, खानीलगायत हेर्नुपर्यो । जनशक्ति र प्रविधि हेर्नुपर्यो । 

हाम्रो जनशक्ति, खानी, पानी, हिमाल पहाडलाई पुँजी नमान्ने खालको सोच छ । त्यसलाई बदल्नुपर्छ । हामीले हाम्रो स्रोतमा आधारित उत्पादन, उद्योग, प्रशोधन, परिचालन गरियो भने पर्यटनको क्षेत्रमा लाखौं मानिस ल्याउन सकिन्छ । सगरमाथामा पुगेर सेल्फी खिच्ने वातावरण बनाइयो भने लाखौं मानिस आउँछन् । मुक्तिनाथ जाने वातावरण बनाइयो भने करोडौं आम्दानी हुन्छ । लिमी भ्यालीमा गएर कैलाशको दर्शन गर्ने वातारवण बनायौँ भने लाखौं मानिस आउँछन् । करोडौं मानिस हाम्रा छिमेकीबाटै आउँछन् । रोजगारी सिर्जना हुन्छ । हजारौं होटेल व्यवसाय चल्छ । हाम्रा सुन, तामा, फलाम, युरोनियम खानी छन् । ती खानीलाई हामीले पुँजीका रूपमा परिचालन गर्यौँ भने ठूलो रोजगारी खुल्छ । पानी जलविद्युत् उत्पादन गर्ने अर्को सम्भाव्यता बोकेको स्रोत हो । अहिले विश्वमै खानेपानीको हाहाकार छ । बहुआयामिक रूपमा यसलाई परिचालन गर्न सकिन्छ । विश्वमा एमुनिया ग्यासको प्रयोग बढ्दै गएको छ । अबको सय वर्षपछि यो विद्युत् काम लाग्दैन । सौर्य ऊर्जाको प्रयोग बढ्दै छ । त्यसअघि नै विद्युत् प्रयोग गर्न सक्नुपर्छ । यसलाई एमुनियामा बदलेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लैजान सक्नुपर्छ । हामीले वनबाट लाखौँ रोजगारी सिर्जना गर्न सक्छौँ । कृषिमा प्रतिस्पर्धात्मक बाली उत्पादन गर्न सक्छौँ । माथिका यी आधारलाई ध्यान दिएर नेतृत्वले रूपान्तरणसहित ठोस नीति, कार्यदिशा, कार्यक्रम र सांगठनिक संरचना ल्याउन सके माओवादी पार्टी निर्माण सम्भव छ । र, सकिन्छ । 

(माओवादी केन्द्रका उपमहासचिव शर्मासँग रातोपाटीकर्मी गणेश पाण्डेले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

जनार्दन शर्मा ‘प्रभाकर’
जनार्दन शर्मा ‘प्रभाकर’
लेखकबाट थप