बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
भारतविरुद्धको ‘बक्सिङ डे’ टेस्ट क्रिकेट

१९ वर्षीय कोन्सटाससहितको अस्ट्रेलियन टोली घोषणा

बुधबार, १० पुस २०८१, १० : २३
बुधबार, १० पुस २०८१

काठमाडौँ । बोर्डर–गावस्कर शृङ्खलाअन्तर्गतको चौथो टेस्टका लागि अस्ट्रेलियाले आफ्नो टोलीको घोषणा गरेको छ । अस्ट्रेलिया र भारतबिचको चौथो टेस्ट बिहीबार मेलबर्नमा सुरु हुँदै छ ।

पाँच टेस्टको शृङ्खला हाल १–१ को बराबरीमा रहेको छ । शृङ्खलाअन्तर्गत पर्थमा खेलिएको पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो । एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो ।

यसैगरी, ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । यो शृङ्खला आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसको एउटा महत्त्वपूर्ण अङ्ग पनि हो । त्यसैले टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण रहेको छ ।

चौथो टेस्टका लागि घोषित अस्ट्रेलियाको टोलीमा १९ वर्षीय साम कोन्सटासलाई पनि समावेश गरिएको छ । उनलाई पहिलो पटक अस्ट्रेलियाको सिनियर टोलीमा स्थान दिइएको हो । क्रिकेट अस्ट्रेलियाका अनुसार, कोन्सटासलाई पाँचौँ टेस्टका लागि पनि टोलीमा स्थान दिइने छ ।

माथिल्लो क्रमका ब्याट्सम्यान कोन्सटासले अब ‘बक्सिङ डे’ टेस्टमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्नेछन् । उनले यसअघि अस्ट्रेलियाको यू–१९ टोलीबाट थुप्रै प्रतियोगिता खेलिसकेका छन् । प्रथम श्रेणीको क्रिकेटमा पनि उनको प्रदर्शन उत्कृष्ट छ ।

कोन्सटासका अतिरिक्त स्कट बोल्यान्डले पनि चौथो टेस्टका लागि टोलीमा स्थान पाएका छन् । उनले एडलेइडमा खेलिएको दोस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यो टेस्टमा भारतका प्रभावशाली ब्याट्सम्यान विराट कोहली र यशस्वी जैसवालको विकेट उनले नै लिएका थिए ।

यसैगरी, ट्राभिस हेडलाई पनि टोलीमा समावेश गरिएको छ । यसअघि ट्राभिस हेडले चौथो टेस्ट खेल्ने सम्भावना निकै कम रहेको बताइएको थियो । भारतविरुद्धको जारी शृङ्खलामा ट्राभिस हेडको प्रदर्शन निकै स्तरीय रहेको छ ।

ट्राभिस हेडले पहिलो टेस्टको दोस्रो पालीमा ८९ रन बनाएका थिए । दोस्रो टेस्टमा पनि उनले एक सय ४० रन बनाएका थिए । तेस्रो टेस्टमा पनि ट्राभिस हेडले टोलीका लागि एक सय ५२ रनको योगदान गरेका थिए ।

चौथो टेस्टका लागि घोषित अस्ट्रेलियन टोलीमा उस्मान ख्वाजा, साम कोन्सटास, मार्नश लाबुशेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्श, एलेक्स केरी (विकेटकिपर), प्याट कमिन्स (कप्तान), मिचेल स्टार्क, नाथन लियोन र स्कट बोल्यान्ड रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप