बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

कटहरिया नगरपालिकामा जनप्रतिनिधिले नै लगाए ताला

बुधबार, १० पुस २०८१, ०८ : १३
बुधबार, १० पुस २०८१

रौतहट । घर घरमा रजिस्टर घुमाएर हस्ताक्षर गराई भएको निर्णय बदर हुनुपर्ने माग गर्दै कटहरिया नगरपालिकामा जनप्रतिनिधिहरूले  तालाबन्दी गरेका छन्। उपमेयर रिता देवी यादवको नेतृत्वमा गएको जनप्रतिनिधिहरूले मङ्गलवार दिउँसो कर्मचारी लाई बाहिर निकालेर तालाबन्दी गरेको हो। 

जनप्रतिनिधिहरूले मङ्गलवार मेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसँगै योजना शाखा र लेखा शाखामा तालाबन्दी गरेका छन्। मेयर अजयप्रकाश जैसवाल र प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी मिलेर नगरको करोडौं रुपैयाँ अनियमितता गर्ने दाउमा रहेको भन्दै उनीहरूले तालाबन्दी गरेका छन्।

मेयर जैसवालको निर्देशनमा गत मङ्सिर २० गते नगर कार्यपालिका बोर्डको बैठक बसेको थियो। बैठकमा नगरपालिकामा करारको कर्मचारी भर्ना र इलाका प्रहरी कार्यालय कटहरियाको लागि आएको प्रस्तावमा सहमति हुन सकेको थिएन। बैठकमा केही वडा अध्यक्ष सहित केही कार्यपालिका सदस्यहरूले उपस्थितिमा हस्ताक्षर गरेका थिए। तर सहमति नभएपछि मेयर जैसवालकै निर्देशनमा हिजो अर्थात पुस ८ गते पुनः बैठकको लागि मौखिक सूचना गर्दै उक्त बैठक स्थगित भएको उपमेयर रिता देवी यादवले बताइन। उक्त सूचना अनुसार हिजो पुस ८ गते मेयर र अधिकृत नगरपालिकामा आएनन् फोन गर्दा बाहिर छु भनेर जवाफ आएको उनले बताइन्। मेयर जैसवाल र अधिकृत जोशी आज पनि नगरपालिकामा अनुपस्थित रहेका छन्। 

यसैबिच मेयर जैसवालको इसारामा गत मङ्सिर २० गते भएको बैठकको निर्णय पुस्तिकामा प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले दर्जनौँ निर्णय लेखेर कार्यपालिका सदस्यहरू सँग हस्ताक्षर गराउने खेल भइरहेको उपमेयर यादवले जानकारी दिइन्।

तालाबन्दी पछी जनप्रतिनिधिहरूले सञ्चारकर्मी सँग कुरा गर्दै मेयर जैसवालको घरमा बसेर अधिकृत जोशीले लेखेको निर्णयहरू सदर गराउन अहिले कार्यालय सहयोगी मार्फत कार्यपालिका सदस्यहरूको घर घरमा राती राती लागेर हस्ताक्षर गराइरहेको बताएका छन्। हस्ताक्षर गराउन मेयर जैसवालले ती कार्यपालिका सदस्यहरूलाई विभिन्न प्रलोभन देखाई रहेको सहभागी कटहरिया ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले दाबी गरेका छन्। 

कटहरिया नगरपालिकाको ९ वटै वडामा झन्डै ५० जना कर्मचारी करारमा खटिरहेका थिए। उक्त करारका कर्मचारीहरूले २० महिनासम्मको तलब पाएका छैनन्। तर मेयर जैसवाल उनीहरूलाई तलब ख्वाउनुको सट्टा केही दिन अघि बिना सरसल्लाह एकैपटक सबैलाई बर्खास्त गरी ठुलो अन्याय गरेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन्। 

कर्मचारी भर्ना गर्दा आर्थिक अनियमितता गर्नको लागि उनीहरूलाई तलब दिनुको सट्टा बर्खास्त गरेको आरोप लगाएका छन्। गत मङ्सिर २० गतेको बैठकमा कुनै निर्णय नभएको र सोही निर्णय पुस्तिका दुरुपयोग गरी गरिएको निर्णयहरू बदर नभएसम्म तालाबन्दी यथावत् रहने जनप्रतिनिधिहरूले अडान राखेका छन्।

सबै वडामा खटेका करारका कर्मचारीको तलब दिएपछि मात्र अर्को कर्मचारी भर्नाको सूचना प्रकाशन गर्नुपर्ने समेत माग गरिएको छ।

 

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल भन्दा पनि ठुलो भ्रष्टाचारी प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी रहेको जनप्रतिनिधिहरूले बताएका छन्। नेपाल सरकारको शाखा अधिकृत जस्तो कर्मचारी भएर पनि अधिकृत जोशी मेयर जैसवालको इसारामा नगरको करोडौं रुपैयाँ भ्रष्टाचार गर्ने दाउमा रहेको उनीहरूले दाबी गरेका छन्। उपमेयर रिता देवी यादवको नेतृत्वमा तालाबन्दी गर्ने टोलीमा कटहरिया १ का वडा अध्यक्ष भूपेन्द्र महतो,२ का वडा अध्यक्ष हरेन्द्र साह,४ का वडा अध्यक्ष चन्दन कुशवाहा,५ का सर्फलाल गुप्ता,६ का जयराम चौधरी,७ का महमद सहिद वडा सदस्य रामेश्वर यादव लगायतको सहभागिता रहेको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप