लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
लन्डन । विश्वभरका इसाई धर्मावलम्बीहरूले प्रत्येक वर्ष डिसेम्बर २५ का दिन मनाउने महत्त्वपूर्ण पर्व क्रिसमसका बेला यसपटक सुनसान छ बेलायत । इसाई धर्मका संस्थापक प्रभु येशुको जन्मदिन मनाउन बेलायतमा यसअघि जति रौनकता हुन्थ्यो, यो पटक त्यस्तो देखिएको छैन । कारण हो, सुरक्षा त्रास र महँगी ।
जर्मनीको एक त्रासदीपूर्ण घट्नापछि बेलायत प्रहरीले क्रिसमस समयमा शङ्कास्पद वा आतङ्कवादी सन्दिग्धहरू देखे प्रहरीलाई रिपोर्ट गर्न आग्रह गरेको छ । प्रतिआतंकवाद प्रहरी प्रमुख जोन सेभेलले क्रिसमस बजार, किनमेल केन्द्रहरू, कन्सर्टहरू जस्ता क्षेत्र आक्रमणको जोखिममा रहेका बताएका छन् । जर्मनी र फ्रान्स जस्तो बेलायतमा क्रिसमसका बेला आतङ्ककारी हमलाहरूको कुनै इतिहास छैन, तर सिरियामा हालैको सत्ता उथलपुथल र चलिरहेको मध्यपूर्व द्वन्द्वहरूमा अनिश्चितताबिच 'काउन्टर टेरर पुलिस' हरू अरू बेला भन्दा व्यस्त छन्।
बेलायत प्रहरीले हाल ८ सय वटा सन्दिग्ध घटनाक्रमबारे अनुसन्धान गरिरहेको छ । सन् २०२२ को तुलनामा गत वर्ष आतङ्कवादी अपराधका लागि ५२ जना बढी पक्राउ परेका थिए जुन ३१ प्रतिशतले वृद्धि हो । यो सन् २०१९ यता एकै वर्षमा सबैभन्दा बढी सङ्ख्या रहेको प्रहरी भनाइ छ ।
केही दिन अघिमात्र जर्मनीको म्यागडेबर्ग सहरस्थित एउटा क्रिसमस बजारमा गाडीको अन्धाधुन्ध ठक्करका कारण कम्तीमा ५ जनाको मृत्यु र दुई सय बढी घाइते भए । उक्त घटनाका कारण बेलायतमा मात्र नभई अन्य युरोपेली मुलुकमा पनि त्रास र भयको अवस्था सृजना भएको छ ।
क्रिसमस आसपासमा पटक पटक दोहोरिने यस्ता घटनाका कारण पनि मानिसहरू आफूलाई असुरक्षित महसुस गर्दै आएका छन् ।हरेक वर्ष एउटै स्वरूपमा सजाइने क्रिसमस ट्री, सान्त क्लज तथा रङ्गीचङ्गी झिलिमिली बत्तीहरूले लन्डनका प्रमुख पर्यटकीय केन्द्रहरू आकर्षक ढङ्गले सजिए पनि तिनलेपर्यटकहरुको मन तान्न सकेको छैन ।
क्रिसमसले विश्व अर्थतन्त्रमै ठुलो प्रभाव पर्ने आङ्कलन गरिन्छ । तर, विश्वले नै सामना गरिरहेको आर्थिक मन्दीका कारण सोचेअनुरूप अर्थतन्त्र चलायमान हुन नसकेको अर्थविदहरुको टिप्पणी छ । मानिसहरूको खचाखच भीड लाग्ने लन्डन आसपासका रेस्टुरेन्ट तथा क्रिसमस लक्षित बजारहरू पनि विगतको तुलनामा यो पटक सुनसान जस्तै रहे । यात्रुहरू खचाखच हुने ट्राफलगर स्क्वायर क्षेत्र आसपास पहिला जस्तो मानिसको घुइंचो देखिन्न । ब्रान्डेड पसलहरु पनि ग्राहकको प्रतीक्षामा टोलाइरहेका देखिन्छन् ।
झन्डै एक महिना अगाडिदेखि नै लन्डनको प्रमुख पर्यटकीय क्षेत्रहरू लन्डन ब्रिज, अक्सफोर्ड स्ट्रिट, पिकाडेली सर्कस लगायत क्षेत्रमा क्रिसमसको चहलपहल हुने गर्छ । लन्डन बाहिरका सहरहरू उस्तै झिलिमिली पारिएको हुन्छ । क्रिसमसलाई लक्षित गरेर राखिने अस्थायी क्रिसमस मार्केटमा विभिन्न परिकार र स्वादका खानपिनहरू उपलब्ध हुने गर्दछन् ।
त्यसो त लन्डनको प्रमुख आकर्षण केन्द्र लन्डन ब्रिज अगाडिको क्रिसमस बजारमा ‘टेस्ट अफ नेपाल’ ले विगत केहि वर्ष अघिदेखि नेपाली खानालाई विश्वभरका पर्यटकमाझ चिनाउँदै आइरहेको छ । मम, चाउमिन, हिमालयन थुक्पा, गोर्खा सुपलगायत नेपाली परिकारहरूको स्वाद चाख्न बेलायतीदेखि चिनिया, भारतीयसहित अन्य विभिन्न मुलुकका नागरिकको भीड लागेको देखिन्छ । लन्डन टावर ब्रीजसंगैको थेम्स नदी किनारमा खुलेका क्रिसमस बजारमा विश्व प्रसिद्ध स्ट्रिट फुडलगायत अन्य विभिन्न प्रकारका सामग्रीहरू राखिएका छन् ।
यसै गरी क्रिसमसको अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आएको ‘वीन्टर वण्डरल्याण्ड’ यस वर्ष पनि लन्डनको हाइड पार्क कर्नरमा चम्किला र आकर्षक बत्तीले ढकमक्क छ । उक्त विशाल क्रिसमस मेला २१ नोभेम्बर २०२४ देखि सुरु भएर जनवरी १५ तारिख २०२५ सम्म रहनेछ । सन् २००७ बाट सुरु भएको ‘वीन्टर वण्डरल्याण्ड’ बिहान १० देखि राति १० बजेसम्म सञ्चालन हुन्छ । मेलामा चम्किला बत्तीको मनमोहक दृश्यले हजारौँ पर्यटक तान्ने गर्छ । यहाँ हट चकलेट, मोल्ड वाइन, थरीथरीका बियर तथा स्ट्रिट फुडलायत थुप्रै बार, रेस्टुरेन्ट सञ्चालन छन् । सर्कस, आइस सो, लाइभ म्युजिक जस्ता मनोरञ्जनका साधनहरू पनि प्रशस्त मात्रामा राखिएका छन् ।
क्रिसमसको लागि अर्को आकर्षक स्थलको रूपमा क्यू गार्डेन उत्तिकै लोकप्रिय छ । यहाँ मौसम अनुसारका रंगीविरंगी बत्तीहरूले सजिएका वनस्पतिहरूको अवलोकन गर्न पाइन्छ । क्रिसमस मनाउने र नयाँ वर्षलाई स्वागत गर्ने आकर्षक थलोको रूपमा क्यू गार्डेन लोकप्रिय छ । लेक साइड, सुरुङ तथा गार्डेनको सजावट हेर्न हजारौँ मानिस जम्मा हुने गर्दछन् ।
इसाई धर्मावलीहरुको विशेष चाडको रूपमा मनाइंदै आएको क्रिसमस हिजोआज गैर इसाईहरुका लागि पनि उत्तिकै प्रिय बनेको छ । एक आपसमा उपहार साटासाट, खानपिन र आफन्तजनहरूसँग रमाएर पारिवारिक जमघटमा सुख दुःख साटासाट गर्ने तथा पारिवारिक मिलनको रूपमा हेरिने क्रिसमसको विशेष महत्व छ ।
बेलायतमा बसोबास गर्ने नेपालीहरू पनि क्रिसमससँग निकै घुलमिल छन् । यद्यपि, नेपाली समुदायभित्र क्रिसमसको रौनक घट्दै गएको पाइन्छ । कोभिड १९ आउनु अघि नेपाली सङ्घसंस्थाहरूले क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने गरेपनि अहिले पारिवारिक जमघटमा सीमित हुन पुगेको छ ।
पछिल्लो समय बेलायतको अर्थतन्त्रमा सुधार हुन नसक्दा बेलायतीहरूको क्रय शक्तिमा पनि ह्रास आएको तथ्याङ्कले देखाएको छ । भर्खरै मात्र सार्वजनिक तथ्याङ्क अनुसार गत जुलाई देखि सेप्टेम्बरबिचको अवधिमा बेलायतको अर्थतन्त्र वृद्धि दर शून्य छ, महँगी बढेको छ ।
गत सातामात्र प्रकाशित एक तथ्याङ्क अनुसार, बेलायतको मुद्रास्फीति दर लगातार दोस्रो महिना वृद्धि भएर पछिल्लो आठ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । ‘अफिस फर नेश्नल स्टाटिस्टिक्स’ (ओएनएस) का अनुसार गत नोभेम्बरसम्म एक वर्षको अवधिमा मुद्रास्फीति दर २ दशमलव ६ प्रतिशत पुगेको छ । जुन दर गत मार्च महिनापछिकै सबैभन्दा उच्च हो।
अक्टोबरसम्मको वार्षिक अवधिमा यो दर २ दशमलव ३ प्रतिशत थियो । ब्रिटिस रिटेल कन्जोरटियम (बीआरसी) का अनुसार उर्जा बील अत्यधिक बढेका कारण ग्राहकले सपिङमा खर्च गर्न इच्छा देखाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश लिग फुटबल : काठमाडौँको विजय सुरुवात
-
सरकारको काममा सुधार गर्न आवश्यक छ, सहकारी ठगीमा पक्षपातपूर्ण व्यवहार भयो भन्नु गलत : एमाले
-
एमालेले खोस्यो भीम रावलको संगठित सदस्यता
-
एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी
-
एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार
-
एमालेले तोक्यो केन्द्रीय कमिटी बैठकको मिति