लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
विराटनगर । मोरङ धनपालथान-३ स्थित उमागौरी कृषि सहकारी ठगी प्रकरणमा फरार सूचीमा रहेकी संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला घरमै रहेको प्रतिक्रिया आएको छ ।
लेखा समिति सभापति पोखरेलले मंगलबार दिएको एउटा अन्तर्वार्तामा आफ्नी श्रीमती घरमै रहेको बताएका छन् । तपाईंको श्रीमती अहिले कहाँ हुनुहुन्छ भन्ने प्रश्नमा पोखरेलले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘तपाईंको श्रीमती चाहिँ कहाँ हुनुहुन्छ ? जवाफमा पत्रकारले मेरो श्रीमती घरमै हुनुहुन्छ भनेपछि पोखरेलले पनि मेरो पनि त्यही हो, कहाँ जानू जङ्गलमा जाने कुरा भएन, भनेका छन् । र, अब सोझै अदालतमा उपस्थित हुने पनि उनले बताएका छन् ।
सहकारी ठगी मुद्दामा फरार रहेकी श्रीमती अञ्जला कोइरालाको विदा थप गरिदिन पोखरेलले विद्यालयमा फोन गरेको समेत कुरा बाहिर आएको छ । तर, सोमबार बसेको लेखा समितिको बैठकमा सदस्य एवं सांसदहरुल् जवाफ माग्दा पोखरेलले बचाउ गरेका थिए भने, श्रीमती कहाँ छिन् भन्ने बारे कुनै कुरा खोलेका थिएनन् । मंगलबार नै पनि पोखरेलले आफ्नी श्रीमती कहाँ छिन् भन्नेबारे थाहा नभएको जवाफ दिँदै आएका थिए ।
सहकारी ठगीको विषयमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएपछि फरार रहेकी सहकारीकी पूर्वसञ्चालक कोइराला कार्यरत विराटनगरको महेन्द्र रात्री माविमा प्रतिनिधिसभाको लेखा समितिका सभापति रहेका श्रीमान पोखरेलले फोन गरेर विदा थप गरिदिन आग्रह गरेकामा मंगलबार नै सार्वजनिक भएको थियो ।
मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम ठगी गरेको विषयमा जिल्ला सरकारी वकिलको कार्यालयले मंसिर २७ गते मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि शिक्षिका कोइराला फरार छन् । मुद्दा दर्ताको भोलिपल्ट २८ गते विद्यालयमा हाजिर भएकी उनी त्यसपछि ५ दिनको विदा लेखेर बेखबर भएकी थिइन् ।
सहकारी ठगीमा श्रीमतिविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लेखा समितिको आइतबार बसेको बैठकमा सांसदहरुले सभापति पोखरेलको राजिनामा मागेका थिए । माओवादीका सांसदले राजीनामा माग गर्दा एमालेका सांसद योगेश भट्टराईले पनि त्यसबारे पोखरेलले जवाफ दिनुपर्ने र श्रीमति अदालतमा हाजिर हुनुपर्ने बताएका थिए ।
श्रीमती कोइरालाले लिएको ५ दिनको विदा गत शुक्रबार सकिएको छ । थप विदाको पत्र पोखरेलले नै डिजिटल माध्याम मार्फत सोमबार पठाएको महेन्द्र रात्री माविका प्रधानाध्यापक झंकप्रसाद पराजुलीले बताए ।
पराजुलीका अनुसार पोख्रेलले पठाएको पत्रमा अनिश्चितकालको लागि बिरामी विदन माग गरिएको छ । उमागौरी सहकारीको २२ करोडभन्दा बढि रकम अनियमितता भएको भन्दै मोरङ जिल्ला अदालतमा कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजालसले फरार रहेकाहरु विरुद्ध ३५ दिने अदालती पूर्जी जारी गरिसकेको छ । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो ।
सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३०० रुपैयाँ शेयर रकम र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको उल्लेख छ ।
जसमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ उठेको र बाँकी १६ करोड १६ लाख ५७हजार ८३२ उठ्न बाँकी देखिएको उल्लेख छ । धनपालथान गाउँपालिका-३ मा रहेको उमागौरी सहकारी प्रकरणमा सभापति पोखरेलपत्नी अञ्जलासहितका फरार २५ जनाविरुद्ध पुस ३ गते मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेका छन् : सभामुख घिमिरे
-
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
-
दुग्ध बिक्रीबाट मासिक रु ९० हजार बचत
-
परिवारमा बढ्दो दूरी : कसरी समाधान गर्ने ?
-
बहुगुणी बाँस : अमेरिका–युरोपसम्म पुग्छन् फर्निचर
-
उत्तर कोरियाको सेनाले युद्धमा उल्लेख्य प्रभाव पारेको छैन : युक्रेन