बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता

मङ्गलबार, ०९ पुस २०८१, २२ : ०३
मङ्गलबार, ०९ पुस २०८१

नेपालका शोभा गौचन र क्षितिज खनालको जोडीले नेपाल अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जको अन्तिम आठमा स्थान बनाएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलवार भएको मिक्स डबल्समा शोभा र क्षितिजको जोडीले जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेका हुन् । यो जोडीले अन्तिम १६ को खेलमा श्रीलंकाका थुलित पल्लियागुरु र पान्चाली अधिकारीको जोडीलाई २–१ को सेटमा हराए । शोभा र क्षितिजको जोडीले १८–२१, २४–२२ र २४–२२ को कठिन जित निकाले । सोमबारदेखि सुरु च्यालेन्जमा यो नै नेपाली खेलाडीले पाएको दोस्रो जित हो । पहिलो दिन क्षितिजले नै पुरुष एकलको क्वालिफिकेसनमा एक जित निकालेका थिए । 

दोस्रो दिन समाप्त हुँदा यी दुई बाहेक कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् । शोभा र क्षितिजको मिक्समा जितसँगै जारी च्यालेन्जमा नेपालले पहिलो पदक पक्का गरेको छ । अब यी दुईको जोडीले क्वार्टरफाइनलमा नेपालकै प्रिन्स दाहाल र रशिला महर्जनको जोडीसँग खेल्नेछ । यससँगै नेपालको कम्तीमा कांस्य पदक पक्का भएको हो । ओलम्पियनसमेत रहेका प्रिन्स र रशिला महर्जनको जोडीले यसअघि बाई पाएका हुन् । थाइल्यान्डका खेलाडीले यस विधामा नाम फिर्ता लिएपछि प्रिन्स र रशिलाको जोडीले अन्तिम आठको यात्रा तय गरे । 

मंगलबार नेपालका खेलाडीले कुल १० खेलमा चुनौती प्रस्तुत गरेका थिए । एकबाहेक सबैको चुनौती पहिलो खेलमा नै समाप्त भयो । यसअघि महिला र पुरुष सिंगल्समा भने नेपालको चुनौती सोमबार नै सकिएको थियो । नेपाल ब्याडमिन्टन संघको आयोजनामा घरेलु कोर्टमा मंगलबार भएको डबल्सका खेलमा पनि नेपाली खेलाडीको प्रदर्शन सुखद रहेन । मिक्स डबल्समै देव राना र शेष्ना सिर्पालीको जोडी पहिलो खेलमा नै पराजित भए । यी जोडी अन्तिम १६ मा थाइल्यान्डका नोन्ताकोर्न थोङ अन र कोडचापोर्न चाईछानाको जोडीसँग २१–९, २१–१४ पराजित भएका हुन् । 

यसै विधाको अन्तिम १६ मा नेपालका भोजबहादुर गुरुङ र अन्जना राईको जोडी अमेरिकाका प्याट्रिक ची र नाताली चीको जोडीसँग २१–११, २१–८, अमन महर्जन र निता लम्सालको जोडी भारतका मोहित जगलान र लक्षिता जगलानको जोडीसँग २१–१०, २१–१२ तथा सुनिल जोशी र एलिना सुनारको जोडी थाइल्यान्डका अपिचासित तिराविवत र पान्नवी पोलियामको जोडीसँग २१–८, २१–६ ले पराजित भए । पुरुष डबल्समा प्रिन्स र श्रीलंकन दुमिन्दु अवेविक्रमेको जोडीको यात्रा पनि पहिलो खेलमा नै सीमित भयो । यी दुई अन्ति १६ मा भारतीय खेलाडी चायानित जोशी र मायान्क रानासँग २–१ को जोडीसँग पराजित भएका हुन् । प्रिन्स र दुमिन्दुको जोडी भारतीय प्रतिद्वन्द्वीसँग पहिलो सेटमा २१–१७ ले पराजित भए ।

तर, दोस्रो सेट २३–२१ ले आफ्नो पक्षमा पार्दै पुनरागमनको संकेत गरे । तर, तेस्रो सेटमा २१–१५ को हारसँगै प्रिन्सको यात्रा समाप्त भयो । पुरुष डबल्सका अन्य खेलमा क्षितिज खनाल र देवराज रानाको जोडी भारतका आर्य थाकोर र ध्रुव थाकोरको जोडीसँग २१–७, २१–१०, भोजबहादुर गुरुङ र प्रफूल महर्जनको जोडी भारतकै विप्लभ र विराज कुभालेको जोडीसँग २१–१३, २१–१६ तथा सुनिल जोशी र अमन महर्जनको जोडी थाइल्यान्डका नारुत सेङ्खाम र अपिचासित तिराविवतसँग २१–८ र २१–१० ले पराजित भए । महिला डबल्समा पनि नेपालका रशिला महर्जन र अमिता गिरीको जोडी पहिलो खेलमा नै पराजित भए । 

यी जोडी श्रीलंकाका हसिनी अम्बालनगोदागे र हसरा विजयरत्नेको जोडीसँग २१–११, २१–१७ तथा शोभा गौचन र शेष्ना सिर्पालीको जोडी श्रीलंकाकै जनानुवानी अमान्दा र निलासी वालासुरियाको जोडीसँग २१–१८, २१–१४ को सेटमा पराजित भए । नेपाल ब्याडमिन्टन संघको आयोजनामा दोस्रोपल्ट नेपालमा भएको अन्तर्राष्ट्रिय च्यालेन्ज ब्याडमिन्टनमा घरेलु टोलीबाट ९ पुरुष र सात महिला खेलाडीले कुल पाँच विधामा चुनौती प्रस्तुत गर्दैछन् । नेपालसहित भारत, अमेरिका, थाइल्यान्ड, सिंगापुर, श्रीलंका, बंगलादेश, भियतनाम, क्यानडा, मलेसिया, इन्डोनेसिया, ईरान, ईटाली, संयुक्त अरब इमिरेट्स (युएई), जाम्बिया, युगान्डा, इङ्ल्यान्ड, न्युजिल्यान्ड, म्यानमार, अस्ट्रेलिया, युक्रेन र जापानका कुल एक सय ७४ खेलाडीले यस च्यालेन्जमा प्रतिस्पर्धा गरिरहेका छन् । 

च्यालेन्जमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा भैरहेको छ । कुल १५ हजार अमेरिकी डलरको पुरस्कार राशि रहेको च्यालेन्जका विजेता, उपविजेता, सेमिफाइनलिस्ट र क्वार्टरफाइनलिस्टले क्रमशः १२ सय डलर, ७२० डलर, ६ सय डलर र ४८० डलर प्राप्त पाउनेछन् । च्यालेन्जलगत्तै आगामी पुष १२ देखि १४ गतेसम्म नेपाल जुनियर अन्तर्राष्ट्रिय सिरिज २०२४ आयोजना हुँदै छ । जुनियरमा पनि आयोजक नेपालसहित भारत, न्युजिल्यान्ड, मलेसिया, थाइल्यान्ड, ईरान र युएईका कुल एक सय सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसमा नेपालबाट जुनियरमा ८ पुरुष र ८ महिला खेलाडीको प्रतिष्पर्धा हुँदै छ । सिरिजमा पुरुष÷महिला एकल तथा युगल र मिक्स युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप