बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपालाई ‘ट्र्याक’मा फर्काउने दायित्व अर्यालमा, निर्धारित मितिमा होला महाधिवेशन ?

मङ्गलबार, ०९ पुस २०८१, १७ : ००
मङ्गलबार, ०९ पुस २०८१

काठमाडौँ । भद्रगोल बन्दै गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठनलाई पुनर्जीवन दिने जिम्मा उपाध्यक्ष डोल प्रसाद (डीपी) अर्यालले पाएका छन् ।

कास्की जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा मुद्दा दर्ता भएसँगै पार्टीको कमाण्डबारे अन्योल सिर्जना भएका बेला अर्यालले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो । यो जिम्मेवारीपछि अर्यालमाथि रास्वपालाई पुनः ‘ट्र्याक’मा फर्काउनुपर्ने दायित्व थपिएको नेता कार्यकर्ताहरूको भनाइ छ ।

स्थापनाको अढाई वर्ष पुग्न नपाउँदै रास्वपाभित्र अनेक उत्तरचढाव आइलागेका छन् । जबकि पार्टी स्थापनाको आधा वर्ष नपुग्दै रास्वपा प्रतिनिधि सभाको चौथो दल बनेर प्रभाव र रवाफ देखाउन सफल भएको थियो । तर, त्यसपछि सतहमा देखिएका घटनाक्रमले पार्टीको प्रभाव र दबदबामा निरन्तर कमी आउन थालेको छ ।

सोही कमीलाई हटाउँदै रास्वपाको ‘रफ्तार’लाई पुनः गति दिनुपर्ने भूमिकामा अर्याल आइपुगेका हुन् । ‘अप्रिय घटनाहरूले पार्टी संगठनमा सुस्तता आएको थियो नै,’ रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले भने, ‘निश्चय नै पार्टी विधि–विधानमा चलेर परिपक्व बन्नुपर्छ । कार्यवाहकको व्यवस्था विधानले पार्टीलाई विधानसम्मत अघि बढाउनकै लागि गरेको हो ।’

सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा पुगे । अहिले अदालतमा उनीविरुद्ध मुद्दा अभियोजन प्रक्रिया चलिरहेको छ ।

गत कात्तिक यता लामिछानेले हिरासतबाटै पार्टी चलाएका थिए । पार्टीको राष्ट्रिय भेलाको केही समय पश्चात् अर्थात् गत कात्तिक २ मा रवि प्रहरी हिरासतमा पुगेपछि कार्यवाहक सभापतिबारे बहस सुरु भएको थियो । सभापति रविले हिरासतबाटै पार्टी चलाउँदा मङ्सिरमा भएको स्थानीय तह उपनिर्वाचन लगायतको एजेन्डा छायामा परेको थियो । यस्तै, पार्टीले सञ्चालन गर्ने भनेका विभिन्न अभियान घोषणामै सीमित रहन पुगेका थिए ।

‘पार्टी सञ्चालनका लागि आवश्यक छलफल बैठक प्रक्रियाबाट हुन्छ । अहिले पनि केन्द्रीय समिति, सचिवालय सदस्य तथा अन्य समितिका सदस्य साथीहरूसँग छलफल गर्ने, आधिकारिक एजेन्डा ल्याउने तथा भएका प्रश्न, जिज्ञासा तथा सुझावहरूलाई लिँदै अघि बढ्ने थप बाटो खुलेको हो,’ श्रेष्ठले भने ।

असोज १ र २ गते सम्पन्न सो पार्टीको राष्ट्रिय भेलाले महाधिवेशन वैशाखमा गर्ने निर्णय गरिसकेको छ । त्यसअघि ६ हजार ७४३ वडादेखि ७५३ स्थानीय तह, ७७ जिल्ला र सात प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । यसका लागि धेरैजसो ठाउँमा पार्टीको संगठन पुग्न सकेको छैन ।

राष्ट्रिय भेलाले पास गरेको विधान अनुसार पार्टी संरचना चल्न नसकेको पार्टीका नेता–कार्यकर्ता बताउँछन् । जिल्ला भेला गरेर पार्टीको संरचना पुनर्गठन नगरेसम्म अधिवेशन गर्न सम्भव छैन । तल्ला संरचनामा पनि अवस्था उस्तै छ ।

‘राष्ट्रिय भेला पश्चात् पार्टी अर्थात् संस्थाले गर्नुपर्ने धेरै जिम्मेवारी छन् । कार्यवाहक सभापति बनेपछि त्यसका लागि बाधा अड्चन नपर्ने भयो,’ श्रेष्ठले भने ।

पार्टीका कार्यवाहक सभापति अर्याल भने कार्यवाहक सभापति पाउनु कुनै नयाँ र गर्व गर्नुपर्ने विषय नभएको बताउँछन् । मंगलबार रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यसलाई नियमित कामको संज्ञा दिए ।

‘कार्यवाहक सभापति हुनेबित्तिकै आकाशको तारा टिप्ने हैन, यो नियमित र भइरहेको कार्यक्रममा पदीय जिम्मेवारी बाँडफाँट भएको हो,’ उनले भने, ‘चलिरहेको र नियमित भइरहेको कार्यक्रमलाई अझै व्यवस्थित बनाएर लैजानलाई जिम्मेवारी तोकिएकोमात्र हो । यो एउटा प्रक्रिया हो, ठुलो कुरा होइन ।’

महाधिवेशनका विषयमा अहिले बहस गर्ने बेला भइनसकेको अर्यालको भनाइ छ । ‘राष्ट्रिय भेलाबाट महाधिवेशनको मिति घोषणा गरेका छौँ । त्यसबाट दायाँबायाँ हुने छैनौँ,’ अर्यालले भने ।

रास्वपाले पार्टी गठनका बेला निराशाको राजनीतिमा आशा जगाउने दाबी गर्दै आएको थियो । वैकल्पिक शक्तिका रूपमा आफूलाई उभ्याउने रास्वपाका नेताहरूको भनाइ प्रमाणित नहुँदै पार्टीले एकपछि अर्को समस्यामा झेल्नु परेको छ । यस्तो समस्या अरू कसैले नभई सभापति लामिछानेकै कारण पार्टीले भोगिरहेको छ ।

सुशासन, नागरिकमैत्री सेवा, भ्रष्टाचार अन्त्य लगायतका महत्त्वपूर्ण र आकर्षक एजेण्डालाई समातेर उभिएको रास्वपालाई पुनः सोही लयमा फर्काउनु पर्ने चुनौती अब अर्यालमाथि आइलागेको पार्टीका एक नेता बताउँछन् । अर्थात् ‘रविको कारण बनेको र उनैका कारण बिग्रिएको रास्वपालाई राजनीतिक दल बनाउने चुनौती अर्यालमा गएको ती नेताको तर्क छ ।

कार्यवाहक सभापति अर्याल पनि संगठनलाई थप बलियो बनाएर लानुपर्ने चुनौती रहेको स्वीकार गर्छन् । ‘अन्योल केही छैन । हिजोभन्दा आज, आजभन्दा भोलि संगठनलाई थप बलियो बनाएर लैजाने जिम्मेवारी थपिएको हो । त्यो जिम्मेवारी निर्वाह गरेर अघि बढ्छु,’ उनले भने ।

स्थापनादेखि जसको ‘फेस भ्यालु’मा पार्टी उभियो, उसैमाथि ‘चार्ज’ लागेपछि रास्वपा ‘रानो हराएको माहुरी’ जस्तै बन्ने खतरा बढेको छ । कार्यकर्ताहरू चरम अन्योल र निराशामा छन् । शुभेच्छुकहरूमा पनि आक्रोश र असन्तुष्टि बढ्दो छ । परिणामस्वरुप संगठन विस्तार गर्ने र सबै संरचनामा आफूलाई उपस्थित गराउन पार्टीले सकेकै छैन । पार्टीको ध्यान राजनीतिक दल बन्नभन्दा पनि सभापतिको रक्षाकवच बन्नेमात्र सीमित भएको राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।

‘पार्टी सभापतिज्यू हिरासतमा हुँदा पनि हाम्रो कार्यक्रम निरन्तर चलिरहेको छ । हप्तादिन मात्र स्थगन भएको हो । यो निरन्तर हाम्रो तालिका अनुसार अघि बढ्छ,’ अर्यालले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप