शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

निजामती कर्मचारीका जिउँदा सहिद : यातायात सिन्डिकेट तोड्न खोज्दा गोली खाए

शुक्रबार, ११ जेठ २०७५, १० : २७
शुक्रबार, ११ जेठ २०७५

दिउँसो १ः१५ बजे भेटघाट गर्ने योजना तय भयो ।

काठमाडौंको नयाँबानेश्वरमा रहेको संघीय संसद् भवन पश्चिम गेटअघि भेट्ने सल्लाह थियो । तपाईंले यातायात सिन्डिकेटसम्बन्धमा राम्रो काम गर्नुभएको रहेछ, ‘पब्लिक’ ले थाहा पाउनुपर्छ भन्दै पत्रकारले अन्तर्वार्ताका लागि टेलिफोनबाटै भेट्ने अनुरोध गरेपछि उनले नाइँ भन्न सकेनन् । पत्रकारले त्यसो भनेपछि उनलाई आफूले राम्रै काम गरेको रहेछु भन्ने लाग्यो । 

पूर्वनिर्धारित समयअनुसार उनीहरूको भेट भयो । यो संवत् २०६१ जेठ २८ गते बिहीबारको कुरा हो । भेटघाटपछि चिया–कफी खाने प्रस्ताव गरे । उनले नयाँबानेश्वर चोकतिर औल्याउँदै चिया–कफी खाऊँ भने । पत्रकारले ‘अलि माथि’ जाने प्रस्ताव राखे । अलि माथि भनेको रत्नराज्य स्कुल छेउछाउ भनेर पत्रकारले संकेत गरे । सहमति जुट्यो । उनीहरू हिँड्दै त्यता लागे । 

पत्रकारले बाटोभरि उनको कामको प्रशंसा र यातायात व्यवसायीलाई गर्नसम्म गाली गरे । उनले यातायात व्यवसायीलाई एकोहोरो गाली नगर्न सुझाए । उनले आफ्नो पनि गल्ती हुन सक्लान् भनेर अरूसँग बुझ्न लगाए । 

कुराकानी गर्दै ह्वाइट हाउस स्कुल पुगे । नयाँबानेश्वबाट रत्नराज्य स्कुल पुग्नअघि ह्वाइट हाउस स्कुल आउँछ । ह्वाइट हाउस पार गरेपछि पूर्व–पश्चिम जाने बाटो छुट्टिन्छ भने सिधै गए रत्नराज्य स्कुल पुगिन्छ । पूर्व–पश्चिम छुट्टिने बाटो पुगेपछि पत्रकारले पूर्व मोडिन संकेत गरे । 

पूर्व मोडिने बाटोमै उनी ढले । ढले पनि अर्धहोशमा थिए । रगतको खोलो बगेको देख्दा उनी डराए । पछाडिबाट गोली हानिएपछि उनी ढलेका थिए । गोली मेरुदण्डमा लागेको थियो । पत्रकारले भुलाउँदै गर्दा उनलाई अर्कोले पछाडिबाट गोली हानेको प्रस्टै बुझिन्थ्यो । 

काठमाडौंको नयाँबानेश्वरमा दिनदहाडै गोली लागेपछि हल्लाखल्ला मच्चियो । कुनै भूमिगत समूहले कसैलाई प्रहार गरेको गोली आफूलाई लागेको होला भन्ने उनले सोच्नु अस्वाभाविक थिएन । गोली लाग्नसाथ उनलाई कान्तिपुर नर्सिङ होम पुर्याइयो । प्राथमिक उपचारपछि टिचिङ अस्पताल लगियो । त्यहाँ एकरात राखियो । भोलिपल्ट वीर अस्पताल पुर्याइयो । डा. उपेन्द्र देवकोटा, गोपालमणि शर्मा, पवन सुल्तनिया र प्रकाश विष्टले उनलाई बचाए । 

वीरको आईसीयूमा १९ दिन राखेर उपचार गरियो । गोली लागेपछि ढल्दा चिउँडोको दायाँपट्टिको हाड भाँच्चिएकाले स्टील राखियो । १९ दिनपछि क्याबिन सारियो । अढाई महिना अस्पतालमै उपचार गराए । डेढ वर्षसम्म दैनिक फिजियोथेरापी गराए । त्यसपछि याङ्कलेटको सहारामा हिँड्न सक्ने भए । घरमा रहँदा याङ्कलेट प्रयोग गर्न पर्दैन । घरबाहिर निस्कँदा याङ्कलेट प्रयोग गर्नैपर्छ । 

दायाँ गोडाको घुँडादेखि कुर्कुच्चासम्म ५० प्रतिशत ‘सेन्स’ रहे पनि पाइताला १०० प्रतिशत ‘सेन्सलेस’ छ । कमटबाहेकका शौचालय बस्न गाह्रो हुन्छ । कार्यालयका सबै शौचालय कमटवाला छैनन् । कार्यालयमा रहँदा सचिवहरूले प्रयोग गर्ने शौचालय पुग्नुपर्छ । 

‘फुट ड्रप्स’ भएकाले पाइतालाले काम गर्दैन । गोडा केही छोटो छ । हिजोआज पनि पाइताला दुख्छ । असाध्यै दुखेपछि ‘पेनकिलर’ खानैपर्छ । ०६१ मा गोली लागेपछि अहिलेसम्म एक बोराभन्दा बढी पेनकिलर खाइसकेको उनको भनाइ छ । सहन गाह्रो भएपछि निम्स खाइदिन्छन् । कहिलेकाहीं चार÷पाँच दिनमा एकपटक त कहिलेकाहीं दैनिक एकपटक ‘पेनकिलर’ को सहारा लिनुपर्ने बाध्यता छ । 

अहिलेसम्म दायाँ गोडाको दुईपटक प्लास्टिक सर्जरी गराइसकेका छन् । त्यतिबेला वीर अस्पतालमा २ लाख २९ हजार रुपैयाँ खर्चेर उपचार गराएका थिए । उपचार खर्च सरकारले बेहारिदियो । तर, डेढ वर्षसम्म दैनिक पाँच हजार रुपैयाँका दरले आफैंले खर्चेर फिजियोथेरापी गराए । उपचार गराए पनि पहिलेकै जस्तो सामान्य जीवनमा फर्कन सकेनन् । 

निजामती कर्मचारीका जिउँदा सहिद भनेर चिनिने जीवनराज सेढाईंको कथा–व्यथा सुन्दा जोकोहीको आँखा रसाउँछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उपसचिव सेढाईं त्यतिबेला यातायात व्यवस्था कार्यालय पोखरामा कार्यरत थिए । ‘पोखरामा कसैले नयाँ ट्रक हाल्न खोजे यातायात व्यवसायीले बन्देज लगाउँथे । उनीहरूले चाहे जोकोहीले नयाँ गाडी हाल्न पाउँथे,’ उनले अतीत सम्झे, ‘यातायात व्यवसायीको सिफारिसविना नयाँ ट्रक हाल्न पाइँदैनथ्यो । जति नै थोत्रो ट्रक भए पनि गुडाइरहन्थे । लाग्नेभन्दा बढी ढुवानीभाडा लिन्थे ।’ 

यातायातमा रहेको सिन्डिकेट अन्त्य गर्न लागिपरे । नेपालमा भर्खर–भर्खर माइक्रो गुड्न थालेका थिए । पोखरा पर्यटकीयस्थल भएकाले माइक्रोबस हाल्दा राम्रै हुन्छ भन्ने निष्कर्षमा पुगे । त्यतिबेलाका सुविधायुक्त मकालु, अग्नि, हिमाल, पानस यात्रुवहाक बस काठमाडौं–पोखरा, पोखरा–काठमाडौं गुडाउने पहल थाले । यातायात व्यवसायीले उनको कामको विरोध गर्दै महिना दिनसम्म मकालु, अग्नि, हिमाल, पानस गुड्न दिएनन् । तैपनि मकालु, अग्नि, हिमाल, पानस पोखरा–काडमाडौं र काठमाडौं–पोखरा गुड्न थाल्यो । पोखरामा माइक्रोबस हालियो । नयाँ ट्रक र ट्याक्सी थपिए । 

यातायात व्यवसायीसँग लामो छलफलपछि त्यस्तो निर्णय गरिएको थियो । तैपनि यातायात व्यवसायीलाई सह्य भएन । महिना दिन पोखरामा आन्दोलन भयो । कास्कीका तात्कालिक प्रमुख जिल्ला अधिकारीले इन्सपेक्टरको कमान्डमा सुरक्षा दिने भने पनि उनले आवश्यक ठानेनन् । ‘यसबीचमा मलाई थुप्रै आश्वासन दिइयो,’ उनले सुनाए, ‘कतिपयले पोखराको सराङकोट त कसैले काठमाडौंको महाराजगन्जमा घर–घडेरीको व्यवस्था मिलाइदिन्छौं भने । अस्वीकार गरें । पोखरामा असम्भव भएकाले काठमाडौंमा हत्याप्रयास गरिएयो ।’

पोखरामा १४ महिना काम गरेका उनी कार्यालयीय कामविशेषले काठमाडौं रहेको यातायात व्यवसायी चाल पाए । ०४७ पुसमा खरिदारबाट जागिर थालेका उनी आफ्नो हत्याप्रयासमा संलग्नको खोजीकार्यका लागि दुई/तीनपटक हनुमानढोकासम्म पुगे । अनुसन्धान अघि बढाइयो । तर, अहिलेसम्म अभियुक्त फेला परेनन् । ‘जसले घटना घटायो भनेर शंका गरेको थिएँ, उसले सबैभन्दा पहिले खेद व्यक्त गर्दै तात्कालिक माओवादीले आक्रमण गर्यो भनेर विज्ञप्ति निकाल्यो,’ उनले थपे, ‘जीवन सेढाईंले गरेको कामप्रति हाम्रो पूर्ण समर्थन छ । त्यस घटनामा हाम्रो संलग्नता छैन । घटना अन्यत्र मोड्न माओवादीलाई आरोप लगाइएको हो भन्दै माओवादीले विज्ञप्ति जारी गर्यो ।’ 

राजीव गान्धीलगायत संसारका ठुल्ठूला नेताका हत्यारा पत्ता लागेको छैन भने जीवनराज सेढाईंजस्ता सामान्य नागरिकको हत्याप्रयासमा संलग्न पत्ता लाग्न नसक्नुलाई सामान्य ठानेको उनको ठम्याइ छ । 

त्यतिबेलाका यातायात व्यवसायीले मन्त्री, सचिवमात्रै होइन, क्याबिनेट परिवर्तन गर्ने हैसियत राख्थे । हाम्रो पक्षमा काम नगर्दा जीवन सेढाईंलाई गोली प्रहार गर्यौं, उसको हालत देख्नुभएकै छ, त्यस्तै होला नि भनेर यातायात व्यवसायीले यातायात व्यवस्था विभागमा कार्यरतलाई तर्साइरहन्थे । 

त्यसताका उनी एक्लैले यातायात सिन्डिकेट खारेज गर्न कास्कीको पोखरामा थालेको प्रयास चुनौतीपूर्ण थियो । चुनौती ठानिएको यातायात सिन्डिकेट खारेज भएको धेरै भएको छैन । सरकारले सिन्डिकेट खारेज गरेपछि जीवनराज सेढाईंले आफूले भोग्दै आएका सारा पीडा बिर्सेका छन् । उनलाई निजामती कर्मचारीका जिउँदा सहिद, नाफाको जिन्दगी बाँचिरहेका मानिस जे–जे भने पनि हुन्छ । ०५३ मा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत भएका उनी उपसचिवको भूमिकामा छन् । ०७४ मा उत्कृष्ट काम गरेको भन्दै सरकारले उनलाई एक लाख रुपैयाँसहित निजामती सेवा पुरस्कार दिने घोषणा गरिसकेको छ ।

त्यतिबेला श्रम विभाग र यातायात व्यवस्था विभाग श्रम तथा यातायात मन्त्रालयअन्तर्गत थियो । उनी श्रम विभागको कामविशेषले पोखराबाट काठमाडौं आएका थिए । श्रम विभाग नयाँबानेश्वरको रत्नराज्य स्कुलनजिक थियो । त्यही समय म नाम सरोज डंगोल हुँ । राजधानीमा काम गर्छु । पत्रिकाको कार्यालय जोरपाटीमा छ । घर नेपालगन्ज हो । भोलिको राजधानीमा तपाईंको अन्तर्वार्ता प्रकाशित गर्नुपर्छ भन्दै पत्रकारले उनलाई भेट्न अनुरोध गरेका थिए । कार्यालयीय कामले विभाग जाँदाजाँदै भेटौं न त भन्ठानेर पत्रकारसँग भेट्दा उनलाई गोली प्रहार गरिएको थियो । 

अस्पतालमा उपचार गराइरहँदासमेत उनले आफूलाई कसले गोली प्रहार गर्यो होला भनेर कसैमाथि पाप चिताएनन् । यातायात सिन्डिकेटविरुद्ध थालेको कामले तपाईंलाई गोली प्रहार गरिएको थियो भनेर साथीहरूले जानकारी गराएपछि उनी झस्किए । त्यसपछि गुह्य कुरा थाहा भयो । 
]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप