प्रहरीका दुईजना एआईजीको अवकाश पर्खिंदै डीआईजीको बढुवामा अलमल

काठमाडौँ । मंसिर १७ मा ध्रुवराज राउतसहित ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भए । उक्त बढुवाअघि गृह मन्त्रालयले अरू ३ जना डीआईजीको दरबन्दी थपेर ११ जनालाई डीआईजीमा बढुवा गर्न खोजेको थियो ।
तर, अर्थ मन्त्रालयले नयाँ दरबन्दी थप्ने प्रस्ताव ‘अस्वीकार’ गरेपछि ८ जना मात्र डीआईजीमा बढुवा भएका हुन् ।
उसो त दरबन्दी रिक्त गराउन बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा समेत गरिएको थियो ।
८ डीआईजीको दरबन्दी मात्र रिक्त हुँदा शक्तिकेन्द्र निकट रहेकाहरू बढुवामा छुट्ने भएपछि दरबन्दी थप्न खोजिएको थियो । स्रोतका अनुसार मेरिट सूचीमा पछाडि रहेका ३ जनालाई गृहमन्त्री रमेश लेखकले दरबन्दी थपेर बढुवा गर्न चाहन्थे । एसएसपीहरू राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य र गोविन्द थपलिया मंसिर पहिलो सातामा बढुवा गर्न खोजिएको थियो । भट्ट गृहमन्त्रीका नातेदार हुन् । दिनेश आचार्य प्रहरी महानिरीक्षक वसन्त कुँवर निकट मानिन्छन् । उनीहरू २०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका थिए ।
तर, आईजीपी वसन्त कुँवरसँगै प्रहरीमा प्रवेश गरेका भोला बहादुर रावल, ध्रुवराज राउत र गणेश चन्दलाई छुटाउँदा विवाद हुने भएपछि त्यसबेला गृहको नेतृत्व जुनियरलाई बढुवा गर्नबाट हच्किएको बताइन्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिले पनि डीआईजीको ३ वटा दरबन्दी रिक्त छ । अहिले पनि गृह मन्त्रालयका उच्च अधिकारीहरू बढुवामा अलमल गर्दै दुईजना एआईजीको अवकाश पर्खिरहेका छन् । अतिरिक्त महानिरीक्षकद्वय किरण बज्राचार्य र भरत बहादुर बोहरा एक सातामा अवकाशमा जाँदै छन् ।
बोहरा पुस १४ र बज्राचार्य पुस १६ मा अवकाशमा जान लागेका हुन् । उनीहरूको अवकाशपछि बढुवा प्रक्रिया अघि बढाइने गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए । ती अधिकृतले भने, ‘अब दुई जना एआईजीको अवकाश भएपछि माथिबाट नै बढुवा प्रक्रिया सुरु गर्ने तयारी छ ।’
पुस १६ भन्दा पछि दुई जना डीआईजीहरु एआईजीमा बढुवा हुन्छन् । गृहका ती अधिकारीले भने, ‘एआईजी बढुवापछि मात्र डीआईजीको बढुवा प्रक्रिया थालिन्छ ।’
डीआईजीहरु जनक भट्टराई, कुवेर कडायत, रवीन्द्र केसी, लालमणि आचार्य, चन्द्रकुवेर खापुङ र कृष्णहरि शर्मा मध्येबाट दुई जना एआईजी हुन्छन् । पछिल्लो केही महिनायता प्रहरीको बढुवामा एआईजीलाई मात्रै केन्द्रमा राखिएको भनेर तल्लो तहका अधिकृतहरू असन्तुष्ट बनेका छन् ।
दुई एआईजीको बढुवापछि प्रहरीमा ५ जना डीआईजीको दरबन्दी रिक्त हुन्छ । त्यसपछि मात्रै ५ जनाको बढुवा निकाल्नेगरी मन्त्रालय र प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।
डीआईजी हुने प्रतिस्पर्धामा ओम राना, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य र अरुण पौडेल छन् । उनीहरू मेरिट सूचीअनुसार बढुवाको बलियो दाबेदार भएका हुन् ।
प्रहरी वरिष्ठ उपरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया २०५४ चैत १८ मा प्रहरीमा प्रवेश गरेका हुन् । ओम राना २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरेर प्रहरीमा आएका हुन् ।
उनीहरूसँगै सेवा प्रवेश गरेका दान बहादुर कार्की, डा. मनोज केसी र राज अधिकारी डीआईजीमा बढुवा भैसकेका छन् । कार्कीसहितका ३ जना २०८१ जेठ १३ मा डीआईजीमा बढुवा भएका थिए ।
रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुँदा बढुवा सूचीमा माथिल्लो नम्बरमा भएका भन्दा करिब ३ वर्ष पछि सेवा प्रवेश गरेकालाई बढुवा गरेर ‘फौजी मनोबल कमजोर बनाएको’ उच्च प्रहरी अधिकृहरु बताउँछन् ।
राष्ट्रिय अनुसन्धान विभागबाट सेवा प्रवेश गरेका माधव प्रसाद श्रेष्ठ पनि बढुवा हुने प्रतिस्पर्धामा छन् । श्रेष्ठ २०५३ पुस ५ मा अनुसन्धान विभागमा प्रवेश गरेर पछि प्रहरीमा आएका हुन् ।
डीआईजीको बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष हुन्छन् । सदस्यमा आईजीपी र प्रहरी प्रधान कार्यालय स्थित मानव श्रोत विभागका एआईजी सदस्य सचिव रहने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा