बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय
ब्लग

जब ‘स्क्यामर’ले नै खातामा धमाधम पैसा पठाए....

मङ्गलबार, ०९ पुस २०८१, १६ : ००
मङ्गलबार, ०९ पुस २०८१

 काठमाडौँ । केही दिनअघि ह्वाट्सएपमा एउटा म्यासेज आयो, ‘हाई, आई एम कम्मिला, आवर कम्पनी इज हायरिङ फर पार्ट टाइम जब । यू क्यान गेट डेली फिफ्टीसिक्स हन्ड्रेड टू ट्वान्टी थाउजेन्ड पर डे, डू यु वान्ट टु जोइन अस ?’

सामाजिक सञ्जालको च्याटबक्समा आएका यस्ता म्यासेज मेरा लागि नौलो होइन । यस्ता म्यासेज आउने मलाईमात्रै होइन । यदि स्मार्टफोन चलाउने जोकोहीलाई सोध्ने हो भने पनि यस्तो म्यासेज आएको छैन भन्ने मान्छे विरलै भेटिएला । मेरै अनुभवमा पनि दर्जनौँ पटक यस्ता सन्देश पाइसकेँ हुँला ।

तर, जुनसुकै माध्यमबाट आउने यस्ता म्यासेजलाई म प्रायः ‘इग्नोर’ गर्दिनँ । यसका कारण दुई वटा छन् । पहिलो, कसरी ‘स्क्यामार’हरूले ठग्दा रहेछन् भनेर जान्ने उत्सुकता । अनि, दोस्रो, अङ्ग्रेजीमा अनौपचारिक कुराकानी गर्ने अभ्यास ।

सानैदेखि नेपाली माध्यममा पढ्दै आएकाले अङ्ग्रेजीमा त्यति राम्रो कमाण्ड छैन । अझै अनौपचारिक कुराकानीमा त पटक्कै छैन । नेपालमा बसेर नेपालीसँगै सङ्गत गर्दा अङ्ग्रेजी बोल्ने कुरा एकदमै गाह्रो हुने रहेछ । कलेज र युनिभर्सिटीमा पनि अङ्ग्रेजीमा सुन्ने, नेपालीमा बोल्नेमात्रै चलन छ । परीक्षामा लेख्दा जुनसुकै माध्यममा लेख्न पाइन्छ । तर, प्रश्नको उत्तरमा लेखिने अङ्ग्रेजी दैनिक व्यवहारको भन्दा धेरै फरक हुँदो रहेछ ।

पछिल्लो समय अङ्ग्रेजी लेखन र वाचनमा सुधार हुनुमा यस्तै म्यासेजसँग गरिएका ‘डिल’हरूले पनि योगदान गरेको छ कि जस्तो लाग्छ । कहिलेकाहीँ त भ्वाइस कलको सामना गर्नुपर्‍यो, गरियो । त्यतिबेला एउटा कुराचाहिँ थाहा भयो– बिग्रिन्छ कि भन्ने डर नभएपछि केही बिग्रिँदो रहेनछ ।

करिब एक दशक अगाडि नै फेसबुकमा एक पटक एउटी महिलाको म्यासेज आयो । उनले त्यतिबेला आफू अमेरिकी सेनामा इराकका लागि कार्यरत रहेको, त्यहाँ कमाएको पैसा नेपालमा १५ देखि २० मिलियन अमेरिकी डलर लगानी गर्न चाहेको बताएकी थिइन् । तर, यसबारे केही थाहा नभएकाले नेपालमा लगानी गर्न सहजीकरण गर्न उनले भनेकी थिइन् । त्यसो गरिदिए ३० प्रतिशत सेयर निःशुल्क दिने प्रलोभन उनले देखाइन् ।

मलाई त्यतिबेला पनि यी ठग हुन् भन्ने लागेको थियो । करिब एक महिनापछि ती महिला आफैँ सम्पर्कविहीन भइन् । तर, लगानी गर्छु भनेर कसरी ठग्छन् होला भन्ने कौतुहलता लागेको थियो, अहिले पनि त्यो अझै बाँकी छ ।

केही समय अघिमात्रै ह्वाट्सएपमा एउटा अर्को म्यासेज आएको थियो । गुगलको माध्यमबाट नेपालीमा अनुवाद गरेर पठाएको उक्त म्यासेज पठाउने व्यक्तिले आफू बैंकको म्यानेजर भएको बताए । मेरै थर भएको कुनै व्यक्ति वर्षौंअघि दुर्घटनामा मृत्यु भएको, उनको ५० करोड रुपैयाँ (हिसाब गर्दा) जतिको बीमा रहेको तर क्लेम गर्न कोही पनि नआएको उनले बताएका थिए ।

आफू बैंकको सम्बन्धित विभागको म्यानेजर भएकाले आफूलाई मात्रै त्यो कुरा थाहा भएको भन्दै ती व्यक्तिले मलाई यो पैसा क्लेम गर्न सहयोग गरे आधा–आधा बाँडेर लिने प्रलोभन देखाएका थिए । यसमा पनि मैले लामो समय कुरा गरेँ । तर, त्यतिबेलासम्म पनि पैसा मागिएन । त्यस्तोमा पैसा निकाल्न सुरुमा अग्रिम कर बुझाउनुपर्ने भन्दै पैसा पठाउन मलाई भनिन्छ कि भन्ने लागेको थियो ।

भारतबाट केबीसी (कौन बनेगा करोडपति) मा चिट्ठा परेको भन्ने म्यासेज त कति आए कति । भारतीयहरू त ह्वाट्सएपमा सिधै फोन गर्न पनि पछि पर्दैनथे । त्यसमा त झन् पैसा माग्ने बाटो सिधै थियो, कसरी ठगिने सम्भावना छ भन्ने थाहा हुँदा पनि रेस्पोन्स गर्नचाहिँ छाडिएन । एउटा अङ्ग्रेजी गीतको बोल छ, ‘ह्वाट डजनट किल्स यू मेक्स यू स्ट्रङ्गर ।’ नमर्ने तर बलियो बन्ने उद्देश्य नै थिए, यी फगत म्यासेजउपर गरिएका डिलहरू ।

तर, कहिलेकाहीँ लाग्छ, यी सबै म्यासेज सही भएको भए म अहिले के गरिरहेको हुन्थेँ होला ? अनि फेरि लाग्छ, यी गलत नै भइरहुन् । आकाङ्क्षाको पहाड अनन्त अग्लो छ, जुन कहिल्यै सकिँदैन । त्यसैले आकाङ्क्षाभन्दा ‘सीमान्त खुसी’मा रमाउने बानी बसालेको छु । जीवनको सञ्चित खुसी यही बाटोबाट बढी प्राप्त हुन्छ भन्ने विश्वास लाग्छ ।

***

अब सुरुकै प्रसङ्गमा जाउँ । कम्मिलाले गरेको ‘पार्ट टाइम जबको अफर’लाई पनि अस्वीकार गर्ने भन्ने कुरा थिएन । मैले तयार छु भनेपछि उनले ‘टर्म्स एण्ड कन्डिसन’बारे जानकारी दिइन् । सुरुमा ‘दुई वटा टाक्स’ दिने, त्यो सकेपछि ६०० रुपैयाँ तत्कालै पठाइदिने । त्यसपछि प्रत्येक टाक्सबापत २०० रुपैयाँ दिने भनिन् । यो शर्तमा मञ्जुर भए ‘ओके’ लेख्न उनले मलाई भनिन् । मैले पनि ‘ओके’ लेखिदिएँ तर रातको ८ः२९ भएको रहेछ । ड्युटी टाइम समय सकिएको भन्दै भोलि प्रक्रिया अगाडि बढाउने रिप्लाई आयो । अचम्म, स्क्यामरको पनि ड्युटी टाइम हुने रहेछ, बिहान ९ः२० देखि बेलुकी ८ः२० बजेसम्म ।

WhatsApp Image 2024-12-24 at 12.11.57_091e6004

भोलिपल्ट दक्षिण अफ्रिकाबाट अर्को म्यासेज आयो, ‘हाइ, आइ एम कम्मिला, डू यु स्टिल रिमेम्बर मि ? आई लस्ट माई अकाउन्ट एण्ड नाउ यू विल कन्टिन्यू योर वर्क विथ दिस अकाउन्ट ।’

मैले ‘ओके’ लेखेपछि मलाई टाक्स दिइन् । मैले गर्नुपर्ने थियो नेपालकै कुनै दुई वटा युट्युब च्यानल सस्क्राइब । त्यति गरेरै ६०० आउँछ भने कसले पो गर्दैन र ? मैले पनि गरेँ । लगत्तै मेरो ६०० रुपैयाँ जम्मा भएको भन्दै पैसा जम्मा गर्न मेरो क्युआर कोड पठाउन भनिन् ।

बैंकको विवरण र क्युआर कोड मागेपछि एकपटक सतर्क त भइयो । तर, त्यतिबेला एउटा ‘लजिक’ले काम गर्‍यो । क्युआर कोड सेयर गर्दैमा खाता ब्लक हुने भए स्क्यामरले मसँग किन क्युआर कोड माग्छ ? पसलका भित्ता भित्तामा टाँसेर राख्ने क्युआर कोडबाटै रकम तान्छ नि ! त्यही लजिकका आधारमा मैले क्युआर कोड पठाइदिएँ । नभन्दै एउटा वाणिज्य बैंकको ‘थर्ड पार्टी’ च्यानलबाट मेरो इसेवा खातामा ६०० रुपैयाँ जम्मा भयो ।

संसारमा अनौठो जागिर पाइँदो रहेछ, जहाँ जागिरमा प्रवेश गरेबापत नै पैसा आउने ! तर, यसका लागि स्क्यामरको संसारमा पुग्नुपर्ने रहेछ । मलाई पैसा आउला भन्ने त लागेकै थिएन, तर जब मेरो खातामा रकम जम्मा भयो, मैले आफूलाई स्क्यामरहरूको घेरामा रहेको महसुस गरेँ ।

मैले चार वटा वाणिज्य बैंकको खाता खोलेको छु, तर दुई वटामात्रै चलाउँछु । जागिर फेरिँदा ‘पेरोल’का लागि नयाँ खाता खोल्नुपर्ने भएको तर जागिर छाडेपछि खाता बन्द गर्न जाँगर नचल्ने भएकाले एकपछि अर्को खाता थपिँदै गएको छ । राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने अहिले पाँच करोडभन्दा धेरै खाता पुगिसकेको छ । पेरोलका लागि कम्पनी र कर्मचारीको खाता एउटै हुन नपर्ने व्यवस्था भए यो संख्या घट्थ्यो होला । 

स्क्यामरले मेरो खातामा पैसा पठाएपछि मैले मेरो बैंक खाता असुरक्षित हुने हो कि भन्ने ठानेँ । त्यतिबेला मेरो पहिलेको लजिकले खासै काम गरेन । एकाउन्ट नै असुरक्षित हुने हो कि भन्ने ठानेर त्यो मोबाइलबाट एप्लिकेसन नै बन्द गरिदिएँ । त्यतिले मात्रै चित्त बुझेन । आफूसँग भएका पैसाजति परिवारकै अरु सदस्यको नाममा पठाइदिएँ । अब ढुक्क थियो, भर्चुअल स्क्यामरले लैजानसक्ने भर्चुअल सम्पत्ति थियो, जुन अब मसँग ‘शून्य’ थियो । संसारमा शून्यताभन्दा ठुलो शान्ति केही रहेनछ !

पैसा जम्मा भएसँगै म त्यो समूहमा प्रवेश गरिसकेको जानकारी आयो । ती महिलाले मेरो वर्किङ कोड दिइन्, त्यसको नम्बर थियो ‘केके–१२१९—०९’ । सायद डिसेम्बर १९ को दिन जोडिएको नवौँ व्यक्ति थिएँ म । उक्त कोड दिएपछि ती महिलाले टेलिग्राममा ‘भजनी’ भन्ने अर्की महिलासँग कुरा गर्न भनिन् । ती महिला नेपालको रिसेप्सनिस्ट भएको र भन्दै उनले पैसा दिने काम गर्ने जानकारीसमेत ‘कम्मिला’ले दिइन् ।

अब स्क्यामरसँग मेरो ‘भलाकुसारी’को दुनियाँ अमेरिकाबाट रसियातिर लागेको थियो । ‘ह्वाट्सएप’ अमेरिकी कम्पनी मेटाले सञ्चालन गरेको थियो, त्यसैले यसलाई बढी सुरक्षित ठानिन्थ्यो । रसियन नागरिकले सुरु गरेको ‘टेलिग्राम’ त्यति सुरक्षित मानिँदैन । तर, ठुला फाइलसमेत पठाउन मिल्ने भएकाले असुरक्षित भनिए पनि उपयोगी थियो । टेलिग्रामको अर्को फाइदा के छ भने यसबाट पठाएका डकुमेन्ट डिभाइस परिवर्तन भएर हराउँदैन । ह्वाट्सएप, भाइबरका म्यासेज हराउँछन् ।

स्क्यामरको ‘हरियो’घाँस पछि मेरो उत्सुकता झनै बढ्यो । लाग्यो, स्क्यामरले पैसा खोस्दामात्रै रहेनछन्, पैसाको भरपर्दो लोभ पनि देखाउँदा रहेछन् । तर, गुम्नसक्ने केही नभएपछि डर नहुने रहेछ । संसारका सबै डर केही पाउने र केही गुमाउनेमा निर्भर हुन्छ । जहाँ गुमाउने कुरा नै केही हुँदैन, त्यहाँ डर हुँदैन । त्यसैले सडकका आम मानिसले शासनसत्तामा बसेकाको आलोचना गर्न सक्छ, पोर्टफोलियो बनाएकाहरू बोल्न पनि डराउँछन् । किनकि उनीहरूलाई धर्ती झर्न मन लाग्दैन ।

मैले टेलिग्राममा भजनीको ह्यान्डेल सर्च गरेँ तर भेटिँन । ह्वासएपमा रहेकी ‘कम्मिला’लाई नभेटिएको जानकारी गराएँ । त्यसको केही समयमै भजनी आफैँ मेरो सम्पर्कमा आइन् । मेरो कामबारे बताइन् र मलाई काम दिने ग्रुपमा मलाई जोडिन् ।

अब मेरो काम युबट्युब च्यानलको सब्सक्राइब गर्नु थियो । सब्सक्राइभ गरेको स्क्रिनसट भजनीलाई पठाएपछि मेरो एकुमुलेटेड स्यालरीमा २०० रुपैयाँ थपिएको जानकारी आउँथ्यो । प्रत्येक २०/२० मिनेटमा नयाँ टास्क आउने र त्यही २० मिनेटभित्र पूरा गरिसक्नुपर्ने हुन्थ्यो । स्यालरी १६०० रुपैयाँ पुगेपछि ती महिलाले क्युआर माग्थिन्, पठाएको ५/१० मिनेटमै खातामा पैसा जम्मा हुन्थ्यो । मेरो अकाउन्टमा दुई पटकसम्म १६/१६ सय रुपैयाँ जम्मा भयो । त्यतिबेला स्क्यामरले ममाथि ३८०० रुपैयाँ लगानी गरिसकेका थिए ।

दोस्रोपटक पैसा आएपछि म बिजिनेस टास्कको लागि योग्य भएछु । दिनमा २८ वटा टाक्समध्ये चार वटा ‘बिजिनेस डाटा टाक्स’ हुन्थ्यो । यस अन्तर्गत मर्चेन्टको खातामा पैसा पठाउनुपर्ने थियो । २ हजारबाट माथि जति पनि पैसा पठाउन सकिन्थ्यो । त्यसको ५–१० मिनेटभित्रमा ३० प्रतिशत बोनससहित फिर्ता हुने जानकारी गराइएको थियो । मलाई जोडिएको टाक्स ग्रुपमा एकैपटक ५० हजारसम्म पठाउँछु भन्नेहरू समेत थिए । मैले भने पैसा पठाउनेतिर ध्यान दिएकै थिइनँ ।

तेस्रो किस्ताको १२०० रुपैयाँ जम्मा भएपछि अचानक म्यासेज आयो, ‘तपाईंले पटक पटक ‘बिजनेस डाटा टाक्स’ स्किप गर्नुभयो । तपाईंले काम राम्रोसँग नगर्नुभएकाले अबप्रति टाक्स २० रुपैयाँमात्रै पाइनेछ । ‘बिजनेस टाक्स’ पूरा गर्नुभयो भने तपाईंले ३० प्रतिशत बोनसमात्रै पाउनुहुन्न, आम्दानी प्रतिटाक्स २०० रुपैयाँ स्थिर आम्दानीको ग्यारेन्टी समेत हुनेछ ।’

मैले सोधेँ– मैले पैसा कहाँ पठाउने ?

रिप्लाई आयो, ‘तपाईं यसको लागि रेडी हुनुहुन्छ भने म मर्चेन्टको खाता पठाउँछु ।’

मैले ‘हुन्छ’ भनेँ ।

मलाई लाग्यो, ३८०० रुपैयाँ त मेरो खातामा आइसकेकै छ, २००० रुपैयाँ पठाएपछि फिर्ता आएन नै भने पनि मैले केही गुमाउने होइन । कम्तीमा ठगी हुँदोरहेछ भन्ने त थाहा हुन्छ भन्ने लाग्यो । तर, फेरि कतै बैंक एकाउन्ट नै ह्याक गरिदिने त होइन भन्ने शंका पनि लाग्यो । क्युआर कोड स्क्यान गरेकै आधारमा एकाउन्ट नै ह्याक गर्न सक्छ भन्ने विश्वास पनि गरिनँ । प्रत्येक पटक किनमेलमा जाँदा हामीले क्युआर स्क्यान गरिरहेकै हुन्छौँ ।  

तैपनि आशङ्का कायमै थियो । त्यसैले, महिनौँदेखि नचलाएको खाताको मोबाइल बैंकिङलाई चालु गराएर दिइएको खातामा पैसा पठाउन प्रयास गरेँ तर, पैसा गएन । बैंकको सिस्टमले कुनै खातालाई यति धेरै सुरक्षित बनाएको हुँदो रहेछ कि, शंकास्पद खाता स्वतः पहिचान गरेर पैसा नै नजाने व्यवस्था गरिएको हुँदो रहेछ । पटकपटक सुन्दै आएको बैंकिङ सिस्टमको सुरक्षामा पहिलोपटक मलाई विश्वास भयो ।

त्यसपछि मेरो टाक्सको मूल्य २०० बाट २० रुपैयाँमा झारियो । खातामा १२०० रुपैयाँ जम्मा भइसकेको मलाई त्यो १६०० बनाएर निकाल्ने सोच आयो । २० रुपैयाँ नै भए पनि सब्स्क्राइब गर्दै जाने र १६०० रुपैयाँ फिर्ता लिएपछि छोड्ने सोच बनाएँ । यसै अनुसार १० वटा टाक्स सकेर मैले ‘एकुमुलेटेड स्यालरी’मा २०० रुपैयाँ थप गरेँ । योबिचमा ती रिसेप्सनिष्टले मलाई बिजनेस डाटा टाक्स पूरा गर्न पटकपटक दबाब दिएकी थिइन् । मैले पैसा ‘पठाउन खोजेको तर नगएको’ बहाना बनाउँदै गएँ । योबिचमा उनले मलाई तीन वटा बैंकको तीन जना व्यक्तिको खाता नम्बर पठाइन् । ती सबैमा पैसा पठाउने प्रयास गरेँ, तर गएन । तर, एकुमुलेटेड स्यालरी १४०० पुगेपछि तिनले मलाई आफ्नो ग्रुपबाट ‘हटाइन्’ । सायद यतिबेलासम्म त्यो समूहले मेरो उद्देश्य थाहा पाइसकेको थियो ।

मैले मलाई ग्रुपबाट किन हटाइयो भनेर सोधेँ । रिप्लाई आयो, ‘डियर, द सिस्टम ह्याज डिटेक्टेड द्याट यु ह्याव स्किप्टेड द मर्चेन्ट डाटा सर्भिस मेनी टाइम्स । यु निड टू कम्प्लिट योर डाटा सर्भिस बिफोर यो क्यान रिटर्न टु आवर सब्स्क्रिप्सन टीम टू कन्टिन्यु योर सब्सिक्रिप्सन वर्क ।’ अर्थात्, मैले पैसा नपठाएसम्म अब म कामबाट वञ्चित भएको थिएँ ।

मैले म तिमीहरूको कामबाट अलग भएँ भने मेरो सञ्चित पैसा (एकुमुलेटेड स्यालरी) के हुन्छ भनेर सोधेँ । ती महिलाले जवाफ दिइन्, ‘डियर, इफ यु एब्स्टेन, यु विल लुज योर जब एण्ड योर मनि ।’ यसको अर्थ मैले जागिर र पैसा दुवै गुमाएको थिएँ ।  

स्क्यामरसँगको यो भलाकुसारीले मलाई अहिलेसम्म केही नोक्सान त गरेको छैन । बरु मेरो खातामा पैसा नै आएको छ । ठगीको एउटा नयाँ बाटो थाहा पाएर पनि त्यसको गहिराइसम्म पुगेर थाहा पाउन सकिएन । यतिसम्म चाहिँ थाहा भयो, मैले जुन कुरालाई स्किप गरेको थिएँ, स्क्यामरको ठगीको एउटा बाटो थियो, एकाउन्ट ह्याक गरेर पैसा तान्ने गिरोह त्यो होइन रहेछ कि भन्ने लाग्यो ।

नत्र एउटा सब्स्क्राइब गरेर २०० रुपैयाँ होइन २० रुपैयाँ पनि कमाउन सकिँदैन । तर, अचम्म त लाग्यो, स्क्यामरले सब्स्क्राइब गर्न दिएको युबट्युब च्यानल चर्चित मिडिया हाउसदेखि कुनै वाणिज्य बैंकसम्मको थियो । यसभित्रको ‘इकोनोमिक्स’ के रहेछ भन्ने उत्सुकता अहिले पनि खट्किरहेकै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप