पूर्वराष्ट्रपति भण्डारी र पूर्वउपराष्ट्रपति पुन फेरि किन आउने राजनीतिमा ?
एक होइन, लगातार दुई कार्यकाल राष्ट्रपति भइसकेकी विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन फेरि राजनीतिमा सक्रिय हुन थालेको चर्चासँगै प्रश्न उठेको छ— राष्ट्र प्रमुख र उपराष्ट्र प्रमुखसम्म भइसकेका व्यक्ति पुनः राजनीतिमा किन र केका लागि आउने ?
२०७९ फागुन २९ गते शीतल निवास छाडेर बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएकी विद्याले एमालेभित्र ‘ओलीइतर पक्ष’को नेतृत्व गर्न थालेको बताइन्छ । राष्ट्रपतिको कार्यकाल पूरा भएपछि विद्या पहिलोपटक एमालेनिकट अखिल नेपाल महिला संघद्वारा २०८१ जेठ १६ मा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि भएकी थिइन् । असार ३ गते मदन भण्डारी फाउन्डेसनको स्थलगत अवलोकन गरेर उनले राजनीतिक सक्रियताको छनक दिएकी थिइन् ।
उता विद्या भण्डारी राजनीतिमा सक्रिय हुने चर्चाबिच माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टी उपाध्यक्ष मनोनयन गर्ने प्रक्रिया थालिसकेको छ । माओवादी पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष बनाउने निर्णय गरिसकेको छ । पदाधिकारी बैठकले विधान संशोधन गर्न वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा महासचिव देवप्रसाद गुरुङ तथा उपमहासचिवहरू वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेको कार्यदल बनाइसकेको छ । केन्द्रिय समिति बैठकमा संशोधित विधान पारित गर्ने र पुनलाई उपाध्यक्षमा मनोनीत गर्ने तयारी भइरहेको छ ।
पूर्वउपराष्ट्रपतिलाई पार्टी राजनीतिमा सक्रिय गराएर माओवादी केन्द्रले एमालेभित्र विद्याको राजनीतिक सक्रियतालाई पनि उक्साइरहेको बुझ्न सकिन्छ । विद्यालाई एमाले नेतृत्वमा स्थापित गराएर राजनीतिक लाभ लिने ताकमा प्रचण्ड देखिन्छन् ।
- दाहालका दाउ
पूर्वउपराष्ट्रपतिलाई पार्टी राजनीतिमा सक्रिय गराएर माओवादी केन्द्रले एमालेभित्र विद्याको राजनीतिक सक्रियतालाई पनि उक्साइरहेको बुझ्न सकिन्छ । विद्यालाई एमाले नेतृत्वमा स्थापित गराएर राजनीतिक लाभ लिने ताकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिन्छन् ।
यसमा दाहालका दुईथरी दाउ छन् । पहिलो त नन्दबहादुरलाई उपाध्यक्ष बनाएर उनले आफ्नाविरुद्ध पार्टीभित्र मौलाउँदो जनार्दन शर्मा ‘प्रभाकर’ समूहलाई सन्तुलनमा राख्न चाहन्छन्; नन्दबहादुरलाई उपाध्यक्ष मात्र होइन नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीसँग एकीकरण गरी विप्लवलाई महासचिव नै बनाएर प्रभाकरलाई साइजमा राख्न चाहन्छन् ।
दाहालको अर्को दाउ एमालेसँगै एकीकरण गर्ने हो । दाहालको पहिलेदेखिकै सपना हो, एमालेजस्तो दरिलो संगठनको अध्यक्ष बन्ने । माओवादी र एमालेबिच एकता भएर नेकपा गठन भए पनि एकीकृत पार्टीमा दाहालको दबदबा कायम हुन सकेन । अध्यक्ष ओलीले दाहाललाई नेकपामा आफू समान हैसियत दिएनन्, अर्थात् आफूपछिको वरीयताभन्दा दाहाललाई माथि उठ्न दिएनन् । ओलीको दबदबासामु दाहालको उतिबेला केही जोर चलेन । अदालतले दुवै दललाई पूर्ववत अवस्थामै फर्काएपछि दाहाल पुनः तेस्रो ठुलो दलको अध्यक्षको हैसियतमा संकुचित भए ।
दाहालको भित्री चाहना अझै पनि माओवादी र एमालेलाई मिलाएर आफू त्यसको सर्वेसर्वा बन्ने नै हो । त्यसका लागि ‘ओली फ्याक्टर’ बाधक भएकाले दाहाल ‘ओलीमुक्त एमाले’को अभियानमा रहेको देखिन्छ । गत निर्वाचनमा ओली निकटका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, महेश बस्नेत, प्रदीप ज्ञवाली र गोकुल बाँस्कोटालाई कुनै हालतमा हराउने रणनीति माओवादीले बनाएको थियो, जसमा केही हदसम्म सफल पनि भयो । बाँस्कोटा र पौडेल मात्र निर्वाचनमा विजय भए । अब एमाले पार्टीभित्रकै राजनीतिमा खेलेर ओली पक्षलाई कमजोर बनाउने दाउपेच दाहालको देखिन्छ ।
ओलीले ‘पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउने गरी धेरै नउकास्न’ चेतावनी दिइसकेका छन् । उनले केही महिनाअघि पनि आफ्नो विकल्प खोज्ने काम कसैले नगर्दा हुन्छ भनेका थिए । ‘म झन् झन् तन्नेरी भएको छु, जुँगा पनि कालाकाला पलाउन थालेका छन्’ भनेर उनले आफू नेतृत्व दिन सक्षम रहेको जनाएका थिए ।
यही प्रयोजनका खातिर ओलीको ‘काउन्टर’मा विद्यालाई सक्रिय बनाउन दाहालले पनि भरमग्दुर कोसिस गरिरहेका छन् । एमालेको आगामी महाधिवेशनमा ओलीलाई कमजोर बनाएर विद्यालाई अध्यक्ष निर्वाचित गराउने, विद्या नेतृत्वको एमालेसँग माओवादीको एकीकरण प्रक्रिया थाल्ने, माधव नेपालको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीलाई समेत मिलाएर बलियो नेकपा बनाउने र २०८४ को निर्वाचनमा बहुमत ल्याउनेसम्मको ‘खयाली पुलाव’ दाहालको मनमा पाकिरहेको छैन होला भन्न सकिन्न ।
यता, आफ्नाविरुद्ध विद्यालाई उकास्न पार्टीभित्र र बाहिरबाट समेत चलखेल भइरहेको सुईको पाएपछि २०८१ मंसिर ३० मा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउने गरी धेरै नउकास्न’ चेतावनी दिइसकेका छन् । उनले केही महिनाअघि पनि आफ्नो विकल्प खोज्ने काम कसैले नगर्दा हुन्छ भनेका थिए । ‘म झन् झन् तन्नेरी भएको छु, जुँगा पनि कालाकाला पलाउन थालेका छन्’ भनेर उनले आफू नेतृत्व दिन सक्षम रहेको जनाएका थिए ।
- औचित्यमाथि प्रश्न
दाहाल, ओली या विद्याका आ–आफ्नै दाउ होलान् । लोकतन्त्रवादीका दृष्टिले हेर्दा राष्ट्रको उच्च भूमिकामा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु शोभनीय किमार्थ होइन । देश, जनता र दलका लागि नभई नहुने पात्र भएको भए बेग्लै कुरा, तत्तत् दलमा नेतृत्वको संकट समेत नपरेका बेला विद्या र नन्दबहादुरको राजनीतिक पुनरागमन उदेकलाग्दो मात्र होइन एक हदसम्म अपाच्य गतिविधि हो, बारम्बार पद ओगटिसकेका पात्रहरूको पद मोहको निरन्तरता मात्र हो, लोभको पराकाष्ठा हो ।
छिमेकी मुलुक भारतकै उदाहरण हेरौँ । पूर्वराष्ट्रपतिहरू कोही पनि राजनीतिमा फर्किएका छैनन् । भारतका प्रथम राष्ट्रपति राजेन्द्र प्रसादले पनि दुई कार्यकाल पूरा गरेका थिए । अवकाशपछि उनी पटनाको सदाकत आश्रममा बसेर पुस्तक लेख्न थाले । पूर्वराष्ट्रपति राधाकृष्णनन् कार्यकाल पूरा भएपछि आफ्नै निजी निवासमा पुस्तक लेखन, प्राध्यापन र सेमिनारहरूमा कार्यपत्र प्रस्तुतिमा व्यस्त रहे । यसै गरी पूर्वराष्ट्रपति भीभी गिरीले कार्यकालपछिको जीवन मद्रासस्थित आफ्नै निवासमा निकै शान्त र एकान्तमा बिताए ।
अर्का पूर्वराष्ट्रपति नीलम सञ्जीव रेड्डीले पनि रिटायरपछिको जीवन लेखपढ र निजी फार्महाउसका गतिविधिमा बिताए । उनले राष्ट्रपतिबाट हटेपछि लेखेको पुस्तक ‘विदआउट फियर अर फेभर ः रिमिनिसेन्सेज एन्ड रिफ्लेक्सन्स अफ अ प्रेसिडेन्ट’ चर्चित छ ।
राष्ट्रपतिको कार्यकाल पूरा गरेपछि नै आर वेंकटरमणले ‘माई प्रेसिडेन्सियल इयर्स’ र अन्य दुई चर्चित पुस्तक लेखे । अर्का पूर्वराष्ट्रपति केआर नारायणले आफ्नो पैतृक सम्पत्ति कुनै आश्रमलाई दान दिए भने सामाजिक अभियानहरूमा सक्रिय रहे, तर राजनीतिमा फर्किएनन् । एपीजे अब्दुल कलामले राष्ट्रपतिको कार्यकालपछि बेस्ट सेलर पुस्तक नै लेखे । उनी कलेजहरूमा पढाउन जान्थे । सिलाङस्थित आईआईएममा लेक्चर दिइरहेकै बेला उनी बेहोस भएर ढलेका थिए, अस्पतालमा उनको निधन भयो । प्रणव मुखर्जीले पनि राष्ट्रपतिबाट अवकाश भएपछि पुस्तकहरू लेखे ।
विद्या र नन्दबहादुरले अबको समय पुस्तक लेखन, सामाजिक सक्रियता र अन्य रचनात्मक काममा बिताउन सक्छन् । नेपालकै प्रथम महिला राष्ट्रपति बन्दाको गौरवलाई पुस्तकमा समेटेर भावी पुस्ताका लागि परिवर्तनको गौरव गाथा उनले दर्शाउन सक्छिन् । नन्दबहादुरले पनि सशस्त्र विद्रोहको डेपुटी कमान्डरदेखि उपराष्ट्रपति बन्दासम्मको अनुभवलाई समेटेर सुन्दर पुस्तक तयार गर्न सक्छन्, जसले उनी आबद्ध पार्टीले भन्ने गरेको ‘क्रान्ति गौरव’ अझ उचो बनाओस् ।
विद्या र नन्दबहादुरले रच्नुपर्ने इतिहास रचिसकेका छन् । देशले उनीहरूको सम्यक् भूमिकाबाट जे–जति लाभ लिनुपर्ने हो, लिइसकेको छ । देश र जनताका लागि उनीहरूले सक्ने गरिसके । अब केका लागि उनीहरू राजनीतिमा सक्रिय हुने ? देश, जनता र पार्टीले उनीहरूबाट त्यस्तो चामत्कारिक र अपरिहार्य भूमिका के खोजेको हो र उनीहरू राजनीतिमा आउनैपर्ने ?
नेपाली राजनीतिमा संकट नेतृत्वको होइन, असल नेतृत्वको हो । जनमानसमा हरेक दलका शीर्ष नेताहरूप्रति वितृष्णा छ । देशको चौतर्फी बेथितिबाट निराश जनता नयाँ विकल्प र नयाँ नेतृत्वको खोजी गरिरहेका छन् । पुरानै नेताहरूको विकल्प खोजिरहेको बेला एमाले र माओवादीले देशकै उच्च पदमा पुगिसकेका पात्रलाई राजनीतिमा सक्रिय गराउनुमा कुनै तुक देखिँदैन ।
न त अहिले एमालेलाई विद्याको खाँचो परेको हो, न माओवादीलाई नन्दबहादुरको । राष्ट्रपति र उपराष्ट्रपतिजस्तो उच्च पदमा पुगिसकेकाले अब विद्या र नन्दबहादुरको व्यवस्थापनको समस्या पनि सम्बन्धित दललाई नपर्नुपर्ने हो । योगदानको कदर नभएका, पालो नपाएका, अवसरबाट वञ्चित र पाखा पारिएका सक्षम, इमानदार र लामो समयदेखि ‘पार्टी पार्टी’ भन्दै भिडिरहेका दर्जनौँ व्यक्तिहरू पार्टीमा छन्, जसले मौका पाउनुपर्छ ।
खासमा नेपाली राजनीतिले विद्या र नन्दबहादुरको भूमिका खोजेको होइन, बरु उनीहरूका लागि राजनीति अपरिहार्य भएको हो । राजनीतिको कथाले उनीहरूलाई मागेको होइन, उनीहरूको कथाले राजनीति मागेको स्पष्टै छ । दुई–दुई कार्यकाल राष्ट्रपति भइसकेपछि हालसम्मको प्राप्तिमै सन्तुष्ट भएर राजनीतिबाट टाढै बस्नुपर्नेमा विद्यामा जसरी राजनीतिक सक्रियताको ‘लोभ’ पलाएको छ, त्यसले उनले हालसम्म आर्जन गरेको व्यक्तित्वलाई कालान्तरमा धराशायी बनाउन सक्छ । एमालेकै लागि यो अनिष्टको कारक बन्न सक्छ ।
‘पूर्वराष्ट्रपति’ या ‘पूर्वउपराष्ट्रपति’ सम्बोधन आफैँमा गौरव र गरिमाले ओतप्रोत छ । ‘सम्माननीय’ सम्बोधन पाइसकेका व्यक्तिहरू पुनः राजनीतिक उहापोह र लुछाचुँडीमा सहभागी हुँदा ‘अपमाननीय’ सम्बोधन पनि झेल्नुपर्ने हुन सक्छ । यति मात्र होइन, राष्ट्रपति र उपराष्ट्रपति पदकै गरिमा र उचाइ घटेर अवमूल्यन पनि त हुन सक्छ । आफ्नो मर्यादा, गौरव र गरिमा आफैँले कायम राख्नुपर्छ । राजनीति त यस्तो हिलोको दलदले भूमि हो, जहाँ हेलिएपछि सेतो पोसाकमा पनि कालो छिटा पर्न सक्छ । जोगिने आफैँले हो, दागरहित हुने आफैँ हो ।
नन्दबहादुरलाई उपाध्यक्ष बनाएर प्रचण्डले आफ्नाविरुद्ध पार्टीभित्र मौलाउँदो जनार्दन शर्मा ‘प्रभाकर’ समूहलाई सन्तुलनमा राख्न चाहन्छन्; नन्दबहादुरलाई उपाध्यक्ष मात्र होइन नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टीसँग एकीकरण गरी विप्लवलाई महासचिव नै बनाएर प्रभाकरलाई साइजमा राख्न चाहन्छन् ।
अर्कोतिर विद्या र नन्दबहादुर राष्ट्रपति र उपराष्ट्रपति भइरहँदा एमाले र माओवादीभित्र नयाँ सांगठनिक वरीयताक्रम निर्माण भएको छ । टुटफुट र विलयको प्रक्रियासँगै एमाले र माओवादीभित्र शीर्ष नेतृत्व तहपछिको अर्को नयाँ तह निर्माण भइसकेको छ । यस्तोमा लामो समय सांगठनिक भूमिकामा नरहेका विद्या र नन्दबहादुरलाई हालको वरीयताक्रम भंग गरेर हठात नेतृत्वमा स्थापित गराउँदा त्यसले दुवै पार्टीको सांगठनिक संरचना, गतिशीलता र एकरूपतामा खलल पुर्याउन सक्ने मात्र नभई पार्टीमा नयाँ गुटको जन्म गराउन सक्ने खतरा रहन्छ । पहिलेदेखि नै विभिन्न गुटगत राजनीतिको चपेटामा परेका दलहरूमा नयाँ गुटको जन्म झनै अनिष्टकारी हुन सक्छ ।
यी यावत् कारणले पनि हाललाई विद्या र नन्दबहादुरले सक्रिय राजनीतिको महत्त्वाकांक्षा त्याग्नु श्रेयस्कर छ । त्याग भनेको पाएकाले गर्ने हो । विद्या र नन्दबहादुर राजनीतिमा लागेर पाउनुपर्ने पद, सम्मान, ख्याति, प्रशंसा पाइसकेका छन् । राजनीतिमा लाग्नेले प्राप्त गर्न सक्ने उच्च हदको सफलता र सम्मान पाइसकेपछि अब राजनीतिको झिँगे दाउमा लाग्नु भनेको आफैँले आफ्नो अवमूल्यन गर्नु हो, जुन जनताको दृष्टिमा पनि पाच्य हुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता