‘राज्यको षड्यन्त्रमा मधेस कमजोर भइरहेको छ’
कानुन पृष्ठभूमिका लक्ष्मणलाल कर्ण मधेसका एक अनुभवी नेता मानिन्छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष कर्ण पार्टीको नेतृत्व तहमा नरहे पनि उनको सम्मानजक उपस्थिति देखिन्छ । जसले गजेन्द्रनारायण सिंहसँगै राजनीतिक यात्रा सुरु गरे । मधेसको राजनीतिमा थुप्रै उतारचढाव झेले । उनीसँग आन्दोलनदेखि टुटफुटसम्मका थुप्रै अनुभव छ । प्रस्तुत छ, त्यही अनुभवलाई लिएर रातोपाटीका लागि नेता कर्णसँग गरिएको कुराकानीको सम्पादित अंश :
- तपाईं मधेस राजनीतिको एक अनुभवी नेता हुनुहुन्छ । मधेसकेन्द्रित दल किन टुटफुटको सिकार हुन्छन् ?
मधेसका जनता शोषित छन् । पीडित छन् । नेता पनि त्यस्तै छन् । शोषित, पीडित र कमजोर भएका कारण सानो–सानो लोभ–लालचमा फस्छन् । त्यसको नतिजाको बारेमा ख्याल गरेका हुँदैनन् । मधेसी नेतामा पदलोलुप्ता बढी देखियो भने त्यागको भावना कम । त्यही भएर मधेससँग जे हुनु थिएन त्यही भयो । मधेसको शक्ति टुक्रा–टुक्रा भयो । मधेसलाई यति कमजोर र शक्तिहीन बनायो कि बाटोको फलजस्तै जो पनि एक झट्का हान्ने । यो अवस्थामा पनि मधेसी जनता चाहन्छ कि मधेसी दल एक ठाउँमा रहोस् । एउटा शक्ति बनेर रहोस् । त्यसका लागि उनीहरूले पटक–पटक आह्वान पनि गरेका छन् । एक भएर आउनुस् भन्न थालेका छन् । तर, कहिले बुद्धि फिर्ने हो थाहा छैन ।
- तपाईंले ठूलो राजनीतिक शक्तिका रूपमा उदाएको मधेस यति कमजोर हुन्छ भनी कहिल्यै कल्पना गर्नुभएको थियो ?
–राजनीतिमा कति बेला के हुन्छ ? कसैलाई थाहा हुँदैन । उतारचढाव हुनु स्वाभाविक हो । तर, मधेसको साथ जे भयो या जे भइरहेको छ त्यो मलाई अस्वाभाविक लागिरहेको छ । यसको असर देशमा कहाँ–कहाँ गर्छ ? त्यो मलाई थाहा छैन । मधेस कमजोर गर्नुको पछाडि कुनै ठूलै खेल हुन सक्छ । त्यसको नतिजा पछि मात्र देखिन्छ । जसको संकेत अहिलेदेखि नै देखाइरहेको छ ।
मधेसवादी दलका नेता सानो–सानो प्रलोभनमा परी विभाजनसम्मको हिम्मत गरेका छन् । त्यसमा सत्ताधारीको जोडबल र लगानी देखिन्छ । सत्ताधारी दलले मधेस बलियो होस्, मधेसका दल शक्तिशाली होस् भन्ने कहिल्यै चाहेनन् । विभिन्न प्रकारका लोभ–लालच दिएर एक ठाउँमा रहेका मधेसी दललाई अलग–अलग राख्छन् । लोभ सत्ताको मात्र हुँदैन । नेताहरू जेमा फस्न सक्छ त्यही कुराको अफर गरेका हुन्छन् । सांसद भएका व्यक्तिहरू मन्त्री बन्न पार्टी फोड्छन् । तर, जो सांसद छैन त्यो किन पार्टी फोड्छन् ? उसले पनि केही न केही आश्वासन पाएका हुन्छन् चाहे जोसुकैबाट होस् । मधेसका पार्टी फुटको इतिहास पल्टाएर हेर्नुस् कि हरेक फुटले कसै न कसैलाई फाइदा भएको छ । पार्टी किन फुटेको थियो त्यही स्पष्ट हुन्छ ।
- तपाईंले सबै दोष सत्ताधारी वा शक्तिकेन्द्रको मात्रै देखाउनुभयो । पार्टीलाई नेतृत्व गर्नेको कुनै दोष हुँदैन ?
–दोष त नेतृत्व गर्नेको पनि हुन्छ । त्यसकै फाइदा सत्ताधारी दल वा शक्तिकेन्द्रले उठाएका हुन्छन् । सत्ताधारी दल वा सरकारले चाहेन भने कुनै पनि दल फुट्दैन । पार्टीमा नेतृत्वको अलिकति केही कमजोरी भयो भने त्यहाँ उकुसमुकुस हुन्छ । र, एजेन्टले त्यसैकोे फाइदा उठाएर लोभ–लालच दिएर पार्टी फुटाइदिन्छन् । नेपाल नै एउटा यस्तो देश हो जहाँ अरूको पार्टी फुटाउन सरकारले अध्यादेशबाट कानुन बनाइदिन्छ । निर्वाचन आयोगले एक घण्टामा पार्टी दर्ता गर्दिन्छ । अफिस टाइमबाहेक पनि काम गरेर पार्टी फुटको सबै चाँजोपाँजो मिलाइदिएका हुन्छन् । संसद् सचिवालयमा गएको उजुरीलाई मिनेटमै कार्यान्वयमा ल्याइदिन्छन् । यस्तो नेपालमा मात्र देखिएको छ । पार्टीको नेतृत्वमा बसेकाहरूको कमजोरी छैन भन्दिनँ । तर, त्यो कमजोरी त्यहाँ बसेर वा छलफल गरेर मिलाउन सकिन्छ । त्यो घरको कुरा हो । तर, सरकार नै पार्टी फुटाउन शक्ति लगाइदिन्छन् भने त्यसमा कसैको केही लाग्दैन ।
- के मधेसवादी दलका नेता यति कमजोर छन् जसलाई अलिकति लोभ–लालच दिँदैमा पार्टी नै फुटाउँछन् ?
–कमजोरभन्दा पनि मधेसी नेताहरूमा त्यागको भावना धेरै कम छ । मधेसमा त्यागको राजनीति गर्ने धेरै कम छ । गजेन्द्रबाबु (गजेन्द्रनारायण सिंह)ले राजनीतिमा जे त्याग देखाउनुभएको थियो त्यो अहिलेका कुनै पनि नेतामा देखिँदैन । गजेन्द्रबाबुको पार्टीपछि पनि थुप्रै पार्टी बने । तर, उहाँको पथलाई कसैले स्वीकार गरेनन् । यहाँसम्म कि अहिले त उहाँको कसैले नाम पनि लिन चाहेका छैनन् । मधेसवादी दल गजेन्द्रबाबुको पथमा हिँडेको भए आज यो अवस्थामा मधेस हुने थिएन ।
अर्को कुरा, मधेसवादी दलमा एउटा नराम्रो संस्कारको विकास भइरहेको छ । त्यो हो कसैले कसैलाई नेता स्वीकार नगर्नु । जो कोहीले पनि नेताको नेतृत्व स्वीकार गरेका हुँदैनन् । पार्टीमा आज आएका नेता पनि आफूलाई ठूलै नेता ठान्छन् । अरूलाई मान्दैनन् । जबसम्म पार्टीमा नेतृत्वको विकास, अनुशासन, मर्यादाक्रम, चेन अफ कमान्ड हुँदैन तबसम्म पार्टी बन्दैन । यो प्रवृत्ति पहाडमा छैन । ठूला–ठूला पार्टी होस् या साना, त्यहाँ नेतृत्वको इज्जत हुन्छ । एकार्कालाई सम्मान गरेका हुन्छन् । चेन अफ कमान्डमा पार्टी चलाएका हुन्छन् । तर, मधेसवादी पार्टीमा त्यस्तो देखिँदैन । केही ठासठुस भयो भने पार्टी छाड्ने धम्की दिइहाल्छ । पार्टी फोड्ने धम्की दिइहाल्छ ।
- यो अवस्थाले त मधेस झन् कमजोर हुनेप्रति किन कसैले पनि चिन्ता लिएको देखिँदैन ?
–मधेसी जनताले दल र त्यसका नेतालाई कारबाही गर्नुपर्ने अवस्था आएको छ । मधेसी जनतामा पनि एउटा कमजोरी देखिएको छ कि जो आउँछन् सबैलाई स्वीकार गर्छन् । त्यसकै पछि लाग्छन् । जनताले पनि नेता पहिचान गर्न सकेनन् । जसको पनि पछि लागेका हुन्छन् त्यसले त्यस्ता नेता र राजनीतिक दलको मनोबल बढेको हुन्छ । जो गल्ती गर्छ त्यसलाई जनताले नै सजाय दियो भने दोहोर्याएर गल्ती गर्दैनन् । कोही पार्टी फोडेर गए वा पार्टी छाडेर गए भने जनताले त्यसलाई पनि स्वागत गरेका हुन्छन् । स्पेस दिएका हुन्छन् । त्यसले पनि ती नेताहरूको मनोबल बढेको हुन्छ ।
- तपाईंले मधेसका नेताप्रति जति आरोप लगाउनुभयो त्यो त आफूमा पनि लागू हुन्छ नि होइन ?
–कमजोरी सबैमा हुन्छ । ममा पनि केही कमजोरी होला । तर, त्यो मूल्यांकन जनताले गरेका होलान् । मिडियाकर्मी, नागरिक समाजका अगुवाले गरेका होलान् । म आजसम्म फुटको पक्षमा कहिल्यै गइनँ । हरहमेसा विभाजनको विपक्षमा बोलेँ । विभाजन हुँदा म कहिले पनि मूल पार्टी छाडेर कतै गएको छैन । पार्टीमा कुनै विवाद छ, अन्तरद्वन्द्व छ भने त्यही मिल्नुपर्छ भनी मैले हरहमेसा पहल गर्थें । तर, कुरा सुन्नेवाला कोही हुँदैन ।
गजेन्द्रनारायण सिंह अध्यक्ष हुँदा म उपाध्यक्ष थिएँ । उहाँको निधनपछि पार्टी विभाजन हुँदा म विभाजन भएर गएको पार्टीमा गइनँ । गजेन्द्रनारायणले नेतृत्व गरेको पार्टी जसको अध्यक्ष बद्री मण्डल हुनुभएको थियो । त्यही पार्टीमा बसेँ । बद्री मण्डल पार्टी छाडेर गइसकेपछि म अध्यक्ष भएँ । त्यसपछि फुटेर गएको पार्टीसँग मेरो पहलमा नै एकता भयो । त्यसपछि पनि पटक–पटक विभाजन भयो । म मूल पार्टी छाडेर कही गइनँ । श्यामसुन्दर गुप्ताले एकपटक सत्ता–शक्तिको आडमा पार्टी कब्जा गर्नुभयो । आफ्नो पक्षमा राख्न अपहरणसम्म गर्नुभयो । मैले त्यो बेला बाध्य भएर राजेन्द्र महतोलाई साथ दिएको थिएँ । त्यति बेला सद्भावना पार्टी गठन भएको थियो । त्यही पार्टीमा बसेँ । त्यसपछि एकीकरण भएर राजपा बन्यो ।
राजपाले उपेन्द्र यादवको पार्टीसँग एकीकरण गरेर जसपा बनायो । त्यहाँ कुरा नमिलेपछि हामी जो–जो गएका थियौँ त्यहाँबाट निस्कियौँ । अर्थात् मैले मूल पार्टीलाई कहिल्यै छाडेको थिइनँ । पार्टी विभाजनको जहिल्यै मैले विरोध नै गरेँ । मलाई विभाजन गर्न लोभ नदिएको होइन । पार्टी अध्यक्ष बन्न अफर नआएको होइन । तर, म त्यस्ता लोभमा फसिनँ । मैले आफ्नो त्याग र पहिचान बचाएर राखेको छु । म यसमै खुसी छु ।
- यसले तपाईंलाई घाटा छ कि नाफा ?
–राजनीतिमा नाफा र घाटाको हिसाब हुँदैन । म कहिल्यै जोड–घटाउमा लागिनँ । मैले जहिल्यै मधेसको हितमा कुरा गरँे । मधेसको बारेमा चिन्ता गरेँ । त्यसको मूल्यांकन कहीँ कसैले गर्दै होला । नभए सन्ततिले गर्ला । म हिसाबकिताब गरेको भए आज पनि कुनै पार्टीको अध्यक्ष हुन्थेँ । जोड–घटाउ गरेको भए आज पनि सांसद, मन्त्री हुन्थेँ । वा केही हुन्थेँ । शक्तिकेन्द्र वा सत्ताधारी दलबाट मलाई अफर नआएको होइन । मलाई लोभ–लालच नदिएको होइन । तर, मैले ती सबै कुरालाई अस्वीकार गरेँ । मैले क्षणिक स्वार्थ नहेरी मधेसलाई हेरेँ । नेताहरू क्षणिक स्वार्थमा फसेकै कारण आज मधेसको हालत यो भएको हो । त्यसबाट म धेरै टाढा छु ।
- पार्टी टुटफुटको बेला तपाईं अपहरणमा पनि पर्नुभयो । त्यो कसरी भएको थियो ?
–श्यामसुन्दर गुप्ताले नेपाल सद्भावना पार्टी कब्जा गर्न चाहनुभएको थियो । त्यसमा संख्या पुगिरहेको थिएन । उहाँ त्यति बेला मन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । मलाई उहाँले प्रलोभन दिनुभयो । तर, म ती प्रलोभनमा परिनँ । अरू केही उपाय नलागेपछि उहाँले मलाई र अनिलजीलाई अपहरण गर्नुभयो । अपहरण गरेर बन्द कोठरीमा राख्नुभएको थियो । त्यहाँ हामीसँग कस्तो व्यवहार भएको थियो ? त्यो अहिले भनी साध्य छैन । त्यहाँबाट छुटेपछि प्रहरीमा जाहेरी दिन गएँ । लिन मानिरहेको थिएन । जबर्जस्ती दिएँ । तर, त्यसको कुनै सुनुवाइ भएन । जिल्ला अदालतमा गएँ । त्यहाँ अपहरण भएको छैन भन्यो । हामीले विभिन्न प्रमाण दियौँ । सेना, प्रहरी भएको गाडीमा अपहरण गरिएको छ । उनीहरूलाई बोलाएर सोध्नुस् भनेँ । फलानो ठाउँमा राखिएको थियो । त्यो ठाउँ गएर हेर्नुस् पनि भनेँ । तैपनि अदालत मान्न तयार भइरहेको थिएन ।
एक जना न्यायाधीशले मलाई बोलाएर नै भन्नुभयो, ‘लक्ष्मणजी तपाईं यसको पछि नलाग्नुस् । राज्य नै नचाहन्छ कि यो मुद्दा अगाडि बढोस् । बेकारमा मलाई किन यसमा घसेट्नुहुन्छ । तपाईंले चाहेर मात्र हुँदैन । सरकारले पनि चाहनुपर्यो । त्यो अहिले सम्भव छैन । तपाईं यसको पछि नलाग्नुस् ।’
म त्यसपछि पछाडि हटेको थिएँ । मधेसवादी दल तथा नेतासँग यस्ता घटना भइरहन्छन् । यस्ता–यस्ता कानुनको उल्झन लगाइदिन्छन् कि बाध्य भएर पछाडि हट्नुपरेको हुन्छ । नेपाल सद्भावना पार्टीका नेताले वर्षौंसम्म मुद्दा लड्नुभएको थियो । मधेसका हरेक पार्टीका मुद्दा अदालतसम्म पुगेका छन् । वर्षौंसम्म झुलाइरहेका हुन्छन् । मधेस त्यत्तिकै कमजोर भएको होइन राज्य नै सुनियोजित रूपमा लागेका छन् ।
- तपाईंले सुधारको सम्भावना कति देख्नुभएको छ ?
–सुधारको एउटै सम्भावना छ– सबै मधेसवादी दल एक हुनुपर्छ । एकता नभए पनि मोर्चा वा गठबन्धन बनाउनुपर्छ । एउटै मुद्दा र एउटै एजेन्डामा एकसाथ लड्नुपर्छ । खुद्रा पसल थापेर कसैले केही प्राप्त गर्न सक्दैन । बरु राज्यसत्ताले एकार्कासँग लडाएर त्यसको फाइदा लिन्छ ।
- तपाईं यी नेताहरू एकीकृत हुने सम्भावना कति देख्नुहुन्छ ?
–असम्भव भन्ने हुँदैन । योभन्दा अगाडि एकीकृत भएकै हो । मधेसको सिंगो पार्टी जसपा नेपाल बनेकै थियो । राज्यको सुनियोजित षड्यन्त्रका कारण पुनः टुक्रा–टुुक्रा भयो । प्रयास गर्नुपर्छ सम्भव छ । मानवका लागि असम्भव केही पनि छैन । कमजोर भए भन्ने कुरा सबैले महसुस गर्न थालेका छन् । यसका लागि कही कतैबाट पहल हुनुपर्छ । पहल भयो भने एकीकृत हुने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माछा, मासु र खैनी, मदिरा नचल्ने लिम्बु गाउँ
-
बाढीका कारण बन्द माथिल्लो तामाकोशीबाट फेरि विद्युत् उत्पादन सुरु
-
भूकम्पको १० वर्षपछि हनुमानढोकामा रहेको ‘आगम छेँ’ पुनःनिर्माण हुँदै
-
१२ बजे, १२ समाचार : सहकारी बोर्ड खारेजदेखि प्रहरीमा नातेदारलाई बढुवा गर्न चलखेलसम्म
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता