बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

मधेसी दल टुटफुटको अन्तहीन कथा

मङ्गलबार, ०९ पुस २०८१, ०९ : ५२
मङ्गलबार, ०९ पुस २०८१

नेपाल सद्भावना पार्टीलाई देशको सबैभन्दा पुरानो सार्थक मधेसी दलको मान्यता प्राप्त भयो । हुन त देशमा प्रजातन्त्र आएपछि कुलानन्द झा, रामजनम तिवारी र वेदानन्द झाद्वारा गठित तराई कांग्रेसलाई पहिलो मधेसी दल मानिन्छ । जसले पहिलो आमनिर्वाचन लडेर २ प्रतिशतजति मत ल्याएको थियो । तर, राजा महेन्द्रद्वारा २०१७ साल पुस १ गते संसदीय बहुदलीय लोकतन्त्र समाप्त पारी निर्दलीय पञ्चायती व्यवस्था लादिएपछि कांग्रेस र कम्युनिस्टका कतिपय नेताजस्तै तराई कांग्रेसका अधिकांश नेता पञ्चायतमा लागे । केही सिद्धान्तवादी र संघर्षशील नेता लोकतन्त्रको पक्षमा उभिए । जेल यातना र निर्वासनको पीडा भोग्न तयार भए । 

प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको आन्दोलनको सफलतापश्चात् राजनीतिक दलहरू सक्रिय हुन थाले । यसै क्रममा २०३९ सालमा बसाइसराइसम्बन्धी जनसंख्या प्रतिवेदनविरुद्ध खुलेको नेपाली सद्भावना परिषद्लाई पनि गजेन्द्रनारायण सिंह र रामजनम तिवारीलगायत नेता मिलेर एउटा राजनीतिक पार्टीको आकार दिए ।

नेपाल सद्भावना पार्टीका रूपमा खोलिएको यसले २०४८, २०५१ र २०५६ सालका आमनिर्वाचनमा ३ प्रतिशतभन्दा बढी मत ल्याई राष्ट्रिय राजनीतिक दलको मान्यता प्राप्त गरेको थियो । तर, नेताहरूमा देखिएको सत्ता र पदको लोभ, जातिवाद तथा परिवारवाद अनि निहित स्वार्थपूर्तिको खेलले पार्टीको मर्यादित इतिहासलाई नै धुमिल बनाउने काम गर्‍यो । एउटै पार्टीका नाममा विभिन्न समूह खडा गर्ने, निर्वाचन आयोगसम्म विवाद पुर्‍याउने र सर्वोच्च अदालतको फैसलापश्चात् फेरि नयाँ दल खोल्ने काम हुँदै आएको छ । 

गजेन्द्रनारायण सिंहकै कतिपय यस्ता वफादार सिपाही छन् जो कम पुँजी लगाएर नेपाल सद्भावना पार्टी खरिद गर्ने तथा बढी पैसा दिनेलाई बिक्री गर्दै आएका छन् । एकपटक पुनः नेपाल सद्भावना पार्टी खरिदबिक्रीका लागि बैना रकम दिने काम भइसकेको छ । जनकपुर र वीरगन्जमा यसै महिनाको पहिलो साता सम्पन्न नेपाल सद्भावना पार्टीको महाधिवेशनको विषय निर्वाचन आयोगसमक्ष पुगेको छ ।

नेपाल सद्भावना पार्टीले २०४८ सालमा भएको आमनिर्वाचनमा ४ प्रतिशतजति मतसहित ६ वटा सिट जितेको थियो । पार्टीका संस्थापक र वरिष्ठ नेता रामजनम तिवारीलाई राष्ट्रियसभामा ल्याउने बाचा गजेन्द्रनारायण सिंहले गरेका थिए । उनलाई उम्मेदवार नबनाई चुनाव प्रचारमा खटाइएको थियो । निर्वाचन परिणाम घोषणापछि पार्टीलाई राष्ट्रियसभामा एक सिट प्राप्त भयो । तर, अध्यक्ष सिंहले सो स्थानमा तिवारीलाई नल्याई जातीय सन्तुलन मिलाउने तर्क राख्दै सर्लाही ४ मा पराजित नेता रामेश्वर राय यादवलाई राष्ट्रियसभामा ल्याए । यसबाट व्यथित तिवारीले २०४९–५० सालतिर नेपाल सद्भावना पार्टी (आर) गठन गरे । वरिष्ठ नेताहरू रामचन्द्र मिश्र, श्यामलाल मिश्र र भाग्यनाथ गुप्ताहरूले उनलाई सहयोग गरे ।

२०५१ सालको मध्यावधि चुनावताका नेसपा (आर)को विलय नेपाल सद्भाव पार्टीमा भयो । ‘आफ्नो हातबाट रोपिएको विषवृक्षलाई उखेल्न र काट्न माया लाग्छ तर यो त राजनीतिक पार्टी हो’ भन्दै तिवारी मूल पार्टीमा फर्किए । निर्वाचनमा नेपाल सद्भावना पार्टीको मत प्रतिशत र सिट संख्यामा ह«ास आयो । एमालेले अल्पमतको सरकार बनायो ।

विपक्षी दल संसदीय समितिको नेतृत्व लिन चाहन्थे । कांग्रेस, राप्रपा र सद्भावना अध्यक्ष सिंहबीच यस विषयमा सहमति पनि भएको थियो । एमालेले सार्वजनिक लेखा समिति सभापति कांग्रेसको सट्टा सद्भावनालाई दिने प्रस्ताव गर्‍यो । तर, सिंह विपक्षी मोर्चामा सामेल हुन चाहन्थे । जबकि पार्टीका प्रखर वक्ता र सांसद हृदयेश त्रिपाठी भने संसद्को यो महत्त्वपूर्ण समिति पार्टीको पक्षमा रहोस् भने चाहन्थे । 

त्रिपाठीलाई लेखा समिति सभापति बनाउने विषयमा एमाले मात्रै होइन, राप्रपाभित्र पनि सहमति बन्दै गयो । तब उनी उक्त पदमा निर्वाचित भए । सिंहलाई यो कुरा मन परेको थिएन । तर, पार्टीकै अन्य नेता रामेश्वर राम यादव र राजेन्द्र महतोहरू त्रिपाठीको पक्षमा उभिए । अध्यक्ष सिंहले त्रिपाठीमाथि अनुशासनको कारबाही चलाएपछि पार्टी विभाजनतिर गयो । रामेश्वर राय यादवको नेतृत्वमा २०५३ मा समाजवादी जनता दल बन्यो । हृदयेश त्रिपाठी, राजेन्द्र महतो र सरिता गिरीहरू त्यसमा सहभागी थिए । विवाद बढ्दै जाँदा सांसद अनिश अन्सारी भने कांग्रेसमा प्रवेश गरे । मित्रधर्म निर्वाह गर्दै त्रिपाठीले पनि आफ्नो कोटामा आएको वन तथा भूसंरक्षण मन्त्रालय रामेश्वर राय यादवलाई दिए । २०५४ सालको अन्त्यतिर समाजवादी जनता दलको विलय पनि नेपाल सद्भावना पार्टीमा भयो । 

२०५४ सालको विराटनगर महाधिवेशनमा पार्टीका केही युवा सिंहलाई मानार्थ नेता बनाएर पार्टी नेतृत्वमा आउन चाहन्थे । तर, दिग्गज गजेन्द्रनारायण सिंहतर्फ यो कुरा मन परेको थिएन । अन्ततः उनी नै अध्यक्ष भए । पार्टीका युवा नेता गोविन्द चौधरी, जितेन्द्र सोनल तथा सरिता गिरीहरू बहिष्करणमा पर्न थाले ।

सिंहको २०५८ माघ १० गते निधनपश्चात् पार्टी उपाध्यक्ष बद्रीप्रसाद मण्डल कार्यवाहक अध्यक्ष बने । उनले २०५९ असोज–कात्तिकतिर निर्धारित ६ महिनाभित्र महाधिवेशन नगराईकन थप ६ महिना कार्यकाल बढाउने प्रस्ताव केन्द्रीय समितिमा ल्याए । त्रिपाठीले त्यसमा विरोध जनाए । त्यति बेला मण्डल मन्त्री भएका कारण पार्टीका अन्य कुनै पनि नेताले उनको विरोध गरेनन् । उनले कतिपय नेतालाई मन्त्री बनाइदिने आश्वासन बाँडेका थिए । २०५९ चैततिर मण्डलले राजविराज महाधिवेशनमा आफ्ना एक–एक विरोधीलाई किनारा गरी पार्टीमा वर्चस्व बढाउन थाले । त्यसपछि नेताहरू हृदयेश त्रिपाठी, भरतविमल यादव, राजेन्द्र महतो, सरिता गिरी, अनिश अन्सारीहरूले गजेन्द्रनारायणकी पत्नी आनन्दीदेवी सिंहलाई अध्यक्ष बनाए । 

विधिवत् महाधिवेशनबाट मण्डल र समानान्तरबाट आनन्दीदेवी सिंह अध्यक्ष बनाइए । निर्वाचन आयोग र सर्वोच्च अदालतबाट पनि बद्रीप्रसाद नेतृत्वको कमिटी नै मान्य भएपछि नेसपा (आनन्दीदेवी)को गठन भयो । मण्डल पक्ष तत्कालीन राजा ज्ञानेन्द्र शाहको कदमको पक्षमा उभियो । आनन्दीदेवी लोकतन्त्र बहालीको माग गर्दै सडक आन्दोलनमा आइन् । जनआन्दोलन–२ को सफलतापश्चात् आनन्दीदेवी नेतृत्वको पार्टीमा विवाद बढ्यो । मन्त्री तथा सांसद पद हात पार्न कलह सुरु भयो । 

मण्डलले आफ्नो ठाउँमा लक्ष्मणलाल कर्णलाई अध्यक्ष बनाए । त्रिपाठीले १० महिनापछि पदबाट राजीनामा गरे । राजेन्द्र महतो आनन्दीदेवीबाट सिफारिस गराई मन्त्री बने । उनले २०६४ असारमा लक्ष्मणलाल नेतृत्व पार्टीको सम्पूर्ण जिम्मेवारी स्वीकार गरी एकीकरण गराए । तीन महिनापछि महाधिवेशनमार्फत राजेन्द्र महतो नेसपा (आ)को नेतृत्व लिन चाहन्थे । तर, नेसपा र नेसपा (आ)को एकीकरण हुँदा हृदयेश त्रिपाठी, रामेश्वर राय यादव, भरत विमल यादवलाई कमिटीमा नराखिएका कारण विवाद भयो । महतो नेतृत्वको वीरगन्ज महाधिवेशन निर्वाचन आयोग र अदालतबाट मान्य भएन । उनले सद्भावना पार्टी खोले । त्यहाँ पनि विवाद भयो । संघीय सद्भावना र राष्ट्रिय सद्भावना पार्टीको जन्म भयो । 

नेसपा (आ)मा विवाद हुँदा श्यामसुन्दर गुप्ताले छुट्टै पार्टी खोले । तर, मान्यता सरिता गिरीले पाइन् । उनले २०७१ सालमा संघीय सद्भावनासित एकीकरण गरिन् । तर, त्यो पार्टी पनि २०७४ वैशाखमा राष्ट्रिय जनता पार्टीमा समाहित भयो । धनुषाका रामकुमार महतोले पुनः नेपाल सद्भावना पार्टी खोले । उनले जनकपुरमा पार्टीको अधिवेशन गरेका छन् भने पूर्वमन्त्री रामचन्द्र कुशवाहाले वीरगन्जमा । दुवै पक्षले मान्यताका लागि निर्वाचन आयोगमा निवेदन दिए । 

२०४७ देखि २०६३ सालसम्म गौरवशाली इतिहास बोकेका नेसपा र नेसपा (आ) अचेल सार्वजनिक बाटोको ढुंगा बनेका छन् । जसलाई जो कोहीले पनि लात हानिरहेको अवस्था छ । त्यसो त दल विभाजनको खेल अन्य मधेसवादी दलमा पनि कम छैन । मधेसी जनअधिकार फोरम नेपालले २०६४ सालको भदौतिर तत्कालीन सरकारसित सम्झौता गर्‍यो । त्यसको विरोधमा पार्टी उपाध्यक्षसहित नेता भाग्यनाथ गुप्ता, किशोरकुमार विश्वास र जितेन्द्र सोनलहरू मिलेर मधेसी जनअधिकार फोरम मधेस गठन गरे । यो अस्तित्वमै छ । मधेसी जनअधिकारबाट २०६६ सालतिर विजयकुमार गच्छदारको नेतृत्वमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बन्यो । यस्तै, जयप्रकाश गुप्ता र राजकिशोर यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) अनि शरद्सिंह भण्डारीको नेतृत्वमा राष्ट्रिय मधेस सद्भावना पार्टीको गठन भयो । जयप्रकाश गुप्ता भ्रष्टाचार कसुरमा जेल परेपछि पार्टीको नेतृत्व राजकिशोर यादवले लिए ।

पछि गुप्ताले तराई मधेस राष्ट्रिय अभियान चलाए । अब यो सेलाइसकेको छ । अमर यादवले तराई–मधेस फोरम गठन गरे । यसरी एउटा मधेसी जनअधिकार फोरम नेपालबाट ६ दल बने । अब फोरम नामको कुनै दल नै अस्तित्वमा छैन । उपेन्द्र यादवले पनि पार्टीको नाम र ठेगाना फेर्दै जनता समाजवादी पार्टी नेपालको नेतृत्व गरिरहेका छन् । जसपा नेपालबाट पनि महन्त ठाकुरले लोसपा र अशोककुमार राईले जसपाको गठन गरे ।

ठाकुर नेतृत्वको तमलोपाबाट महेन्द्र राय यादवले तराई मधेस सद्भावना पार्टी गठन गरे । पछि ६ वटा दलका अध्यक्ष मिलेर राजपा गठन गरे । राजपा र फोरमबीच एकीकरण भई जसपा नेपालको गठन भएको थियो । जो अस्तित्वमा छ  । नवगठित जनमत पार्टी पनि यसबाट अछुतो छैन । कैलाश महतोको नेतृत्वमा छुट्टै दल र इरफान अहमदको नेतृत्वमा स्वराज पार्टीको गठन भइसकेको छ । मधेसी दलको प्रशव वेदना सकिएको छैन । थप नयाँ–नयाँ दल पनि अस्तित्वमा आउन सक्ने सम्भावना कायमै छ ।

(लेखक नारायण मधेस राजनीतिका जानकार हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रीमननारायण
श्रीमननारायण
लेखकबाट थप