पशुपालन घट्दो, कारण के ?
काठमाडौँ । नेपालमा पछिल्लो समय पशुपालन घट्दो क्रममा छ । यसो हुनुमा पशुपालनमा सघाउने जनशक्ति नहुनु, पशुपालनभन्दा अन्य क्षेत्रबाट बढी फाइदा हुने, सरकारी निकायबाट सहयोग नहुनु नै रहेको सरोकारवाला बताउँछन् ।
सरकारी निकायको पछिल्लो तथ्याङ्क अनुसार दुई वर्षको अवधिमा २७ लाख गाई/गोरुको संख्या घटेको छ । यस्तै, भैँसी/राँगाको संख्या २० लाख र भेंडाको संख्या २ लाख घटेको सरकारी तथ्याङ्क छ ।
सुँगुर/बङ्गुरको पनि संख्या घटेको तथ्याङ्कले देखाउँछ । दुई वर्षमा सुँगुर/बङ्गुरको संख्या २ लाखले घटेको छ । यस्तै, कुखुरा ८२ लाख, दुधालु गाई २ लाख र दुधालु भैंसी ७ लाखले घटेका छन् ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले विभिन्न प्राकृतिक विपत्ति, महामारी तथा किसानले बजारको मूल्य पाउन नसकेका कारण पशुपालन घट्दै गएको हुन सक्ने बताए । ‘हाम्रोमा डिजास्टर, लम्पी स्किन, कोरोना लगायत कारणले पशुपालन घटेको देखिन्छ,’ उनले भने, ‘विदेश जानेहरू बढ्दा, किसानले दुधको रकम नपाउँदा, अन्य पशुको बजारीकरण समस्या हुँदा पशुपालन घटेको हो ।’
दाहालले कृषि क्षेत्रमा बीमाको प्रभावकारिता हुन नसकेको गुनासो गरे । सरकारले प्रदान गरेको कृषि बीमाको कार्य झन्झटिलो छ । ‘बीमाको जति प्रभावकारिता हुनुपर्ने हो त्यति छैन,’ उनले भने, ‘बीमा गर्नुपर्छ भन्ने पनि जानकारी छैन । सरकारी बीमामा झन्झटिलो प्रक्रिया छ । यसले पनि समस्या ल्याएको छ ।’
लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेल कृषि व्यवसायीलाई बैंकको ऋण तथा सरकारको अनुदान प्राप्त हुन नसक्दा यसप्रति आकर्षण घटेको बताउँछन् । उनले पछिल्लो समय साना किसान विस्थापित भइरहेको दाबी गरे । ‘देशभर ३६५ देखि ३७० ह्याचरी थिए, अहिले ८० देखि ८५ को हाराहारीमा सीमित छन्,’ उनले भने, ‘बैंकले थप ऋण दिँदैन, उधारो दाना पाइँदैन । यस्ता विभिन्न कारणले पशुपालनमा किसानको आकर्षण घटेको हो ।’
वैदेशिक रोजगारीले पनि पशुपालन घटाएको कतिपय जानकार बताउँछन् । बङ्गुरपालक व्यवसायमा रहेका दीपक रानामगरका अनुसार विदेश जानेहरू बढ्दा पशुपालन घटेको हो । उनले भने, ‘व्यवसाय चाहेजस्तो स्थापित हुन नसक्दा पनि विदेशिने क्रम जारी छ ।’
पोखरेलले कृषि क्षेत्रमा लगानी गरेर आउने प्रतिफलप्रति व्यवसायी सन्तुष्ट हुन नसक्दा पशुपालन घटेको सुनाए । ‘समग्रमा कृषिमा लगानी गर्दै जाँदा त्यति धेरै मुनाफा छैन,’ उनले भने, ‘चाहे दुधको होस्, चाहे बाख्राको होस् । धेरैका लागि उत्साहजनक छैन ।’
वैदेशिक रोजगारीले पनि पशुपालन घटाएको कतिपय जानकार बताउँछन् । बङ्गुरपालक व्यवसायमा रहेका दीपक रानामगरका अनुसार विदेश जानेहरू बढ्दा पशुपालन घटेको हो । उनले भने, ‘व्यवसाय चाहेजस्तो स्थापित हुन नसक्दा पनि विदेशिने क्रम जारी छ ।’
कृषि व्यवसाय गर्नेहरूले सरकारबाट खासै सहयोग नपाएको दीपकको भनाइ छ । सरकारी निकायबाट सहयोग नहुनु, बीमाको प्रक्रिया झन्झटिलो हुने, बजारीकरण, ओसारपसार लगायत समस्याका कारण व्यावसायिक पशुपालक किसान प्रताडित हुनु परेको उनको गुनासो छ ।
केन्द्रीय तथ्याङ्क कार्यालयका अनुसार दुई वर्ष अगाडिको तुलनामा धेरै पशुको संख्या घटेको देखिन्छ । सरकारी अधिकारीहरूले तथ्याङ्क सङ्कलनमा पनि समस्या हुन सक्ने दाबी गरेका छन् । केन्द्रीय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क नै आधिकारिक हो । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल वास्तविकभन्दा तथ्याङ्कमा कम हुन सक्ने बताउँछन् । उनले भने, ‘हामी वास्तविक तथ्याङ्क हुनुपर्छ भनेर लागेका छौँ । हाम्रो बुझाइमा ३० लाख भैँसी संख्या पुगेको देखिन्छ ।’
चीनसँग मासु निर्यातको सम्झौता भएकाले अब यो संख्या धेरै बढाउनुपर्ने उनको भनाइ छ । उनले भने, ‘मासुका लागि पालन अभियान सुरु गरेका छौँ । प्रदेश सरकार पनि सोही अनुसार अभियानमा जानुपर्छ भनेर लागेका छौँ ।’
चीनको सम्झौताले वधशाला मात्रै नभइ ठुलो संख्यामा राँगाभैँसी पालनमा सहयोग गर्ने दाहालले भनाइ छ । उनले सामान्य गाईको संख्या घटाएर दुधालुको संख्या बढाउनुपर्ने बताए । यसो गर्दा दुधको मात्रा नघट्ने दाहाल बताउँछन् ।
‘सामान्य गाईको संख्या बढ्नु राम्रो होइन । गाईको संख्या क्रमिक रुपमा घटाउनुपर्छ । तर दुधको उत्पादन घट्दैन, बढी उत्पादन दिने गाईको संख्यामा बढावा दिनुपर्छ,’ उनले भने, ‘बाख्राको संख्या बढेको छ । अब यसको बजारीकरणमा ध्यान दिन जरुरी छ ।’
बङ्गुरको संख्या घट्नुमा ‘अफ्रिकन स्वाइन फ्लु’ कारण रहेको उनले बताए । ‘अहिले बङ्गुरको संख्या १३ देखि १४ लाख छ,’ उनले भने, ‘यसलाई केही बढाउन सकिन्छ । बङ्गुर र कुखुरा बजारमा छिट्टै जाने प्रजाति हुन् । यसले गर्दा बढाउनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेखा समिति सभापति पोखरेल भन्छन्- ‘मेरी श्रीमती घरमै छिन्, जङ्गल जाने कुरा भएन !'
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन