काठमाडौँ । ‘एमपक्स’लाई सुरुमा ‘मङ्कीपक्स’ भनेर चिनिन्थ्यो । हाल जनावरलाई ‘डिस्क्रिमिनिसन’ नहोस् भन्नका लागि यसको नाम परिवर्तन गरेर ‘एमपक्स’ भन्न थालियो । यो एक प्रकारको ‘भाइरल जुनोटिक डिजिज’ रोग हो । अर्थात् यो रोग भाइरसका कारणले जनावरबाट मान्छेमा सर्छ ।
तर पहिला जनावरबाट मान्छेमा सरेर आए पनि हाल यो रोग मान्छेबाट मान्छेमा सर्ने गर्दछ । यो एक प्रकारको ‘भाइरल इन्फेक्सन’ हो ।
यो रोग अफ्रिकन महादेशमा मात्रै सीमित थियो । विश्व स्वास्थ्य संगठनले सन् २०२२ को जुलाईमा पहिलो पटक यसका कारण ‘पब्लिक हेल्थ एमर्जेसी डिक्लेयर’ गरेको थियो । यो रोग विस्तारै अफ्रिकन महादेशमा मात्रै नभइ युरोप, नर्थ अमेरिकातिर, साउथ अफ्रिकातिर पनि देखिन थालेको थियो । त्यो समयमा १ सय १७ वटा देशमा एमपक्स फैलिएको तथ्यांक छ । सामान्यरूपमा भन्दा जनावरबाट सर्ने जुनोटिक भाइरल डिजिज हाल स्वरुप परिवर्तन गरेर मान्छेबाट मान्छेमा सर्ने गरेको एक प्रकारको सरुवा रोग हो यो ।
लक्षण
सन् १९५८ मा पहिलो पटक एक जनावरमा एमपक्स रोग पत्ता लागेको थियो । त्यसपश्चात् सन् १९७० मा कंगोको एक बच्चालाई यो रोग पुष्टि भएको थियो । एमपक्स रोगको पहिलाको स्वरुप र अहिलेको स्वरुपमा फरक छ । पहिलाको स्वरुपमा सुरुवाती तीनदेखि चार दिनको फेजमा ज्वरो आउने, जिउ तातो हुने, जिउ दुख्ने, गलेको जस्तो वा थाकेको जस्तो महसुुस हुने, मासपेसीहरू दुख्ने, ग्रन्थीहरू सुन्निने जस्ता सुरुवाती चरणमा लक्षण देखा पर्छन् ।
त्यसपछि मात्रै छालामा यो रोगको लक्षण देखा पर्न थाल्छ । जसअनुसार सुरुमा रातो रातो डाबर आउने हुन्छ । त्यो बिस्तारै पिलोजस्तो भरिएको घाउ बन्ने हुन्छ । केही दिनमा त्यो घाउको फोका फुटेर पाप्रा बनेर शरीरभर फैलिने हुन्छ । यो पनि मुख्य गरी अनुहार, हात र खुट्टामा देखा पर्छ । यो लक्षण पुरानो एमपक्सको लक्षण हो ।
तर हाल देखिएको एमपक्सको लक्षण फरक छ । तत्काल एमपक्स सङ्क्रमितसँग नजिकको सम्बन्ध भएकासँग यो रोग सर्ने गरेको छ । चाहे त्यो सम्भोगको सम्बन्ध होला, चुम्बनको सम्बन्ध होला, सङ्क्रमित बिरामीको सम्पर्कमा आएर होला, सङ्क्रमित बिरामीको सामग्रीको प्रयोगले होला, हल्का कहिलेकाहीँ श्वासको माध्यमबाट पनि हुन सक्छ ।
शारीरिक क्रियाकलापमा लागेका मानिसमा यो रोग देखा परेको छ । अहिले योे रोगलाई यौन रोगसँग सम्बन्धित भनेर पनि लिन सकिन्छ ।
पछिल्लो समय यो रोग पुरुष समलिंगी समूहमा एउटामात्रै घाउ देखिएको छ । जस्तो कि दिसा गर्ने भागमा एउटा मात्रै घाउ आउने, लिङ्गमा एउटामात्रै बिमिरा आइदिने अथवा पानीको फोकाजस्तो बिमिरा गुप्ताङ्गमा देखा परेको छ । हाल पहिलाको जस्तो नभएर फरक लक्षण देखा पर्न थालेको छ । यसको अर्थ एउटा घाउ आउँदा पनि एमपक्स हुन सक्ने सम्भावना रहन्छ । कोही एमपक्स सङ्क्रमण भएको ठाउँबाट आयो भने सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आउँदा वा नजिकको सम्बन्ध बनाएको छ भने त्यस्ता व्यक्तिलाई घाउ आएमा एमपक्सको शंका गर्न सकिन्छ ।
घाउसँगसँगै ज्वरो आउने, जिउ तातो हुने, जिउ दुख्ने, गलेको जस्तो वा थाकेको जस्तो महसुुस हुने, मासपेसीहरू दुख्ने, ग्रन्थीहरू सुन्निने भएमा एमपक्स भएको शंका गर्न सकिन्छ । अर्को शंका गर्ने भनेको एमपक्स सङ्क्रमण फैलिएको ठाउँबाट आएका व्यक्तिमाथि उल्लेखित लक्षण देखा परेमा एपपक्स हुन सक्ने देखिन्छ ।
कसरी फैलिन्छ ?
पहिला अफ्रिकन मुलुकमा जनावरबाटै यो रोगको सङ्क्रमण फैलिएको हो । अहिले विश्वप्यापी रूपमा फैलिएको छ । यो शारीरिक सम्बन्धबाट फैलिएको हो । सङ्क्रमण भएको व्यक्तिसँग सम्पर्कमा आएको छ भने आफूलाई बिमिरा वा घाउ आएको भए एमपक्स भएको शंका गर्न सकिन्छ । त्यस्ता व्यक्तिसँग एकदम नजिकको सम्बन्ध भएको समूह, जस्तो कि यौनकर्मी हुन सक्ला, पुरुष समलिंगी हुन सक्ला । उनीहरू पनि सङ्क्रमित हुन सक्छन् । सन् २०२२ मा एउटा अध्ययनले ९५ प्रतिशत समलिंगीलाई एमपक्स रोग देखा परेको थियो । ‘सेक्सुअल टुरिजम’ को आवधारण विश्वप्यापी रूपमा छ । यस्ता क्रियाकलापमा संलग्न भएका व्यक्तिलाई पनि यो रोगको हुन सक्ने सम्भावना हुन सक्छ । प्रायः बच्चा, दीर्घकालीन रोगी, शरीर कमजोर भएका व्यक्तिलाई यो सङ्क्रमण घातक हुने देखिन्छ ।
कसरी जोगिने ?
यसबाट बच्न ‘आइसोलेट’ नै भरपर्दो उपाय हो । त्यो रोगका बिरामीलाई सकेसम्म धेरै मान्छेले नभेटौँ । नभेट्ने बित्तिकै सर्न सक्ने सम्भावना कम हुन्छ । शंका लागेमा चिकित्सकसँग सरसल्लाह लिने गर्नु पर्छ । शंका लागेमा अस्पताल गएर परीक्षण गराउनु पर्छ । हामीले कोरोना महामारीका समयमा पालना गरेको स्वास्थ्य मापदण्ड लागु गर्ने र त्यसलाई पालना गरेमा पनि यसबाट जोगिन सकिन्छ ।
नेपालमै यो सङ्क्रमण भित्रभित्रै फैलिएको छैन । बाहिरबाट आउने व्यक्तिबाटै यसको जोखिम बढ्छ । नेपालका मानिस विभिन्न मुलुकमा छन् । उनीहरूको आउजाउ भइरहन्छ । त्यसकारण मुख्य नाका, अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठाउँमा निगरानी गर्नुपर्छ ।
यो रोगबाट जोगिन व्यक्ति आफैँ पनि सर्तक हुनु पर्छ । यो रोगको औषधि अफ्रिकन मुलुकले प्राप्त गरेको छ । नेपालमा यसको औषधि छैन । स्याहार र सतर्कता अपनाउनु नै जोगिने सबैभन्दा राम्रो उपाय हो ।
(डा. झा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका छाला तथा यौनरोग विशेषज्ञ तथा एमपक्सको फोकल पर्सन हुन् ।)
प्रतिक्रिया