मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म

मङ्गलबार, ०९ पुस २०८१, ०० : १९
मङ्गलबार, ०९ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. रविको सांसद पद निलम्बन
सभामुख देवराज घिमिरेले रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गरेका छन् । सहकारीको बचत हिनामिना, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता भएको थियो । त्यसको भोलिपल्टै सभामुख घिमिरेले उनको सांसद पद निलम्बन गरेका हुन् ।

२. डीपी अर्याल बने रास्वपाको कार्यवाहक सभापति 
सहकारी रकम हिनामिना सम्बन्धमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएकै भोलिपल्ट पार्टीले डीपी अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ । आइतबार रवि लामिछानेसहित ४४ जनाविरुद्ध अभियोगपत्र दायर भएको थियो । सोमबार रास्वपाको सचिवालय बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको हो ।

३. श्रीमतीको नाम जोडेर लेखा समितिमा प्रश्न उठेपछि रक्षात्मक बने सभापति पोखरेल
सार्वजनिक लेखा समितिको बैठकमा समितिका सभापति ऋषिकेश पोखरेल रक्षात्मक रूपमा प्रस्तुत भएका छन् । सोमबार बसेको बैठकमा उनकी पत्नी अञ्जला कोइरालाको चर्चा भएको थियो । अञ्जला एउटा सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोप छ ।

४. छविसँग अदालतमा तीन घण्टा बयान लिँदा रविको पालो आएन
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेपछि सोमबारदेखि सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा प्रतिवादीहरूसँग बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नितिज राईको इजलासमा सोमबार छविलाल बञ्जाडे जोशीसँग बयान लिइएको हो । उनको बयान नसकिएकाले रवि लामिछाने लगायत अन्य प्रतिवादीसँग बयान लिने काम सुरु नै भएको छैन ।

५. निलम्बित इन्स्पेक्टर बिनु शाहीसँग ५ लाख धरौटी माग
निलम्बित प्रहरी निरीक्षक बिनु शाहीसँग ५ लाख धरौटी माग गरिएको छ । ललितपुर जिल्ला अदालतले सोमबार थुनछेक बहसपछि उनीसँग ५ लाख धरौटी माग गरेको हो । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।

६. ओलम्पिक कमिटीको अध्यक्ष बन्ने जीवनरामको सपनामा धक्का
गृह मन्त्रालयले ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा सोमबार प्रहरी परिचालन गरेपछि उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने काम रोकिएको छ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटीको आसन्न निर्वाचन रोक्नका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । कमिटीका जीवनराम श्रेष्ठले अदालतको आदेशलाई समेत बेवास्ता गर्दै फेरि आफैँ अध्यक्ष हुने आकांक्षाका साथ निर्वाचन प्रक्रिया अघि बढाउन चाहेका थिए ।

७. निकोलस भुसालविरुद्ध म्याद थप्न अदालतको अस्वीकार
कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ । कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो ।

८. शक्ति समूहकी संस्थापक सुनिता दनुवारको मृत्यु
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ । जोरपाटीस्थित बेसी गाउँमा बस्दै आएकी उनलाई सोमबार बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्‍याइएको थियो । 

९. सरकार असफल भएको शर्माको दाबी
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिचको गठबन्धन सरकार अराजनीतिक भएको समेत दाबी गरे ।

११. हसिनालाई फिर्ता पठाउन 
बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले सोमबार आफ्नो कार्यालयमा यसको जानकारी दिएका हुन् । 

१२. झापा कपको उपाधि चर्च ब्वाइजलाई
पहिलो संस्करणको झापा कपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा सोमबार भएको खेलमा एनआरटी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले हात पारेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप