मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय
ठगी प्रकरण

दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !

सोमबार, ०८ पुस २०८१, २२ : २१
सोमबार, ०८ पुस २०८१

काठमाडौँ । प्रहरीले दुई छुट्टाछुट्टै मुद्दामा दुई जना जनप्रतिनिधि (वडाध्यक्ष)लाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुई फरक पालिकाका भएपनि संयोगवश दुबैको वडा नम्बर भने १२ नै रहेको छ । अर्थात प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ र मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्षलाई सोमबार पक्राउ गरेको हो । 

चन्द्रागिरी नगरपालिका वडा नम्बर–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको निक्षेप अपचलन गरेको आरोपमा  बबरमहलबाट पक्राउ परेको  जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका–१२ घर भएका ५६ वर्षीय महर्जन सो सहकारीको कोषाध्यक्ष हुन् । अदालतबाट पक्राउ पुर्जी आएपछि उनी फरार थिए । यस्तै  विराटनगर १२ का अध्यक्ष हिरालाल कामत भने बैकिङ कसुर मुद्दामा सोमबार साँझ पक्राउ परेका हुन् ।

मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । मोरङको जहदा गाउँपालिका ३ का वडाअध्यक्ष गुरुदयानन्द ठाकुरको जाहेरीमा कामतलाई पक्राउ गरिएको उनले बताए । कामतले दिएको ५ लाखको चेक बाउन्स भएपछि कार्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप