राम माधवलाई मात्र भेटेर दिल्लीबाट फर्किइन् परराष्ट्रमन्त्री आरजु
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारतबाट सोमबार साँझ स्वेदेश फर्किएकी छन् । लामो युरोप भ्रमणपछि परराष्ट्रमन्त्री आरजु उतैबाट पुस ४ गते भारतको राजधानी नयाँ दिल्ली पुगेकी थिइन् ।
उनले पुस ५ गते भारतको नयाँ दिल्लीमा आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गरेकी थिइन् । त्यही कार्यक्रममा भाग लिन भनेर उनी दिल्ली पुगेकी थिइन् ।
तर भारत जानुको खास उद्देश्य प्रधानमन्त्री केपी शर्मा ओलीका लागि भ्रमणको वातावरण मिलाउनु थियो । चीन भ्रमण सकिए लगत्तै भारत भ्रमणमा जाने घोषणा गरेका प्रधानमन्त्री ओलीले त्यसको वातावरण बनाउनका लागि परराष्ट्रमन्त्री आरजुलाई दिल्ली पठाएका थिए । तर उनी दिल्लीबाट खाली हात फर्किनु परेको छ ।
चीनसँग बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेपछि भारतलाई विश्वासमा लिन परराष्ट्रमन्त्री राणा दिल्ली भ्रमणमा गएकी थिइन् । परराष्ट्र मन्त्रालय स्रोत भन्छ, ‘काठमाडौँबाट युरोप लागेकै दिन मन्त्रीज्यूले दिल्लीस्थित नेपाली दूतावासलाई भारतीय विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीसँग भेटघाटको समय मिलाउन निर्देशन दिनुभएको थियो ।’ स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजुले व्यक्तिगत रूपमा पनि विदेशमन्त्री जयशंकरलाई म्यासेज गरेर भेटघाटका लागि आग्रह गरेकी थिइन् ।
युरोप भ्रमणमा रहेकै बेला परराष्ट्रमन्त्री राणाले मङ्सिर २५ गते विदेशमन्त्री जयशंकरलाई म्यासेज गरेपनि मङ्सिर ३० गतेसम्म कुनै जवाफ आएको थिएन । म्यासेज नआएपछि उनले भाजपाका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालालाई म्यासेज गरेर भेटघाटको समय मिलाउन आग्रह गरेकी थिइन् । चौथाइवालालाई राखी बाँधेको कारण उनीमाथि राणाको विश्वास थियो । तर उनले पनि सकारात्मक प्रतिक्रिया नदिएपछि राणा अप्ठ्यारोमा परेकी थिइन् ।
यसअघि पनि उपचारका लागि दिल्ली जाने तयारी गर्दा उनले विदेशमन्त्री जयशंकरलाई यसैगरी म्यासेज पठाएकी थिइन् । सो म्यासेजअनुसार मन्त्री राणाको भारत भ्रमणलाई औपचारिक बनाइएको थियो । उनलाई भारतमा राम्रो स्वागत पनि गरियो । त्यतिबेला उनको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायतसँग भेटघाट भएको थियो । त्यो भ्रमणलाई लिएर परराष्ट्रमन्त्री आरजुले वाहवाही पनि कमाएकी थिइन् ।
यसपटक पनि उनले त्यही गर्न खोजेकी थिइन् । तर भारतले परराष्ट्रमन्त्री आरजुको भ्रमणमा खासै चासो लिएन । पुस ४ गते बिहान दिल्ली पुग्दा उनलाई उनलाई विमानस्थलमा स्वागत गर्न नेपाली दूतावासका कर्मचारीहरू पुगेका थिए । भारतको तर्फबाट विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने उपसचिव अमित मिश्र प्रोटोकलको लागि मात्रै उपस्थित थिए ।
भारतमा अवतरण गरेपछि उनी दिनभर भारतका उच्चस्तरीय भेटघाटको व्यवस्थापनमा लागेकी थिइन् । त्यसका लागि उनी आफै र दूतावासका अधिकारीले प्रयास गरेका थिए । तर सबैले आ–आफ्नो व्यस्तता देखाएर पन्छिएका थिए ।
पछिल्लो पटक प्रधानमन्त्री मोदीलाई समेत भेटेकी आरजुलाई यस पटक डोभाल, जयशंकर वा मिश्रीले त परै जाओस् नेपाल डेस्क हेर्ने एडिसनल सेक्रेटरी मनु महवारले पनि भेट्न मानेनन् ।
परराष्ट्रमन्त्री आरजु दिल्ली पुगेकै दिन भारतको विदेश मन्त्रालयमा नेपाल डेस्क हेर्ने महवारले भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापालाई आफ्नै कार्यकक्षमा बोलाएर भेटेका थिए । तर उनले आरजुसँग भेट्न मानेनन् ।
सल्लाहकार डोभाल चीनबाट फर्केपछि प्रधानमन्त्री मोदीसँग कुवेत भ्रमणमा गएका थिए । विदेशमन्त्री जयशंकर पनि उतै लागे । विदेश सचिव विक्रम मिश्री मरिसस गएर फर्केका थिए । सबै आ–आफ्नो सेड्युलमा व्यस्त भएपछि मन्त्री आरजुका लागि कसैले पनि समय छुट्याउन सकेनन् । सबैले ‘वि विल अपडेट यू’ मात्रै भनि रह्यो ।
भेटका लागि आरजुले आफ्नो भ्रमण दुई दिन लम्ब्याइन् । उनी ६ गते नै नेपाल फर्किने कार्यक्रम थियो । तर ७ र ८ गते दुई दिन उनले भेटका लागि प्रतीक्षा गरिन् । तर कसैले पनि भेटको समय दिएनन् ।
काठमाडौँ फर्किनुअघि इन्डिया फाउन्डेसनले मन्त्री राणासँग परिचयात्मक कार्यक्रम आयोजना गरेको थियो । फाउन्डेसन भारत सरकारका लागि थिंक ट्याकको रूपमा काम गरिरहेको छ । सो कार्यक्रममा भने उनको राम माधवलगायतसँग भेटघाट भएको थियो ।
राम माधव भाजपाका पूर्वसचिव हुन् । आरजुसँग उनको पुरानो चिनजान रहेको छ । तर, राम माधव अहिले न भाजपा न आरएसएसको कुनै पदमा छैनन् ।
यता मन्त्री राणाको नीजि सचिवालयले उनी स्वास्थ्य जाँचमा गएको कारण कसैसँग कुनै भेटघाटको कार्यक्रम नरहेको जनाएको छ । मन्त्री आरजु भारतबाट नेपाल फर्किनु अघि सचिवालयले एक प्रेस नोट जारी गर्दै नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्किने जनाएको थियो ।
परराष्ट्रमन्त्री आरजु भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएकी थिइन् । उनी बाइल्याटरल टोटल हिप रिप्लेस्मेन्ट (टिएचआर) को ‘फलो अप’ स्वास्थ्य परीक्षणका लागि मात्र भारत गएको दाबी सचिवालयले गरेको छ । मन्त्री आरजुले पुस ६ र ७ गते एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएको सचिवलायको भनाई छ ।
यता, इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेको बताएकी थिइन् । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै उनले भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रह पनि गरेकी थिइन् ।
मन्त्री आरजु मङ्सिर २२ गते युरोप भ्रमणमा निस्केकी थिइन् । उनको यो भ्रमणको मुख्य उद्देश्य नेदरल्याण्डको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय माग गरेकी थिइन् ।
अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस) को माग गरेको हो ।
त्यसपछि मन्त्री आरजुले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेकी थिइन् ।
युरोप भ्रमणकै क्रममा उनले युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा भेटवार्ता गरेकी थिइन् ।
साथै उनले युरोपेली आकासमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि उनीहरुलाई आग्रह गरेकी थिइन् ।
मन्त्री आरजु जर्मनीको पोट्सडाममा अवस्थित जलवायुसम्बन्धी अनुसन्धान संस्थामा पुगेर त्यहाँका वैज्ञानिक एवं अनुसन्धानदाताहरूसँग अन्तर्क्रिया गरेकी थिइन् ।
त्यसै गरी पुस २ गते परराष्ट्रमन्त्री आरजुले जर्मनीको बर्लिनमा आयोजित समान अधिकारसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समूह (एलजिबिटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !