मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

सिरहामा दुई समूहबिच झडप, प्रदेश सांसद खातुनसहित १८ जना घाइते

सोमबार, ०८ पुस २०८१, २० : ३२
सोमबार, ०८ पुस २०८१

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३ दुर्गापुरमा सोमबार झडप हुँदा प्रदेशसभा सदस्य शाहिदा खातुनसहित १८ जना घाइते भएका छन् । हत्या घटनाका विषयमा भेला भएका स्थानीयवासीलाई खातुनका भाइ मोहमद रहिमसहितको समूहले कुटपिट गर्न थालेपछि झडप भएको हो ।

घाइतेमध्ये दुवै समूहका ९–९ जना छन् । उनीहरूको उपचार गोलबजारस्थित भुमिजा अस्पताल र वर्धमान अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्रकुमार पासवानले बताए ।

२० वर्षीय कृष्णकुमार महराको गत कात्तिक २७ गते हत्या भएको थियो । उक्त घटनामा स्थानीय एक किशोरको पनि नाम रहेको भन्दै प्रदेशसभा सदस्य खातुनले गाउँ छाड्न दबाब दिने गरेको भन्दै उनका अभिभावकले सोमबार बिहान छलफल राखेका थिए । खातुन पक्षले त्यही ठाउँमा कुटपिट गरेको स्थानीयवासी मोहम्मद सोवरथले बताए  । उनी पनि घाइते छन् । पीडितका अभिभावकले गाउँमै भेला राखेर खातुनलाई बोलाउन जाँदा गालीगलौज गर्दै उनका भाइसहितको समूहले आएर एक्कासि कुटपिट गरेको घाइते दिपर खातुनले बताइन् ।

प्रदेश सभासदस्य खातुनले भने उनीहरू आफैँ आफ्नो घरमा छोराको विषयमा बुझ्न आउने गरेको बताए । आफूले त्यस्तो कुनै दबाब नदिएको उनको भनाइ छ । उनले भने, ‘हत्याजस्तो घटनामा मैले कुनै दबाब दिने कुरै आउँदैन । त्यो कानुनले गर्ने विषय हो । यो मलाई बदनाम गर्ने प्रयास मात्र हो ।’

गाउँको मदरसाका अध्यक्षसमेत रहेका मोहम्मद सोवरथले आर्थिक हिनामिना गरेको विषयमा आफूले चासो राखेपछि बदनाम गर्ने उद्देश्यसहित प्रचारबाजी र हमला गरेको आरोप उनले लगाए । उनले भने, ‘सोवरथले मदरसामा आर्थिक हिनामिना गर्दै आइरहेको छ । मैले हिसाब मागेपछि मलाई बनाम गर्ने, दबाब दिने नियतले यो सब घटना घटाएको हो । आज बिहान पनि मलाई थाहै नदिई भेला गरेर ममाथि हमला गराएका हुन् ।’

सोवरथ पक्षले भने बिनाकारण गाउँमा आफ्ना विपक्षीलाई धाक धम्की दिने गरेको आरोप लगाएको छ । प्रत्येक घटनामा उनका भाइसमेतले गाउँलेलाई धरै बोले फसाउनेदेखि मार्नेसम्मको धम्की दिने गरेको स्थानीयवासीको आरोप छ ।

प्रहरीले प्रदेशसभा सदस्य खातुनमाथि हातपात गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अर्को पक्षले पनि उजुरी दिए कारबाही अगाडि बढाउने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी पासवानले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप