जीबी राईका सबै सहकारीबिच अवैधानिक ‘अन्तर–सहकारी’ कारोबार
काठमाडौँ । सहकारी ऐनको विपरीत जीबी राई सम्बद्ध सबै सहकारीबिच अन्तर सहकारी कारोबार भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रवि लामिछानेसहित १९ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत कास्कीमा दर्ता गराएको मुद्दाको प्रतिवेदनमा यो विवरण उल्लेख गरिएको हो ।
काठमाडौँको स्वर्णलक्ष्मी, चितवनको सहारा, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारीसँग यस्तो कारोबार भएको पाइएको छ । यसमध्ये सूर्यदर्शनले स्वर्णलक्ष्मीसँग १ करोड ३ लाख रुपैयाँ लिनुपर्ने, सहाराबाट ६० लाख पाउनुपर्ने, सुप्रिमलाई एक लाख तिर्नुपर्ने र समानतालाई पाँच लाख रुपैयाँ दिनुपर्ने देखिएको छ । यद्यपि यी सबै कारोबार गैरकानुनी भएकाले सबै दायित्व जीबी राईबाटै असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।
सहकारी ऐन २०७४ ले कुनै पनि सहकारी संस्थाले विषयगत संघ र मान्यता प्राप्त सहकारी बैंकबाहेक अन्य सहकारी संस्थासँग कारोबार गर्न पनि नपाउने उल्लेख गरेको छ । त्यस्तै कुनै पनि व्यक्तिलाई सहकारी संस्थाको सदस्य नबनाई कारोबार गर्न नहुने, कानुनी व्यक्तिलाई सदस्यता बनाउन नहुने व्यवस्था गरिएको छ । सूर्यदर्शनका हकमा भने हुँदै नभएको व्यक्ति तथा संस्थालाई सदस्य बनाएर कृत्रिम कारोबार गरेको समेत प्रहरी प्रतिवेदनले देखाएको छ ।
यसमध्ये संस्थामा सदस्य नै नभएका ६३ जना व्यक्ति वा संस्थालाई सूर्यदर्शनले ऋण प्रवाह गरेको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये ५३ व्यक्ति र १० वटा संस्थाहरू रहेका छन् । एउटै व्यक्तिलाई अधिकतम २ करोड ७५ लाखदेखि न्यूनतम ४ लाख रुपैयाँसम्म ऋण दिइएको छ । संस्थामा प्रवाह भएको ऋणमध्ये गोर्खा मिडिया नेटवर्कलाई २ करोड ३० लाख, नेचर हर्बलाई २ करोड ५० लाख, नेचर नेस्टलाई १ करोड र स्प्रिङउड रियलस्टेटलाई ४७ लाख २३ हजार रुपैयाँ ऋण प्रवाह गरेको भेटिएको छ ।
बचत कारोबारतर्फ सहकारीले जम्मा २२५९ जना सदस्य रहेको जनाएकोमा बचत खाताको संख्या भने १८ हजार ७०० रहेको देखिएको छ । त्यस्तै, हुँदै नभएको २३ व्यक्ति वा संस्थाको नाममा खाता खोलेर समेत बचत कारोबार समेत भेटिएको छ । क्राइसिस म्यानेजमेन्ट नामको खाता खोलेर जीबी राई र हेमन्त अधिकारीको नामाबाट खातामा पैसा जम्मा गर्ने व्यवस्था गरिएको समेत उल्लेख छ ।
त्यस्तै, सहकारीको बाँकी ब्याजलाई पुँजीकृत गरी आम्दानी देखाउने गरिएको, कतै शून्य ब्याजदर, कतै प्रचलितभन्दा कम ब्याजदर र कतै प्रक्रियाबिना कर्जा प्रवाह गरेको कैफियत समेत देखाइएको छ । एउटै व्यक्तिलाई एउटा ऋण चुक्ता नभइ अर्को ऋण दिन नहुनेमा त्यसो चार जना व्यक्तिको नाममा दोहोरो ऋण प्रवाह भएको छ । जीबी राईको पालामा १२६ जनालाई प्रवाह भएको १७ करोड ४६ लाख रुपैयाँ बराबरको ऋणको प्रक्रिया नपुगेको भेटिएको छ ।
प्रहरीले तयार गरेको प्रतिवेदनमा अधिकांश विषय सहकारी छानबिन समितिको प्रतिवेदन र पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिको प्रतिवेदनमा आधारित रहेको देखिन्छ । रवि लामिछाने, छविलाल जोशीमाथि दुई महिना लगाएको अनुसन्धानमा पनि उल्लेखनीय प्रमाण र थप विषय भने केही देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा हिमपात, जनजीवन प्रभावित
-
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम बन्दै किबीखेती, बागलुङमा उत्पादन, बुटबलमा खपत
-
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
-
आज सातै प्रदेशमा वर्षाको सम्भावना, चिसो थप बढ्ने
-
प्रदेश राजधानीका स्थायी संरचना कहाँ बनाउने ? २० बिघा जग्गा आवश्यक पर्ने
-
सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु