सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

अढाई वर्षमा गोर्खा मिडियाले बेहोरेका ‘चार घुम्ती’

सोमबार, ०८ पुस २०८१, १९ : ००
सोमबार, ०८ पुस २०८१

काठमाडौँ । कुनै पनि संस्थाको सफलताको लागि त्यो संस्थाभित्रको स्थिरता महत्त्वपूर्ण हुन्छ । त्यो स्थिरताले सञ्चालन तथा व्यवस्थापनको स्थिरतालाई समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । 

तर, अहिले सर्वाधिक चर्चामा रहेको रहेको रवि लामिछानेआबद्ध गोर्खा मिडिया नेटवर्क ज्यादै अस्थिर रहेको पाइएको छ । उक्त कम्पनीमा ३२ महिनाको अवधिमा मात्रै चार पटक स्वामित्व परिवर्तन पाइएको हो । 

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीमा दायर भएको मुद्दाको विवरणमा उल्लेख भए अनुसार उक्त कम्पनी २०२० अगस्ट ३० (२०७७ भदौ १४ गते) मा उक्त कम्पनी दर्ता भएको थियो । दर्ताको बखत जीबी राई र छविलाल जोशी ५०–५० प्रतिशत शेयरका मालिक थिए । दुवैले प्रतिव्यक्ति अढाई करोड शेयर स्वामित्व ग्रहण गरेर टेलिभिजन सञ्चालन सुरु गरेका थिए । 

कम्पनी दर्ताको ८ महिनापछि अर्थात् २०२१ अप्रिल ७ (२०७७ चैत २५) मा गोर्खा मिडिया नेटवर्कमा रवि लामिछाने प्रवेश गरेका थिए । उनको प्रवेशसँगै  चुक्ता पुँजी १२ करोड पुगेको देखिन्छ । लामिछाने प्रवेश गर्दा शेयर हिस्साको आधारमा छविलाल जोशीको सेयर स्वामित्व घटको देखिन्छ । पुँजी वृद्धिपछि जीबीको शेयर हिस्सा ५० प्रतिशत कायम रहँदा छविको ३५ प्रतिशत र रविको १५ प्रतिशत कायम भएको थियो ।

रवि प्रवेशको ६ महिनापछि ९ अक्टोबर २०२१ (२०७८ असोज २३) मा छविले आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बेचेर उक्त मिडियाबाट बाहिरिएका थिए । त्यतिबेला छविको सम्पूर्ण शेयर रकम जीबीले नै किनेको देखिन्छ । योसँगै जीबी ८५ प्रतिशत र रवि १५ प्रतिशतको मालिक भएका थिए । 

रविले करिब ८ महिनापछि अर्थात् २०२२ जुनमा १६ (२०७९ असार २) मा उक्त मिडियाको शेयर बिक्री गरेका थिए । राजनीतिमा लाग्ने भन्दै सार्वजनिक वक्तव्य दिएर बाहिरिएका रविले त्यसको केही दिनमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन गरेका थिए । रवि बाहिरिएपछि जीबी कम्पनीको शतप्रतिशत शेयरको मालिक भएका थिए ।

त्यसको १० महिनापछि जीबीले कम्पनीमा १७ प्रतिशत हिस्सासहित कुमार रम्तेललाई गोर्खा मिडियामा भित्र्याएको देखिन्छ । सो क्रममा आफ्नो नाममा भएको १५ प्रतिशत शेयरलाई आफ्नै स्वामित्वको जीबी ग्रुप अफ कम्पनिजको नाममा समेत ट्रान्सफर गराएका थिए । यो स्वामित्व संरचना अहिलेसम्म पनि कायम रहेको विवरणमा उल्लेख गरिएको छ ।

यी चारवटै परिवर्तनको कारणको केन्द्रबिन्दुमा भने रवि लामिछाने नै देखिएका छन् । टेलिभिजनमार्फत ख्याति कमाएका रविलाई भित्र्याउनको लागि पहिलो पटक पुँजी वृद्धिदेखि छविलाल जोशीको सेयर हिस्सा घटाउने काम गरेको देखिन्छ । 

जीबी र रविको ट्युनिङ मिल्ने र आफू एक्लिने अवस्था भएपछि ६ महिनामै छवि कम्पनीबाट बाहिरिनु परेको थियो । पछि रविले समेत एक्कासि मिडिया छोडेर राजनीतिमा होमिएपछि जीबी एक्लै परेका थिए । सोही कारण उनले रम्तेललाई मिडियामा भित्र्याएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप