सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट

सोमबार, ०८ पुस २०८१, १७ : ३६
सोमबार, ०८ पुस २०८१

ढाका । बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद हुसैनले सोमबार आफ्नो कार्यालयमा यसको जानकारी दिएका हुन् । 

आफूहरूले भारत सरकारलाई एक भर्बल नोट (कूटनीतिक सन्देश) पठाएका अनि यसमा बङ्गलादेशले शेख हसिनालाई न्यायिक प्रक्रियाका लागि फिर्ता चाहेको कुरा उल्लेख गरिएको उनले बताए ।

आफ्नो कार्यालयले भारतबाट हसिनाको सुपुर्दगीमा सहजीकरण गर्न भारतीय परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको सोमबारै गृह सल्लाहकार जहाँगिर आलमले बताएका थिए । प्रक्रिया अझै जारी रहेको बताइएको छ । ढाका र नयाँ दिल्लीबिच पहिलेदेखि नै सुपुर्दगी सन्धि छ । उक्त सन्धिअन्तर्गत हसिनालाई बङ्गलादेश फर्काउन सकिने उनले बताए ।

इन्टरपोलसँग सहयोग लिने

गत महिनाको सुरुमा बङ्गलादेशको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनमा भएको मृत्युको विषयमा सुनुवाइ गर्न पूर्वप्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेशमा ल्याइने बताएको थियो । यसका लागि अन्तरिम सरकारले इन्टरपोलको सहयोग लिने पनि भनिएको थियो । इन्टरपोलमार्फत चाँडै रेड नोटिस जारी गरिने बङ्गलादेशको अन्तरिम सरकारका कानुनी मामिला सल्लाहकार आसिफ नजरुलले बताएका थिए । 

अक्टोबर १७ मा ट्रिब्युनलले हसिना र अन्य ४५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यसमा उनका छोरा सजीव वाजेद जोय र उनका कयौँ पूर्व मन्त्रिलाई सामेल गराइएको थियो ।

अगस्ट ५ देखि भारतमा छिन् शेख हसिना

आफ्नो सरकार विरुद्ध विद्यार्थी नेतृत्वको ठुलो विद्रोहका बिच बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना अगस्ट ५ मा भारत पुगेकी थिइन् । यस अवधिमा भएको आन्दोलनमा धेरै मानिस घाइते भएका थिए । बङ्गलादेशको अन्तरिम सरकारका अनुसार प्रदर्शनका क्रममा कम्तीमा ७५३ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । 

यस मामिलामा हसिना र उनको पार्टीका नेताहरूविरुद्ध अपराध र नरसंहारको ६० भन्दा बढी उजुरी परेका छन् । रिपोर्टका अनुसार शेख हसिनाविरुद्ध २ सय २५ मुद्दा दर्ता छन् । यीमध्ये १९४ वटा मुद्दा हत्यासम्बन्धी छ । 

मानवताविरुद्ध र नरसंहारको १६ वटा, अपहरणका तीनवटा, हत्या प्रयासका ११ वटा र ‘बङ्गलादेश नेशनलिष्ट पार्टी’को र्‍यालीमाथि आक्रमणको एउटा मुद्दा छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप