मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
नेपाल ओलम्पिक कमिटी निर्वाचन विवाद

सातदोबाटोमा जीवनराम भन्दा पहिला प्रहरी पुगेपछि अध्यक्ष पद हत्याउने योजनामा धक्का

आकांक्षीहरुले उम्मेदवारी दर्ता गर्न पाएनन्
सोमबार, ०८ पुस २०८१, १६ : ५३
सोमबार, ०८ पुस २०८१

काठमाडौँ । गृह मन्त्रालयले ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) को मुख्यालयमा प्रहरी परिचालन गरेपछि एनओसी निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराउने कार्यक्रम प्रभावित भएको छ । 

एनओसीको निर्वाचन पुस १३ गते गर्ने गरी मिति तय भएको छ । सो प्रयोजनका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गराउने कार्यक्रम थियो । तर, एनओसी मुख्यालयको प्रवेशद्वारमै प्रहरी परिचालन भएपछि मनोनयन दर्ता गराउन पुगेका पदाधिकारी कार्यालयभित्र प्रवेश नै गर्न पाएनन् ।

यससँगै निर्वाचनबाट फेरि अध्यक्ष बन्ने जीवनराम श्रेष्ठको योजनामा धक्का लागेको छ ।

‘हामी निर्धारित समयमै मनोनयन पत्र दर्ता गराउन एनओसीको मुख्यालय पुगेका थियौँ । तर, प्रहरीले कार्यालय परिसरभित्र प्रवेश गर्न नदिएपछि हामीले उम्मेदवारी दर्ता गराउन पाएनौँ,’ एनओसीका वर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठले रातोपोटीसँग भने ।

निलेन्द्रले यसअघि नै अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । ‘अधिकांश संघका पदाधिकारी निर्धारित समयमै एनओसी पुगेका थियौँ । अध्यक्ष जीवनराम श्रेष्ठ भने देखा पर्नु भएन । प्रहरीले कार्यालय परिसरभित्र प्रवेश गर्न नदिएपछि हामीले मुख्य निर्वाचन अधिकृतलाई टेलिफोन सम्पर्क गर्ने प्रयास गर्‍यौँ । तर, उहाँले पनि फोन उठाउनु भएन,’ महासचिव निलेन्द्रले गुनासो गरे । श्रेष्ठ कार्यालय पुग्नुअघि नै प्रहरी पुगिसकेकाले उनी त्यहाँ जाँदै नगएको बताइएको छ । 

एनओसी निर्वाचनका लागि वसन्तबहादुर बस्नेतलाई प्रमुख निर्वाचन अधिकृत बनाइएको छ । दिउँसो ३ बजेसम्म प्रतिक्षा गर्दा पनि कार्यालय परिसरभित्र प्रवेश गर्न नपाएपछि अधिकांश संघका पदाधिकारी एनओसी मुख्यालयबाट फर्किएको जानकारी पनि उनले दिए ।

एनओसीको निर्वाचनका लागि यसअघि सोमबार ३ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, मंगलबार १० देखि १२ बजेसम्म उम्मेदवारको मनोनयन उपर दाबी विरोध, सोही दिन दिउँसो १ बजे दाबी विरोधमाथि छलफल, १ः३० बजे अन्तिम नामावली प्रकाशनलगायतका कार्यक्रम तय गरिएको थियो ।

युवा तथा खेलकुद मन्त्रालयले एनओसीको निर्वाचन रोक्न आइतबार गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । अदालतको आदेश र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशन विपरीत ओलम्पिक कमिटीको निर्वाचन हुन लागेको भन्दै उक्त निर्वाचन रोक्न आग्रहसहित युवा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको हो ।

त्यसअघि, आइतबार नै अदालतको आदेश र आफ्नो निर्देशन विपरीत नेपाल ओलम्पिक कमिटीले निर्वाचन गर्न लागेको भन्दै उक्त निर्वाचन रोक्नका लागि गृह मन्त्रालयमा पत्राचार गरी दिन राखेपले युवा तथा खेलकुद मन्त्रालयसँग लिखित आग्रह गरेको थियो । सोही पत्रका आधारमा खेलकुद मन्त्रालयले गृह मन्त्रालयसँग पत्राचार गरेको हो ।  

उच्च अदालत पाटनको आदेश र राखेपको निर्देशन विपरीत ओलम्पिक कमिटीले पुस १३ गते सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकेपछि एनओसी विवादले नयाँ मोड लिएको हो । अध्यक्ष जीवनरामले अदालतको आदेश विपरीत गत मंसिर १८ गते काठमाडौँमा विशेष साधारणसभा गरी एनओसीको विधान संशोधन गरेका थिए ।

जीवनरामले निर्वाचनको सँघारमा एनओसीको विधान संशोधन गरेर आफू तेस्रोपटक अध्यक्ष बन्ने बाटो खुला गरेका हुन् । विशेष साधारणसभाद्वारा संशोधन गरिनुअघि एनओसीको विधानले अध्यक्ष, महासचिव लगायत कार्यसमितिका कुनै पनि सदस्यलाई लगातार दुई कार्यकालपछि पुनः सोही पदमा निर्वाचित हुन अनुमति दिएको थिएन । 

‘निर्धारित समयमै एनओसी पुगेका थियौँ । अध्यक्ष जीवनराम श्रेष्ठ भने देखा पर्नु भएन । प्रहरीले कार्यालय परिसरभित्र प्रवेश गर्न नदिएपछि मुख्य निर्वाचन अधिकृतलाई टेलिफोन सम्पर्क गर्ने प्रयास गर्‍यौँ । तर, उहाँले पनि फोन उठाउनु भएन ।’

अध्यक्ष श्रेष्ठले विशेष साधारण सभामार्फत सोही प्रावधान संशोधन गरेर चार कार्यकाल पुर्‍याएका हुन् । श्रेष्ठ दुई कार्यकाल एनओसीको अध्यक्ष भइसकेका छन् । एक वर्षअघि नै उनको दोस्रो कार्यकाल पनि सकिएको थियो । तर, केही समयअघि फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिक खेलकुदलाई आधार बनाएर तत्काल निर्वाचन सम्भव नभएको भन्दै उनले आफ्नो पदावधि एक वर्ष थप गरेका थिए ।

त्यो अवधि पनि समाप्त भएपछि एनओसीका वर्तमान पदाधिकारीहरूसँग नयाँ निर्वाचनमा जानुको विकल्प छैन । त्यसैले अध्यक्ष श्रेष्ठले बहुमतको आडमा ओलम्पिक कमिटीको विधान नै संशोधन गरेको आरोप लगाइँदै आएको छ ।

विधान संशोधनका लागि उनले मंसिर १८ गते विशेष साधारणसभा बोलाएका थिए । तर, त्यसअघि नै विशेष साधारण सभामार्फत एनओसीको विधान संशोधन गर्ने कार्यका विरुद्धमा उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।

उच्च अदालत पाटनमा नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ, नेपाल बेसबल तथा सफ्टबल संघ र नेपाल घोडचढी संघका पदाधिकारीहरूले रिट दायर गरेका थिए । उक्त रिटमा आफूहरुलाई सदस्यसता दिने विषयको टुङ्गो नलगाई एनओसीको कुनै पनि साधारणसभा वा काम–कारवाही अगाडि नबढाउन आदेशको माग गरिएको थियो ।

सोही रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले पनि ‘प्रस्तावित विधान संशोधनको एजेन्डा उपर प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाइ नहुँदासम्म कुनै छलफल तथा निर्णय नगर्नु÷ नगराउनु । यथास्थितिमा राख्नु’ भनी एनओसीको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

उच्च अदालत पाटनले मंसिर १७ गते नै अन्तरिम आदेश जारी गरेपछि राष्ट्रिय खेलकुद परिषद्ले पनि ओलम्पिक कमिटीलाई विशेष साधारणसभा तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको थियो । एनओसी राष्ट्रिय खेलकुद परिषद्मा दर्ता रहेको संस्था पनि हो ।

यति हुँदा पनि एनओसीले आफ्नो विशेष साधारणसभा स्थगति गरेन । बरु, विशेष साधारण सभामार्फत आफ्नो विधान नै संशोधन गर्‍यो । विशेष साधारणसभाले एनओसी पदाधिकारीहरूको कार्यकाल सम्बन्धी प्रावधानलाई संशोधन गरेको थियो ।

विशेष साधारणसभाले अध्यक्ष र महासचिवको कार्यकाल अवधि थपसहित अन्य बुँदामा पनि संशोधन गरेको थियो । संशोधित विधान अनुसार, अब नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष र महासचिवले लगातार चार पटकसम्म उम्मेदवार बन्न पाउने छन् ।

विशेष साधारणसभाले कार्यसमितिमा उम्मेदवार बन्न आवश्यक उमेरको हदसम्बन्धी प्रावधानमा पनि संशोधन गरेको छ । यसअघि ७० वर्ष उमेर पुगेका व्यक्तिले एनओसीको निर्वाचनमा उम्मेदवार बन्न पाउँदैनथे । त्यो प्रावधानलाई संशोधन गरी एनओसी निर्वाचनमा उम्मेदवार बन्न उमेरको हद बढाएर ७५ वर्ष पुर्‍याइएको छ ।

अदालतको आदेश र राखेपको निर्देशनलाई बेवास्ता गर्दै विशेष साधारणसभा गरेर विधान संशोधन गरेपछि रिट दायर गर्ने खेल संघका पदाधिकारीहरूले अदालतको मानहानी भएको भन्दै उच्च अदालत पाटनमा अर्को मुद्दा पनि दायर गरेका थिए ।

अदालतको अपहेलनाको मुद्दा दर्ता भएलगत्तै उच्च अदालत पाटनले एनओसीको नाममा कारण देखाऊ आदेश पनि जारी गरेको थियो । उच्च अदालतले सात दिनभित्र आफै वा आफ्नो प्रतिनिधिमार्फत जवाफसहित अदालतमा उपस्थित हुन एनओसीका पदाधिकारीको नाममा आदेश जारी गरेको थियो ।

यसका अतिरिक्त, एनओसी अध्यक्ष श्रेष्ठको गतिविधिबाट रुष्ट बनेका खेलकुद संघका पदाधिकारीहरूले एनओसी पदाधिकारीहरूको पछिल्ला गतिविधिको विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको ‘इथिक्स कमिटी’ मा समेत उजुरी गरेका थिए ।

उनीहरुले अदालतको मानहामीका विषयमा पनि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको इथिक्स कमिटीलाई जानकारी गराएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले नेपाल ओलम्पिक कमिटीलाई पत्र पठाउँदै अदालती विवादको निरूपण नभएसम्म विशेष साधारणसभाबाट पारित विधान अनुमोदन हुन नसक्ने जानकारी गराएको थियो ।

स्विट्जरल्यान्डस्थित आईओसीको मुख्यालयबाट एनओसीका अध्यक्ष जीवनराम र महासचिव निलेन्द्रराज श्रेष्ठलाई सम्बोधन गरेर पठाइएको पत्रमा भनिएको छ, ‘चलिरहेका अदालती मुद्दाहरूको बारेमा स्पष्टता नभएसम्म हामी ३ र ४ डिसेम्बरमा सम्पन्न साधारणसभाका सम्बन्धमा तपाईँलाई जवाफ दिन सक्ने स्थितिमा हुने छैनौँ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप