बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोड्नुपर्छ : मुख्यमन्त्री लामा

सोमबार, ०८ पुस २०८१, १६ : २५
सोमबार, ०८ पुस २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पूर्वाधार विकासलाई आर्थिक उपार्जनसँग जोडेर अघि बढाउन जरुरी रहेको बताएका छन् । प्रतिफल आउने गरी सरकारले पूर्वाधार विकासमा सरकारले गरेको लगानी गर्नुपर्ने उनले बताए ।

सोमबार हेटौँडा–१५ स्थित चुरियामाई सुरुङको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले विकास निर्माणको कामलाई व्यवस्थित र उत्पादनमुखी बनाउन जरुरी रहेको बताए । सञ्चालनको विधि नहुँदा केही आयोजनाहरू अलपत्र अवस्थामा रहेको र राखेको ठुलो लगानी प्रयोगविहीन बनेको उनको भनाई छ ।

‘प्रतिफल आउने गरी विकास निर्माणको काममा लगानी बढाउनुपर्छ । विकासको आयोजना सञ्चालन गर्ने चरणमा नै सो आयोजनाको सञ्चालनको विधि तयार गरेर अघि बढ्नुपर्छ । एकीकृत विकाससँगै सञ्चालनको मोडल तयार गरेर सरकारले लगानी गर्दा प्रतिफल आउँछ’ उनले भने ।

मुख्यमन्त्री लामाका अनुसार सम्पदा संरक्षणसँगै विकास गर्नु अहिलेको आवश्यकता हो । इतिहासको संरक्षणसँगै विकासको आयोजनाहरू सञ्चालनको लागि प्रदेश सरकार प्रयत्नरत रहेको उनको भनाई छ । नागरिकहरूको सहज पहुँचमा राज्यको विकास पुग्न जरुरी रहेको मुख्यमन्त्री लामाले बताए । 

नागरिक लक्षित गरी आयोजनाहरू निर्माण गरी आयआर्जनमा जोड्नु अहिलेको अपरिहार्यता रहेको मुख्यमन्त्री लामाले बताए । उनले ऐतिहासिक सम्पदा संरक्षणसँगै नयाँ संरचनाको विकास गरी धार्मिक सांस्कृतिक तथा पर्यापर्यटनमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले ऐतिहासिक र पुरातात्त्विक संरचनाहरूलाई व्यवस्थित रूपमा संरक्षण तथा सम्बर्द्धन गरेर सञ्चालनमा ल्याउन जरुरी रहेको बताए । ऐतिहासिक सम्पदालाई पर्यटनसँग जोडेर विकास गरेर नागरिकहरूलाई आर्थिक गतिविधिमा जोड्नुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप