सरकारी डाक्टरलाई कडाइ : कार्यालयमा नबसे अब भोग्नुपर्छ कारबाही
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका चिकित्सक (डाक्टर)हरू कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने भएको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ ‘हेल्लो स्वास्थ्य १११५’मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै कारबाही गर्ने तयारी गरिएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मी कार्यालय समयमा नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी बताउँछन् । उनका अनुसार अब अस्पतालमा स्वास्थ्यकर्मी भए/नभएको अनुगमन पनि गरिनेछ । ‘कार्यालय समयमा सेवामा उपस्थित हुनु सबैको कर्तव्य हो’, डा. बुढाथोकी भन्छन्, ‘यसलाई कडाइका साथ लागू गर्न स्मरण गराएका छौँ । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।’
उनका अनुसार कार्यालय समयमा नभेटिए सचेत गराउने, जरिवाना गराउने, सेवाबाटै निकाल्नेसमेत कानुनमा उल्लेख छ । ‘सचेत गराउँदा पनि मानेनन् भने अस्पतालमा दिइएको पदको जिम्मेवारी पद रहँदासम्म सो कामको स्थगन गर्ने कारबाही हुनेछ’, उनी भन्छन्, ‘त्यो पद रहँदासम्म कामको स्थगन गरिनेछ ।’
कार्यालय समयमा बाहिर जानुपरे लगबुक (आफू के कारणले बाहिर जाने, कति समय जाने विवरण राख्ने ) राखेर मात्र जाने व्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ । उनका अनुसार कार्यालयमा आउँदा–जाँदा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।
चिकित्सकले मन्त्रालयको यो कार्य राम्रो रहेको प्रतिक्रिया दिएका छन् । तर, सरकारी निकायबाट पाउने सेवासुविधा न्यून हुनुका साथै काम गर्ने वातावरण र आवश्यक सामग्री नहुँदा कार्यालयबाहिर पनि काम गर्ने गरेको सरोकार चिकित्सकले बताएका छन् ।
अस्पतालमै काम गर्ने वातावरण मिलाउन सके बाहिर काम नगर्ने बताउँछिन् देशकै पहिलो वंशाणुगत रोग विशेषज्ञ डा. नीलम ठाकुर । ‘नियुक्ति लिँदादेखि नै नियम–कानुन जानकारी हुन्छ । पालन पनि गरिरहेका छौँ । तर, काम गर्ने वातावरण मिलाउन आवश्यक छ । सबैले यो चाहेका छन्’, वीर अस्पतालमा कार्यरत डा. ठाकुर भन्छिन्, ‘दुई–तीन ठाउँमा काम गर्ने रहर हुँदैन । वातावरण राम्रो मिलाउन सके चिकित्सक बाहिर जाँदैनन् । मेहनतअनुसार पारिश्रमिक पाउनुपर्यो । औजार हुनुपर्यो । आफूले पढेको विषेज्ञताअनुसार काम गर्न पाउनुपर्यो । यति भए कुनै पनि चिकित्सक बाहिर जाँदैनन् ।’
सरकारले दिने पारिश्रमिक चिकित्सकले गरेको लगानी र मेहनतभन्दा कम रहेको उनीहरूको गुनासो छ । वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेल मन्त्रालयले कार्यान्वयनमा ल्याउन खोजेको विषयमा समर्थन गर्नुपर्ने बताउँछन् । तर, कडाइसँगै चिकित्सकले गरेको मेहनतको पनि सम्बोधन हुनुपर्ने उनको तर्क छ ।
‘कार्यालय समयमा अन्य ठाउँमा काम गर्नेलाई कारबाहीको दायरामा ल्याउनु राम्रो हो’, अर्थोपेडिक स्पाइन सर्जन तथा सिनियर कन्सल्टेन्टसमेत रहेका डा. पौडेल भन्छन्, ‘रातिमा केही इमर्जेन्सी परे आउनुपर्यो । शनिबार आउनुपर्यो । बिदाका दिन बिरामी हेर्न आउनुपर्यो । जुन अन कलबाट दिने राय, सल्लाह, सुझाव सेवा दिइरहेका छौँ । परेको खण्डमा अफ आवरमा पनि अस्पताल आउनुपर्ने हुन्छ ।’
डा.पौडेलका अनुसार स्वास्थ्य क्षेत्रमा काम गर्नेले अन्य क्षेत्रमा जस्तो बिदा नबस्ने र परी आएको खण्डमा जुनसुकै समयमा सेवा दिएका हुन्छन् । यसलाई पनि सम्बोधन गर्नुपर्ने देखिएको छ । ‘अरू कर्मचारीजस्तो छुट्टी पाउने तर चिकित्सकले नपाउने हुन्छ’, उनी भन्छन्, ‘यो सबै विषयलाई हेर्न सकिएमा राम्रो हो । तर, दिउँसोको समयलाई मात्रै ड्युटी आवर मान्ने हो भने यसलाई कडाइ गर्नु मात्रै नभई चिकित्सकले अफ आवरमा दिने योगदानलाई पनि हेर्ने हो भने राम्रो हुन्छ ।’
उनका अनुसार डाक्टरको तलब ४८ हजारको हाराहारीमा छ । सिनियर डाक्टरको तलब हेर्ने हो भने पनि ६० हजारदेखि ६५ हजारभन्दा बढी कसैको छैन । ‘त्यो तलबको हिसाबले परिवार पाल्न गाह्रो छ । लगानी, मेहनत गर्दै चिकित्सक भएको हुन्छ । समस्या त समस्या नै हो । तर, सरकारी निकायमा बसिसकेपछि कानुन मान्नुपर्यो’, डा. पौडेल भन्छन् ।
सरकारी निकायअन्तर्गतका चिकित्सक बाहिर काम नगर्ने तर कसैले त्यस्तो कार्य गरेको पाइएमा कारबाही गर्ने भनेर सचेत गरेको विभिन्न अस्पतालका निर्देशकको दाबी छ । परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका निर्देशक डा.श्रीप्रसाद अधिकारी यो विषयमा अनुगमन गरिरहेको बताउँछन् । प्रसूति कर्मचारी बाहिर काम नगर्ने दाबी उनको छ । ‘पहिलेबाट लागेका छौँ । सीसी क्यामेराबाट हामीले मोनिटरिङ गरिरहेका छौँ । गुनासो आए सम्बोधन गरिरहेका छौँ’, उनी भन्छन्, ‘प्रसूति गृहमा यस्तो समस्या छैन । यदि कसैलाई बाहिर जानै पर्ने भए अग्रिम जानकारी गराउन भनेका छौँ । कार्यालय समयमा बाहिर काम गरेको पाइएमा उनीहरूलाई कारबाही गर्नेछौँ ।’
डा. अधिकारीका अनुसार अन्य अस्पतालमा एक साताको ४२ घण्टा चिकित्सकले काम गरे पनि प्रसूतिमा साताको ५५ घण्टासम्म पुग्छ । ‘अस्पताल समयमा बाहिर ड्युटी गर्न जाने, अप्रेसन गर्न जाने एकदमै नराम्रो विषय हो । यसलाई निरुत्साहित गर्नुपर्छ’, उनी भन्छन् । कार्यालय समयमा चिकित्सक हुनुपर्ने भन्दै देशभरका सरकारी अस्पताललाई जनाकारी गराइएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाको अधिवेशन माघ पहिलो साता
-
इसेवा वालेटमा समस्या, भएको के हो ?
-
शमीले बोर्डर-गावस्कर ट्रफी खेल्न अस्ट्रेलिया जान नपाउने, मेडिकल टोलीद्वारा अयोग्य घोषित
-
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको समस्या मिलाउन सहजीकरण समिति गठन
-
सरकारले कर आतंक मच्चायो, संघर्षको विकल्प छैन : साह
-
काठमाडौँ महानगरपालिका नगर सभाको अधिवेशन आह्वान