बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह

सोमबार, ०८ पुस २०८१, १२ : ४९
सोमबार, ०८ पुस २०८१

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री सिंहले सङ्ख्या ठुलो हुने तर नेपाली कांग्रेस पार्टीका क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताका महत्त्व नबुझ्ने कुरा राम्रो नरहेको बताएका हुन् । 

उनले इतिहास स्थापना गरेको पार्टीका नेताहरूले क्रियाशील सदस्यहरू हौँ भन्ने कुरा बिर्सिन नहुने जिकिर गरे । उनले भने, ‘हामीले सबै क्रियाशील सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा इन्भल्व गराउन सक्नुपर्छ । सङ्ख्या चाहिँ ठुलो हुने तर सङ्ख्या ठुलो भएर पनि नेपाली काँग्रेस पार्टीका क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन नसकेको हो की के हो ? त्यसमा कमी, कमजोरी भएको हो की ? अब त बुझाउनुपर्‍यो नि त ।’ 

उपप्रधानमन्त्री सिंहले संस्थापक नेताहरूले गरेको त्याग, तपस्या बिर्सिन नहुने बताए । ‘हामी लर्तरो पार्टीको सदस्य होइन, इतिहास स्थापना गरेको पार्टी हो । जनताको म्यान्डेट पटक पटक लिइसकेको सदस्य हौँ भन्ने कुरा बिर्सिनु भएन । संस्थापक नेताहरूले गरेको त्याग, तपस्या बिर्सिनु भएन । राष्ट्र र समाजका सेवा गर्न हामी राजनीतिमा लागिरहेका छौँ । सेवाको भावको महत्त्व सबैभन्दा बढी हुनुपर्‍यो,’ उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप