‘विषाक्त समाजमा बाँच्न डर लाग्छ, मर्न डर लाग्दैन’
भारतमा सम्मानित फिल्म निर्मातामध्ये पर्छन्, वृत्तचित्र निर्माता आनन्द पटवर्धन । जसले त्यहाँको ‘नेसनल फिल्म अवार्ड’देखि कैयौँ अन्तर्राष्ट्रिय अवार्ड हासिल गरेका छन् । उनका फिल्मले भारतीय समाजको सामूहिक चेतनालाई धर्मको नाममा कसरी हिंसात्मक बनाइँदै छ तथा त्यसका डोब कसरी प्रतिविम्बित भइरहेका छन् भनेर देखाउँछन् ।
पटवर्धनका ‘वेब्स अफ रेभ्युलुसन’ (१९७४), ‘प्रिजनर्स अफ कन्सेन्स’ (१९७८), ‘इन द नेम अफ गड’ (१९९२), ‘फादर, सन एन्ड होली वार’ (१९९५), ‘वार एन्ड पिस’ (२००२), ‘जय भीम कमरेड’ (२०१२) र ‘द वर्ल्ड इज फेमिली’ (२०२३) केही चुनिएका फिल्म हुन् । प्रस्तुत छ, उनै पटवर्धन काठमाडौँ आएका बेला रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :
- तपाईं आफ्नो व्यावसायिक जीवन सुरु गर्नुअघि अध्ययनका लागि अमेरिका जानुभयो । तर, अध्ययन पूरा नगरीकनै फर्किनुभयो । किन ?
म अध्ययनका लागि दुईपटक देश छाडेर बाहिर गएँ । स्नातक गर्न सन् १९७० मा अमेरिका गएको थिएँ । स्नातकोत्तर गर्न सन् १९७५ मा क्यानडा गएको थिएँ । मैले अमेरिकामा आफ्नो पढाइ पूरा गरेँ । त्यति बेला स्नातक अध्ययन गर्न छात्रवृत्ति पाएर अमेरिकाको बोस्टन पुगेको थिएँ । म ७० को दशकमा बोस्टन जाँदा त्यहाँ भियतनाम युद्धविरोधी अभियान चलिरहेको थियो । त्यो आन्दोलनले मलाई तान्यो । म त्यसमा सहभागी भएँ । आन्दोलनका क्रममा दुईपटक जेल पनि परेँ । मैले सन् १९७२ मा ग्र्याजुएसन सकाएको हुँ । त्यसपछि क्यालिफोर्नियाको किसान आन्दोलनसँग जोडिएर ६ महिना काम गरेँ । किसान नेता सिजर चावेजले त्यो आन्दोलनको अगुवाइ गरिरहेका थिए । म त्यसपछि भारत फर्किएँ ।
मलाई भारत फर्किने बेला फेरि अमेरिका आउन दिन्छन् कि दिँदैनन् भन्ने थाहा थिएन । किनभने, म पक्राउ परेको रेकर्ड त्यहाँको पुलिस अड्डाहरूमा थियो । तर, जति पनि पक्राउ परेका भियतनाम युद्धविरोधी अभियन्ता थिए, सरकारले उनीहरूको पक्राउ परेको रेकर्ड मेटाउने निर्णय गर्यो । मैले त्यही कारण फेरि भिसा पाएँ र अमेरिका गएँ । जे होस्, म सन् १९७२ मा भारत फर्किएर किशोर भारती नामको संस्थासँग मिलेर मध्यप्रदेशमा सामाजिक आन्दोलनको काम गर्न थालेँ । त्यसपछि बिहारमा ‘बिहार आन्दोलन’ सुरु भयो । म बिहार आएँ । बिहार आन्दोलनमा ४ नोभेम्बरका दिन र्याली आयोजना गरिएको थियो । र, आयोजकले सरकारी पक्षको तयारी हेरेर व्यापक दमन हुने अनुमान लगाए । उनीहरूले मलाई त्यो दमनको फोटो खिच्न अनुरोध गरे । म दिल्ली गएर एउटा साथीको क्यामेरा लिएर आन्दोलनमा फर्किएँ ।
हामीले पुरानो जमानाको सुपर ८ क्यामेराबाट सबै आन्दोलन सुट गर्यौँ । सुपर ८ बाट १६ मिलिमिटरभन्दा पनि आधामा सुट हुने गर्छ । त्यो भिडियो कतै देखाउन नमिल्ने खालको हुन्थ्यो । हामीले प्रोजेक्टरमा चलाएर फेरि सुट गर्यौँ । त्यसपछि मेरा मित्र प्रदीप किसनले किनेको सेकन्ड ह्यान्ड क्यामेराबाट पनि आन्दोलन सुट गर्यौँ । तर, त्यो क्यामेरा हातले घुमाएर सुट गर्ने खालको थियो । त्यो पनि जम्मा ३० सेकन्डको सट । हामीले अनेकौँ दुःखजिलो गरेर आन्दोलन सुट गरिरहेका थियौँ । फिल्म तयार हुने अवस्थामै थियो । त्यत्तिकैमा सन् १९७५ को संकटकाल लागू भयो । हाम्रा कैयौँ साथी पक्राउ परे । कैयौँ भूमिगत भए । यसले गर्दा हाम्रो फिल्म पनि भूमिगत हुन पुग्यो ।
हाम्रो समाजमा जुन मूल्यमान्यता छन् ती तपाईं–हामीले लुकाएर लुक्ने खालका छैनन् । हामी फिल्म बनाउँछौँ भने ती त त्यहाँ झल्किन्छन् । विश्वभर जुन प्रकारको अत्याचार र विभेद छ त्यो त फिल्ममा देखिन्छ–देखिन्छ ।
देशमा संकटकाल त लाग्यो तर हामीले के गर्ने ? हामीमाझ यो प्रश्न महत्त्वपूर्ण बनेर आयो । त्यसपछि हामी आन्दोलनका बेला खिचेका फुटेजहरूलाई जति सकिन्थ्यो मिलाएर भूमिगत ढंगले फिल्म देखाउँदै हिँड्न थाल्यौँ । एउटा प्रिन्टलाई चार टुक्रामा काटेर साना–साना रिल विदेश जाने साथीहरूसँग विदेश पठाइदियौँ । म त्यसपछि सन् १९७५ मा स्नातकोत्तर गर्न क्यानडा गएँ । हामीले ती सबै टुक्रा जम्मा गर्यौँ र त्यो फिल्म बल्ल तयार भयो । त्यो सिनेमा इन्दिरा गान्धीविरुद्ध संकटकालभरि भारतभर देखाइरह्यौँ ।
म संकटकाल हटेसँगै क्यानडाबाट फर्किएँ । मैले त्यति बेलाको पढाइ भने पूरा गर्न सकिनँ । आफ्नै मुलुक फर्किएर देशका कुना–कुनामा सिनेमा देखाउन लागें । मैले त्यस क्रममा के थाहा पाएँ भने संकटकालमा पक्राउ परेका सबै राजबन्दीलाई छाडिएको छैन । कैयौँलाई अझै नक्सलाइटको आरोपमा थुनिएको छ । त्यसपछि अर्को फिल्म बनाएँ– ‘प्रिजनर्स अफ कन्सेन्स’ । यो डकुमेन्ट्री जेलमा रहेका समाजवादी, वामपन्थी सबै खाले बन्दीमा समर्पित थियो ।
- तपाईंले वृत्तचित्र बनाउन थालेको पाँच दशकभन्दा बढी भयो । यसबीच फिल्म निर्माणमा कस्तो परिवर्तन आएको देख्नुहुन्छ ?
हामी पहिले सेल्युलोइडमा फिल्म सुट गथ्यौँ । पछि भिडियोको जमाना आयो । सेल्युलोइडभन्दा भिडियो केही सस्तो भयो । पहिलेको त महँगो थियो । फिल्मको जमानामा खिच्न, धुलाइ अनि छपाइ गर्न सबै महँगो पर्यो । भिडियोको जमानामा सजिलो भयो । भिडियोसँगै डिजिटल युग सुरु भयो । हामीले पहिले ‘हाई हिट’मा सुट गरिरहेका थियौँ । पछि ‘मिनी डीभी’मा सुट गर्न थाल्यौँ । डिजिटल युगमा त्यो केही पनि नचाहिने भयो । पहिलेभन्दा सस्तो र राम्रो पनि भयो । पहिले फिल्म सुट महँगो भएकाले के खिच्ने हो विचार गरेर मात्र सुट गथ्र्यौं ।
सुट गरेपछि रिल खेर नजाओस् भन्ने ध्याउन्न हुन्थ्यो । त्यसै सोचले मलाई क्यामेरा म्यान बनायो । कहाँ सुट गर्ने हो र कहाँ कट गर्ने हो भन्ने आफैँलाई राम्रोसँग थाहा हुन्छ भनेर मैले क्यामेरा चलाउन थालेँ । त्यति भएपछि रिल खेर जाँदैनथ्यो । तर, यी सबैका आआफ्नै कमजोरी र विशेषता छन् । तथापि, फिल्म बनाउनु र देखाउनु दुई भिन्नाभिन्नै कर्म हुन् । तपाईंले सिनेमा बनाइरहनुभएकै छ तर त्यसलाई कसैले देखाइरहेको छैन भने कुनै अर्थ भएन । म सिनेमा बनाउँछु पनि देखाउँछु पनि ।
तपाईं मेरा जुनसुकै सिनेमा हेर्नुस्, ती कुनैमा पनि विवाद नहुनुपर्ने हो । तर, ती सबैलाई विवादास्पद बनाइएको छ । मैले मेरा सबै सिनेमा संविधानको मर्मलाई आत्मसात् गरी बनाएको छु । तर, जसले संविधान नै मान्दैनन् उनीहरूले विवाद गर्ने गर्छन् ।
हामी पहिले त आफ्नै १६ मिलिमिटरको ठूलो रिल र प्रोजेक्टर बोकेरै हिँड्थ्यौँ । सिनेमा बनाउने र देखाउने दुवै काम आजका दिनमा सजिलो भएको छ । तर, पहिले गाउँ, टोल र सहरमा देखाउन जाँदा दर्शकमा जस्तो उत्सुकता हुन्थ्यो त्यो हिजोआज छैन । तिनताका सिनेमा नयाँ कुरा पनि थियो । आजका दिन सबैको घरमा टीभी छ । हातमा मोबाइल छ । तब पहिलेजसरी दर्शक भेला पार्न गाह्रो हुन थाल्यो । हिजोआज सबैभन्दा धेरै समय स्क्रिनमा बित्ने गर्छ । तर, हलमा गएर सिनेमा हेर्ने कोही छैन ।
- तपाईंको जस्तो समझ छ त्यस्तो व्यक्ति लेखक नबनेर कसरी फिल्म निर्माता बन्न पुग्नुभयो ?
हा... हा... हा... (हाँस्दै) खासमा पढाइमा मेरो त्यति धेरै ध्यान थिएन । भारतमा त लेखक बन्न पनि गाह्रो छ । पहिलो त साक्षरताकै समस्या छ । साक्षरहरूका लागि तपाईंले कुन भाषामा लेख्नुहुन्छ भन्ने दोस्रो प्रश्न छ । तपाईंले एउटा भाषामा लेखेको कुरा कति जनासम्म पुर्याउन सक्नुहुन्छ त ? तर, फिल्म भनेको अडियो–भिजुअल माध्यम भयो । यसले आममान्छेसँग कुरा गर्न सजिलो हुन्छ । यसका लागि साक्षरता चाहिँदैन । ए ! साँच्चै, मैले यो काम कुनै सुझबुझसाथ गरेको होइन । समयसँगै मलाई फिल्ममा रुचि बढ्दै जान थाल्यो । र, यही गर्न पुगियो ।
- तपाईंका अधिकांश सिनेमा विवादास्पद छन् । तपाईंले विवादित बनाउनुपर्छ भनेर बनाउनुहुन्छ वा बनाएपछि विवादित हुन्छ ?
तपाईं मेरा जुनसुकै सिनेमा हेर्नुस्, ती कुनैमा पनि विवाद नहुनुपर्ने हो । तर, ती सबैलाई विवादास्पद बनाइएको छ । मैले मेरा सबै सिनेमा संविधानको मर्मलाई आत्मसात् गरी बनाएको छु । तर, जसले संविधान नै मान्दैनन् उनीहरूले विवाद गर्ने गर्छन् । हामीले संविधानलाई अक्षरशः पालना गर्यौँ भने मेरा सिनेमामा विवाद गर्नुपर्ने कुनै ठाउँ भेटिने छैन । यति हुँदाहुँदै पनि मेरा सिनेमा प्रतिबन्धित हुने गरेका छन् । जसले मेरा सिनेमा प्रतिबन्धित गर्ने गर्छन् उनीहरू संवैधानिक छैनन् । विद्यमान सत्ताले आफ्नै संविधान र कानुनविरुद्ध काम गरिरहेको छ । वास्तवमा विवाद हुनुपर्ने थियो उनीहरूले बोकेको गैरसंवैधानिक आचारणलाई लिएर । तर, विवादित बनाउने गरेका छन् मेरा सिनेमालाई ।
हामीले यो त पुष्टि नै गरेर देखाएका छौँ । यसका लागि कैयौँ पटक आफ्नै सेन्सर बोर्डविरुद्ध संघर्ष गर्नुपर्यो । हामी कैयौँ पटक न्यायालय गएका छौँ । सर्वोच्च अदालतबाट दुइटा मुद्दा जितेका छौँ । हाम्रो एउटा संघर्ष बोर्डविरुद्ध, हामीले सर्टिफिकेट किन नपाउने भन्नेमा थियो । दोस्रो संघर्ष सिनेमा देखाउन पाउनुपर्छ भनेर थियो । हामीले दुःख गरेर बल्लतल्ल सिनेमा बनाउँथ्यौँ । बोर्डले सर्टिफिकेट दिन इन्कार गथ्र्यो । न्यायालयबाट मुद्दा जितेर बोर्डबाट सर्टिफिकेट पाउँथ्यौँ । तर, त्यसपछि प्रहरीले देखाउन दिँदैनथ्यो । हाम्रो सिनेमा जुन हलमा लाग्थ्यो त्यहाँ केही हुलहुज्जत गर्नेहरूले सिनेमाविरुद्ध नाराबाजी गर्थे । अनि प्रहरीले सुरक्षाको कारण देखाएर हाम्रै सिनेमामा रोक लगाइदिन्थ्यो ।
बोर्डबाट सर्टिफिकेट ल्याएर पनि सिनेमा देखाउन नपाउने त मिलेन भनेर हामी फेरि न्यायालय जान्थ्यौँ । खासमा भारतमा डकुमेन्ट्री फिल्मको वितरण प्रणाली छँदै छैन भन्दा हुन्छ । हलमा देखाउने वातावरण नभएपछि आफ्नो फिल्म कहाँ देखाउने त ? हामीलाई लाग्यो– यो फिल्म टीभीमा देखाइनुपर्छ । दूरदर्शन भारतको सरकारी च्यानल भएको र मेरा फिल्मले कैयौँ सरकारी पुरस्कार जितेको हुनाले यो यहीँबाट देखाइनुपर्छ भनियो । तर, दूरदर्शनले यस्तो फिल्म देखाउन मिल्दैन भन्यो । मैले दूरदर्शनविरुद्ध मुद्दा दायर गरेँ । यो मुद्दा सर्वोच्च अदालतसम्म गयो । उच्च र सर्वोच्चमा गरी मैले त्यस्ता ७ वटा मुद्दा जितेको छु ।
हामीले मुद्दा जितेपछि दूरदर्शनले हाम्रो फिल्म देखाउने भयो । त्यसमा पहिलो थियो– ‘बम्बे आवर सिटी’ । दूरदर्शनले फिल्म देखाउन त देखायो तर राति ११ बजे । म त्यसलाई लिएर फेरि अदालत गएँ । त्यति बेला मेरो जिकिर के थियो भने अदालतले दूरदर्शनलाई भनेपछि फिल्म त देखायो तर राति ११ बजे । त्यसैले अब यी फिल्म प्राइम टाइममा देखाइनुपर्छ । अदालतले मेरै पक्षमा निर्णय सुनायो । दूरदर्शनले भगत सिंहको विचारधारामा आधारित ‘उन मित्रों की नाम प्यारी’ अनि बाबरी मस्जिदबारे ‘इन द नेम अफ गड’ (राम के नाम) फिल्म प्राइम टाइममा चलायो । ‘राम के नाम’ बाबरी मस्जिद ढल्नुअघि सन् १९९१ मै बनेको थियो । तर, न्यायालयको निर्णय सन् १९९६ मा आयो । त्यसपछि मात्रै यो फिल्म प्रसारण भएको थियो ।
मेरो फिल्म बनाउनुको उद्देश्य पैसा कमाउनु होइन । मेरो उद्देश्य त जनतालाई वास्तविकतासँग साक्षात्कार गराउनु हो ।
‘फादर, सन एन्ड होली वार’ (पिता, पुत्र र धर्म युद्ध) प्रसारण गर्न १० वर्ष मुद्दा लड्नुपर्यो । भारतका प्रतिष्ठित वरिष्ठ अधिवक्ता प्रशान्त भूषणले सर्वोच्च अदालतमा यो मुद्दा लडेका थिए । त्यसपछि न्यायालय पुग्नुपरेको छैन । हामीले दूरदर्शनलाई ‘जय भीम कमरेड’ प्रदर्शनका लागि अनुरोध गर्यौँ । उसले त्यो फिल्म नै किन्यो । तर, अहिलेसम्म पनि प्रसारण गरेको छैन । हामी यसविरुद्ध पनि मुद्दा लड्दै छौँ । हाम्रो भनाइ के हो भने दूरदर्शनले हाम्रो फिल्म प्रदर्शन गर्नु नै थिएन भने नागरिकको करको पैसा किन यसमा खर्च गरियो ? राम्रो कामका लागि खर्च गरेको हो भने फिल्म प्रदर्शन गर्नुपर्यो । किनभने, मेरो फिल्म बनाउनुको उद्देश्य पैसा कमाउनु होइन । मेरो उद्देश्य त जनतालाई वास्तविकतासँग साक्षात्कार गराउनु हो ।
- उदार र लोकतान्त्रिक भनिएकै सरकारले तपाईंका फिल्म किन रोके ?
तपाईंले राम्रो प्रश्न गर्नुभयो । बीजेपीभन्दा पहिले कांग्रेस सत्तामा थियो । बीपी सिंह सरकारमा थिए । अर्थात् भारतमा जसले आफूलाई प्रगतिशील र धर्मनिरपेक्ष भन्छ उनीहरू सरकारमा थिए । तर, मेरो फिल्म त उनीहरूले पनि रोक लगाइरहेका थिए । खासमा के छ भने अधिकांश मानिस कुरा प्रतिशील र धर्मनिरपेक्षताको गर्छन् । तर, उनीहरू धर्मनिरपेक्ष हुँदैनन् । अरू त कुरा छाड्नुस् न, प्रणय रोयले पनि एनडीटीभीमा मेरो फिल्म प्रसारण गरेनन् । म अडानीले किन्नुअघिको एनडीटीभीको कुरा गर्दै छु । स्पष्ट भन्नुपर्दा यिनीहरू पहिले पनि डराउँथे । आज पनि डराउँछन् । अथवा यसै कुरालाई मीठो गरी भन्ने हो भने उनीहरू सबैका आफ्ना कर्पोरेट दायरा र सीमा थिए । हुन सक्छ, उनीहरूलाई हाम्रो फिल्म त्यो दायरा र सीमाबाहिरको लाग्दो हो । तर, तपाईंले मेरा सिनेमा हेर्नुभयो भने त्यहाँ त्यस्तो केही पाउनु हुन्न । जुन संविधानको दायराभन्दा बाहिर होस् । कहिलेकाहीँ कस्तो हुन्छ भने झूठको बोलवाला चलिरहेको बेला सत्य बोल्नु डरलाग्दो हुन जान्छ । तर, मलाई लाग्छ कि कसैले त सत्य बोल्नै पर्छ ।
- कांग्रेस र प्रगतिशीलहरूले तपाईंका फिल्म किन रोके त ?
उनीहरूको त्यस्तै हर्कतका कारण त भारत आज यो स्थितिमा छ । कांग्रेस र भारत जुन नाजुक अवस्थामा उभिएको छ त्यसको कारण नै उनीहरू कहिल्यै धर्मनिरपेक्ष हुन नसक्नु हो । आजको फासीवादी भारतको जग त्यति बेलै हालिएको रहेछ । बाबरी मस्जिदको शिलान्यास राजीव गान्धीको बेलामा भएको थियो । मेरो डकुमेन्ट्री ‘राम के नाम’मा पनि भनिएको छ– एकातर्फ उनीहरूले शाहबानो केसका माध्यमबाट मुस्लिम कानुन पैदा गरे । किनभने, उनीहरू त्यसैमार्फत मुस्लिम महिलामाथि अत्याचार गर्न चाहन्थे ।
न्यायालय लगाएर बाबरी मस्जिदमा मुस्लिमलाई रोकियो । हिन्दूलाई जान दिइयो । यी सधैँ पश्चगमनकै मोहरा हुन् । उनीहरू वास्तविकतामा प्रगतिशील कहिल्यै थिएनन् । त्यसैले त उनीहरू सफ्ट हिन्दूत्वको कुरा गर्छन् । यति भन्दै गर्दा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र कांग्रेसमा कुनै भिन्नता छैन भनेको होइन । आजको भारतको कुरा गर्ने हो भने सन् २०१४ पछि जे जति घटनाक्रम विकसित भएको छ त्यसले गर्दा मलाई नै न्यायालय जान डर लाग्छ । किनभने, न्यायालयमा राज्यको नियन्त्रण कायम छ । सर्वोच्चले कहाँसम्म भन्यो भने गणपतिको पूजा हामी पनि गर्छौं । त्यसैले नरेन्द्र मोदीलाई बोलाएर साथमा पूजा गर्दा राम्रो हुन्छ ।
हाम्रो देशमा बाबरी मस्जिदका विषयमा कस्तो फैसला सुनाउने भनेर आफूलाई सपनामा दीक्षा आयो भन्ने न्यायाधीश छन् । अर्थात् उनी फैसला के लेख्ने भनेर दुविधामा थिए । तर, सपनामा ‘कथित’ भगवान्ले दीक्षा दिएपछि उनलाई हिन्दूहरूको पक्षमा निर्णय सुनाउन कुनै दुविधा भएन । म पूर्वप्रधानन्यायाधीश धनञ्जय यशवन्त चन्द्रचुडको कुरा गर्दै छु । बाबरी मस्जिदको फैसलामा कुनै न्यायाधीशको हस्ताक्षर छैन । न्यायाधीशहरूले नै त्यो फैसलालाई अपनाउन सकेका थिएनन् । किनभने, उनीहरूलाई हामीले गलत गर्दै छौँ भन्ने थाहा थियो । तर, अवकाश हुने बेलासम्म त्यो फैसला मैले गरेको हुँ भनेर देखाउन उनलाई हिम्मत आयो । त्यसपछि उनले त्यस्तो फैसला लेख्न भगवान्ले राति सपनामा दीक्षा दिए भने । आजको धर्मनिरपेक्ष भारतको वास्तविक कथा यही हो ।
- अनि, तपाईंलाई डर लाग्दैन ?
विषाक्त विचारधाराले शासन गरिरहेको यथार्थबीच बाँच्न डर लाग्छ । मर्न डर लाग्दैन । यति घिनलाग्दो वातावरणमा यो सबै सहेर, हेरेर, भोगेर कसरी बाँच्ने होला भनी डर लाग्छ । प्यालेस्टाइनमा जे भइरहेको छ त्यो सबै हेर्न हामी अभिशप्त छौँ । त्यहाँ मात्रै होइन सिंगो संसारमा सबैतिर यस्तै भइरहेको छ । म आफ्नो देशलाई मात्र गाली दिन पनि चाहन्नँ । सिंगो दुनियाँकै रंगमञ्चमा सबैका अघिल्तिर प्यालेस्टाइनमा नरसंहार भइरहेको छ । सबैले त्यसलाई त्यसैगरी हुन दिइरहेका छन् । अमेरिकाले गरिरहेको छ भनेपछि कोही बोल्न सक्दैन ।
- तपाईंका सबै वृत्तचित्र सामाजिक आन्दोलनकै वरपर रहेर बुनेको देखिन्छ । किन ?
म खासमा दुर्घटनावश फिल्म मेकर बनेँ । मैले पहिलो सुटिङ अमेरिकामा पढ्दै गर्दा गरेको थिएँ । त्यो कहिल्यै फिल्म बन्न सकेन । खासमा भन्ने हो भने फिल्म मेकिङमा मेरो धेरै रुचि पनि होइन । व्यावसायिक फिल्ममा जसरी काम गर्ने पनि होइन । तर, के भन्न सकिन्छ भने मैले आफ्नो हिस्साको काम गर्दै गएँ । जीवनले मलाई डोर्याउँदै गयो ।
- तपाईंको पछिल्लो वृत्तचित्र ‘द वर्ल्ड इज फेमिली’ (सन् २०२३) हेर्दा लाग्छ कि आफ्नो परिवारका माध्यमबाट समाज देखाउने प्रयास गर्दै हुनुहुन्छ । तर, अचानक फेरि तपाईं सीएएको प्रदर्शनमा आइपुग्नुहुन्छ । र, त्यहाँ तिस्ता सितलवाड भाषण गर्दै छिन् । तपाईं आफ्नो वृत्तचित्रमा राजनीति किन घुसाउनुहुन्छ ?
म राजनीतिक प्राणी हुँ । तर, कुनै पार्टीको सदस्य होइन । यद्यपि, हाम्रो समाजमा जुन मूल्यमान्यता छन् ती तपाईं–हामीले लुकाएर लुक्ने खालका छैनन् । हामी फिल्म बनाउँछौँ भने ती त त्यहाँ झल्किन्छन् । विश्वभर जुन प्रकारको अत्याचार र विभेद छ त्यो त फिल्ममा देखिन्छ–देखिन्छ । म फिल्म बनाउनका लागि बनाउँदिनँ । न त त्यसबाट पैसा कमाउनका लागि बनाउने गर्छु । संसारभर जे भइरहेको छ त्यो देखाउन पाइयोस् भन्नका लागि फिल्म बनाउँछु । मेरा लागि फिल्म माध्यम हो ।
- भनेपछि तपाईं पहिले विषय छनोट गर्नुहुन्छ । तब त्यसमा वृत्तचित्र निर्माण गर्नुहुन्छ होइन त ?
म स्क्रिप्ट लेख्दिनँ । मेरो दिमागमा एउटा रफ आइडिया हुने गर्छ । त्यसमा मैले के कुरा कसरी समेट्छु भन्ने कोरिएको हुन्छ । प्रत्येक डकुमेन्ट्री मेकर सही समयमा सही ठाउँमा उभिन सक्नुपर्छ । साथै तपाईंको वरपर भइरहेको घटनाक्रमलाई तपाईंले कैद गर्नुपर्छ भन्ने ठान्छु । समाजमा जे भइरहेको छ म त्यसलाई पर्गेल्ने प्रयास गर्छु । सम्पादनका क्रममा फेला परेका विरोधाभासलाई देखाउने प्रयास गर्छु । माक्र्सवादी दृष्टिकोणबाट भन्ने हो भने यो ‘थेसिस एन्टी थेसिस’को कुरा हो । यसले तपाईंको आफ्नो समझलाई पनि परिपक्व बनाउँदै लैजान्छ । त्यसैले मेरा लागि फिल्म बनाउनु समाज र आफैंलाई पनि बुझ्ने प्रयास गर्नु हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा मृत भेटिएका बाबु छोराको शरीरमा चोट, हत्या भएको आशंका
-
बढ्यो सेयर बजार, परिसूचक २६१२ बिन्दुमा
-
एनपीएलमा उच्छृङ्खल व्यवहार देखाउनेमाथि कारबाही गर्न सांसद यादवको माग
-
ज्योतिषी सुरेशचन्द्र रिजाल अन्तर्राष्ट्रिय ज्योतिष शिरोमणिबाट सम्मानित
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
अर्याललाई कार्यवाहक सभापति बनाउने रास्वपाको तयारी