भारतले आफ्नो सबै खेल यूएईमा खेल्ने, यस्तो छ खेल तालिका
काठमाडौँ । लामो समयको बिबादपछि अन्ततः आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण ‘हाइब्रिड मोडल’ मै आयोजना हुने भएको छ । योसँग दुई चिर प्रतिद्वन्द्वी टोली भारत र पाकिस्तानबिचको खेल खेलाइने स्थलको पनि टुंगो लागेको छ ।
च्याम्पियन्स ट्रफीको नवौँ संस्करण सन् २०२५ को फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । तर, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने अडान लिएपछि बिबाद सुरु भएको थियो ।
सोही कारणले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले च्याम्पियन्स ट्रफीको खेल तालिकामा पनि सार्वजनिक गर्न सकेको थिएन । तर, ‘हाइब्रिड मोडल’ को टुंगो लागेसँगै अन्य बिबाद पनि समाधार भएको छ ।
आगामी च्याम्पियन्स ट्रफीमा पाकिस्तान र भारतबिचको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलिने छ । समूहगत चरणको उक्त वहुप्रतिक्षित भिडन्त फेब्रुअरी २३ तारिखमा हुनेछ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र यूएईका वरिष्ठमन्त्री शेख नहयान अल मुबारकबिच पाकिस्तानमा भेटवार्ता भएपछि ‘न्यूट्रल भेन्यू’ को टुंगो लागेको हो ।
मन्त्री शेख नहयान अल मुबारक एमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पीसीबीका प्रवक्ता आमिर मीरले पनि आगामी च्याम्पियन्स ट्रफीका लागि यूएईलाई ‘न्यूट्रल भेन्यू’ का रुपमा चयन गरिएको जानकारी दिएका छन् ।
च्याम्पियन्स ट्रफीमा सहभागी आठ टोलीलाई दुई समूहमा विभागन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, भारत, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका परेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक पाकिस्तान र न्युजिल्यान्डबिच १९ फेब्रुअरीमा कराँचीमा हुनेछ । भारतले आफ्नो पहिलो खेल फेब्रुअरी २० तारिखमा बंगलादेशसँग खेल्नेछ । न्युजिल्यान्ड र भारतबिचको खेल भने मार्च २ तारिखमा खेलिने छ ।
भारतले आफ्नो सम्पूर्ण खेल यूएईमै खेल्नेछ । यदि, भारत प्रतियोगिताको सेमिफाइनलमा पुग्यो भने पहिलो सेमिफाइनल खेल पनि यूएईमै हुनेछ । भारत सेमिफाइनअघि नै उपाधि होडबाट बाहिरिएमा त्यसपछिका सबै खेल पाकिस्तानमै खेलाइने छ ।
भारत पहिले नै उपाधि होडबाट बाहिरिएको अवस्थामा प्रतियोगिताको फाइनल खेल मार्च ९ तारिखमा पाकिस्तानको लाहोरमा खेलाइने छ । पाकिस्तानले समूहगत चरणको दोस्रो खेल फेब्रुअरी २७ तारिखमा रावलपिन्डीमा खेल्नेछ ।
समूह ‘बी’ का सबै खेल लाहोर, कराँची र रावलपिन्डीमा हुनेछ । सेमिफाइनल खेल फाइनल खेलका लागि रिजर्व डे (अतिरिक्त दिन) को ब्यवस्था पनि गरिएको छ ।
आईसीसीको पछिल्लो निर्णय अनुसार, सन् २०२४ देखि सन् २०२७ सम्म आईसीसीको ब्यानरमा आयोजना हुने प्रतियोगिताहरुमा भारतले पाकिस्तानमा हुने प्रतियोगिताको आफ्नो सबै खेल र पाकिस्तानले भारतमा आयोजना हुने प्रतियोगिताको आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नेछन् ।
अब सन् २०२५ मा भारतमा आयोजना हुने महिला एकदिवसीय विश्वकपमा पाकिस्तानले पनि आफ्नो सबै खेल ‘न्यूट्रल भेन्यू’ मा खेल्नेछ । यसका अतिरिक्त, सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० पुरुष विश्वकपमा पनि पाकिस्तानले आफ्नो खेल श्रीलंकामा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलम्पिक कमिटीको विवाद उत्कर्षमा : गृहलाई खेलकुद मन्त्रालयले पठाएको पत्रमा के छ ?
-
जुलाई–सेप्टेम्बरबिच बढेन बेलायतको आर्थिक वृद्धिदर
-
मुग्लिङ–नौबिसे सडकखण्ड आंशिक बन्द गरेर धमाधम काम, तस्बिरहरु
-
सामाजिक सञ्जाल प्रयोगमा कठोर बन्दै दलहरू
-
ओलम्पिक कमिटीको कार्यालयमा प्रहरी परिचालन
-
सर्वोच्चमा सोमबार ४१ प्रतिशतभन्दा बढी मुद्दा स्थगितको सूचीमा, यस्तो छ कारण