सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’

सोमबार, ०८ पुस २०८१, ०९ : ५१
सोमबार, ०८ पुस २०८१

काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा भ्रमणकारी टोली पाकिस्तानले ‘ह्वाइट वास’ गरेको छ । जोहानेशबर्गमा आइतबार राति सम्पन्न तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३६ रनले हरायो । 

दक्षिण अफ्रिकालाई एकदिवसीय शृङ्खलामा उसैको घरेलु मैदानमा कुनै पनि टोलीले ह्वाइट वास गरेको यो पहिलो अवसर हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर तीन सय आठ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको घरेलु टोली दक्षिण अफ्रिकाले भने ४२ ओभरमै अलआउट हुनुअघि दुई सय ७१ रनमात्र बनाउन सक्यो । 

पाकिस्तानको जितमा ओपनर ब्याट्सम्यान सइम ऐयुबले शतकीय योगदान गरे । उनले एक सय एक रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ९४ बलको सामना गरी दुई छक्का र १३ वटा चौका पनि हिर्काए । 

पाकिस्तानको जितमा अन्य दुई ब्याट्सम्यानले पनि अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका पूर्वकप्तान बाबर आजमले ५२ रन बनाए । उनले ७१ बलको सामना गरी सात चौका पनि प्रहार गरे ।

चौथो नम्बरका ब्याट्सम्यान मोहम्मद रिजवानले पनि टोलीको खातामा ५३ रन थपे । टोलीका कप्तान समेत रहेका रिजवानले ५२ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । सलमान अघाले पनि ३३ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ४८ रन बटुले । 

तैयब ताहिर २८ रन बनाउँदै पभेलियन फर्किए । पाकिस्तानले अतिरिक्त रूपमा पनि १७ रन पायो । दक्षिण अफ्रिकाका बलर कागिसो राबडाले तीन विकेट लिए । मार्को जान्सेन र ब्योर्न फोर्टुइनले दुई–दुई विकेट हात पारे । 

जवाफी ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि विकेटकिपर ब्याट्सम्यान हेनरिच क्लासेनले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ८१ रन बनाए । यस क्रममा उनले केवल ४३ बलको सामना गरी दुई छक्का र १२ चौका पनि हिर्काए ।

कोर्बिन बोशले पनि अविजित ४० रन बनाए । पाकिस्तानी टोलीका बलर सुफियन मुकिमले चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै ५२ रन खर्चिए । साहिन शाह अफरिदी र नसिम शाहले पनि दुई–दुई विकेट हात पारे ।

यसअघि, पर्लमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानी टोली तीन विकेटले विजयी भएको थियो । केप टाउनमा खेलिएको दोस्रो खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ८१ रनले पराजित गरेको थियो । 

त्यसअघि खेलिएको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा दक्षिण अफ्रिका २–० ले विजयी भएको थियो । पहिलो र दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो भने तेस्रो खेल अनिर्णीत रूपमा सकिएको थियो । 

अब दक्षिण अफ्रिका र पाकिस्तानबिच दुई टेस्टको शृङ्खला खेलिने छ । पहिलो टेस्ट आगामी बिहीबार सेन्चुरियनमा सुरु हुनेछ । दोस्रो टेस्ट भने जनवरी ३ तारिखमा केप टाउनमा सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप