चुरियामाई सुरुङ जीर्णोद्धारपछि सर्वसाधारणका लागि आज खुल्दै
मकवानपुर । दक्षिण एसियाकै पहिलो भनिएको ‘चुरियामाई सुरुङ मार्ग’ सर्वसाधारणका लागि खुल्ने भएको छ । जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज सोमबार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएपछि सुरुङमार्ग सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुल्ने भएको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्ग बागमती प्रदेश सरकारले सोमबार एक औपचारिक कार्यक्रमबिच हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ । प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनः निर्माण गरेपछि सुरुङ सञ्चालनको व्यवस्थापन कसले गर्ने भन्ने अन्योल थियो ।
समयमै कार्यविधि नबन्दा र सञ्चालनको लागि तदारुकता नदेखाउँदा सुरुङमार्ग जीर्णोद्धार भएको ८ महिनापछि खुल्न लागेको हो । अहिले हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्ने सहमति भएपछि सर्वसाधारणका लागि खुला गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करराज पोखरेलले जानकारी दिए ।
सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १२०, विद्यार्थीलाई प्रतिव्यक्ति २०, र ५ वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क गरिने हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले जानकारी दिइन् । हस्तान्तरण समयमै नहुँदा सर्वसाधारणको लागि खुला गर्न ढिलाइ भएको बताउँदै उनले अब हस्तान्तरणसँगै सर्वसाधारणको अवलोकनका लागि ऐतिहासिक सुरुङमार्ग खुला हुने मेयर लामाको भनाई छ ।
२०७९ साल वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको १९८ मिटर लम्बाइको सुरुङ मार्गको पुनः निर्माणको काम सम्पन्न हुँदासम्म करिब २२५ मिटर पुगेको छ । ऐतिहासिक महत्वको सुरुङ मार्ग पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित बागमती प्रदेश सरकारले यसको जीर्णोद्धारको काम थालेको थियो ।
प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनः निर्माणको लागी कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौँलाई जिम्मेवारी दिएको थियो । सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनः निर्माण सम्पन्न भएको छ ।
- सुरुङ मार्गको ऐतिहासिक महत्त्व
‘चुरियामाई सुरुङ’ मार्गको डिजाइन र निर्माण कार्य इन्जिनियर बिग्रेडियर कर्णेल डिल्लीजंग थापाको नेतृत्वमा विक्रम संवत् १९७४ सालमा सुरु भएको थियो । तत्कालीन समयमा सुरुङको निर्माण कार्यका लागी दुई वर्ष लागेको बताइन्छ ।
काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसिया कै पहिलो भएको स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।
तत्कालीन श्री ३ प्रधानमन्त्री चन्द्र शमशेरको आदेशमा सुरुङमार्ग निर्माणमा नेपाली सेना खटिएका थिए । ७ सय मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्गबाट मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो ।
तत्काल भारतको रक्सौलबाट बारा जिल्लाको अमलेखगन्जसम्म रेल मार्ग भएर आउँजाउ गर्न र मालसामान ओसारपसार गर्न सकिने भए पनि अमलेखगन्जबाट मकवानपुरको हेटौँडा र भीमफेदीसम्म आइपुग्ने सडक मार्गलाई जोड्न सुरुङ मार्ग निर्माण गरिएको थियो ।
हाल मकवानपुर र बारा जिल्लाको सिमाना हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित चुरे पहाड छिचोल्ने गरी उक्त सुरुङ मार्ग तत्कालीन समयमा उपलब्ध प्रविधिसँगै माटो, इँटा, चुना र सुर्ती प्रयोग गरी निर्माण गरिएको थियो ।
विक्रम संवत् २०२०–०२१ सालसम्म मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाई सुरुङ मार्ग भएर जिप, लहरीलगायतका साना सवारी आवतजावत गर्ने गरेका थिए । नेपालमा चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको स्विस नागरिक टोनी हेगनले आफ्नो पुस्तकमा उल्लेख गरेकाले चुरियमाई सुरुङ मार्ग नै एसियाको पहिलो सुरुङ मार्ग भएको पुष्टि हुन्छ ।
पूर्व–पश्चिम राजमार्ग निर्माण हुनु अघि भारतबाट आयातित सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने र ती सामग्रीहरू भीमफेदीबाट मानिसले बोकेर काठमाडौँ पुर्याउने गरिन्थ्यो । तत्कालीन समयमा ‘चुरियामाई सुरुङ मार्ग’ काठमाडौँलाई तराईसँग जोड्ने प्रमुख नाकाको रूपमा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात
-
निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
क्रियाशील सदस्यहरूले नै क्रियाशील सदस्यताको महत्त्व नै बुझाउन सकेनन् : उपप्रधानमन्त्री सिंह
-
एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला
-
पाँच महिनामा एक अर्बभन्दा बढीको सिमेन्ट भारततर्फ निर्यात