सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
कृषि औजार कारखाना

किताब बेचेरै भए पनि कृषि औजार उत्पादन गर्ने महावीर पुनको धोको

सोमबार, ०८ पुस २०८१, ०९ : ००
सोमबार, ०८ पुस २०८१

वीरगन्ज कृषि औजार कारखाना अबको पाँच महिनाभित्र कृषि मेसिन तथा औजारहरूको व्यावसायिक उत्पादन गर्ने तरखरमा छ ।

२९ वर्षदेखि बन्द अवस्थामा रहेको कृषि औजार कारखाना सञ्चालनको जिम्मेवारी सरकारले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिएपछि हाल परीक्षणकाल अन्तर्गत केही सामग्री उत्पादन भएको छ ।

यद्यपि, अहिलेसम्म कृषि औजार कारखानाले राम्रोसँग गति लिइसकेको छैन । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख रहेका सामाजिक अभियन्ता महावीर पुनसँग कृषि औजार कारखानाको अवस्थाका बारेमा रातोपाटीका लागि अली असगरले कुराकानी गरेका छन् । प्रस्तुत छ, महावीर पुनसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • वीरगन्ज कृषि औजार कारखाना चलाउने अभियानको काम कहाँसम्म पुग्यो ? अहिलेसम्म के–के काम भयो ?

सुरुमा हामीले सरसफाइको काम गर्‍यौँ । लामो समयदेखि बन्द रहेको कारखानामा सरसफाइ गर्न केही समय लाग्यो । यद्यपि वीरगन्जका केही क्याम्पस र हेल्पिङ ह्यान्ड्सका कारण हामीलाई सरसफाइको काममा धेरै सहज भयो ।

त्यसपछि मर्मत सम्भारमा लामो समय खर्चिनु पर्‍यो । करिब एक वर्ष त मर्मत सम्भारमै लाग्यो । अहिले मर्मत सम्भारको कार्य सकिएको छ । अब कारखानाबाट पहिलो चरणमा केही उत्पादन हुन थालेको छ ।

  • पहिलो चरणको उत्पादन भनेको कस्तो हो ?

पहिलो चरणको उत्पादन भनेको हामीले परीक्षणकालको उत्पादनलाई भनिरहेका हौँ । परीक्षणकालमा किसानका लागि केही सामान उत्पादन गरेर ती सामानको गुणस्तर तथा बजारको अवस्थाबारे रिसर्च गरिरहेका छौँ । त्यसमा सल्लाह–सुझावसमेत लिने काम भइरहेको छ ।

यो परीक्षणकालीन उत्पादनमा सफलता मिल्यो भने त्यसलाई बजारबाट आएको सुझाव अनुरुप थप परिमार्जन गरेर हामीले ठुलो परिमाणमा उत्पादन गर्ने लक्ष्य लिएका छौँ । हामीले कारखानाबाट अहिले परीक्षणकालमा लगभग १५ किसिमका औजार उत्पादन गरिरहेका छौँ । उत्पादित ती सामग्रीप्रति किसानको धारणा के छ र परिमार्जन गर्नुपर्ने भए के–के परिमार्जन गर्नुपर्छ भनेर हामी अनुसन्धान गरिरहेका छौँ ।

  • उसो भए परीक्षणकाल कहिलेसम्म रहन्छ ? बजारमा तपाईंहरू कहिलेदेखि आफ्नो उत्पादन पुर्‍याउन थाल्नुहुन्छ ?

हामीले सरकारसँग सम्झौता गरेर लिएको भर्खरै २ वर्ष पुग्न लागेको छ । यही अवधिमा मर्मत सम्भारदेखि लिएर अन्य काम हामीले गर्नुपर्‍यो । तर यसका बाबजुद पनि हामीले उत्पादन थालेका छौँ ।

अबको करिब ५/६ महिनाभित्र हामीले कृषि औजार कारखानाबाट मेसिन तथा औजारहरू उत्पादन गरेर बजारमा पुर्‍याउने लक्ष्य लिएका छौँ । त्यो समयावधि हाम्रो ‘बटमलाइन’ हो । यही अवधिभित्र हामी बजारमा आफ्नो उत्पादनको बिक्री थाल्छौँ ।

  • कृषि औजार कारखाना चलाउन सरकारले कति सहयोग गरेको छ ? सञ्चालनका लागि कतिको लागत लाग्छ भन्ने केही ‘रिसर्च’ भएको छ ?

सरकारसँग सम्झौता भएको यो माघमा २ वर्ष पुग्दैछ । यो अवधिमा मर्मत सम्भार तथा अन्य खर्च गरेर लगभग सवा एक करोड रुपैयाँ खर्च भइसकेको छ । तर अहिलेसम्म एक रुपैयाँ पनि सरकारले सहयोग गरेको छैन । सबै खर्च आविष्कार केन्द्रले बेहोर्नु परेको छ ।

हामीलाई काहीँबाट कुनै किसिमको न अनुदान आएको छ, न त सहयोग नै पाइएको छ । सुरुमा सरकारले एक करोड रुपैयाँ ऋण दिन हामीलाई पैसा पठायो । त्यो पनि केही प्रतिशत ब्याजमा । सरकारले ब्याजमा पैसा दिने भनेपछि त्यो ऋण हामीले लिएनौँ । पछि त्यो फिर्ता भएर गयो । योबाहेक कुनै किसिमको आर्थिक सहयोग प्राप्त भएको छैन ।

जहाँसम्म लागतको कुरा छ, यो बारेमा हाम्रो टीमले धेरै ‘रिसर्च’ गरेको छ । जसअनुसार तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि हामीसँग कृषि औजार कारखाना चलाउन कति लाग्छ भनेर सोध्नुभएको थियो । त्यही बेला हामीले भनेका थियौँ– पूर्णरूपमा सञ्चालन गर्न २५ करोड रुपैयाँभन्दा बढी लाग्छ । अहिलेसम्मको अवस्था हेर्दा कृषि औजार सञ्चालनका लागि २५ करोडभन्दा बढी रकम चाहिन्छ । यसको हामीले सबै खाका नै तयार पारेका छौँ ।

  • अहिलेसम्म कतैबाट सहयोग नआएको भन्दै हुनुहुन्छ, अनि यति ठुलो रकम लागत खर्च कसरी जुटाउने सोच्नुभएको छ ?

सुरुसुरुमा आर्थिक समस्याले हामीलाई पक्कै अप्ठ्यारो भएको थियो । अहिले भने सुरुकोजस्तो आर्थिक समस्या छैन । हो, सरकारले सहयोग गरिदिएको भए चाँडै नै सफलता मिल्थ्यो । तर सरकारले सहयोग नगर्दा हामीलाई निकै समस्या भयो । त्यसपछि हामीले पनि आविष्कार केन्द्रबाट एउटा रणनीति बनायौँ । त्यो रणनीति भनेको किताब बेच्नु थियो । मैले लेखेको किताब बेचेर अहिले धेरै पैसा जम्मा भइसकेको छ । अब कारखाना चलाउन त्यति समस्या आउँदैन ।

  • किताब बेचेर कारखाना चलाउन सकिन्छ ? अहिलेसम्म कति किताब बेचिसक्नु भयो ?

किताब बेचेरै म कारखाना चलाएर देखाउँछु । मलाई पूर्णरूपमा विश्वास छ । त्यसअनुसार म सफल पनि हुँदै गइरहेको छु । अहिलेसम्म मैले डेढ लाखको संख्यामा किताब बेचिसकेको छु । यो भनेको धेरै हो ।

तर यति बेचेरमात्र पनि हामीलाई चाहिएको रकम जुट्दैछ । अझ धेरै किसाब बेच्नु पर्छ । त्यसकारण नेपालको हरेक कुनाकाप्चामा आफ्नो किताब बेच्ने लक्ष्य लिएको छु । त्यसबाट आएको पैसाले कारखाना सञ्चालन गरेर छाड्छु । अहिलेसम्म ३८ वटा जिल्लामा म आफैँ पुगेर किताब बेचेको छु । यो अभियानमा जनताको धेरै सहयोग पाइरहेको छु । सबैले मेरो किताब खरिद गरिरहेका छन् । त्यसैले त झण्डै १० करोड रुपैयाँको किताब बेचिसकेको छु ।

अब बाँकी ३९ जिल्लामा पुगेर डेढ लाख किताब बेच्नु छ । यसरी ७७ जिल्लामा पुगेर किताब बेचेर २० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य छ । तीन लाखभन्दा बढी किताब बेच्नु छ । तर जे भए पनि म निकै खुसी छु । कारण– किताब बेचेर कारखाना चलाउने सपना साकार हुँदैछ ।

  • कारखाना सञ्चालन गर्दाका केही अप्ठ्यारा सम्झिनु हुन्छ ? किताब बेच्न पनि त्यति सहज भएन होला, कस्तो अनुभव छ ?

कारखाना सञ्चालन गर्न आर्थिक समस्या ‘मेजर’ कुरा हुन् । तर त्यो समस्या खासै आएन । अहिले हामीलाई खासगरी दक्ष कर्मचारी पाउन समस्या भइरहेको छ । सिप भएको दक्ष कर्मचारी पाउन मुस्किल भइरहेको छ ।

नेपाली युवा जनशक्ति रोजगारीका लागि विदेश गइरहेका छन् । ती जनशक्तिलाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु पनि हाम्रो उद्देश्य हो । सुरुवातको चरण भएकाले कतिपयलाई विभिन्न आशङ्का पनि हुन सक्छ । त्यो आशङ्कालाई चिर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने अवस्था सिर्जना गर्नुपर्छ ।

हामीलाई अहिले दक्ष जनशक्तिको खाँचो छ, जसको खोजी गरिरहेका छौँ । तै पनि पाउन मुस्किल भइरहेको छ ।

अर्को मैले सम्झिनै पर्ने विषय के हो भने म किताब बेच्ने सिलसिलामा धेरै जिल्ला पुगे । २६७ दिनदेखि किताब बेचिरहेको छु । यो दौरान धेरै ठाउँमा राम्रो सहयोग पाएँ । तर मधेसमा खासै किसाब बिक्री भएन । जबकि, मधेसमै कारखाना सञ्चालन गर्नका लागि मैले आफ्नो किताब बेचिरहेको हो । मधेसका हरेक जिल्लामा पुगेँ, तर लक्ष्य अनुरुप मधेसमा किताब बिक्री भएन । यसबाट म आफैँ चकित पर्ने गरेको छु ।

स्थानीय सरकारले सहयोग गरिदियो भने मेरो अभियानले मूर्तरूप लिन्छ, तर अहिलेसम्म कसैले त्यसअनुसार स्थानीय सरकारले तदारुकता देखाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप