परीक्षणकालमै अल्झियो कृषि औजार कारखाना
वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर–१४ स्थित कृषि औजार कारखाना कुनैबेला कृषि औजार उत्पादनमा अब्बल थियो । तर राजनीतिक हस्तक्षेपका कारण २०५२ सालदेखि यो कारखाना थला पर्यो ।
लामो समयदेखि बन्द रहेर खण्डहरमा परिणत भएको कृषि औजार कारखानामा दुई वर्ष यता चहलपहल देखिए पनि अपेक्षा अनुसार कामले गति लिन सकेको छैन । ०७९ सालको माघ महिनादेखि नेपाल सरकारसँग सम्झौता गरेर राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालनका लागि जिम्मेवारी लिएको यो कारखानाले केही कृषि औजार र यन्त्र उत्पादन गरेको छ ।
यद्यपि, उत्पादित सामग्री अहिले परीक्षणकालमै रहेको कारखानाले जनाएको छ । ती सामग्रीको व्यावसायिक उत्पादन थाल्न रकम अभाव भएको बताइएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कारखाना सञ्चालनका लागि रकम जुटाउन भन्दै विभिन्न जिल्लामा आफ्नो पुस्तक बिक्री गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।
उत्पादित सामग्रीबारे प्रयोगकर्ताको प्रतिक्रिया बुझेर परिमार्जन गर्नुपर्ने भएमा आवश्यक परिमार्जनसहित व्यावसायिक उत्पादन थाल्ने योजना रहेको आविष्कार केन्द्रका पदाधिकारी बताउँछन् । त्यतिन्जेलसम्म आर्थिक स्रोतको जोहो गरिने उनीहरूको भनाइ छ ।
झण्डै २९ वर्षदेखि बन्द कृषि औजार कारखाना अहिले व्यावसायिक उत्पादनको सँघारमा पुगे पनि उत्पादित सामान कसरी बजारमा लैजाने र ती सामानले बजारमा प्रतिस्पर्धा गर्नुपर्ने विदेशी उत्पादनको अवस्थाबारे अहिलेसम्म लेखाजोखा भइसकेको छैन ।
कारखानामा दैनिक करिब ३० जनाले काम गरिरहेको बताइन्छ । यद्यपि, अहिले दैनिक रूपमा सामान उत्पादन नभएको स्रोत बताउँछ । कारखानामा काम गर्नेहरूका लागि कारखाना परिसरमै खाना पकाएर खानेदेखि बस्नेसमेत व्यवस्था गरिएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालनको जिम्मेवारी लिएको करिब २ वर्षमै कृषि औजार कारखाना ९० प्रतिशत चल्ने अवस्थामा पुगिसकेको आविष्कार केन्द्रका प्रोजेक्ट प्रमुख रितेश देवले बताए । उनका अनुसार अहिले कारखानामा मर्मत सम्भारको काम लगभग सकिएको छ भने केही ‘वायरिङ’को काममात्रै बाँकी छ । त्यो पनि अबको २/३ महिनामा पूरा हुने उनले बताए ।
६० वर्ष पुराना मेसिन मर्मतसम्भार गरेर उत्पादनको परीक्षणकालमा समेत पुगिसक्नुलाई ठुलो उपलब्धिका रूपमा हेरिएको देव बताउँछन् । करिब ५ महिना अगाडिदेखि कारखाना उत्पादन प्रक्रियामा गइसकेको उनको भनाइ छ । परीक्षणकालको अवधिमा आफूहरूले करिब २० हजारको सामान पनि बेचिसकेको उनले बताए ।
देवका अनुसार अहिले बजारीकरणको कुनै ठोस योजना बनिसकेको छैन । उनले भने, ‘सुरुमा हामीले उत्पादनलाई नै ध्यान दिइरहेका छौँ । यसमा सफलता पाइसकेपछि हामी पहिलो चरणमा आफैँ केन्द्रबाट सामान बेचबिखन गर्छौँ । राम्रो परिमाणमा उत्पादन हुन थालेपछि त्यसको लेखाजोखा गरेर केन्द्रीय समितिले थप निर्णय गर्नेछ ।’
अहिलेसम्म यो कारखानामा करिब साढे २ करोड रुपैयाँ खर्च भइसकेको राष्ट्रिय आविष्कार केन्द्रले जानकारी दिएको छ । कारखानामा मर्मत सम्भार तथा अन्य काम लागि ८ इन्जिनियरसहित २२ जना प्राविधिक टोली खटिएका छन् । केही कर्मचारी कृषि कारखानामै बस्छन् भने केही घरबाट आवतजात गर्छन् । यी कर्मचारीको काम भनेको पुराना मेसिन मर्मत गुर्नको साथै नयाँ औजारहरू उत्पादन गर्नु हो ।
सुरुका दिनमा यी कर्मचारीले कारखानाको सरसफाइ गरेका थिए । त्यसपछि सञ्चालनको लागि लागत अनुमान तयार पारेका थिए । ‘कारखाना सञ्चालनका लागि २५ करोड रुपैयाँ आवश्यक रहेको लागत अनुमान तयार पारिएको थियो,’ राष्ट्रिय आविष्कार केन्द्रका प्रोजेक्ट प्रमुख देवले भने, ‘तर सरकारले त्यो रकम उपलब्ध गराउन चासो देखाएन । त्यसपछि हाम्रो संस्थाले महावीर पुनको किताब बेचेर कारखाना चलाउने निष्कर्ष निकाल्यो । त्यही बमोजिम अहिले हामी चलिरहेका छौँ ।’
यही किताब बेचेर कर्मचारीको तलब, मेसिन मर्मत तथा नयाँ औजारहरूको उत्पादनको काम भइरहेको देवको भनाइ छ । उनले भने, ‘सुरुको चरणमा कम कर्मचारी राखेका थियौँ, तर अहिले ८ जना त इन्जिनियर मात्रै छन् । २२ जना अन्य प्राविधिक छन् । सबैलाई यही राखेर दक्ष बनाएका हौँ, तालिम दिएका छौँ ।’
देवका अनुसार सरकारले अहिलेसम्म कारखाना सञ्चालनका लागि एक रुपैयाँ पनि बजेट दिएको छैन । राष्ट्रिय आविष्कार केन्द्रले नै पुँजी जुटाएर अहिलेसम्मको काम गरेको उनले बताए ।
कारखाना सरसफाइ, मर्मत, सम्भार तथा सञ्चालन गर्न १० वर्षका लागि सरकारले लिखित सम्झौता गरेर राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको हो । १० वर्षको अवधिमा कारखाना सञ्चालनका लागि आर्थिक, प्राविधिक व्यवस्थापन, सञ्चालन, बिक्री, वितरण केन्द्रले नै गर्ने र नाफा हुन थालेपछि नाफाको ५० प्रतिशत रकम सरकारलाई बुझाउनुपर्ने सम्झौतामा उल्लेख छ ।
अप्रेसनल र म्यानेजमेन्ट पक्ष राष्ट्रिय आविष्कार केन्द्रको जिम्मा रहने गरी सरकारले सम्झौता गरेको छ । सम्झौतामा भनिएको छ, ‘आर्थिक, प्राविधिक व्यवस्थापन, सञ्चालन, बिक्री, वितरण केन्द्रले नै गर्नुपर्ने हुन्छ । नाफा हुन थालेपछि नाफाको ५० प्रतिशत रकम सरकारलाई दिनुपर्छ ।’
कारखाना सञ्चालनका लागि सरकारले एक करोड रुपैयाँ ऋणमा दिने भनेको थियो । ८/१० प्रतिशत ब्याजमा उक्त ऋण सरकारले दिने भनेपछि आविष्कार केन्द्रले त्यसलाई अस्वीकार गरेको देव बताउँछन् । ऋण लिएर काम गर्ने आफूहरूको नीति नभएको देवको भनाइ छ ।
- के–के उत्पादन भइरहेको छ ?
कृषि औजार कारखानामा अहिले मर्मत सम्भारको कार्यसँगै परीक्षणकालका लागि केही मेसिन तथा औजारहरूसमेत उत्पादन गर्न थालेको छ । करिब पाँच महिना पहिलेदेखि कारखानाले किसानका लागि १४ प्रकारको मेसिन तथा औजार परीक्षणकालका लागि उत्पादन गरेर बजारमा ल्याइसकेको छ ।
कारखानाभित्र रहेका झण्डै ८० वर्ष पुराना मेसिनले कुटो, कोदालो, कैँची, बेल्चा, साबेललगायतका १३–१४ प्रकारका औजारहरूको परीक्षण उत्पादन गरेको देवले बताए ।
केन्द्रका अनुसार कारखानाले केराको फाइबर निकाल्ने मेसिन, गोबर पेल्ने मेसिन, धान काट्ने मेसिन, धान रोप्ने मेसिन, धान झार्ने मेसिन, आलु गोड्ने/रोप्ने मेसिन, कल्टीभेटर, थ्रेसर, कोदो काट्ने थ्रेसर, बिरुवा रोप्ने औजारसहितका मेसिनहरू परीक्षणकालका लागि उत्पादन गरिसकेको छ ।
योबाहेक हेभी मेसिनहरू पनि उत्पादनको तयारीमा जुटेको राष्ट्रिय आविष्कार केन्द्रले जानकारी दिएको छ । केन्द्रका प्रमुख देवले भने, ‘अहिले हामीसँग बजेट अभाव छ, त्यही भएर आधुनिक मेसिनहरू खरिद गर्न सकेका छैनौँ । पैसा भएपछि हामीले चाइना र भारतलाई आफ्नो बजार बनाउने गरी गुणस्तरीय सामान उत्पादन गर्नेछौँ ।’
यसअघि यही कारखानाले भने ट्रयाक्टरको टेलर, थ्रेसर, पम्पसेट, कुटो, कुदालो, ह्यारी, विल ब्यारेल (गाढा) बोरिङसहितका मेसिन तथा औजारहरू उत्पादन गर्थ्यो ।
- के–के छन् चुनौती ?
कारखाना सञ्चालनमा आर्थिक समस्यासँगै अन्य चुनौती पनि देखापरेका छन् । हेल्पिङ ह्यान्डसबाट सुरुमा सरसफाइको काममा सघाउ भए पनि पछिपछि प्राविधिक काममा भने कठिनाइ आउन थालेको बताइन्छ ।
केन्द्रका अनुसार कारखानामा अहिले पनि दक्ष जनशक्तिको अभाव छ । उपलब्ध जनशक्तिलाई तालिम दिएर काम गराउनुपर्ने अवस्था रहेको राष्ट्रिय आविष्कार केन्द्रको भनाइ छ ।
योसँगै विद्युत्को अघोषित लोडसेडिङ पनि मुख्य समस्या रहेको केन्द्रका प्रमुख देवको भनाइ छ । उनका अनुसार कच्चा पदार्थको सहज उपलब्धता छैन । भारतबाट कच्चा पदार्थ ल्याउन धेरै महँगो पर्ने गरेको उनको गुनासो छ ।
देवले भने, ‘हामीले भारतबाट ल्याउने कच्चा पदार्थको भन्सार शुल्क तिर्नुपर्छ । जसका कारण यहाँ आइपुग्दा लागत बढ्छ । भन्सार शुल्क नलाग्ने व्यवस्था भएमा हामीले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज हुन्छ ।’
भारतबाट कच्चा पदार्थ ल्याएर नेपालमा उत्पादन गरेको बस्तु र सोही प्रकृतिका भारतीय उत्पादनको बजार मूल्यमा खासै भिन्नता नरहेको देव बताउँछन् । भन्सार लागत कम हुनासाथ आफूहरूले भारतीय उत्पादनलाई सहजै विस्थापित गर्न सक्ने उनले बताए ।
- महावीर पुनलाई मधेस सरकारको सहयोग
वीरगन्ज कृषि औजार कारखाना सञ्चालनका लागि मधेस प्रदेश सरकारले पनि सहयोग गर्दै आएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा कृषि औजार कारखानाका लागि ५० लाख रकम छुट्ट्याएको हो ।
मधेसका मुख्यमन्त्री सतिस सिंहले आफ्नो प्रदेशमा राम्रो काम भइरहेकाले ५० लाख रुपैयाँ बजेट राखेको बताए । रातोपाटीसँगको कुराकानीमा उनले भने, ‘हाम्रो प्रदेशमा कृषि औजार कारखाना सञ्चालन हुनु राम्रो हो । महावीर पुनजीको मेहनत देखेर मैले पनि सरकारको तर्फबाट सुरुमा केही बजेट राखेको हुँ । कानुनलाई मध्यनजर गरेर सुरुमा यतिको बजेट राखेका हौँ ।’
यसको अलावा अरू सहयोग गर्न पनि प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री सिंहले बताए । आविष्कार केन्द्रका प्रमुख पुनले ल्याबको सहयोग मागेपछि प्रदेश सरकारले ल्याबसमेत उपलब्ध गराउने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका लागि ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
-
नेपालमा श्रमजीवी पत्रकार बन्न सहज छैन : जनार्दन शर्मा
-
ट्याटु खोप्दा रगतको क्यान्सर हुने खतरा
-
१४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात
-
निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव
-
पार्टी एकताबद्ध भएर जानुको विकल्प छैन : सिटौला