लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
विराटनगर । विराटनगर–८ मा कार्यालय रहेको लाभा बचत तथा ऋण सहकारी संस्था एकपछि अर्को विवादमा मुछिँदै गएको छ । स्थानीय एक व्यक्ति ऋणको ब्याज तिर्दातिर्दै हत्तुहैरान भएर अलपत्र परेको खुलेको छ । जो आफ्नो नाम खुलाउन चाहँदैनन् । उनले सहकारीसँग गरेको ऋण स्टेटमेन्ट रातोपाटीलाई प्राप्त भएको छ ।
सहकारीले २०७९ वैशाख ७ मा ५ लगानी गरेको उक्त कागजातले देखाउँछ । ती ऋणी व्यक्तिले एक वर्षमा १ लाख २४ हजार १ सय ५३ रुपैयाँ ब्याज तिरे भने ५० हजार ३ सय ४७ रुपैयाँ साँवा । र पनि साँवा तिर्न ४ लाख ४९ हजार ६ सय ५३ रुपैयाँ बाँकी देखिन्छ । एकमुष्ट तिरेको ब्याज वार्षिक २५ प्रतिशत देखिन आउँछ । यसरी उक्त सहकारीका अध्यक्ष विष्णु पोखरेल र व्यवस्थापक बाबुराम बाँस्तोलाको संलग्नतामा सहकारीलाई नै मिटरब्याजको धन्दामा लगाएको पीडित बताउँछन् ।
सहकारीले सोही महिनाको २९ गते ब्याजबापत १२ हजार ३ सय २९ रुपैयाँ लिएको स्टेटमेन्टमा देखिन्छ । पीडितले जेठ ३१ गते ब्याजबापत १४ हजार ९ सय १६ रुपैयाँ भुक्तानी गरे । अघिल्लो महिना १२ हजार १ सय ७१ रुपैयाँ साँवा घटाए पनि दोस्रो महिना ब्याज भने बढाएर लिएको देखिन्छ । यस्तै जेठमा साँवा रकममा १९ हजार ८४ रुपैयाँ तिरेका उनले असार ३१ गते पुनः साँवा १ हजार २ सय ६ र ब्याज १४ हजार २ सय ९५ रुपैयाँ भुक्तानी गरे । अझै ब्याज घटेन । साउन ३१ गते पुनः १४ हजार २ सय ९५, भदौमा १३ हजार ८ सय ४५, असोजमा १३ हजार ७ सय ८०, कात्तिकमा १३ हजार ३ सय २९, मंसिरमा १२ हजार ८ सय ६५, पुसमा ५ हजार र चैतमा ९ हजार तिरे ।
सहकारीले नै ‘३६ प्रतिशतसम्म ब्याज’मा ऋण लगानी गरेको विषयमा व्यवस्थापक बाँस्तोलाले प्रतिक्रिया दिन अस्वीकार गरे । ‘म आइतबार सबै कुरा भन्छु । तपाईंले प्राप्त गरेको डकुमेन्ट फेक हुन सक्छ’, उनले भने ।
- छानबिन गर्न महानगरको आलटाल
यही सहकारीले अनियमितता गरेको भन्दै उजुरी परे पनि छानबिन गर्न विराटनगर महानगरपालिकाले आलटाल गरेको छ । सहकारी, सहकारीका अध्यक्ष पोखरेल र व्यवस्थापक बाँस्तोलाले आफूलाई ठगी गरेको भन्दै विराटनगर–४ का रोहित दाहालले गत भदौ ३० गते अनुचित लेनदेन सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । प्रहरीले सामान्य छलफल चलाएर उक्त विषय सहमति गर्न भन्दै महानगरपालिकाको सहकारी शाखामा पठायो ।
शाखाले असोज २१ गते चलायो । उक्त छलफलमा महानगरपालिकाको आर्थिक विकास महाशाखाका संयोजक कृष्णप्रसाद पोखरेल, शाखाकी अधिकृत चाँदनी राई, शाखाकै सहायक रोजी कार्की खनाल, लाभा सहकारीका व्यवस्थापक बाँस्तोला, कर्मचारी विष्णु पोखरेल, उजुरीकर्ता मनित गुप्ता र दाहालको उपस्थिति थियो ।
सहकारीका व्यवस्थापक बाँस्तोला दाहालले उजुरी गरेअनुसार नै खाली चेक र रोक्का गरिएको जग्गा फुकुवा गर्ने र सहकारीमा राखेको बचत ४९ लाख फिर्ता दिन सहमत भए । यस्तै अर्का पीडित गुप्ताको १६ लाख ऋण लिएको रकमको ३६ प्रतिशत ब्याज मात्र बुझाउँदै गएकामा सो कारोबारको विवरण संस्थाले खुलाउनुपर्ने, गुप्ताको मुक्तिनाथ विकास बैंकको २ वटा खाली चेक पत्र फिर्ता गर्ने र अर्का निवेदक अनिता गुप्ताको नाममा रहेको १६ धुर जग्गा फुकुवा गर्ने निर्णय भयो । तर, उक्त निर्णय अझै कार्यान्वयन नभएको पीडितले बताएका छन् ।
दोस्रो चरणमा सहकारीका अध्यक्ष पोखरेल र सञ्चालक समितिका पदाधिकारीलाई असोज २३ गतेभित्र सहकारी शाखामा उपस्थित गराएपश्चात पूर्ण छलफल गरी प्रक्रिया अगाडि बढाउने पनि सहमति भएको थियो । तर, सहमतिअनुसार अर्को छलफल नै बसेन ।
पीडितले सहकारीको कारोबारबारे छानबिन गर्नुपर्ने माग गरिरहेका छन् । प्रहरीले पनि पहिलो चरणको छानबिन गर्न भन्दै महानगरपालिकाको सहकारी शाखालाई पत्राचार गरेको छ । तर, सहकारीको कारोबार हेर्ने विज्ञ कार्यालयमा नभएको र कोही पनि लेखापरीक्षकले लेखापरीक्षण गर्न नमानेको भन्दै छानबिन भएको छैन ।
‘जिल्ला प्रहरी कार्यालयलाई हामीले सहकारीलाई कारबाही प्रक्रिया अगाडि बढाउनु भनेर पत्र पठाएका थियौं । तर, प्रहरीले सो पत्र दर्ता नै नगरी हामीलाई नै फिर्ता गरिदियो । एक चरणको अनुसन्धान गरेर पठाइदिनू भनेर हामीलाई नै प्रहरीले भन्यो । त्यसअनुसार अनुसन्धान गर्नका लागि अडिटरहरूले नै मानेका छैनन्’, महानगरपालिका सहकारी शाखाकी प्रमुख चाँदनी राईले भनिन्, ‘हामीले पीडितलाई नै अडिटर खोजेर ल्याउनु अनि हामी गर्छौँ भनेका छौं । अहिलेसम्म प्राविधिक विषयको ज्ञान नभएको कारण हामीले दक्ष जनशक्ति हायर गरेर मात्रै अनुसन्धान प्रतिवेदन तयार गर्न सक्छौं । हामीले अडिटर खोजेका खोज्यै छौं । तर, कसैले मान्नु हुन्न । यो छिट्टै सक्न पाए त हामीलाई पनि आनन्द हुन्थ्यो नि !’
उनले पीडितले निवेदन दिएपछि तुरुन्तै रेस्पोन्स गरेको बताइन् । ‘सञ्चालकलाई पनि बोलाएर छलफल गरेका छौं । तर, अहिले विषय विज्ञताको अभावले गर्दा ढिलो भएको हो’, उनले भनिन् ।
सहकारीका अध्यक्ष पोखरेलले यसअघि पनि सहकारीको रकम मिटरब्याजमा लगाउने गरेको आरोप लागेको समाचार प्रकाशन भएको थियो । उनले विभिन्न तमसुक बनाउने, हस्ताक्षर गरेको खाली चेक लिएर फिर्ता नगर्ने र चेक बाउन्सको मुद्दा हाल्ने, विभिन्न व्यक्तिहरुबाट ऋण लिएर आफ्नो नाममा जग्गा लिने र पछि फिर्ता नगर्ने गरेको पीडित बताउँछन् ।
पोखरेलले विराटनगर–६ का आनन्दमोहन झा, विराटनगर–४ का लक्ष्मण घिमिरे, रोहितकुमार दाहाल, विराटनगर–३ की अनिता गुप्तालगायतलाई ठगी गरेको उजुरी परेको छ । ती उजुरीका विरुद्धमा पोखरेलले पनि उजुरी दिएका छन् । तर, पोखरेलले सहकारीका व्यवस्थापक बाँस्तोलालाई प्रयोग गरेर मिटरब्याजको धन्दा चलाउने गरेको दाबी सुरक्षा निकाय पनि गर्छ ।
स्रोतको उक्त दाबीलाई बल पुग्ने तथ्यांक पनि प्राप्त भएको छ । बाँस्तोलाले २०७८ सालमा मात्रै ९ करोड ७५ लाखको ऋण कारोबार गरेको तथ्यांकले देखाउँछ । विराटनगर महानगरपालिका–८ को वडा कार्यालयमा उनले एक वर्षमा सो बराबरको रकम ऋण लिएको कागज बनाएको रेकर्ड छ । जसमा आशिस खनाललाई दुईपटक गरेर १ करोड ७५ लाख, रोहितकुमार दाहाललाई ५० लाख, चन्द्रभुषण यादवलाई ५ करोड, सन्तोष कार्कीलाई एक करोड रुपैयाँ ऋण लगानी गरेको विराटनगर–८ को वडा कार्यालयको लेनदेख खातामा अभिलेख छ । लेनदेन कागज नगराए पनि थप एक जना मनोजकुमार साहलाई १ करोड ५० लाख ऋण लगानी गरेको सुरक्षा स्रोतको दाबी छ । उनले यत्रो रकम कुन स्रोतबाट प्राप्त गरेर ऋण लगानी गरे भन्ने विषयमा केही बताउन चाहेनन् । ‘यो विषयमा म भरे कुरा गर्छु’, उनले भने ।