कर्णाली सरकारको बजेट कार्यान्वयन : १८ अर्ब पुँजीगत बजेटमध्ये पाँच महिनामा बल्ल एक अर्ब खर्च
सुर्खेत । चालु आर्थिक वर्षको पाँच महिना बित्दा कर्णाली सरकारको विकास बजेट बल्ल एक अर्ब नाघेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत अर्थात् विकास बजेटतर्फ प्रदेश सरकारले १८ अर्ब ७५ करोड ५१ लाख ६८ हजार रुपैयाँ विनियोजन गरेको थियो ।
मङ्सिर मसान्तसम्म प्रदेश सरकारको पुँजीगत खर्च एक अर्ब चार करोड ४२ लाख ५३ हजार ९९९ रुपैयाँ पुगेको छ । जस अन्तर्गत मङ्सिर महिनामा १४ करोड १० लाख ५१ हजार ६ रुपैयाँ कार्यान्वयन भएको हो । कार्तिक मसान्तसम्म प्रदेश सरकारले ९० करोड ३२ लाख २ हजार ९९३ रुपैयाँ विकास बजेट कार्यान्वयन गरेको थियो ।
प्रदेश सरकारसँग १७ अर्ब ७१ करोड ९ लाख १४ हजार रुपैयाँ बराबर पुँजीगत बजेट मौज्दात छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा विकास बजेट कम्तीमा ८० प्रतिशत खर्च गर्ने लक्ष्य राखेको छ ।
प्रदेश लेखा नियन्त्रकको कार्यालयका अनुसार मङ्सिर मसान्तसम्मको विकास बजेट कार्यान्वयनको अवस्था गत वर्षको भन्दा थोरै सुधार हो । गत वर्ष यो अवधिसम्म ९६ करोड रकममात्रै कार्यान्वयन भएको थियो ।
सबैभन्दा बढी अर्थात् १० अर्ब १७ करोड ८२ लाख २४ हजार रुपैयाँ विकास बजेट रहेको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले मङ्सिर मसान्तसम्म अर्थात् ५ महिनाको अवधिमा जम्मा ५५ करोड ५० लाख ५२ हजार ९३५ रुपैयाँ मात्रै कार्यान्वयन गर्न सकेको छ ।
दुई अर्ब ६० करोड ९० लाख ३ हजार रुपैयाँ वार्षिक विकास बजेट रहेको जलस्रोत तथा ऊर्जा मन्त्रालयले यो अवधिसम्म ९ करोड ६४ लाख २१ हजार रुपैयाँ कार्यान्वयन गरेको छ भने दुई अर्ब ७२ करोड ७८ लाख बराबरको पुँजीगत बजेट रहेको सामाजिक विकास मन्त्रालयले ३२ करोड ५३ लाख ९४ हजार रुपैयाँ कार्यान्वयन गरेको छ ।
४९ करोड ५१ लाख ५० हजार बजेट रहेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १ करोड ७० लाख ८० हजार, १ अर्ब ११ करोडभन्दा बढी वार्षिक बजेट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३ करोड ४३ लाख ६९ हजार रुपैयाँ समीक्षा अवधिमा कार्यान्वयन गरेको प्रदेश लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी ललित थापाले बताए ।
उनका अनुसार ६ करोड ५ लाख ३८ हजार पुँजीगत बजेट रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पाँच महिनामा ३६ लाख ५४ हजार ८१४ रुपैयाँ मात्रै कार्यान्वयन गरेको छ ।
एक करोड ३१ लाख ४९ हजार रुपैयाँ पुँजीगत बजेट रहेको अर्थ मन्त्रालयले समीक्षा अवधिमा ८३ लाख ९९ हजार रुपैयाँ कार्यान्वयन गरेको छ ।
प्रदेश सरकारका दुई निकायले ५ महिना बितिसक्दा समेत एक रुपैयाँ पनि पुँजीगत बजेट कार्यान्वयन गरेको देखिँदैन । त्यस्ता निकायमा प्रदेश लोक सेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय छन् ।
यी दुई निकायलाई यो वर्ष क्रमशः २० लाख र ५ लाख पुँजीगत बजेट विनियोजन गरिएको छ । प्रदेशको कानुन मन्त्रालयले पनि भएको पुँजीगत बजेट कार्यान्वयनमा ध्यान दिइरहेको छैन । सबैभन्दा न्यून पुँजीगत बजेट रहने यो मन्त्रालयले अहिलेसम्म ८ लाख २३ हजार ७२१ रुपैयाँ मात्रै कार्यान्वयन गरेको छ । जबकि यो मन्त्रालयलाई ४ करोड ४१ लाख ४० हजार पुँजीगत बजेट दिइएको छ ।
- २७ अर्बभन्दा बढी मौज्दात
लेखा नियन्त्रकको कार्यालयका अनुसार प्रदेश सरकारको खातामा अझै पनि २७ अर्ब ९७ करोड ४६ लाख ६७ हजार २९२ रुपैयाँ मौज्दात छ । यो वर्ष विनियोजन भएको ३१ अर्ब ४१ करोड ४१ हजारमध्ये ३ अर्ब ४३ करोड ५३ लाख ७३ हजार ७०७ रुपैयाँ मात्रै खर्च भएको छ । चालुतर्फ २ अर्ब ३९ करोडभन्दा बढी रकम खर्च भएको छ ।
सरकारका प्रवक्ता विनोदकुमार शाह बजेट कार्यान्वयनको अवस्था चालु आर्थिक वर्षको अन्त्यमा विगतभन्दा सुधार हुने बताउँछन् । ‘मंसिरदेखि नै केही सुधारको सङ्केत देखिएको छ,’ उनले भने, ‘हामीले कार्यान्वयनका लागि गर्नुपर्ने काम मसिनो तरिकाले गरिरहेका छौँ । अन्तिममा ८० प्रतिशतसम्म बजेट कार्यान्वयन हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले आफ्नो सबै खेल यूएईमा खेल्ने, यस्तो छ खेल तालिका
-
महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक
-
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
-
लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’
-
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै