सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म

आइतबार, ०७ पुस २०८१, २३ : ५८
आइतबार, ०७ पुस २०८१

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 

१. रविको फोटो भाइरल बनाउने निकोलस भुसाल पक्राउ  
सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्तिशुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी .रास्वपां)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने निकोलस भुसाल पक्राउ परेका छन्। भुसाललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार अबेर थलीबाट पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिए । 

२. रवि लामिछाने लगायतविरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायर
सहकारी रकम हिनामिना सम्बन्धमा कास्की जिल्ला अदालतमा आइतबार रवि लामिछानेसहित ४४ जनाविरद्ध अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्र ४२७ पृष्ठ लामो छ । सहकारी ठगीका अतिरिक्त रविमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग पनि लगाइएको छ ।

३.भरत जंगम पक्राउ
कुनै समय आफुलाई भ्रष्टाचारविरोधी अभियन्ता भनी चिनाएका भरत जंगम सहकारी हिनामिना प्रकरणमा पक्राउ परेका छन् । काठमाडौँको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा जंगम पक्राउ परेका हुन् । उनलाई सहकारीको करम हिनामिनाबारे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको काठमाडौंका एसएसपी बसन्त रजौरेले रातोपाटीलाई बताए ।

४. ओली सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टि
सरकारको कार्यशैलीप्रति सत्तारूढ दलभित्रै असन्तुष्टि चुलिन थालेको छ । संसद्को पहिलो शक्ति नेपाली कांग्रेस र दोस्रो शक्ति नेकपा एमाले मिलेर सरकार बनेको छ । तर, घोषित प्रतिबद्धता र जनतामा रहेको निराशा चिर्न सरकार असफल बन्दै गएको तर्क कांग्रेसका नेता–कार्यकर्ताहरूले गर्न थालेका छन् ।

५. एनपीएल फाइनलपछि युवकलाई कुटेको घटनाबारे प्रहरीले थाल्यो अनुसन्धान
नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनल म्याचपछि जनकपुर बोल्ट्सका समर्थकमाथि भएको कुटपिटबारे प्रहरीले अनुसन्धान थालेको छ । कुटपिटबाट सर्लाहीको बलरा घर भएका अमनकुमार सिंह घाइते भएका छन् । 

६. ‘हनि ट्रयाप’मा मुछिएपछि निलम्बित भएकी इन्स्पेक्टर शाही अदालतमा उपस्थित
निलम्बित प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही अदालतमा उपस्थित भएकी छन् । आइतबार उनी ललितपुर जिल्ला अदालतमा हाजिर भएकी हुन् । भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो ।

७. विमानमा अचेत भेटिएका यात्रीको निधन
नेपाल एयरलाइन्सको जहाजमा अचेत अवस्थामा भेटिएका एक यात्रीको निधन भएको छ । गएराति हङकङबाट काठमाडौँका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजमा सवार देउमान लिम्बु अचेत अवस्थामा भेटिएका थिए । उनको उपचारका क्रममा निधन भएको हो ।

८. अर्थतन्त्रमा समसाँझै लाग्छ ‘चुकुल’
मुलुकको संघीय राजधानी काठमाडौँमा समसाँझै ‘चुकुल’ लाग्छ । समसाँझै लाग्ने चुकुलले रात्रिकालीन आर्थिक गतिविधि ठप्प प्रायः हुन्छ । देशका अन्य ठुला सहरको अवस्था पनि उस्तै छ । रात्रिकालीन अर्थतन्त्रको पाटो बनेका क्लब, दोहोरी, बार, डिस्को पनि मध्यरात नहुँदै बन्द हुन्छन् । यसले अर्थतन्त्रमा परेको प्रभावबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

९. नेता-कार्यकर्ताको फेसबुकमा राप्रपाको निगरानी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जथाभाबी सामाजिक सञ्जाल चलाउने नेता कार्यकर्तालाई लगाम लगाउने उद्देश्यका साथ एक कार्यविधि बनाएर लागु गरेको छ । पार्टीको शनिबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०८१’ पारित गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

१०. लिक्विड लाउन्जमा कुटपिटको आरोपमा काभ्रेली समूहका ८ जना पक्राउ
काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्जमा एक जना युवक निर्घात कुटिएका छन् ।  शनिबार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन् । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्छन् । कुटपिटमा संलग्न ‘काभ्रेली समूहका’ ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

११. ताइवान मामिला 
ताइवानलाई प्राप्त नयाँ अमेरिकी सैन्य सहायताप्रति चीनले कडा प्रतिक्रिया दिएको छ । चीनले यसलाई अमेरिकाको ‘एक चीन’ सिद्धान्तको विरुद्ध रहेको भन्दै अमेरिका आगोसँग खेलिरहेको चेतावनी दिएको छ । अमेरिकाले शुक्रबार ताइवानलाई ५७१।३ मिलियन डलरको नयाँ सैन्य सहायता घोषणा गरेको थियो ।

१२.एनपीएल विजेता टोलीलाई प्रधानमन्त्रीले गरे सम्मान
नेपाल प्रिमियर लिग (एनपीएल) विजेता टोली जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।  आइतबार बालुटारमा बोलाएर प्रधानमन्त्री ओलीले क्रिकेट टोलीको सम्मान गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप