सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री

आइतबार, ०७ पुस २०८१, २१ : ५०
आइतबार, ०७ पुस २०८१

काठमाडौँ ।  युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती भौतिक पूर्वाधार रहेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) पछि आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले  खेलकुद र खेलाडीको वृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताएका हुन् । 

साथै,  युवा तथा खेलकुद मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न नसकिएको उनले गुनासो पोखे । ‘सबैभन्दा ठुलो चुनौतीको रूपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचे अनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कूल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६/२७ अर्ब हुन्छ,’ उनले भने । 

मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कूल १२ अर्बभन्दा बढीको लागत लाग्ने उनले बताए । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उनले बताए । ‘साँच्चै भन्ने हो भने क्रिकेटको ३ वटा राष्ट्रिय गौरवको योजना छ । ३ वटाको बजेट मोटामोटी १२ अर्ब रुपैयाँ पेस भएको छ,’– उनले भने । 

सरकारले खेलाडीहरूको वृत्तिविकास, मनोबल उच्च बनाउन र खेलाडीहरूको आर्थिक आर्जनका लागि नीतिगत निर्णय गर्ने उनको भनाइ छ । आफू नेतृत्वमा आएको ५ महिनामा पनि नीतिगत क्षेत्रमा धेरै काम भएको र व्यवस्थापनको कोसिस भइरहेको पनि उनले बताए । बैंकर्स संघ, आयल निगम, विद्युत् प्राधिकरणलगायतका संस्थाहरूसँग खेलाडीको वृत्तिविकास र रोजगारीका लागि छलफल भइरहेको उनले बताए । 

साथै, उनले काठमाडौँभित्रै आफूहरूले फुटबलको लागि रङ्गशाला खोजिरहेको पनि उनले बताए । उनले खेल क्षेत्रमा नेपालले सोचेअनुरुपको भौतिक पूर्वाधार बनाउन नसकेको बताए । 

मन्त्री चौधरीले कीर्तिपुर रङ्गशाला निर्माणका लागि टेन्डर आह्वान भइसकेको र स्रोतसमेत सुनिश्चित भएको जानकारी गराए । दोस्रो एनपीएल यो भन्दा पनि भव्य र उत्कृष्ट हुने गरी आफूहरू लागिपर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप